
यता होस्टल बसेकी छोरीलार्ई अमेरिकाबाट आमाको अति भावकु चिठी
कथा
सुफल थपलिया
प्यारी छोरी
शुभ आर्शिवाद !
गत हप्ता मात्रै तिमीले आफ्नो उमेरको १२ वर्षको जन्मदिन मनायौ । तिमीले खै कसरी कुन तरिकाले स्कूलको होस्टेलमा आफ्नो जन्मदिन मनायौ ? तिम्रा मनमा खै के के कुराको अभाव महसुस भयो ? तर, तिम्रो जन्मदिनमा को को उपस्थित भए, त्यो चाहीँ थाहा छ मलाई । उहि तिम्रो होस्टेलको साँघुरो खाट, खाटमाथि थुपारिएका कपि र कितावहरु अनि केहि साथीहरु । बस्, छोरी जो अनिवार्य उपस्थिति हुनु पर्ने हो, त्यो नै नभएपछि तिमी कसरी तड्पियौ होला ।
छोरी ! तिमीलाई काखमा खेलाउँदा खेलाउँदै तिमिले मेरो काखको न्यानो मायाको भरिपूर्ण महसुस गर्न नपाउँदै तिमीलाई स्कूलमा जिम्मा लगाएर म सात समुन्द्रपारि हानिएँ । मलाई अहिले पनि याद छ छोरी, तिम्रा ति निर्दोष अनुहारले मसँग छुट्टिन नमानेर कोलाहाल गरी डाँको छोडी रोएको दिन, उफ् भविष्यको सुन्दर कल्पनाले तिम्रो त्यो कारुणिक चित्कारलाई कति हलुको बनाइदियो । तिमीबाट त्यसरी टाढिएको पनि अब आउने चैत्रमा ठ्याक्कै सात वर्ष पुग्छ नि । अहो ! ती कहालीलाग्दा दिनहरु, तिमीले कसरी बितायौ होला अनि मैले पनि ।

मलाई थाहा छ कालु, होस्टेलमा तिमीलाई माया गर्ने आमा हुन्न न त तिमीले सुरक्षित महसुस गर्ने घर नै हो तिम्रो । सधै भरी एउटा खाट र एउटै कोठाभरी रहेका तिमी जस्तै थुप्रै साथीहरु । तिम्रो सिंगो संसार यति त हो । अरु साथीहरुका आमाबाबा आफ्ना बच्चाहरुलाई भेट्न आउदा कति फुरुँग हुन्छन् होला र घरबाट ल्याएका कोसेलीले कति भरिपूर्ण हुन्छन् होला, त्यसरी नै तिम्री निष्ठुरी आमा तिमीलाई भेट्न न कहिले आउँछे न त आफ्ना हातले बनाएका मिठा खानेकुरा नै लिएर आउँछे । अझ मिनपचासका विदा, गर्मी विदा र दशै तिहारका लामा विदाहरु तिम्रा लागि कति पट्यारलाग्दा भएर आउँछन् होला, जब तिमी तिमीलाई जिम्मा लगाएका अंकल अन्टीको घरमा पुग्छौ अनि तिमीले त्यहाँ होस्टेलमा नपाइने माया र स्वतन्त्रता खोज्छौ, मलाई थाहा छ छोरी, तिम्री अन्टीले तिमीले सोधेको कुरा नसुने झै वास्ता नगरी मुन्टो बर्टाछिन् । फेरि पनि तिमीले प्रश्न राख्दा झर्केर बोलेपछि पुन अन्टीसँग बोल्ने र गफ गर्ने आँट तिमीमा हराउँछ ।
तिमी सरहकै तिम्रा अंकलका छोराछोरीहरु आफ्ना आमाबाबासँग लाडिँदै बोलेर मायाले लुट्पुटिएको देखेर तिमीले मलाई कतिपल्ट सराप्यौ होला अनि कति अभागी महशुस गर्यौ होला आफूलाई । एउटा बालगीतको खुब याद आउँछ आजभोलि । जतिखेर माया चाहिने उहि बेलामा लुक्यौ भन्ने गीत तिमीले मलाई नै भनेको जस्तो लाग्छ । छोरी तिमी पनि अब टिन एजमा प्रवेश गर्दैछौ । यतिखेर तिम्रो शारिरिक र मानसिक दुवै परिर्वतन भइरहेका हुन्छन् । यतिखेर तिम्रो शरिरमा जस्तै मनमा पनि कति जिज्ञाशाहरु उर्लिन्छन होला । सुनाउने मान्छे नपाउँदा कति रुन मन लाग्छ होला । तर, छोरी तिमीलाई त पेटभरि रुनको लागि रुने ठाउँको पनि त अभाव होला नि । यतिखेर तिमीलाई आफ्नी आमाको असल साथीको भुमिकाको आवश्यक पर्छ । तर, तिम्री निष्ठुरी आमा तिमीबाट धेरै टाढाको संसारमा हराइरहेकी छु । यहि सामिप्यको कमिले छोरी तिमी कतै कुसगंत र कुलतको बाटोमा पक्कै पनि फस्ने छैनौ भनी तिम्री विवश आमा यसै पत्रसाथ अनुरोध गर्न चाहन्छु ।
छोरी म पनि यहाँ तिमी भन्दा कलिला बालबालिकाको जिम्मा लिएर चाइल्डकेयर सेन्टरमा काम गरिरहेको छ । म आफुलाई तिनीहरुकै आमामा सर्मपण गरेर तिनीहरुको केयर गरिरहेकी हुन्छु, किनकी मलाई विश्वास छ मैलै आफ्नी आमाबाट टाढा भएका अरु बालबालिकालाई निस्वार्थ माया गरे भने मेरी छोरीलाई पनि भगवानले कसैलाई आमा बनाएर पठाइदिनेछन्, ।
छोरी धेरै के लेखुँ, धेरै पैसा कमाएर र अमेरिकाको ग्रिन कार्ड लिएर मात्र फर्कने मेरो सपनाले गर्दा थाहा छैन कति झरि र बादलहरु तिम्रो आँखाबाट वर्षिसके भनेर, त्यै पनि मेरो सपना सपनामै सिमीत छ । अझै पनि दह्रो मन बनाएर जे जे पर्ला पर्ला भनेर नेपाल फर्किने तिथि तोक्न नसक्नु मेरो लाचारीपन हो । आशा अझै मरिहालेको छैन । राम्रोसँग पढ, तिमीलाई आर्शिवाद ।
तिम्री आमा
पुष्पा अधिकारी
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)