सम्झना : त्यसपछि गीतहरू बन्द भए, शोक धुनहरू बज्न थाले

हामी पुग्न ४ मिनेट लाग्यो होला । हामी पुग्दा हजुरबाको वाक्य बन्द भईसकेको थियो । अहिले अनुमान लगाउँदा हजुरबालाई मस्तिष्कघात भएको रहेछ ।

देवशंकर पौडेल ।

हजुरबा श्रीलाल २०२८ साल माघ ५ गते बिहानै उठेर आफ्ना नित्यकर्म सकेर माइली दिदीसँँग ‘मलाई सञ्चो भएन, दाजु भाईहरूलाई तुरुन्त बोला’ भन्नासाथ माइली दिदी अम्बिकाले ओतका फेदको डिलबाट बालाई बोलाउनुभयो । बा दौडदै भदौरा पुग्नुभयो । हामी पनि साथसाथै गयौं । कान्छाबा पनि पुग्नुभयो । छरछिमेकी पनि जम्मा हुँदै जानथाले ।
हामी पुग्न ४ मिनेट लाग्यो होला । हामी पुग्दा हजुरबाको वाक्य बन्द भईसकेको थियो । अहिले अनुमान लगाउँदा हजुरबालाई मस्तिष्कघात भएको रहेछ । दिनभरी स्थानीय औषधि गरियो । काईंलावा टीकाप्रसाद पौडेल, धावा तामाङ आदि आएर आफूले जानेको तन्त्रमन्त्र र जडिबूटी गर्नुभयो ।
गाईका बाछाहरू जम्मा गरिए । विभिन्न खालका दानहरू भए । दशदान वैतरणी आदि । हजुरबाका सिरानमा बसेर चण्डी, श्रीमद्भागवद्गीताहरू पढियो । काइलाबाले नाडी हेर्नुभयो । अब धेरै समय रहनु हुन्न भन्ने सङ्केत गर्नुभयो । त्यतिवेला दिउँसो १ बजेको हुँदो हो । हजुरबालाई बाले सोध्नुभयो, ‘घाट जाउँहै बा ?’ हजुरबाले इसाराबाट मञ्जुरी सूचक सङ्केत गर्नुभयो । डोली घरैमा थियो । कान्छाबा भोजराज पौडेल, दलबहादुर पौडेल, भैरबबहादुर कार्की र अरुहरूले डोली तयार गर्नुभयो । त्यस वेलासम्म तीस जनाजति जम्मा भइसकेका थिए । डोलीको दुइतिर बा र कान्छाबाले बोक्नुभयो । बाको गोली लागेको खुट्टाले भर नदिने भएर अरुले सहयोग गरे । घाट पुग्दा नपुग्दै हजुरबाले देह त्याग्नुभयो । त्यो पीडादायी दिनमा म १२ बर्षको मात्र भएको रहेछु ।
घरको मियो ढलेकाले हाम्रो परिवारमा ठूलो शोक परेको थियो । फुपु दिदीहरू, भानिज दाजुहरू जम्मा हुनुभयो । पाका मान्छेहरू लुकीलुकी रुनुहुन्थ्यो । हामी पनि संगसंगै रुन्थ्यौं । यसैबीचमा बिभिन्न किसिमका दानहरू भए । बाछाहरू, भेडो, राँगो समेत दान भयो । हजुरबाको काजक्रिया हुँदै थियो । तेह्रौ दिनको शुद्धशान्ति सकिएका दिन पाहुनाहरू विदा भइसकेपछि बेलुका ७ः३० बजेको समाचारमा रेडियो नेपालले राजा महेन्द्रको निधन भएको समाचार पढ्यो । त्यसपछि गीतहरू बन्द भए, शोक धुनहरू बज्न थाले । त्यतिवेला नै वीरेन्द्र नयाँ राजा घोषित भएका समाचार सुन्न थालियो । राजा मर्दा हाम्रो परिवारमा शोक थपिएको थियो । कैयौं दिन राजा महेन्द्रकै बारेमा चर्चा भइरह्यो ।
राजाको काजक्रिया कसले गर्छ भन्ने चर्चा चल्थ्यो । ठूला मान्छेहरू त्यसको जवाफ दिन्थे । आआफूले जानेका विषयमा आफू आफूमा बोल्थे, हामी सुन्थ्यौं । राजाले त आफ्ना पिता माताको काजक्रिया गर्दा रहेनछन् भन्ने कुरा त्यसवेला नै थाहा पाएका थियौं । राजाको निधन भएकाले कैयन् दिनसम्म रेडियो नेपालले शोकधुनमात्र बजाई रह्यो ।
रेडियो राख्नेहरूका निम्ती कडा नियम लगाएको थियो । जिल्ला पञ्चायतमा दर्ता गर्नु पर्थ्यो । इजाजत पत्र लिनु पर्थ्यो र तोकिए बमोजिम कर पनि तिर्नु पर्थ्यो । अन्यथा गरी रेडियो घरमा राखेमा जरिवानासहित रेडियो नै जफत हुने ब्यवस्था थियो । त्यसवेला सैपुमा कमै मात्र रेडियो थिए । वैरेनी गंगाप्रसाद पौडेल, सूर्यघँडेरी सोमप्रसाद पौडेल, सिरिसे ललितबहादुर सुनुवार र पुलुमा हाम्रो घरमा मात्र रेडियो थियो, जस्तो लाग्छ । खासखास अवस्थामा समाचार सुन्न छरछिमेकीहरू रेडियो भएका ठाउँमा भेला हुँने गर्थे ।
त्यसको केहि महिनापछि बाले रोटेपिङ भएको रु १ को नोट ल्याउनु भएछ । महेन्द्रका पालाको रातो रङ्गको एकको नोटमा राजाको तस्विर अङ्कित थिएन । एक रुपैयाँको डवलको चित्र थियो । तर त्यो नयाँ राजा वीरेन्द्रको नोटमा राजाको तस्विर अङ्कित रहेछ । बासंग नयाँ नोट हेर्न धेरै मान्छे आए । केहि दिन पछि त नयाँ राजा वीरेन्द्रका नोटहरू नै ब्यापक भए । पुराना राजा महेन्द्रका नोटहरू हराउँदै जान थाले ।
यी बालककालका अनुभूतिहरू हुन् ।

(लेखक पूर्व सांसद हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button