अनलाइन क्लास: ल्यापटप कि ल्यापोट ?

सागर ‘मणि’ थापा

शेखरले स्कुलको झोला बिसाउँदै भन्यो, ‘ल सुन्नोस् मामु । नेक्स्ट सन्डेदेखि हाम्रो स्कुलमा पनि अनलाइन क्लास लिने रे । त्यही भएर मलाई एउटा दामी ल्यापटप किनेर ल्याइदिनुप-यो ।’

शेखरको माग सुनेर उसकी मामु मखमली भन्छिन्, ‘मलाई के भन्छस् त बाबै । मसँग ल्यापोट किन्ने रकम छैन । भरे तेरो ड्याडी आएपछि भन्नू । आखिर यो घरको मूल मान्छे तेरो ड्याडी सन्तमान नै हुन् क्यारे ।’

शेखरले हाँस्दै खिज्यायो, ‘ल्यापटप भन्न नजानेर ल्यापोट भन्नुहुन्छ । फेरि नाम पनि कस्तो पुरानो खालको । मखमली रे ! जमाना नयाँ । नामचाहिँ…। मामुको नाम सुने भने त मेरा साथीहरू हाँस्छन् ।’

मामुलाई त्यसरी खिज्याएपछि शेखर एक्लै हाँस्यो । उसलाई बोर्डिङ्ग स्कुलको हावाले नराम्ररी छोएको थियो । टिचरहरू समेत नेपालीभाषा शुद्धसँग बोल्दैन थिए । त्यही भएर शेखरका साथीहरू पनि मिसमासे भाषा बोल्दथे ।

शेखरले राति कुरा निकाल्यो, ‘ड्याडी मलाई एउटा ल्यापटप चाहियो । सस्तो होइन नि । एकदम एक्सपेन्सिभ खालको ।’ शेखरले अहिले पनि अङ्ग्रेजी शब्द मिसायो ।

सन्तमान खाना खाएर टेलिभिजनमा समाचार हेरिरहेका थिए । छोराको माग सुन्दासाथ उनको बर्बनी तातिहाल्यो ।

सन्तमान बेसरी कराए, ‘तैँले भन्नेबित्तिकै ल्यापटप किन्न सक्छु मैले ? तँलाई थाहा छ एउटा ल्यापटपको मूल्यकति पर्छ ? ला, यो मेरो मोबाइल फोनले काम चला ।’

सन्तमानले खल्तीको मोबाइल सोफामा हुत्याए । मखमलीले सहन सकिनन् । तब रिसाएझैं गरी भनिन्, ‘पैसाको कुरा निकाल्यो कि तपाईँको टाउको दुख्न थाल्छ हगि हाकिम साहब ? कोरोनाको यस्तो महामारी छ । एउटा ल्यापोट त…।’

मखमलीले फेरि भन्न जानिनन् र बीचैमा रोकिइन् । सन्तमानलाई झन् रिस उठ्यो । उनी आफ्नै पुर्पुरोमा मुड्की ठोक्दै झन् कराए । सन्तमानलाई लाग्दोरहेछ कि उनको खप्परमा खालि कचबच मात्र सहन लेख्या रैछ ।

Ad

सन्तमानले टेलिभिजन हेर्न छाडिदिए । उनी आफ्नो शयनकक्षभित्र पसे । ड्याडीले छाडेपछि टेलिभिजनको रिमोर्ट कन्ट्रोलर शेखरको हातमा आयो । उसले मन पर्ने कार्टुन च्यानल लगायो । मखमली लुगाहरू मिलाउँदै थिइन् । उनलाई नपाली हाँस्य सिरियल हेर्न मन पथ्र्यो । त्यही भएर रि.क. मागिन् ।

शेखरले मामुलाई टेरेन । अनि त गाला पड्किहाल्यो । उसले हातको रि.क.फालिदियो । त्यो रि.क.पनि धन्नकै रहेछ ! कत्ति पल्ट फ्याँकिइँदा पनि जस्ताको तस्तै थियो । अहिले पनि केही भएन ।

शनिबारको दिन

शेखर प्नि चौरमा बल खेल्न गएको थियो । खेल सकिएपछि सबैजना थकाइ मार्न बसे । त्यहाँ पनि अनलाइन क्लासकै चर्चा चल्यो । त्यहाँ पनि शेखर कमजोर देखियो । उसले कुरा लुकाउन सकेन र बतायो, ‘मेरो कन्जुस बाउले जाबो एउटा ल्यापटप पनि किनेर ल्याइदिएनन् साथी हो । पैसा छैन रे । थोत्रो मोबाइल फोन भिडाए भन्या । तिमीहरूको जस्तो उदार छैनन् के मेरो बाउ । महाकन्जुस छन् ।’

