
कोसँग विहे गर्नु ? तिमीले सोच बनाएकी रहेनछौ
लघुकथा
रूपा अधिकारी
विदेशबाट पत्रकारिताको अध्ययन पुरा गरी आफ्नो देशमा कलमसँग रमाइरहेकी थिएँ । मेरो हितैषी मित्र सुधीरसँग एक दिन काम विशेषले भेट भयो ।
‘अभया तिमीले पत्रकारितालाई पेशा बनाएर ठिक गर्यौ । तिम्रो कलमले सत्यको पक्षमा र अन्यायको विरुद्ध कदम उठाएको देखेर खुशी लाग्छ’, उस्ले मेरो पेशाको सम्मान गर्दै भन्यो ।
‘… अनि विवाह गर्ने हैन र अब ?’ उस्ले एकाएक सोध्यो ।
‘पहिले आफ्नो क्यारियर बनाउन लागिपरेकी छु, विवाहबारे हतार छैन’, मैले भनेँ ।
‘अनि तिमीले ?’, सोधेँ ।
‘तिमीले विवाह गर्ने सोच बनाएकी रहेनछौ । कोसँग गर्नु ?’, उसले हाँसे झैं गरी भन्यो । मलिन अनुहार बनाई फेरी थप्यो, ‘तिमीलाई कलेज पढ्दाबाट नै मन पराउँथे तर भन्न सकिरहेको थिइनँ अभया ।’
ऊ बोलिरह्यो, ‘यदि तिमीले मलाई योग्य मानेमा प्रेम प्रस्ताव … ‘, वाक्य पुरा नहुँदै उसको फोनको घण्टी बज्यो ।
‘हेर न, एउटा अत्यन्त ज़रूरी काम पर्यो । मेरो मोबाइल नम्वरमा फोन गर ल फुर्सदमा’, मेरो हातमा आफ्नो भिज़िटिंग कार्ड थमाउँदै उसले भन्यो ।
घर पुगेर दिदीलाई सबै कुरा सुनाएँ ।
‘बाबा आमा बितेबाट तलाई सँगै राखेकी छु । एक न एक दिन तैले विवाह गर्नुपर्छ । आखिर कलेज पढ्ने समय तँलाई पनि ऊ मन परेको थियो । तेरो भिसा लाग्यो । तँ उता गइस् । आज फेरि उसले तलाई यस्तो कुरा गर्यो म त राजी छु । नानी विवाह गर ।’
दिदीको हौसलापछि १-२ दिनमा उसलाई फोन गरेँ । फोन उठ्यो ।
‘हेलो, म सुधीरजीसँग कुरा गर्न सक्छु ?’
‘उहाँ त बाथरूम जानु भाको छ । को हो हजुर ? म भनिदिन्छु नि ।’
मैले आफ्नो लरबराएको स्वरमा ‘उस्को साथी अभया’ भनी फोन राखेँ । आफ्नो मनको कुरा भन्नु अगाडि नै उसको असली परिचयले मलाई निकै रिस उठिरहेको थियो ।
१ घण्टापछि मेरो मोबाइलमा घण्टी बज्यो । फोन उसको नै रहेछ ।
‘अस्ति हतारमा पुरा कुरा गर्न पाइन नि अभया । यदि तिमीले मलाई योग्यमानेमा प्रेम प्रस्ताव राख्ने विचार गरी तिमीलाई कलेजमा कुरिरहेँ तर पछि थाहा भयो, तिमी त विदेश गइछौ । आमाको अन्तिम इच्छा पुरा गर्न विवाह गरिहाल्नु पर्यो ।’
यो सब कुरा सुनेर मैले पनि आफ्नो तर्क राखेँ, ‘मलाई त अस्ति ‘तिमीले विवाह गर्ने सोच बनाएकी रहेनछौ, कोसँग विवाह ?’ गर्नु भनेका थियौ त ?’
हाँस्दै उसले भन्यो, ‘त्यो त अप्रिलफुलको दिन थियो नि । थाहा थिएन ?’
म ‘उल्लु’ जिल्ल परेँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)