विवाहपछि लेखेको कागज सिरानीमुनि राखेँ

विवाहपछिको म

प्रतिमा शर्मा
अधिवक्ता

सिन्दुर हालेको एक छिनपछि पानीले पखाली दिएँ मैले ।

‘हैट ! सिन्दूर पनि कहिं पखाल्छन् ? कस्तो जिद्धीवाला केटी रै’छ’, देख्नेहरु जति सबै जना कराउन थाले । अशुभ हुन्छ भन्दै गाली गरे आफन्तले । शुभ–अशुभ, बालमतलब ! मेरो इच्छा बिपरित भइरहेका थिए सबै गतिविधिहरु । यी गतिबिधिलाई शुभकार्य कसरी मान्ने ? यो सबै अशुभ नै त थिए ।

मेरा आफन्तले मन दुखाए होलान्, तर धेरै बहसको बिषय बनाएनन् ।

विवाहप्रति विभिन्न तरिकाले मैले असहमति जनाइरहेको थिएँ । बालमनोविज्ञान न हो, मैले सकेसम्मको विरोध गरिरहेको थिएँ । सिन्दूर पखाल्ने काम सबैभन्दा कडा खालको विद्रोह थियो मेरो । तैपनि मेरो प्रयासहरु सफल भएनन् ।

केही समयपछि मलाई लडियामा (गोरुले तान्ने गाडामा) राखेर हिँडाले । त्यही बेला मलाई साह्रै माया गर्ने दुर्गा बहिनी पनि आइपुगिन् । उनी रोइरहेकी थिइन् । उनको आँशुमा मलाई बिदाई गर्दाको भिन्नै पीडा थियो । म पनि रोइरहेको थिएँ । बिना आवाज आँशुमात्र बगेका थिए । एकछिनमा फारलाइन पुगियो । फारलाइनबाट बसमा लगे । मलाई थाहा थिएन कहाँ लग्दैछन् ।

मसँग मेरो दिदी, ठूलोबाको छोरी सँगै जानुभएको थियो । उहाँ लोकन्ती रे । धेरै घण्टापछि एउटा बजारमा पु¥याए । बजारको एउटा कपडा पसलमा लगे । सारी, ब्लाउज, पेटीकोटजस्ता केही लुगा किने उनीहरुले । कुन रंग मनपर्छ ? एकजनाले सोधे । ती लुगाहरुप्रति मलाई कुनै चाहा थिएन । जे भए पनि हुन्छ, मैले जवाफ दिएँ । उसले दोह¥याएर सोध्यो । मैले हरियो भनिदिएँ ।

त्यही दिन, फेरि अर्को बसमा चढाए । बाटोमा कसैले सोधेनन्, ज्वरो छ कि छैन ? टाउको दुखेको छ कि छैन ? कसैलाई कुनै मतलब थिएन । उनीहरु आफ्नै गफमा मस्त थिए । लोकन्ती गएकी दिदीले नसोधिकिन हातले छाम्नुहुन्थ्यो । दिदीको नाम केहो मलाई थाहा छैन, हामीले मसिनी दिदी भनेर बोलाउँथ्यौं । दिदीको स्वर पनि मसिनो थियो, मीठो बोल्ने दिदी, साँच्चिकै प्यारी हुनुहुन्थ्यो । म रुँदा सँगै रुनुहुन्थ्यो ।

गोधुली साँझ थियो । बस एउटा गाउँमा रोकियो । नयाँ ठाउँ । नयाँ मानिसहरु । मलिन मेरो मन । छिप्पिँदै गएको रात । दिदीसँगै एउटै बिस्तारामा थिएँ । तै पनि सकसले बिताएँ । ननिदाएरै बिताएँ ।

अर्को दिन बिहानै दिदी उठ्नुभयो । मलाई पनि उठाउनु भयो । विवाहकै सिलसिलामा अर्को पूजा भयो । पूजापछि दिदी आफ्नो घर फर्किनुभयो । अप्ठ्यारो महसुस गरिरहेको थिएँ । मुटुमा गाँठो परेको थियो । मुटुमा गाँठो पारेर बस्नुबाहेक म बिचरीको अरु केही उपाय थिएन त्यहाँ । दिदीलाई रोक्न पनि सक्दिनथेँ । मेरो बसमा केही थिएन । मेरोमात्र होइन, प्राय सबै छोरीको बसमा केही थिएन त्यति बेला । यो समाज पुरुषको सर्बोत्तम हित चाहने समाज हो । अधिकांश महिलाहरु अहिले पनि निरिह नै छन् । त्यतिबेलाका महिलाको त झन बेहाल नै थियो ।

