‘नाचिरहन्छु, जति बेलासम्म गीत बजिरहन्छ’

अशोक सिलवाल
नयाँ गाउँ, दहचोक, प्युठान ।

‘ल ! आऊ । हामी सबै नाचौँ’, मैले भनेँ ।

बच्चाहरु कोही नाच्न तम्सिए । कोही लजाए । कोही भाग्न खोजे । र, एक्कासी सबैले एउटै स्वरमा भने, ‘ऊ … त्यो मोनिकालाई आउँछ ।’

‘ल ! तिमी सबैभन्दा अगाडि आऊ’, ऊनीको गुलावी घाँगर लगाएकी गोलो अनुहारकी उज्याली उसलाई नजिक बोलाएँ । ऊ आनाकानी गर्दै थिई ।

‘हा हा हा हा’, सबै हाँसे र सबै बच्चाहरु उफ्रीउफ्री नाचे ।

अंग्रेजी क्यालेन्डर अनुसार १० नोभेम्बर २०२० । पश्चिम नेपालको प्युठानस्थित प्रिय पवित्रस्थल स्वर्गद्धारीबाट दाङको भालुवाङतिर जाँदै गर्दा प्युठानकै दहचोकस्थित नयाँ गाउँ पुग्दा त्यहीँ भेटिएकी थिई ऊ ।

त्यहीँ भेटिएका थिए ती एक हुल साना केटाकेटी । तिनैमध्येकी एक थिई ऊ । अलि हुर्केकी जस्ती देखिने फुच्ची कताबाट हो कुन्नि ! हामीतिर आएकी थिर्ई । उसलाई देखाउँदै सबैले भनेका थिए, ‘उसलाई नाच्न आउँछ ।’

तर, उसले नाच्नुको सट्टा मलाई थर्काए झैँ गरी सोधी, ‘तपाई कहाँबाट आउनु भा’ ?’

‘स्वर्गद्धारीबाट’, त्यति भनेर मैले आग्रह गरेँ, ‘नाच ।’

‘म किन नाच्ने ?’, ऊ फेरि झर्किई ।

तर, एक छिनमा ऊ नाच्न थाली जब मोबाइलबाटै बज्यो, ‘टिकटकमा देखेको, तिमीले नाचेको !’

टंक बुढाथोकी र मेलिना राइकृत यो चर्चित गीत बजिरह्यो । ऊ नाचिरही ।

तिमी फुल भए म सुवास बनुँला
तिम्रो चौतारीको म शितल बनुँला

गीत जति राम्रो, उसको नाच उत्तिकै । ऊ यति मजाले नाची, म हेरेको हेर्यै । उसको प्रत्येक मुभ क्या मज्जाको । त्यस्तो मजा कहिलेकाहीँ मात्र हुन्छ र मलाई त्यस्तै भइरहेको थियो । उसको नृत्यले मलाई हल्का, हल्का र निकै हल्का महसुस गराइरहेको थियो । उसले लाएको गुलावी घाँगर पनि उसलाई कत्ति सुहाएको ।

पानको पात सुपारी
नाच्छ्यौ तिमीले कसरी
मन पछ्र्यौ हौ मलाई बेसरी
बेसरी बेसरी । बेसरी बेसरी ।
सालको पात टपरी
तिमीलाई फोनै नगरी
काट्नु दिन मैले कसरी
कसरी कसरी । कसरी कसरी ।

उसले हल्लाएको हात, उसले हल्लाएको मुन्टो, उसको अनुहारको भाव आहा ! । उसको नृत्यमा आहा, आहा र अनगिन्ती आहाहरु ! थिए । र, मेरो मन ती अथाह आहाहरुले भरिइरहेका थिए ।

तिमी मुटु भए म धड्की रहुँला
तिमी घाम भए छायाँ बनुँला

गीत बजिरहेकै थियो । ऊ नाचिरहेकै थिई । म हेरेर खुशी । ऊ नाचेर खुशी ।

बेला बेला राजमार्गमा दौडिरहेका गाडीहरु चर्को हरन बजाइरहेका छन् । वरपरबाट अरु केही मान्छे थपिएका छन् । नृत्यमग्न माहौल छ ।

जुन तारा त टाढा छ
मलाई मात्र थाहा छ
तिम्रो माया कति लाग्छ
मुलको पानी सफा छ
जोडी हाम्रो मिल्या छ
भन कहिले लाने विचार छ ?

ऊ सानी नानी तर गीतले बैंस बोलेको छ । ऊ सानी तर उसले बैंस नाचेकी छ ।

ऊ यो देशकी छोरी । लहरा, छहरा, झरना र नदीनालाजस्ती । उसको नृत्य नदीजस्तो, झरनाजस्तो, छहराजस्तो र हावाले झुलिरहेका धानका बालाजस्तो ।

तिमीलाई रुन दिन्न कहिले पनि हँसाई राखुँला
जे गरेनी सधैँ तिम्रै हात समाई राखुँला

गीत सकियो । तर, रमरम कहाँ सकिन्थ्यो । मलाई झम्म् भइरह्यो ।

उसको हात नसमाई मैले भनेँ, ‘तिमीसँग अलिकति गफ गर्छु । अलिकति उता हिंड त ।’

ऊ मैले भनेतिर हिंडी । तर, मलाई ऊ उभिएको ठाउँ अझ मन परेन । भनेँ, ‘अलिकति उता ।’

ऊ फेरि अलिकति अगाडि सरी ।

‘हो । त्यहीँ’, फेरि पनि मलाई चित्त बुझेन र अलि छेउतिर इशारा गर्दै भनेँ, ‘… अथवा यहाँ आउ त । खोला पनि देखिने गरी ।’

‘तिम्रो नाम के हो ?’, तल पृष्ठभुमिमा खोला पनि देखिने गरी उभिएकी उसलाई सोधेँ ।

‘मोनिका रसाइली ।’

‘घर कहाँ हो ?’

