‘ए तपाईं त छोरा पाउन पो आउनु भएको रहेछ ?’

प्रतिभा सुवेदी

त्यसताका म स्वास्थ्यसम्बन्धी पत्रपत्रिका त्यति पढ्दैन थिएँ । अहिलेजस्तो इन्टरनेट र कम्प्युटर पनि थिएन ।

हाम्रो समयको शिक्षा पद्धतिमा दैनिक जीवनमा निकट सम्बन्ध रहेका अत्यावश्यक विषयहरु विशेष गरेर स्वास्थ्य शिक्षा अन्तर्गत सरुवा र अन्य रोगको उपचार, पोषण र सरसफाई आदिस“ग सम्बन्धित सूचना र जानकारी दिने चलन पनि थिएन । शिक्षित युवा–युवतीहरुलाई समेत ‘मानव शरीरको बनोट’को सामान्य ज्ञानसमेत थिएन भन्दा पनि हुन्छ । हामीले पढेका पुस्तकहरुमा पनि ती कतै उल्लेख थिएनन् । आफ्नो शरीर र स्वास्थ्यबारे चनाखो हुनपर्छ र स्याहारसम्भार गर्न पर्छ भन्ने ज्ञान पनि थिएन । स्वास्थ्य शिक्षाको अभाव अझ पनि खड्कन्छ ।

सुत्केरी व्यथा लागेर प्रसुतिगृह पुग्नुअघि सुत्केरी व्यथाबारे म पुरा अनभिज्ञ थिएँ । म २४ वर्षकी थिएँ । प्रसुतिगृह पुगेपछि सुत्केरी हुने व्यथा लागेका महिलाहरु जीवनमा पहिलोपल्ट देखें । उनीहरु प्रसव वेदनाले छट्पट्एिको कारुणिक दृश्यले मेरो खुट लग्लग् काम्न थाल्यो । ३ दिनको प्रसवपछि सुत्केरी भएँ । नवजात शिशुलाई मेरो सामुन्ने नर्सले ल्याएर देखाउँदा अत्यधिक खुशी लाग्यो । त्यो म शब्दमा बयान गर्न सक्दिनँ । प्रसवका सबै वेदना उत्ति नै समय सन्चो भएकोजस्तो भयो ।

त्यतिबेला अहिले जस्तो अप्रेशन गरेर बच्चा झिक्ने चलन पनि थिएन । सुत्केरी भएपछि उच्च ज्वरो आयो, कमजोर भएर विरामी परेँ । अनि मलाई रगत दिन परेको घट्ना सम्झन्छु । सात दिनको अस्पाताल बसाईपछि म ठिक भएँ । मलाई डा. दिव्यश्री मल्लले नया“ जुनी दिनु भएको अनुभव भयो । सबै महिलाहरुले बच्चा पाउँछन्, सजिलै बच्चा जन्मन्छ भन्ने लागेको थियो, होइन रहेछ ।

काखमा पहिलो बच्चा लिएर थापाथलीबाट घर फर्किंदा काठमाडौंको बाटोमा भिड देख्दा मेरो मनमा लाग्यो, महिलालाई बच्चा पाउन यति कठिन हुन्छ तर पनि कसरी यति मानिसहरुको भिड भएको होला । के सबै आमाहरु यही वेदनाबाट गुज्रिएका होइनन् त ? त्यसैले हिजोआज महिलाहरु हाम्रो आमा र हाम्रो पालाको जस्तो होइन, जम्मा १ बच्चामा सिमित हुन थालेको देखिन्छ ।

पहिलो बच्चा पाएपछि ४५ दिनको सुत्केरी बिदा लिएर घरमै बसेँ । म त्यो अवधिमा अर्थशास्त्रमा स्नातक अध्ययनरत विद्यार्थी थिएँ । राष्ट्रिय विकास सेवामा जान पर्ने व्यवस्था थियो । विद्यालयमा अध्यापन र गाउँ सेवा गर्न पर्दथियो । त्यो डेढ महिनाको सानो बच्चा च्यापेर फेरि काठमाडौंबाट ‘राविसे’ पुरा गर्न खोपासी गएँ । एक महिना बाँकी थियो । त्रिभुवन विश्वविद्यालयवाट सुपरभाईज गर्न आएका प्राध्यापकहरुले हाम्रो कामको मूल्याकंन गरेर नम्बर दिने प्रचलन थियो ।

तसर्थ त्यही समयमा त्रिभुवन विश्वविद्यालयबाट दुई जना महिला प्राध्यापकहरु हामीहरुको कामको मूल्याकंन गर्न काभ्रे खटिएका थिए । उनीहरुले हामीलाई खोपासीमा माविमा भेटे अनि हाम्रो बसाई हेरे । त्यति बेला म ५० दिनको सुत्केरी नै थिएँ । ती दुई प्राध्यापन पेशामा भएका महिलाहरु जो निरीक्षण गर्न खटिएका थिए, उनीहरुले मलाई भेट्नासाथ ‘ए तपाई त राविसेमा छोरा पाउने योजना पो बनाउनु भएको रहेछ’ भनेर प्याच्च भने । म छक्क परेँ, आफुलाई कति कष्ट भएको छ, उल्टै महिला भएर सहानुभूतिको शब्द बोल्नु त कता हो कता हो !

