
अन्धविश्वासदेखि आत्महत्यासम्मको मनस्थिति
रमा गौतम
आधारभुत स्वास्थ्य सेवा केन्द्र, बेलबारी, मोरङ ।
२०६७-६८ सालमा स्वास्थ्यतर्फको अ.हे.ब. कोर्सपश्चात नै मैले स्वास्थ्य सेवातर्फको सेवा सुरु गरेको हुँ । सानो उमेरदेखि नै मेरो यो पेसातर्फको लगाव छुट्टै थियो । समय र परिस्थितिले गर्दा यो क्षेत्रको पढाई यो भन्दा अगाडि लान नसके पनि सेवा गर्ने मौका भने सुरुदेखि नै पाउँदै आएकोमा म आफूलाई भाग्यमानी सम्झन्छु् । २०७१ सालमा पहिलो पल्ट काठमाडौँ उपत्यका बाहिरको जिल्ला त्यसमाथि दुर्गम छेत्र रसुवा जिल्ला अन्तर्गतको स्वास्थ्य चौकीमा काम गर्न सुरु गरेपश्चात नै मैले दुर्गम क्षेत्रको भोगाई, कष्टकर जीवनशैली, स्वास्थ्य र शिक्षाको क्षेत्रमा पहुचको कमीलाई नजिकैबाट नियाल्ने मौका पाएकी थिएँ ।
हुन त ठाउँ नै दुर्गम भन्नासाथ हाम्रो मानसपटलमा त्यहाँको भौगोलिक विकटता र त्यहाँको रहनसहन आइनै हाल्छ । मैले त त्यो समयमा सोचेको पनि थिइन कि मानिसलाई त्यतिसम्मको बाध्यता र विवशताले घेरेको हुन्छ । मानिसलाई आफ्नो ज्यानको परवाह छैन तर रितिरिवाज र परम्परासँग त्यति परवाह हुन्छ्र । कुनै महिला प्रसव पिडाले छट्र्टिदासम्म घरको देवी देवता रिसाउने डरले स्वास्थ्य चौकी लान हुदैन भन्दै घरमा झाक्री लगाएर राखेको देखेँ । आँखा भरी आँसु आयो । मन भारी भयो । घरमा दुई दिनसम्म झाक्री लर्गार कुखुरा बोका बली दिएर अब अन्तिम भयो भनेपछि बल्ल कुनै महिलालाई स्वास्थ्य चौकी लिएर आए । त्यो भन्दा माथिल्लो निकाय लाने भनेको त कुरै थिएन । हामीले हामी सक्दैनौ अस्पताल, लैजानुस भन्दा बरु घर फर्काएर लान तयारी गर्दथे्र । आखिर ज्यानको त कुनै मुल्य नै छैन ।
आफुले जानेको सीप र क्षमताले भ्याएसम्म त हाम्रो तर्फबाट प्रयास नगरेको हैनम । कतिपय त यस्तो अवस्था पनि सिर्जना भएको थियो कि आफुभन्दा माथिको चिनेजानेको डाक्टरसँग फोनमा सल्लाह लिँदै पनि उपचार गर्न बाध्य थियौं । एक त, भौगोलिक विकटता छँदै थियो, आर्थिकस्तर पनि निकै कमजोर । त्यस मथि जनचेतनाको कमी । त्यस्तो अवस्थामा सम्झाइबुझाई केहि नलागेपछि हामी पनि आफुले सकेसम्म राम्रो सेवा गर्ने गर्दथियौं । दुर्गमको त्यो बसाइले मलाई जीवनमा धेरै पाठ सिकाएको छ । त्यो न त मैले कुनै गुरुहरुबाट सिक्ने मौका पाएँ न त कुनै किताबी ज्ञानमा ।
यसरी नै मेरो जागिर अवधिको आठ महिना विभिन्न पिडा चपेटा हेर्दै नियाल्दै बित्यो । ती त केवल प्रतिनिधि घटना मात्र हुन् । त्यस्ता कयौं बिमारीको सिकार भएर पनि धामी झाक्रीको विश्वास गर्ने प्रवृति अझै जिवितै छ । कतिपय बच्चाले यस सुन्दर संसारलाई नियाल्न नपाउँदै मृत्युको सिकार बन्न पुगेका छन् । जनचेतनाकोँ कमी, स्वस्थ खाना तथा सरसफाइको कमी, कुपोषण र समयमा नै उपचारको अभावमा कतिपय कलिला नानीबाबुहरु संसार छाड्न बाध्य छन् ।
दुर्गम र अविकसित क्षेत्रमा अशिक्षित मानिसलाई बुझाउन गाह्रो हुन्छ । तर, जागिरे जीवनको सिलसिलामा सुगम यानिकी स्वास्थ्य शिक्षाको राम्रो पहुँच भएको ठाउँमा पनि काम गर्ने मौका नामिलेको भने होइन । लागेको थियो, ‘सहर बजारमा त शिक्षित मानिस बस्छन् । उनीहरु त आफ्नो परिवारको बारेमा ख्याल गर्छन ।’ तर, त्यो यथार्थ सबैमा लागु नहुँदो रहेछ । सधैजसो स्वास्थ्य चौकीमा बसेर बिरामीको उपचार गरिरहेने क्रममा एकजना बहिनीको मुहारले मलाई एक्कासी तान्यो । हुन त उनले सामान्य टाउको दुखेको मात्र भने पनि उनको बोल्ने शैली र शारीरिक हाउभाउले बनावटले गर्दा उनको त्यो समस्या सामान्य लागेन । उनलाई एकान्तमा राखेर एकैछिन कुरा गर्ने निर्णय गरेँ । समस्या पत्ता लगाउन धेरै समय लागेन । मनभरी गुम्सिएर रहेको पिडा आँखाबाट आशु बनेर झर्न थाले । मन नमज्जा लाग्यो ।