‘नयाँ गाउँ’, सडकभन्दा अलि परको घर देखाउँदै उसले भनी, ‘ऊ त्यहाँ ।’

‘कति क्लासमा पढ्छ्यौ ?’

‘४ मा ।’

‘अनि तिमीलाई कहिलेदेखि नाच्दा यस्तो मजा आउन थालेको ?’

‘जबदेखि मैले डान्स सिकेँ ।’

‘कहिले सिक्न थाल्यौ ?’

‘स्कुल खुलेदेखि ।’

‘स्कुल कहिले खुलेको ?’

‘भयो होला ३, ४ बर्ष ।’

‘३, ४ बर्षअगाडि स्कुल थिएन ?’

‘थिएन ।’

‘तिमी अंग्रेजी, हिन्दी नेपाली सबै गीतमा नाच्छौ ?’

‘मैले हिन्दी र नेपाली गीतमा जान्या’ छु ।’

‘नाच्दा कस्तो आनन्द आउँछ ? एकदम सबैचीज बिर्सिन्छौ ?’

‘अँ ।’

‘अनि कति समयसम्म नाच्न सक्छौ ? एक घन्टा, दुई घन्टा ?’

‘नाच्न सक्छु ।’

‘कति बेरसम्म ?’

‘जति बेरसम्म गीत चल्छ ।’

‘ओहो !’

‘अनि पछिल्लो पटक कति लामो समय नाचेकी थियौ ?’

‘एक घन्टा जति ।’

‘सपनामा पनि नाच्ने कुरा आउँछ ।’

‘अँ ।’

‘सपनामा पनि नाच्छ्यौ ?

‘मलाई डान्सर बन्न मन लाग्छ ।’

‘तिमी डान्सर बन्छ्यौ । किनकी तिमीभित्र डान्सर छ ।’

‘तिमी गीत पनि गाउँछ्यौ ?’

‘जानी छैन ।’

‘तिमी अहिले राम्रोसित नाच्ने काम गर । सिक्ने काम गर । कसरी नाच्ने, के नाच्ने भनेर के के सिक्यौ तिम्ले ?’

‘हजुर ?’

‘नाच्नेबारेमा के के सिक्यौ ?’

‘नाच्नेबारेमा … ?’

‘नाच्नु भनेको के हो ?’

‘डान्स ।’

‘नाच्नु भनेको डान्स हो ?’

‘थाहा छैन ।’

‘केही भन्नु छ नाचको बारेमा ?’

‘छैन ।’

‘तिमीलाई कसले डान्स सिकाउनु भएको ?’

‘मलाई ओम … ओम सरले । उहाँ डान्सर हो ।’

‘स्कुलमा तिमी मात्रै …’

‘मजस्तै मेरा सँग पनि सिक्या छन् ।’

‘हँ ?’

‘मेरो सँगहरुले पनि सिक्या छन् ।’

‘तिम्रा साथीहरुले पनि ।’

‘अलि तलकी … आचार्यले पनि सिक्या छे ।’

‘तिमी साँच्चिकै असाधारण ! राम्रो नाच्दिरहिछौ । तिमीले नाचेर हामीलाई एकदमै खुशी बनायौ । तिमी पनि सायद खुशी भयौ । खुशी भयौ नि ?’

‘भएँ ।’

‘ल, एकदमै धन्यवाद । तिमीले हाँसेको अनि नाँचेको दुवै राम्रो । तिमी पनि राम्रो ।’

‘ल, थ्यांक्यु है ।’

बोल्दा ऊ आफना दशै औलाहरु एकाअर्कामा चलाइरहेकी थिई । म अपरिचित मान्छेसँग ऊ लजाइरहेकी थिई तर ऊ उत्तिकै आत्मविश्वासी । त्यति सानी फुच्ची तर फुच्चीजस्तै नलाग्ने ।

छुट्टिने बेला उसले उसकी आमाको नम्बर दिई । र, मैले मेरो नम्बर । नम्बर लिँदालिदै उसकी हजुरआमा आइपुगिन् ।

‘नाच्ने भनेपछि यो पागलै छे’, उनले भनिन् ।

‘पागलै रहन दिनोस् । एक दिन ऊ नाचरै ठुली हुन्छे’, मैले भनेँ ।

‘बाबुको बोली लागोस्’, नातिनीको निधारमा हात राखेर आफ्ना चाउरी तन्काउँदै हजुरआमाले भनिन् ।

प्युठानकी नृत्य प्रतिभा मोनिका र साथीहरुसँग लेखक अशोक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button