बालकथाः गुनी पिपल
माधव सयपत्री
नदीको छेउमा पिपलको एउटा रूख थियो । पिपलका हाँगा परपरसम्म पैmलिएका थिए । यताउता हिँड्दा मानिसहरू पिपलको रूखलाई ढोग्थे । कहिलेकाँही फूल चढाउँथे । फेदमा अबिरको टिको लगाइदिन्थे ।
पिपलको फेदलाई घेरेर चौतारो बनाइएको थियो । मानिसहरू चौतारोमा भारी बिसाउँथे । पिपलको सिँयालमा बस्थे । फेदको झार उखेल्थे । मानिसहरू पिपललाई औधी माया गर्थे ।
यो कुरा छेउको उत्तीसले हेरिरहेको थियो । पिपललाई मात्रै माया गरेको देखेर उत्तीस खिन्न हुन्थ्यो । ‘पिपललाई मानिसले किन माया गरेका होलान् ? मलाई त कसैले पनि वास्ता गर्दैनन् ।’ उत्तीस यस्तै सोचेर बस्थ्यो ।
उत्तीसलाई रिस उठेको थियो । तर उसले पिपललाई केही भन्न सकेको थिएन । उसले नजिकै उभिएको सल्लोलाई भन्यो, ‘सल्लो दाजु, मानिसहरू पिपललाई मात्रै माया गर्छन् । दाउरा चाहियो भने चैँ हाम्रा हाँगा काट्छन् । पिपलको हाँगा पनि काट्दैनन् । उसैलाई अबिर दलेर राम्रो बनाउँछन् । माला लगाइदिन्छन् । नैवेद पनि चढाउँछन् । किन होला ?’
सल्लोले भन्यो, ‘तिमीले भनेको कुरा ठिकै हो भाइ । मलाई पनि पिपलसँग रिस उठेको छ । अब पिपलसँग निउँ खोज्नुपर्छ । त्यसलाई त्यहाँबाट हटाउनुपर्छ । त्यसपछि मानिसले उसलाई माया गर्न छाड्छन् । बाटोमा भएर पो त ! अन्त भए मानिसहरू धाएर त्यसलाई पूजा गर्न जाँदैनथे ।’
एकदिन उत्तीस र सल्लोले पिपलसँग निउँ खोजे । उत्तीसले भन्यो, ‘ए पिपल, तिमी त्यो ठाउँबाट हटिहाल त । तिमीले गर्दा हामीले जराबाट राम्ररी खाना खान पाएनौँ ।’
सल्लाले थप्यो, ‘हो, तिमीले गर्दा हामीले अगौँजी खाना खान पाएनौँ । तिमी अलि पर गएर बस ।’
उत्तीस र सल्लोले बिनासित्तीमा निउँ खोजेको देखेर पिपलको चित्त दुख्यो । पिपलले कुरा बुझेको थियो । मानिसहरूले उसलाई मात्रै माया गरेको हुनाले उत्तीस र सल्लाले पिपललाई हटाउन खोजेका थिए ।
पिपलले भन्यो, ‘म किन यहाँबाट हट्नु ? बरु तपाईंहरू नै घारीतिर जानुस् न । दाउरा चाहिए मानिसहरू उतै आइहाल्छन् नि ! मानिसहरूले मेरो गुन सम्झेर मलाई पूजा गर्छन् । म बाटोबाट हटेँ भने मानिसहरूलाई दुःख हुन्छ । मेरो पूजा गर्न घारीमा जानु पर्छ । गर्मी भएका वेला सिँयालमा बस्न पनि पाउँदैनन् । तपाईंहरू नै पर गएको राम्रो ।’
पिपलका कुरा सुनेर उत्तीसलाई खुब रिस उठ्यो । रन्थनिँदै भन्यो, ‘तिमी धेरै फुर्ती नलगाऊ है पिपल भाइ । तिमीले मानिसलाई के गुन लगाएका छौ ? मानिसले तिम्रा दाउरा त बाल्दैनन् । सल्लो दाजु र मलाई मानिसले कति काममा प्रयोग गर्छन् । दाउरा हामी नै दिन्छौँ । काठ पनि हामी नै दिन्छौँ । मानिसहरू हाम्रै सिँयालमा बसिहाल्छन् नि !’
पिपललाई छिमेकीसँग झगडा गर्न मन लागेन । ऊ चुप लागेर बस्यो । परबाट डोली बोकेर एक हुल मानिस आए । उनीहरू पञ्चेबाजा बजाएर नाच्दै थिए । सल्लाले सोध्यो, ‘आज किन मानिसहरू बाजागाजा लिएर हिँडेका रहेछन् ?’ उत्तीसले भन्यो, ‘बिहे लिएर हिँडेका होलान् नि !’
ठूली एकादशीको दिन थियो । मानिसहरूले डोली बिसाएर पिपललाई माला लगाइदिए । अबिरको टिको लगाइदिए । नैवेद चढाइदिए । सबैले पिपललाई ढोगे । हिँड्ने वेलामा एकजना मानिसले भन्यो, ‘हे पिपल ! तिमी हाम्रा लागि देउता हौ । तिमीले अरू रूखविरुवाको भन्दा सयौँ गुना बढी अक्सिजन दिएका छौ । सिँयाल दिएका छौ । तिम्रो गुन बिर्सिनसक्नु छ । तिमी सधैँ खुसी रहनू । हामी तिम्रो पूजा गरिरहन्छौँ ।’
मानिसहरू पिपलको पूजा गरेर नदीमा फूल तार्न हिँडे । पिपलले भन्यो, ‘देख्यौ साथी हो, मानिसहरू मलाई किन माया गर्दा रहेछन् !’
त्यसपछि उत्तीस र सल्लो बोलेनन् । उनीहरू अर्कैतिर फर्केर बसे ।