साथीहरू मज्जाले हाँसे । जो जसरी हाँसे पनि शेखर मात्र एक्लो व्यक्ति थिएन । केही साथीहरू पनि समस्यामा परेका थिए । तैपनि आ-आफ्नै तरिकाले अनलाइन क्लासमा पढिरहेका रहेछन् ।

इतबार दिउँसो

शेखर अनलाइन क्लासमा पढिरहेको थियो । त्यही बेला झ्याप्प बत्ती गइदियो । शेखरलाई उसकी मामुले कौशिलाको घरतिर कुदाइन् । त्यहाँ पुगेर मखमलीले कौशिलासँग भनिन्, ‘नानी । शेखरलाई पनि तिमीहरूसँगै बसेर पढ्न देओ न ल ? हामीकहाँ बत्ती र वाइफाइको समस्या प-यो ।’

कौशिलाले समस्या बताई, ‘यो कसरी सम्भव छ र मखमली आन्टी ? शेखरको र हाम्रो स्कुलको किताब नै मिल्दैन । हामी सरकारी स्कुलका प-यौँ । ऊ बोर्डिङ्गको प-यो ।’

शेखरले नेपाली विषय मात्र पढ्ने मनसुवा राख्यो । कौशिला र उमाले नचाहेरै पनि शेखरलाई सहयोग गर्नु प-यो ।

तर शेखरले राम्रोसँग पढेन । त्यहीभएर ती दिदीबहिनीले शेखरलाई अनलाइन क्लासबाट निकालिदिए । शेखर घरतिर गयो ।

यता अनलाइन क्लासमा अन्य विद्यार्थीहरूको हल्ला सुनिन थाल्यो । कौशिला र उमाले ल्यापटपको स्क्रिनमा प्रष्ट देखिरहेका थिए । कुनै साथीहरू गफ गरिरहेका थिए । कोहीचाहिँ खाइरहेका थिए ।

टहरामा बस्ने साथीहरूको मोबाइलबाट त भेडाबाख्राहरू कराइरहेका आवाज पनि सुनिन्थ्यो ।

अति भएपछि म्यामले चेतावनी दिइन्, ‘सञ्जय, रसिला, कोपिला । तिमीहरू पढाइमा ध्यान दिन्छौ कि क्लासबाट आउट गरिदिऊँ ? अनि रेखाको पछिल्तिर बसेर हल्ला गर्ने को हो ? रेखा, त्यहाँ हल्ला नगर्नू भन न ।’

रेखाले मिसको आज्ञा पालन गर्दै यसो भनी, ‘ए ममी, आन्टी । तपाईँहरू बाहिर गएर कुरा गर्नोस् न, प्लिज । यहाँ हामीलाई डिस्टर्ब भो के । छिटो गइदिनोस् न ममी । नत्र म्यामले मलाई पनि आउट गरिदिनु हुनेछ ।’

त्यसरी कराइदिएपछि अनलाइन क्लासमा शान्ति छायो । म्यामले पढाइलाई फेरि सुचारू गरिन् । केही बेरपछि पानी पर्न थाल्यो । टहराभित्र बसेर पढिरहेका केटाकेटीका मोबाइल र ल्यापटपमा जस्तापाता बज्न थाल्यो । त्यसले गर्दा फेरि अनलाइन क्लासमा वाधा पर्न थाल्यो ।

बेलुका अफिबाट घरमा आइपुग्नासाथ मखमलीले लोग्नेलाई गाली गरिन्, ‘धारो बिग्रेर राम्रोसँग पानी आउँदैन । टी.भी.बिग्रेर पिक्चर राम्रो आउँदैन । बत्तीको कारण आज छोराले अनलाइन क्लास पढ्न पाएन । हैन, ए शेखरका बा । घरमा मात्र यस्तो हो कि अफिसमा पनि गाईजात्रे पारा छ तिम्रो ?उहाँ भने हाकिम रे !’

सन्तमान पनि के कम । उल्टै झपारे, ‘जाबो फिउज हाल्न त तैँले पनि सिकेकी भए हुने नि । यस्ता झिनामसिना कुरामा मेरो टाउको किन खान्छौ हँ तेरा आमाछोराले ?’

शेखरलाई ड्याडीको पारा देखर एकदमै रिस उठ्यो र करायो, ‘तपाईँलाई राम्रोसँग बोल्न आउँदैन ड्याडी ? देशभक्त अङ्कलले श्रीमतीलाई कहिल्यै तँ भन्नु हुन्न । तपाईँको नाम त सन्तमान नभएर सनकमान हुनुपथ्र्यो ड्याडी । सधैँ सन्किरहने । सनकमान के !’