Ad

मलाई सात दिनसम्म नयाँ ठाउँमा राखे । ज्वरो आइरहेको थियो, औषधि खुवाइरहेका थिए । जहाँ मलाई लगे, त्यहाँ मेरो मामाघरतिरको नाताको एक जना हजुरआमा हुनुहुँदोरहेछ । उहाँले आफ्नो परिचय दिएपछि मलाई अलिकति राहत महसुस भएको थियो । एकहप्ता पछि मलाई मेरै घरमा फर्काइयो । त्यो एकहप्तामा बुहारी र पत्नी दुबै नाताको अनुभव भएन शारीरिकरुपमा । तर मानसिकरुपमा म पूर्ण तनावमा थिएँ ।

पराइ घरबाट मेरो आफ्नो घर फर्किदा सिन्दूर हालिदिने केटो पनि सँगै थियो । बाटोमा केही बोलचाल भएन । न त एक हप्तासम्म उसको घरमा बोलचाल भयो । उसले मलाई मेरो स्वास्थ्य परिक्षण गरेर औषधि खुवाउनेबाहेक अरु केही गरेन । ठीक भैहाल्छ, आत्तिनु पर्दैन, उसले मलाई भनेको कुरा यत्तिमात्र थियो । उसको बिषयगत दक्षता के थियो थाहा थिएन, तर त्यो घरमा औषधि पसल थियो ।

म घर फर्केँ । मन खिन्न थियो । कसैसँग बोल्ने मन थिएन । आमाबासँग रिस उठिरहेको थियो । मलाई देखेर मेरो साना साना भाइबैनीहरु खुसी भए । ‘कक दिदी आइन्, कक दिदी आइन्’ भन्दै भाइबैनीहरु रमाए । मलाई भाइ बहिनीहरुले कक दिदी, सानी दिदी भनेर बोलाउँथे । उनीहरुहरुको यो सम्बोधन निकै प्रिय लाग्थ्यो मलाई । एकछिन उनीहरुसँगै रमाएँ ।

एक छिनपछि आफुले सामान राखेको पसलमा गएँ । पढ्ने रहरले केके जुक्ती लगाएर कक्षा पाँचदेखि शुरु गरेको पसलको हालत फेरिएछ । म बिरामी भएसँगै पसल पनि दुब्लाउँदै गएछ । विवाहपछि घर फर्किँदा पसलमा एक दुइवटा साबुन, सुर्ति, बिँडी, तराजु र ढकहरुमात्र बाँकी थिए । पैसाको नाममा एक सुका थिएन । सामानहरु सबै सकिएको थियो । पसलको त्यो हालत देखेर मन खिन्न भयो । पसल मेरो आत्मा थियो, सास बनेको थियो खासमा । म आफुले पढ्ने र भाइबैनीलाई पढाउने बलियो आधार बनेको थियो । एकाएक सुकेको देख्दा भावविहृल भएँ । त्यही टंकीभित्र बसेर रोएँ ।

‘यहाँको सामान खोइ ? पैसा खोइ ?’, सोधे ।

‘तेरो विवाहमा सबै सकियो’, नमिठो र अप्रिय जवाफ आयो । बाआमाको थुतुनो च्यातिदिउँ, बेस्सरी कुटिदिउँ, केके भनेर गाली गराँै जस्तो भएको थियो । सायद त्यो एन्जाइटी थियो । आफुलाई जबरजस्ती सम्हालेँ मैले ।

स्कुल छुटेको पनि धेरै दिन भइसकेको थियो । पढाई छुटेकोमा पनि चिन्तित थिएँ । विवाह अगाडि जुन पोशाकमा स्कुल जान्थेँ म, त्यो पोशाकमा जान पाइन्न । विवाह भएकी केटीले सट, स्कट लगाउनु हुँदैन रे, तिघ्रा देखाउँनु हुदैन रे, लाज हुन्छ रे, अरुले केके कुरा काट्छन रे …आदि आदि । शर्त पनि केके हुन् केके । अब के लगाएर स्कुल जाने ? अर्को तनाव थपियो ।

रात छिप्पिँदै गयो । सबै जना मस्त निदाएका थिए । मलाई निद्रा लागेन ।

छोरी हुनुमा मेरो के दोष थियो ? मलाई किन चिनेनौ ??? हरेक पाइलामा आउने बाधाहरु म कसरी सम्हाँलु ???? छोरीका लागि यति धेरै अग्नीपरिक्षा किन ??? के मलाई खुसीका साथ बाँच्ने हक छैन ?? मेरो रहरले गरेको विवाह हो र त्यो ???? तपाईहरु कै रहरले गरेको त्यो विवाहका कारण मलाई यो सबै सजाँय किन ???? म बाँच्नुभन्दा मोरेको बेस छ … मलाई सानैमा निमोठेर किन फालेनौ ??? मन छियाछिया बनाउदै पलपलमा मोरेर कति बाँच्नु अब ?

यस्तै यस्तै भावनाहरु कागजमा केरे ।

कैले रोएँ । कैले रिसाएँ । लेखेको कागज सिरानीमुनि राखेँ ।

(क्रमशः)


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button