‘बीस वर्षको उमेरमा पारिवारिक सहमतिमा विवाह गरेँ । पढाई पुरा नगरी विवाह गर्ने मन त थिएन । तर, के गर्नु बुबाआमाको इज्जतको लागि सहमत भएँ । विवाहहपश्चात पढाई अगाडि लाने त सपना मात्र भयो । घर परिवारको साथ थिएन । कलिलो उमेर, त्यसमाथि पारिवारिक बोझले धेकेल्दै गयो । मलाई्र हिजोसम्म आमाबुबाको काखमा मायाले बसेकी म । आज आएर घर सम्हाल्न पर्ने भयो । अब त परिवार, आफन्त, इस्टमित्र रिझाउन पर्ने भयो । त्यतिसम्म त गरेकै हो । त्यसमाथि परिवारको वंश अगाडि बढाउन पर्ने कुरा आयो, मेरो उमेर कति नै भएको छ र म आफु पनि त बच्चा जन्माउन मानसिक रुपमा तयार हुन पर्छ, उनले भनिन्, ‘तर, मेरो इच्छा कसले बुझ्ने ? न त श्रीमानको जागिर न त आफ्नो कुनै आम्दानीको श्रोत। यस्तो आवस्थामा बच्चा जन्माएर मात्र के गर्ने ? न त राम्रो शिक्षा दिन सकिन्छ न त कुनै इच्छा पुरा गर्न नै । परिवारको लगातारको दवावपछि बच्चा जन्माउने निर्णय त गरेँ । तर केहि महिनासम्म पनि बच्चा भएन । मैले त जचाउन अस्पताल जाउँ भनेको हो तर श्रीमान मान्नु हुन्न । घर परिवारले मानसिक दवाव दिन सुरु भयो । सोचेको थिएँ, श्रीमानको त साथ पाउँछु ।’
‘तर ,बिडम्बना उहाँले त ममाथि कुटपिट गर्न सुरु गर्नुभयो । दिनकै अनेक बहानामा झगडा गर्न थाल्नु भयो । जब आफ्नो मान्छे पनि आफ्नो नरहेपछि बाँच्नुको अर्थ देखिनँ । आत्महत्या गर्ने पनि नसोचेको होइन । तर, किन हो त्यो पनि आँट आउदैन न त रातमा निद्रा लाग्छ, कोहिसँग बोल्न पनि मन लाग्दैन । माइतीघरमा सुनाउँ भने पनि आमाबुबालाई तनाव हुन्छ । अहिले त घरबाट उहाँको अर्को विवाह गर्ने कुरा गर्नु हुन्छ । यस्तो गर्नु भयो भनेत … ’, उनी एक्कासी रुन थालिन्, मन हलुको भयो सिस्टर हजुरलाई भनेर ।
मैले भनेँ, ‘हिम्मत गर बहिनी समस्या छ भने हल पनि पक्कै छ । अहिले श्रीमानले मान्नु हुन्न भने आफ्नो आमाबुबालाई साथ लिएर आफ्नु राम्रोसँग जाच गराउनु । तिमीलाई समस्याको सामना गर्दा गर्दै अरु नै समस्याले सताउन थालेको छ । पहिला त्यसको लागि उपचार गराउन जरुरी छ । अरु समस्या विस्तारै ठिक हुन्छ । आत्मवल राख ।’
त्यति भनेपछि उनी गइन् । त्यसपछि न त मैले उनलाई भेट्ने मौका पाएँ न त देखेँ । सायद अस्पताल गइन् होला । आज यतिका वर्षसम्म पनि उनको मुहार आँखामा झल्झल्ती आउँछ ।
शिक्षित परिवारभित्र पनि मानसिक दवावका कारण उनमा उदासिनताको लक्षण देखिएको थियो ।
शिक्षित परिवारभित्र त त्यत्रो पीडा सहेर बस्न बाध्य छन् महिलाहरु भने अशिक्षित परिवारभित्र त दैनिक कति घटना घटेका होलान् ? त्यसको त कुनै लेखाजोखा नै छैन । महिलाको हक हितको लागि कानुन बने पनि परिवारको इज्जतको डर राखेर अझै पनि दिदीबहिनीहरु आफ्नो अधिकार लिन डराउँछन् ।
आखिर यो कहिलेसम्म ? कानुनका पाना महिलामैत्री भए पनि व्यावहारिक रूपमा यो कहिले लागू होला ? सधैं जिज्ञाशा पो हुने भयो ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)