भानुभक्त र म भारतीय नेपाली नागरिक

कविता लामा
सिक्किम विश्वविद्यालय, गान्तोक ।

म भारतीय नेपाली नागरिक हुँ, यसमा म सधैँ गर्व गर्छु । यो मेरो पहिलो परिचय हो ।

म नेपाली भाषा-साहित्यकी विद्यार्थी हुँ । यो मेरो दोस्रो परिचय हो । नेपाली भाषा साहित्यले मलाई जोड्ने कुरा सिकायो, जोडिएकालाई भत्काउन होइन ।

यही साहित्यले मलाई समाज र संस्कृति सिकायो । साहित्यलाई प्रेम गर्ने संस्कार सिकायो। यही संस्कारले म साहित्य पढ्दै गएँ, साहित्यबाट समाज बुझ्दै गएँ । यो यात्रा निरन्तर छ आजसम्म । म आज कविता लामा यही नेपाली भाषा र साहित्यले बनाएको हो । यसै यात्रामा ‘कवि भानुभक्त आचार्यका काव्यकृतिको भाषिक अध्ययन’ माथि मैले सन् १९९७ मा काशी हिन्दू विश्वविद्यालयबाट विद्यावारिधि गरेकी २५ वर्ष भएछ ।

आज फेसबुकमा चल्दै गरेको दार्जिलिङको चौरस्ताबाट भानुभक्तको सालिग हटाउनेमाथि भइरहेको विमर्शले भोलिको दिन म सबैभन्दा पहिला लखेटिने मान्छे हुने रहेछु । मलाई यस्तो अनुभव भइरहेको छ । म दुखिरहेकी छु भित्रबाट । के भन्ने हो, के लेख्ने हो, मलाई ठिक कुराहरू आइरहेको छैन । म भारतीय नेपाली भएर साहित्य पढ्दा भौगोलिक सीमा नछुट्टाई पढेँ, सिकेँ र त्यो प्रक्रिया अघि बढिरहेको छ । तर यहाँबाट साहित्यमा काम गर्दा भारतीय नेपाली साहित्यमा केन्द्रित भएर काम गर्न उत्साहित बनेँ । आज एकाएक त्यो उत्साह मरेको पाएँ मभित्र । म कहाँ गलत थिएछु । त्यसको पनि हेक्का छैन मलाई । कवि भानुको सालिगसित हामीले धेरै कुरा भत्काउनु पर्छ- भानुभक्त पाठशाला, भानु भवन, सुधपा गृहदेखि लिएर आयामिक लेखनको इतिहास जसलाई हामी भारतीय नेपाली साहित्यको मात्र नभएर सिङ्गो नेपाली वाङ्मयको उपलब्धि मान्छौँ । भानु पुरस्कारदेखि भानु सम्मान र सिक्किमको गेजिङमा स्थापित भानु अनुसन्धान केन्द्र अनि सालिग पनि । कहाँ कहाँ भत्काउने र तोड्ने ? आँट छ सिक्किममा स्थापित भानुभक्तको सालिग भत्काउने ?

मेरा साथीहरूले कलमलाई कहिलेदेखि मान्छेको सिर्जना र भावनालाई मार्ने हतियार बनाए ? कलमको म पुजा गर्छु, साहित्यकारहरू मेरा ईश्वर समाज हुन्, म उनीहरूका सिर्जना पढ्छु र जीवन बाँच्ने ऊर्जा पाउँछु, शक्ति पाउँछु । म कसैको घर भत्काएर आफ्नो घर खडा गर्ने श्रेणीमा पर्दिनँ । कवि भानुभक्तको सालिगलाई भारतीय नेपालीको परिचय सङ्कटको कारक तत्त्व नै मान्दिनँ । केही गर्दा पनि भएन अनि हाम्रा अग्रजहरूले स्थापित गरेको कवि भानुभक्तको सालिगलाई आज आएर यसरी आक्रमण गरेकोमा म कडा शब्दमा खण्डन गर्दछु ।

साथीहरू, साहित्य र साहित्यकारको अवमूल्यन गर्न छोडौँ । साहित्यको सम्मान गरौँ त्यसो गरे नेपाली जातिले कहिल्यै पनि अरूबाट सङ्कट र अपमान खप्न पर्ने छैन । यति कुरामा म विश्वस्त छु ।

म बाँचेको समाज कहिलेदेखि यति सङ्कुचित भएछ त्यसको पनि ज्ञात भएन मलाई ।

तर आज मलाई यति थाहा भयो कि म अरू कसैबाट होइन, आफ्नै मान्छेहरूबाट आफ्नै देश र ठाउँमा असुरक्षित रहेछु ।

के तपाईँहरू सुरक्षित हुनुहुन्छ ?


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button