प्रिय म्याराडोना ! म तिम्रो खुट्टाको पूजारी तर मलाई मरियानाको माया लाग्यो
मरियानाको नजन्मेको बच्चा त यो धर्तीमा छैन नै । म्याराडोना पनि यो धर्तीमा रहेनन् अब । तर, म्याराडोना ! तिम्रो खुट्टाको पुरुषार्थ फुटबलजस्तै सधैं सधैं रहनेछ, सम्झना र श्रद्धाको ग्राउन्डमा ।
अशोक सिलवाल
केही बर्षअघिको एउटा नोभेम्बरको ३० तारिख मैले जीवनमा त्यसअघि कहिल्यै नभेटेको कसैका लागि छुट्याइसकेको थिएँ । केही दिनअगाडि नै टुर एजेन्सीका साथीले आफ्ना पर्यटकलाई काठमाडौं घुमाउने जिम्मा मलाई दिएका थिए । र, उनले यो पनि भनेका थिए, ‘क्यान्सिल पनि हुनसक्छ है । पछिल्ला दिनहरु नेपाल आउने निश्चित गरिसकेका विदेशीले समेत भ्रमण स्थगित गर्ने गरेको तपाईंलाई पनि थाहा छ । भुकम्पको त्रास सेलाउँदै गर्दा नाकाबन्दी जब्बर भएर आएको छ ।’
तर, २९ तारिखमा उनीहरु नेपाल आइसकेका रहेछन् । भोलिपल्ट बिहान लाजिम्पाटको शंकर होटलमा भेट्नेबित्तिकै मैले युगल जोडीलाई सोधें, ‘तिमीहरु कुन देशका हौ ?’
‘अर्जेन्टिना’, एकै स्वरमा आएको जोडी उत्तरपछि म अर्जेन्टिना, अर्जेन्टिना र फेरि अर्जेन्टिनातिर अड्किरहें । दिनभर नै मलाई अर्जेन्टिनाले छोडेन । अर्जेन्टिनाको फुटबल टीम अझ फुटबलका जादुगर म्याराडोना दिनभर मसँगै रहे । मेरो दिमाग जताबाट पनि अर्जेन्टिनाको फुटबल टीम र अझ म्याराडोनामै रहिरह्यो । म्याराडोना फुटबलप्रेमी धेरै नेपालीको मनमा अत्यन्त प्रिय भएर बसेको बर्षौं भइसक्यो ।
विगतका थुप्रै फिफा वल्र्डकपताका फुटबलप्रेमी नेपालीले अर्जेन्टिना, अर्जेन्टिनी फुटबल टीम र म्यारोडोनालाई मनैदेखि गहिरो माया गरेको मैले देखेको छु । म आफै पनि अर्जेन्टिनाको फ्यान हुँ । अर्जेन्टिनी फुटबल र म्याराडोनाको जबरजस्त फ्यान हुँ । नेपालीकै जस्तो उनीहरुको अनुहारले पनि मलाई आकर्षित गरेको हो । सरदर नेपालीकै जस्तो उचाई छ उनीहरुको पनि । त्यसमाथि किन हो ? आकाशे नीलो र सेतो रंग मिसिएको अर्जेन्टिनी फुटबल टीमको टिसर्ट र त्यसको रंगले पनि मोहित पाथ्र्यो मलाई । पछिल्लो समयमा मेसीको विश्वप्रियता त छँदैछ ।
मैले उनीहरुसँग मेसीको कुरा गरिनँ । अरु अर्जेन्टिनी फुटबल प्लेयरहरुको पनि कुरा गरिनँ । म्याराडोनाबारे हामीले दिनभर कुरा गरिरह्यौं तर थाकेनौ । त्यसताका म्याराडोना अर्जेन्टिनामा नभएर दुवईमा बस्दै गरेको मरियानाले मलाई सुनाई । म्यारोडोनाका जीवनका ‘कन्र्टोभर्सी’बारे पनि हामीले कुरा गर्यौं ।
‘व्यक्तिगत जीवन एउटा कुरा हो र खेलकुद अर्को कुरा’, मैले भनें ‘म म्याराडोनाको अनुहारदेखि खुट्टासम्मको फ्यान हुँ ।’
