प्रकृतिबाट धेरै फाइदा हुनाले यसको संरक्षणमा ध्यान दिनुपर्छ
प्रकृति र हाम्रो जीवन
आदर्श थापा
८, ख, स्वर्णिम स्कुल, डल्लुआवास, काठमाडौं
आफैं उत्पन्न हुने र आफ्नै नियममा चल्ने कुरा प्रकृति हो । प्रकृतिको नियममा यो सारा जगत् चलेको छ । हामी पृथ्वीका प्राणी प्राणीहरू सबै यही प्रकृतिका अंश हौँ । प्रकृति र हाम्रो जीवन अन्तरसम्बन्धित छन् । हाम्रो जीवन प्रकृतिबिना चल्न सक्दैन अनि प्रकृतिमा भएका जे जति कुरा छन् तिनको सही उपयोग गर्न हाम्रो आवश्यकता पर्दछ ।
प्रकृतिबाट हामीले अनेक फाइदा लिन्छौँ । प्रकृतिले हामीलाई अक्सिजन भएको हावा दिन्छ जुन हामीलाई बाँच्नका लागि चाहिन्छ । प्रकृतिमा भएका सुन्दर र मनलाई लोभ्याउने अनौठा दृश्यहरूले हाम्रो मनलाई शान्ति दिन्छ । प्रकृतिमा भएका सुन्दर जीवजन्तुहरू देखेर हाम्रो मन लोभिन्छ । प्रकृतिमा भएका बिरुवाहरूबाट हामीले औषधि बनाउन सक्छौँ । त्यही औषधिले नै हामीलाई रोगबाट बच्न सहयोग पु-याउँछ । हामीले प्रकृतिबाट विभिन्न सामाग्रीहरू पनि पाएका छौँ । हामीले प्रयोग गर्ने कलम, कागज, किताब, हामीले खाने बिस्कुट, स्याउ, केरा, हामीलाई घर बनाउन चाहिने माटो, सिमेन्ट आदि सबै हामीलाई प्रकृतिबाट प्राप्त भएको हो ।
कुनै कुनै सामान प्रकृतिबाट बनेको जस्तो नदेखिएला तर तिनीहरू बनाउन प्रयोग भएका कच्चा पदार्थहरू प्रकृतिबाट नै प्राप्त भएका हुन् । अहिले हामीले प्रयोग गर्ने मोबाइल कम्प्युटर पनि सबै प्रकृतिबाट बनेका जस्ता नदेखिएलान् तर तिनीहरूलाई बनाउन प्रयोग गरिने सामाग्रीहरू सबै प्रकृतिबाट नै प्राप्त भएका हुन् । प्रकृतिमा पाइने राम्रा राम्रा फूलहरू हामीले आफ्नो घरहरू वा कोठालाई सजाउन प्रयोग गर्छौँ । राम्रा राम्रा जनावरहरूलाई पाल्छौं । हामीले जनावरहरूबाट पनि धेरै फाइदा लिन सक्छौं । हामीले गाईबाट दूध, कुखुराबाट अण्डा आदिजस्ता कुराहरू हामीले जनावरहरूबाट पाउन सक्छौं । प्रकृतिले हामीलाई फाइदा त दिन्छ तर यिनै फाइदाहरूको सही उपयोग गर्न हाम्रो आवश्यकता पर्दछ । हामीले यही प्रकृतिको सही उपयोग गरेनौं भने प्रकृतिबाट आउने प्राकृतिक स्रोतहरू सबै खेर जान्छन् ।
प्रकृतिले हामीलाई फाइदा दिएर मात्र पनि हुँदैन हामीले पनि प्रकृतिको सही उपयोग गर्न सक्नुपर्छ । प्राकृतिक स्रोतहरू कहिल्यै नसकिने स्रोत होइनन् । यस्ता स्रोतहरू धेरै उपयोग गर्दा तिनीहरू सकिंदै जान्छन् । आजकल सहरीकरणका कारण हाम्रो माटो बिग्रिँदै गएको छ । बाढी, पहिरो आदि आएर खेत, जमिन आदि बगाएको छ । वनमा ढडेलो लागेर धेरै बोटबिरुवाहरू नाश भएका छन् । जनावरहरू मारिएर कुनै प्रकारका जनावरको वृद्धि र कुनै प्रकारका जनावर घट्दै गएका छन् । कुनै कुनै जनावर त लोप हुँदै पनि गएका हुन । हामीले धेरै फोहर गरेर र धुँवा निकाल्ने धेरै उद्योगहरू सञ्चालन गरेर वातावरण प्रदूषित भएको छ । यस्ता कामहरूले प्रकृतिलाई असन्तुलित बनाउँछ । यस्ता कामहरू रोक्नका लागि हामीले प्रकृति जोगाउन र जनावरहरूको सुरक्षा गर्न धेरै राष्ट्रिय निकुञ्जहरुको स्थापनामा ध्यान दिनुपर्छ । हामीले आफै पनि बिरुवा रोप्ने, रूख नकाट्ने र जनावरलाई नमार्ने जस्ता उपायहरू गर्न सक्छौँ ।
यसरी हामीले प्रकृतिबाट धेरै फाइदाहरू पाउँछौं तर प्रकृतिको सही उपयोग नगरे हामीले प्रकृतिबाट फाइदाहरू प्राप्त गर्न सक्दैनौँ । हामीले प्रकृतिबाट धेरै फाइदा प्राप्त गर्न सक्ने हुनाले हामीले यसको संरक्षणमा ध्यान दिनुपर्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)