
असारे हिरामान र लाठेको कविता
ब्राह्मणपुत्रको लकडाउन डायरी-५१
भरत शर्मा
भनिन्छ, सबैभन्दा उत्तम कर्म कृषि हो, त्यसपछि जागिर र व्यापार । कोरोना महामारीले देशभर लकडाउन भए पनि किसानलाई असार लागिसकेको छ । एक झर पानी परेपछि मलिलो खेतमा किसानहरु माना रोपेर मुरी फलाउने काममा लागेका छन् ।
काठमाडौं उपत्यकाभित्रका खेतहरुमा पनि किसानहरु रोपाइको चटारोमा छन् । शुक्रबार अष्टमी तिथि पनि परेकाले म पनि अध्ययन–अध्यापन छोडेर किसानीमा लागेँ । सनातनशास्त्रमा प्रतिपदा, चुर्तुदशी र अष्टमीको दिन शास्त्र अध्ययन गर्नु राम्रो मानिँदैन । त्यसो हो भने अष्टमीको दिन के गर्ने त ? केही समय पहिले एकजना गुरुलाई सोधेँ, ‘हरेक महिनाको शुक्ल र कष्ण पक्षको अष्टमीको दिन किसानी गर्दा जीवनमा लाभ हुन्छ ।

आज गरेको कामले लाभ त हुने नैं भयो । कात्तिकमा मुरी धान खेतमा फलेपछि किसान खुसी हुनेछन् । म पनि आज मैले गरेको कृषि कर्मबाट खुसी छु ।
किसानीमा नलागेको एक दशक नै भयो । पछिल्लो एक बर्षदेखि अध्ययन, अध्यापनसँगै सहरमा बसेर पनि किसान हुने रहर जागेको छ । चीनमा बस्दा अध्यापकहरुले विश्वविद्यालय परिसरमा मौमसी तरकारी खेती गरेको देखेपछि मभित्र पनि परिवर्तन आयो । राम्रो कुराको सिको गरेँ ।
शुक्रबार खेत रोपाईमा सहभागी भएर ‘लाठे’ कर्म गर्दा खेतको ढिलमा बसेर मनमनै कर्म किसानी कविता गुनगुनाउन थालेँः
लाठे जमिनसँग प्रेम गर्छ
लाठे खेतसँग प्रेम गर्छ
लाँठे माटोसँग प्रेम गर्छ ।
यो त हाइकु भयो । सायद हाइकु पनि भएन । हाइकु लेख्नेहरुले यसलाई हाइकु पनि मान्दैनन् । फेरि पनि कविताः
मैले आज कर्म किसानीको खुसी देखेँ
हातमा कोदालो र माटोसँग खेलेको देखेँ
दिनमा तीन पटक सिमसिमे पानी परेको बेला
रोपार र लाठेहरु खेतका गराहरुमा नाचेको देखेँ
खेतमा हिलोको सुगन्ध
र, माटोभित्रको ममता झल्किएको देखेँ
जे देखेँ, त्यहि लेखेँ ।
खेतको ढिलमा घामको छेल पारेर कविता लेख्न थालेपछि रोपार र लाठेहरु कराउन थाले, ‘के लेख्दै हो ?’

घरसाथीले सुशीलाले फुत्त भनिदिइन्, ‘नेपालनाम्चाको लागि लकडाउन डायरी लेख्न लागेको होला । आज ५१ दिन भयो । हरेक दिन लेखेको छ । कहिलेकाहीँ म पनि पढछु । आज त किसानको कुरा लेख्न लागेको होला ।’
खेतमा विउ उखाल्न जम्मा भएका महिला र लाठेहरु सबैलाई भनेँ, ‘आज लाठे हुन आएको खेतमा तर कविता फुर्यो । कविता भन्ने कुरा तुरुन्तै लेखेन भने बिर्सने भएकाले तुरुन्त लेख्न थालेको ।’
त्यति नै बेला सिमसिमे पानी प-यो । रोपारहरुले एकैं स्वरमा भने, ‘छिटो रोपाई सकेर घर जानुपर्ने । तपाई त अल्छी पो गर्नुहुन्छ ।’
कहाँ अल्छी हुनु ! एकैछिन ओझेल परेको मात्र हो । त्यसपछि जागेँ । १० मिनेटसम्म एक शब्द नबोली कोदाली चलाएको त खेतका गरा त सम्म भइसकेछन् ।
साँझ ५ः३० बजे रोपाईं सकियो ।
भनिन्छ, जे काम गर्दा खुसी होइन्छ, त्यही गर्नुपर्छ । असार लागेपछि मलाई ‘लाठे’ हुँदा निकै खुसी लाग्छ ।

लकडाउनले गर्दा गाउँमा रोपाई गर्न जाने अवसर नपाए पनि शहरभन्दा थोरै पर तारेकेश्वर नगरपालिकाभित्रका खेतहरुमा रोपाईको लागि ‘लाठे’को निम्तो आएको छ ।
पहिले धादिङ सल्यानटारको मेरो गाउँमा एकजना हिरामान नामका किसान थिए । ‘लाठे’ कामका लागि जसले बोलाए पनि ‘हुन्छ, आउँछु’ भन्ने उनको बानी थियो । तर, उनी सबैलाई हुन्छ भने पनि कसको मेलामा जान्थे, कसैले अनुमान लगाउन सक्दैन थिए । हिरामान बैकुन्ठ पुगे पनि गाउँमा असार लागेपछि उनको चर्चा हुन्छ ।
गाउँघरतिर पनि रोपाई शुरु भएको हिजो गाउँका एकजना मामाले फेसबुक म्यासेन्जरमा खबर गरे, ‘फूर्सद भए लाठे हुन आउनु ।’
शहरमा लकडाउन जारी छ । ७ असारपछि खुकुलो भयो भने १५ असारअघि गाउँमा लाठे हुन जाने हो ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



