म नर्स हुँ, मलाई गर्व छ र समस्याहरु पनि छन्

नर्स, कोभिड १९, आशा र त्रास

वसन्ती थापा
भट्टेडाँडा अस्पताल, वाग्मती गाउँपालिका, ललितपुर ।

कोरोनाको विश्वव्यापी महामारीको समयमा अग्रपंक्तिमा खटेर काम गरिरहेका नर्सहरुलाई हेरेर सायद धेरैले नर्सिङ पेशाको महत्त्व बुझिसक्नु भएको छ । नर्सिङ पेशा केवल औषधि दिने र सुई लगाउनेमात्र होइन भन्ने कुरा पनि थोरै मात्रमा भए पनि बुझ्न थाल्नु भएको छ होला । तर, नर्सिङ शिक्षा र नर्सिङ पेशाको कार्यक्षेत्रको दायराबारे बुझाउन बाँकी नै छ । नर्सिङ पेशा धेरैको रोजाइमा परेता पनि यसले आफ्नो मूल्य भने उठाउन सकिरहेको छैन ।

प्रसंग कोभिड १९ को महामारीको हो । अहिले हरेक पत्रिकाको कुनामा र सामाजिक संजालमा नर्सिङको विज्ञापन देख्न सकिन्छ । विज्ञापन देख्दा नेपालमा उत्पादन भएका नर्सहरुले पनि विज्ञापनको परिपुर्ति हुन सक्दैन होला जस्तो लाग्छ । विज्ञापनमा खुलाइने विभिन्न दायरामध्ये कतै कतै जब ज्यालादारी भनेर खुलाइन्छ नि, तब मन चसक्क हुन्छ । कति तुच्छ शब्दको प्रयोग गरेर विज्ञापन खुलाइन्छ । के नर्सहरुको मूल्य ज्यालादारी मात्र हो र ? हुन त महामारीको बेलामा हामी सेवा दिन तत्पर छौं । तैपनि हामीलाई बोलिने शब्दको उचित प्रयोग गरिदिएर विज्ञापन जस्तो कि स्वयम्सेवाको रुपमा (निर्वाह भत्ता) दिने गरी भनी खुलाउँदा खुसी तथा हौसला मिल्थ्यो । यसरी नेपालको अधिकांश अस्पतालमा काम गरेर स्तर अनुसारको पारिश्रमिक र इज्जत पाएका नर्सहरु बिरलै भेटिन्छन् । जब महामारीले देशलाई आपत परेको बेलामा नर्सिङको आवश्यकता ठानेर खुलाइने विज्ञापनको दस हजारदेखि पच्चीस हजार रुपैंयासम्मको पारिश्रमिक देख्दा जो कोहिलाई राम्रो लाग्छ तर १२ घन्टा अस्पतालमा काम गरेर पाएको पारिश्रमिक नै नर्सको मुल्य हो त ? अहिले छ्याप्छ्याप्ती खुलेको विज्ञापन के नर्सको मूल्य बुझेर नै खुलेका होलान् त ? विदेशमा ईज्जतिलो मानिले नर्सिङ पेशाले हाम्रो देशमा त्यो इज्जत अहिलेसम्म पाउन सकेको छैन । नर्सिङ पेशाको न त मूल्य बुझ्न सकेको छ न त मर्म नै ।

सारा मानिस आफ्नो घरमा बसिरहेको समयमा नर्सहरु आफ्नो परिवारलाई पनि संक्रमणको जोखिममा पारेर निस्वार्थ भावना लिई आफ्नो उतरदायित्व पूरा गरिरहेका छन् । यस्तो विषम परिस्थितिमा पनि आफ्नो जीवनलाई हत्केलामा राखी सेवा प्रदान गरिरहँदा पनि नर्सहरुमाथि भौतिक आक्रमणका घटनाहरु भैरहेका छन् । यस्ता घटनाहरु सामाजिक संजालमा देख्नु ,सुन्नु र पढ्नु हाम्रो लागि दुखद् खबर हो । एकातिर कोरोनाको आक्रमण त छँदैछ, अर्कोतिर मानिसको अमानविय व्यवहारले नर्सहरुको हौसला र मनोबलमा असर पुर्याइरहेको छ । यस्ता घटनाहरु पहिलादेखि नै सुन्दै आएका छौं र भविष्यमा फेरि पनि नदोहोरिएलान् भन्न सकिन्न ।

अरुको जीवन बचाउन लागिपरेका नर्सहरुले आज आफ्नै रक्षाको लागि गुहार माग्नुपर्ने अबस्था सिर्जना भइरहेको छ । आफ्नो व्यक्तिगत तथा पारिवारिक समस्यालाई एकातिर पन्छाएर आफ्नो जीवन जोखिममा राखी बिरामीको सेवामा अहोरात्र खटिरहेका नर्सहरुको मनोबल उच्च राख्न हौसला प्रदान गर्नुको साथै उनीहरुको लागि सुरक्षित वातावरण सिर्जना गर्नु अपरिहार्य छ । सबै सम्बन्धित सरोकारवाला निकायले नर्सिङ पेशाको महत्त्व र मुल्य अहिलेसम्म नबुझे कहिले बुझ्ने त ? सकिन्छ हौसला दिऊँ, सकिदैन अपमान र अभद्र व्यवहार नगरौ ।

हामी मानव हौं, मानवताको व्यवहार गरौं ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button