हामी ३ जनाको महिलाले विद्यालयमा अध्यापनका साथै विकासका लागि गर्नसम्म दुख गरेका थियौ । हाम्रो परिश्रमले विकासको काम पनि भयो । जुन विद्यालयमा हामी खटिएका थियौं, त्यसमा विद्यार्थीहरुलाई पढ्न कक्षा–कोठाको अभाव थियो । कक्षा कोठा निर्माण गर्न ठाउँ पनि थिएन । साँधमा मन्दिर थियो, जुन गुठीको जग्गामा निर्मित रहेछ । बाँकी जमिन पनि गुठीको नाममा थियो । तत्कालिन शिक्षकहरुमा जगन्नाथ उलकलगायत सत्याल गुरुहरुले ‘गुठीको जग्गा स्कूललाई दिलाउन खोजेको, सकेका छैनौ’ भनेको सुन्यौं । अनि मचाहिँ गुठी संस्थानमा जग्गाका लागि धाउने गर्दथिएँ । त्यति बेला बद्रिविक्रम थापा गुठी संस्थानको महाप्रबन्धक थिए । उनी सामाजिक व्यक्तित्व रहेछन् र उक्त गुठीको जग्गामा मन्दिर भएको जग्गा विद्यालयलाई दिलाउने निर्णय गरिदिए, जुन सहज भने रहेन छ । मन्दिरका पुजारीलाई जग्गा विद्यालयलाई दिलाउन लागेको मन परेको थिएन । एकदिन मलाई भने, ‘ए नानी, भगवानको मन्दिरको वरिपरिको जग्गा स्कुललाई दिलाउने काममा नलाग्नुस् ।’ उनले मलाई एक किसिमले थर्काएका रहेछन् । तर मेरो मनमा आया,े स्कूल पनि त मन्दिर हो ।

हाम्रो सामुहिक प्रयासमा सँगैको गुठीको जग्गा खोपासी माविलाई दिलाएर र काठमाडौंमा चन्दा उठाएर उक्त विद्यालयमा थप कोठा पनि बनाउन सफल भयौं ।

उषा तिवारी र उर्मिला मानन्धर आफ्ना ईष्टमित्रलगायत व्यवसायीहरुबीच पनि चन्दा उठाउन थाले । म जग्गा दिलाउन धाइरहेँ । हाम्रो समयमा गर्भवती हुँदा पनि गर्मी महिना भए पनि सल ओढेर जिउ ढाकेर हिँड्ने चलन थियो । अहिले जस्तो वेवी सावर भनेर पेट देखाउने चलन सिकिसकेका थिएनौं । गर्भमा भएको बच्चालाई लिएर अश्लिल प्रदर्शन पनि गरिदैँन थियो । हालै प्रकाशित अरुणा उप्रेतीको बेवी सावर लेखमा हाम्रो समयका अवस्था लेखिएको थियो । विचार आ–आफनो भनेर पिपला ढुगांनाले नेपालनाम्चामा दही च्युरा कि बेबी सावर भनेर समय अनुसार चल्नेबारे प्रतिक्रिया दिईन् ।

बच्चाको लिङ्ग पहिचानको आधारमा बेवी सावर गरिन्छ भनिएकोचाहिं सही होइन । बेवी सावरमा पश्चिमा जगतमा राम्रो हिसाबमा बच्चा होस् भन्ने कामनासहित खुशियाली मनाउने र बच्चालाई आवश्यक सामग्री उपहार दिने गर्दछन् । भद्धा तवरबाट पेट देखाउने अनि हुनेवाला बावुले त्यही पेटमा चुम्बन गर्नुचाहिं हाम्रो परम्परा होइन । यो तरिकाचाहिं नेपाली महिलाको मातृत्वलाई सम्मान गर्ने शैलीको अपमान हुन्छ ।

मेरो आमा हुन लागेको अवस्था थियो । विद्यार्थी थिएँ र यी सबै कष्ट झेल्दै आमा हुदै थिएँ । म ढुक्क थिएँ, राम्रो काम गरिराखेको छु भनेर । मेरो परिवेशलाई ती प्राध्यपकद्वय महिलाहरुले यति कुराठाराघात गरे कि के भन्नु ?

उनीहरुमा महिलामैत्री भावना भन्ने त पल्हाएकै रहेन छ । धेरै महिलाहरु पनि धेरै नै पितृसत्तात्मक स्वभावका भेटेको छु । बरु बद्रिविक्रम थापाले विद्यालय उदघाट्नको समयमा मैले गुठी संस्थान धाएको देखेर स्यावासी दिएका थिए । महिलाहरुले त महिलाको मातृृत्व विषयमा कति सहजसँग बोले भने । उनीहरुको नाम त लेख्दिनँ म । यो उनीहरुको संस्कार र समाजिकिकरणको परिणाम हो ।

मेरो मनमा त्यति बेलाको पीरचाहिं के थियो भने मलाई उनीहरुको मूल्याकंनमा कति नम्बर दिए होलान् । त्यति दुखः गरेँ भन्ने मनमा थियो भने जाच“ लिन आउनेचाहिं त्यस्ता परे ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button