हामी त्यही हुन्छौं, जस्तो हामी कर्म गर्छौं

शान्ता सिम्खडा

आत्मसुझाव जस्तो ठूलो औषधि संसारमा केही छैन । आत्मबल जस्तो ठूलो हतियार संसारमा कुनै छैन । जस्तोसुकै समस्या आए पनि मन र मस्तिष्कको तालमेललाई नबिगारिकन मनैदेखि सकारात्मक भावलाई उठाएर मस्तिष्कसम्म पठाउने हो भने केही समय पछि त्यसले मुर्त रुप लिन्छ ।

क्वान्टम फिजिक्सका अनुसार ब्रह्माण्डमा दुईवटा शक्ति व्याप्त छ । एउटा उर्जा (तरंग) र अर्को अणु । हामीले जे कर्म गर्छौं अथवा जे कुरा आफ्नो मस्तिष्कमा सोच्छौं, त्यसले एउटा तरंग उत्पन्न गरिएको हुन्छ । त्यही तरंग बारबार दोहोरिरह्यो भने ब्रह्माण्डमा व्याप्त अनुकुल अणुहरूसँग समायोजन हुन्छ । कालान्तरमा त्यसले मुर्तरुप लिन्छ । जब त्यसले मुर्त रुप लिन्छ, त्यस समयमा त्यो अवस्था वा वस्तु वा परिस्थिति हाम्रो अनुकुल नै भैदिन्छ भन्ने हुँदैन । अथवा प्रतिकुल नै भैदिन्छ भन्ने छैन । किनकी त्यस समयसम्म हामीले अनगिन्ती कल्पना परिकल्पना गरिसकेका हुन्छौं । त्यसले हाम्रो जीवनमा हामीले गरेका कर्म र उपलब्धिलाई प्रभाव पारिरहेको हुन्छ । तसर्थ क्वान्टम फिजिक्सका अनुसार हामीले जस्ता भावहरूलाई आफ्नो अन्त:करणमा स्थान दिएर मस्तिष्कसम्म त्यसको सुचना पुर्याउछौं त्यसले त्यस्तै स्वरुप लिन्छ । अनि हामीले कस्ता खालका भावहरूलाई आफ्नो अन्त:करण स्थान दिन्छौं भन्ने कुरा चाहिँ हाम्रो सोच, स्वभाव, संस्कार, नियत र चरित्रमै निर्भर रहन्छ । जुन हाम्रो मन र मस्तिष्कमा उत्पन्न भावको वेग (संवेदनशीलता) अनुसार जन्म जन्मान्तरको लागि संस्कार बन्न पनि सक्छ ।

नकारात्मक भावको सुचनाले हामीलाई नकारात्मक रुप मै डिजाइन गरिदिन्छ भने सकारात्मक भावको सुचनाले सकारात्मक रुपमै डिजाइन गरिदिन्छ । अध्यात्म विज्ञानले यसलाई पुष्टि गर्दै भन्छ, ‘सम्पूर्ण इन्द्रियका वासना जन्य भावहरूलाई एकातिर थन्क्याएर शुद्ध, सकारात्मक र धर्म (सत्य)परक भावलाई अन्त:करणदेखि नै प्रस्फुरित गरेर मस्तिष्कसम्म सूचना पुर्याउँदा हामी त्यही अनुसारका पात्र बनिदिन्छौं ।’ ‘ल अफ अट्र्याक्सन (आकर्षणको नियम)’को मियो नै यहि हो । किनकी आकर्षकको नियमले भन्छ, ‘हामीले जुन कुरा वा घटनाको सूचना हाम्रो मस्तिष्कमा बारबार पठाइरहन्छौं । त्यसको तरंगले ब्रह्माण्डमा फैलिएको त्यही खालको तरंगलाई आकर्षक गर्छ र एकरुपता कायम हुन्छ । अनि अणुसँग मिल्न गइ त्यसले मुर्त रुप लिन्छ । त्यसैले रिसाउँदा रिसकै तरंग बढ्छ । प्रेमिल हुँदा प्रेम कै तरंग बढ्छ । निराशा हुँदा निराशाले नै ढाकी दिन्छ । मन मस्तिष्कमा वेविचारलाई स्थान दिंदा वेविचारकै तरंग र संगतले आकर्षक गर्छ । अधर्मलाई स्थान दियौं भने अधर्मीहरू नै घनिष्ट बनिदिन्छन् । अनि सत्य र मर्यादा हाम्रा लागि बोझ वा बीस झैँ बनिदिन्छ । सत्यलाई स्थान दिँदा अधर्म नास भै सत्यको नै स्थापना हुन्छ ।’ विकासवादको सिद्धान्त पनि त यहि हो, मान्छेले भाव र बुद्धिद्वारा मस्तिष्कको जुन भागलाई बढी सक्रिय बनाउँछ त्यही भाग बढी विकसित हुन्छ । बाँकी नचलेको भाग वा कम चलेको भागका सेलहरू कालन्तर पछि मर्न थाल्छन् । यहि कारणले गर्दा नै प्राणी जसरी अमिवाबाट विकसित भएर मान्छेसम्म पुग्यो, त्यसरी नै ब्रेनसेलहरू मर्न थालेपछि मान्छेबाट अमिवा मै आइपुग्छ । हो ! यसलाई नै अध्यात्मको सुक्ष्म विश्लेषणले चौरासी लाख योनीचक्र भनेको हो ।

तर यो नियम केवल मान्छेमा मात्र लागू हुन्छ । किनकी आकर्षक र कर्मको मुख्य केन्द्र मन मानवेत्तर प्राणीमा हुँदैन । र, त उनीहरूले परिस्थितिलाई भोग्छन् मात्र संस्कार बनाउँदैनन् । न कुनै परिस्थिति भोगको लागि नै इच्छा राख्छन् । तर मान्छेले गर्ने हरेक कर्मको बिज रहन्छ र त्यसले नै संस्कार बनाउँछ । त्यसैले विगत त वितेर गैसक्यो । तर त्यसले परिणामलाई छोडेर गयो । र पनि वितेको कर्मको परिणाम (उत्साह, ग्लानी र पश्चाताप) बाट सिक्ने हो । तर त्यसमा कुनै भाव नजोडियोस् । भाव नपिल्सियोस् । अनि वर्तमानमा धर्मानुकुल (सत्यानुकुल) कर्म गरेर आफ्नो डिजाइन गर्ने हो । किनकि हाम्रो निर्माता (डिजाइनकर्ता ) हामी आफैं हौं ।

भविष्यमा हामी त्यही बन्नेछौं, वर्तमानमा जे गरिरहेका छौँ । जे बनिरहेका छौँ । चाहे कर्म एकान्तमा वा लुकेर गरौं । अथवा खुलेर गरौं । यसले प्रकृतिको वा भनौं परमात्माको नियममा कुनै फरक पार्दैन । त्यसैले हामी आफूलाई कस्तो बनाउँछौं, त्यो हाम्रै हातमा छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button