एक हप्ता बित्यो । दुई हप्ता बित्यो । तर शेखरले ल्यापटप पाएन । त्यही थोत्रो मोबाइलको भरमा उसको अनलाइन क्लास घिसिपिटी चलिरहेको थियो ।

एक दिनको कुरा हो…। सन्तमान शेखरको स्कुलमा पुग्छन् र हेडसरसँग बाझ्न थाल्छन्, ‘यो के काइदा हो हेडसर ? अनलाइन क्लास लिएको पनि हामीले पूरै फिस तिर्नुपर्ने ? फेरि हाम्रो समस्या नबुझी अनलाइन क्लास लिएर हुन्छ ?’

हेडसरले नम्र भएर सम्झाए, ‘सरकारले दिएको निर्देशन पालना गर्नै प¥यो नि सन्तमानज्यू । कोभिड-१९ को यस्तो महामारी छ । विद्यार्थी भाइबहिनीहरूको सुरक्षाकै लागि त हो ।’

सन्तमान केही नरम भए । हेडसरले प्यारेन्ट्स मिटिङ्गमा जानकारी गराएकै रहेछन् । तर सन्तमान उपस्थित भएका रहेनछन् ।

अन्ततः सन्तमानले छोराको पूरै फिस तिरेर फर्किए । उनी घरमा आइपुग्दा देशभक्त चियाखाजा खाइरहेका थिए । उनलाई देख्नासाथ सन्तमानको मन खिन्नभयो । उनले देशभक्तको व्यवस्थित घर-परिवार राम्ररी देखेका थिए । आफ्नोचाहिँ लथालिङ्ग !

जे भए पनि सन्तमान देशभक्तका हाकिम थिए । त्यही भएर हात जोर्दै समस्या बताए, ‘हेर्नोस् त सन्तमान सर । हजुरको छोराले मेरी छोरीहरूलाई भ्वाइस मेसेज र केही पिक्चरहरू पठाएको रहेछ । एक पटक शेखरलाई सम्झाइदिनु प¥यो भनेर म आएको हुँ ।’

देशभक्तले आफ्नो मोबाइल अन गरे । शेखरले पठाएको भ्वाइस क्लिप सुनाए । फोटाहरू पनि देखाए । छोराको बदमासीबाट सन्तमान लज्जित भए । अनि छोराको तर्पmबाट आपैmले माफी मागे ।

देशभक्त घर फर्किएपछि सन्तमानको रिस छोरातिर फर्कियो । उनले छोराको खोजी गरे । तर छोरालाई त मखमलीले मामाघर पठाइसकेकी थिइन् ।

मखमलीले नम्र भएर भनिन्, ‘सबै दोष छोरामाथि मात्र थोपरेर समस्या समाधान हुन्न नि शेखरको ड्याडी । म उसको पढाइमा सहयोग गर्न नसक्ने । तपाईँचाहिँ टाइम नै नदिने । शेखरलाई गाइड गर्ने मान्छे नै भएन । त्यही भएर मैले भदैनीको साथ लगाएर पठाइदिएँ ।’

सन्तमान पुनः झोक्किए, ‘अनि पढ्नुपर्दैन रे त्यो पाजीलाई ? भर्खर मात्रै पूरै फिस तिरेर आउँदै छु म ।’

मखमलीले स्वादैले जवाफ दिइन्, ‘जाबो एउटा ल्यापटप पनि किनेर ल्याइदिएनौ । अनि पठाउन परेन त ? अनलाइन क्लास हो । जहाँ पढे पनि त भो नि । हैन, ए बूढा । तलबको पैसाचाहिँ के गर्छौ हँ तिमी ? जुवा खेलेर सिध्याउँछौ कि क्या हो ?’

सन्तमान झनै कड्किन्छन्, ‘मेरो तलबको पैसा खोज्नेले धानको भातखाने खेत किन्दा लागेको ऋण तिर्न कति बाँकी छ बूढा भनेर किन सोध्दिनौ हँ ?’

लोग्नेको जवाफ सुनेपछि मखमली झसङ्ग भइन् । अनि कान समातेर माफी मागिन्, ‘आइ एम सरि हाकिम साहब ।’

त्यसरी ती लोग्ने-स्वास्नीको बहस सकियो । केही समयपछि लोग्ने र स्वास्नी मिलेर करेसाबारीमा काम गर्न लागे ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button