आमा ! म आतंककारी बन्छु

सुष्मा दाहाल

आमा !
मेरो अस्तित्व नै
औपचारिक बलात्कारबाट शुरु हुन्छ ।

आमा !
जब तिम्रो कोखबाट बडो कष्टसाथ
बाहिरी दुनियाँमा आउँछु
त्यहीँबाट विभेदको दुश्चक्रमा झेलिन थाल्छु ।

आमा !
पहिलो रुवाईबाट नै
लाक्षणिक विभेदहरु शुरु हुनथाल्छन्
‘ए छोरी पो ?’
नाक खुम्चिन्छ आफन्तको
जसको प्रत्यक्ष असर तिमी भोग्न थाल्छ्यौ
सुत्केरी बेलाको तिम्रो स्याहारमा फरक पर्न थाल्छ
मेरो लागि न्वारानको दिन फरक पर्छ
किनकि,
म अकुत चाहनालाई उछिनेर
तिम्रो गर्भमा आएकी हुँ ।

आमा !
जब म आँखा खोल्न थाल्छु
दुनियाँ मेरो लागि उपमा बनाउन ब्यस्त हुन्छ ।

आमा !
जब म हत्केला उघार्न थाल्छु
मेरा हस्तरेखाहरु पढ्ने ज्योतिषी बन्छ दुनियाँ ।

आमा !
जब म बामे सर्नथाल्छु
मेरो जीवन यात्राको विन्दु तय गर्न थाल्छ दुनियाँ ।

आमा !
जब म तोते बोल्दै ताते सर्न थाल्छु
शर्तका लक्ष्मणरेखाहरु बनाईसक्छ दुनियाँ ।

आमा !
यति बेलासम्ममा
मेरा कानमा मुन्द्रा
हातमा बाला
र, पाउमा छिन्छिन् बज्ने पाउजु
पहिराई सक्छिन् बज्यै
र, भन्छिन् छोरीको सोमत र लक्षण हुन् यी सब ।

आमा !
तर यहाँ मायारुपी भ्रम लादेर
देखावटी मायाका नेलहरु पहिराइन्छ ।

आमा !
मेरो नाक अरुले चाहेजस्तो हुनुपर्छ
मेरा हात पाउ अरुले सोचेजस्ता हुनुपर्छ ।

आमा !
मेरो खेल्ने समूह अलग
मेरो बोल्ने शब्द अलग
स्वर अलग
मेरो हिड्ने तरिका अलग
हाँस्ने तरिका अलग
मलाई म भएर बाँच्न कहिल्यै दिँदैन दुनियाँ ।

आमा !
हुन त दुनियाँ भन्नु सोच हो
मानसिकता हो
भनिन्छ नि,
तनको दरिद्रताले स्वयं ब्यक्ति मात्र ग्रसित हुन्छ,
जब मन र सोचको दरिद्रता हावी हुन्छ,
तब समाज नै अपांग हुन्छ
यहि सोचको तातो कसौंडीमा बाफिन
म जन्मिएँ त आमा ।

आमा !
कपाल मेरा, आकार अरुले भने झैं
पैताला मेरा, हिँडाइ अरुले भने झैं
अनुहार मेरो शृङ्गार अरुले भने झै
म अवाक छु आमा ।

आमा !
तर धिक्कार्दिन तिम्रो कोखलाई
किनकि तिमी मेरी जननी हौ
सृष्टिकर्ता हौ ।

आमा
हुँदाहुँदा मेरा अङ्गहरु नै
मेरो अवसानको कारण बन्दारहेछन्
बुझ्दैछु आमा ।

आमा !
म यी बन्देज
र, नीति नियमका फेराहरु
एकैचोटि पार गर्न चाहन्छु ।

आमा !
म देख्न सक्तिन यो उपेक्षा
यो विभेद
यो शोषण
यो अन्याय
यो अत्याचार ।

आमा !
मेरो बाल मस्तिष्क कायल भैसक्यो
कानुनी राज्यमा कानुन कठपुतली भएको देख्दा

आमा !
न म सुरक्षित छु यहाँ
न तिमी जस्ता हजारौं आमा
र, छोरीहरु नै ।

आमा !
त्यसैले अनुमति देऊ
आमा म रिभल्बर बोक्छु
म आतङ्ककारी बन्छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button