हाम्रो घर नजिकैको एउटा घटनाले मलाई यो लेख्न बाध्य बनायो

जीवन काँडा कि फूल ?

विभूति काफ्ले
कक्षा ७, कोसी सेन्ट जेम्स आ.मा.वि, इटहरी ।

खासमा मानिसको जिन्दगी कति गाह्रो छ है ?
तपाईले कहिले एक्लै बसेर सोच्नुभएको छ ?

कति गाह्रो छ यो जिन्दगी जीउन र यो समाजमा बाँच्न भनेर पक्कै पनि मलाई लाग्दैन, कसैले यसबारे डुबेर सोचेको छ भनेर । मैले पनि त्यस्तो भावुक भएर त सोचेकी छैन तर पक्कै पनि मैले देखेको र बुझेको कुरा लेख्ने क्रममा धेरै कुरा वुझ्ने प्रयास गरेकी छु ।

हामी सबैले झमककुमारी घिमिरेको जीवन काँडा कि फूल भन्ने किताब त पढेकै छौं । साँच्चै घिमिरेको कितावको शीर्षक जस्तै कसैको जीवन फूल जस्तै हुन्छ भने कसैको काँडा जस्तै ।

मानिस सबैले जीवनको एक पलमा कुनै न कुनै काँडा जस्तो पल त बिताउनै पर्छ । जसरी झमकले धुलोमा लेखेर, बहिनीको पुरानो किताब पढेर भए पनि क, ख धुलोमा लेख्दै शब्द रु बनाउँदै पढ्नु भएको थियो । के त्यो जीवन काँडा जस्तो थिएन र ? के बहिनीको किताब चलाउँदा बुबाको गाली खानु जीवन काँडा जस्तो थिएन र ? के अशक्त भएकै कारणले छिमेकीहरुले गिज्याउने जीवन सहज थियो होला र ? जुन हामी कल्पना पनि गर्न सक्दैनौ कि हाम्रो जीवनमा त्यस्ता घटना घटे भने हामी त्यसलाई कसरी पार गर्छौ भनेर ।

अहिलेको समयमा त मानिस यति स्वार्थी भएका छन् कि कसैलाइ कसैका बारेमा सोच्ने र सहयोग गर्नेसम्म पनि फुर्सद हुँदैन जस्तो लाग्छ । हालसालै हाम्रो घर नजिकैको एउटा घटनाले मलाई यो लेख्न वाध्य बनायो । केहि दिनअगाडि एक महिला आफ्नो लगभग डेढवर्ष जतिको छोरा साथ लिएर हाम्रो टोलमा आएकी थिईन् । उनको मानसिक स्थिस्ति र स्वास्थ्य पनि कमजोर देखिन्थ्यो । म दिउँसो लगभग साढे दुई बजेतिर ज्योति स्कूलको आफ्नो बालक्लवको मिटिङका लागि जाँदै गर्दा उनलाई हाम्रो छिमेकीको पेटीमा बसिरहेको देखेकी थिएँ ।उनी हातमा नानी च्यापेर पैसा गनिरहेकी थिईन् ।

म घर फर्किंदा भने ती महिला त्यहाँ थिइनन् । त्यस पछि म आफ्नै काम गर्दै थिएँ घरमा । मेरो बाबा साँझको समयमा घुम्न जानु भएको थियो । बाबा र बाबाको साथीहरुले अब भने ती महिलालाई देख्नु भएछ । हाम्रै घर छेउको एक जना अंकलले माया घर लगिदिने भनेर माया घरको मानिसलाई फोन गर्नु भएछ । त्यसपछि त्यहाँबाट हामीलाई हैन, पुलिसलाई भन्नुस् भनेपछि उहाँले पुलिसलाई फोन गर्नु भएछ । हामीलाई अत्तोपत्तो थिएन कि ती महिला कहाँबाट आइन् ? किन आइन् भन्ने कुरा ।

अंकलले पुलिसलाई फोन गर्नु भो तर पुलिसले फोन गर्ने अंकललाई उहाँको पिसिआर रिपोर्ट चाहिन्छ भनेछन । पुलिस अफिसमा फोन उठाउने पुलिसको यस्तो घटिया व्यवहार सुनेपछि अंकलले हरेश खानु भएछ । हुन पनि हो, मान्छेले आफूले सक्ने न गर्छ । भन्नासाथ पिसिआर गर्ने र रिपोर्ट ल्याउने त कुरै भएन । त्यसपछि तिनै अंकलले भात, दाल र अरू खानेकुरा दिनु भएछ । उनी त्यो भातलाई आफ्नो छोरालाई खुवाउँदै आफू पनि रमाएर खाईरहेकी थिइन् ।

पछि हाम्रो बाबालाई एकजना सशस्त्र प्रहरीको एसपी अंकलले फोन गर्नु भयो अनि बाबाले ईटहरीको प्रहरी प्रमुखलाई फोन गरिदिएपछि महिलालाई उनको छोरासहित प्रहरीको गाडीले त्यहाँबाट उठाएर लग्यो । थाहा छैन, अहिले ती महिला र उनका छोराको के अवस्था छ । यी सबै घटनाहरु प्रश्न उठ्छ, जीवन काँडा हो या फूल ?

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button