‘म्याराडोना इज नट अन्ली म्याजिकल प्लेयर । हि इज अ गुड ह्युमन बिइङ टु । हि ह्याज गुड हार्ट । बट् ड्रग्स ड्यामेज्ड हिम् । (म्याराडोना जादुगरी खेलाडी मात्र होइनन् । उनी असल मानिस हुन् । उनीसँग असल मन छ । तर, उनी कुलतको शिकार भए)’, पाब्लोले भन्यो ।
त्यसो भन्दै गर्दा पाब्लोले मात्र होइन, मरियानाले पनि अनुहार दुखी बनाएकी थिई ।
पाब्लोले बताए अनुसार कोलम्बियाबाट अर्जेन्टिनामा ड्रग्सको कारोबार हुने गर्छ रे । ‘अर्जेन्टिनामा २० देखि २५ प्रतिशत जनसँख्या गरिबीको रेखामुनि छन् । जब गरिबीमाथि कुलत पस्छ तब सुरु हुन्छ लुटपाट । त्यसपछि हत्यासम्मको स्थिति पनि आउन सक्छ’, ऊ भन्दै थियो ।
डिएगो म्याराडोनाले फुटबललाई मैदानबाट गोलपोस्टतिर दौडाउँदै गर्दा उनका प्रत्येक मुभहरुलाई हेर्दै टेलिभिजनका पर्दामा हामी हाम्रा तीखा आँखा कसरी तेर्साउँथ्यौं भनेर मैले पाब्लो जोडीलाई सुनाएँ । अर्जेन्टिनाका प्रत्येक गोल सम्भावनामा खुशीले हामी कत्ति उत्साहित हुन्थ्यौं भनेर पनि सुनाएँ । उनीहरु मेरो त्यस्तो वर्णनले लठ्ठ भए । छिनछिनमा विश्वास गर्न नसके झैं भइरहेका थिए उनीहरु ।
फुटबलका सर्वकालीक महान खेलाडी म्याराडोना नेतृत्वको फुटबल प्रतिस्पर्धालाई मध्यराततिर हेर्दै उनले गोल गर्नै लाग्दा उत्साहमा बेहिसाब उफ्रेर झन्डै सिलिङमै टाउको पुर्याउने हामी नै हौं । टीमका अन्यले गोल मिस गर्दा थकथकाएर तिघ्रा पिट्ने पनि हामी नै हौं । यसरी हाम्रा उत्तेजना र सुस्केरामा म्याराडोना र टीम बसे ।
सानो कदका म्याराडोनाको फुटबल कला चौतर्फी थियो । छलाउँदै बललाई अगाडि बढाउने तरिका, तीब्रता, टाइमिङ, पासिङ अर्थात कुनै पनि तरिकाले उनी फुटबल जादुगर थिए । उनको हातलाई समेत भगवानको हात भनेर पुज्न मन लाग्छ ।
फुटबलको राजधानीजस्तै लाग्ने अर्जेन्टिनाका युगल जोडी मसँग नेपालको राजधानी काठमाडौमा म्याराडोनाका कुरा गरिरहेका थिए । म्याराडोनाको बाल्यकालको कुरा गरिहरेका थिए । त्यति बेला ५५ बर्ष पुगेका म्याराडोना गरिब परिवारमा जन्मिएका थिए । आठ बर्षकै उमेरदेखि उनी जादुगरी तरिकाले फुटबल खल्न सक्ने भइसकेका थिए ।
अर्जेन्टिनाको राजधानी विनोसआइरिस नजिकै म्याराडोना जन्मेका थिए भने पाब्लो र मरियाना दक्षिण अर्जेन्टिनाको नेक्विनमा जन्मे । ‘हामी बस्ने ठाउँ पोखराजस्तै छ । ताल छ । पहाड छ । पहाडमा प्रशस्त हिउँ पनि हुन्छ । हामी स्की खेल्न सक्छौं’, पाब्लोले सुनायो ।
पोखरा नगए पनि इन्टरनेटमा उसले पोखराबारे पढेको रहेछ ।
‘हामीसँग समुन्दी किनार छ । सबभन्दा ठूलो कुरा म्याराडोना छन् । अहिले उनी दुबईमा बस्छन् । उनी हार्दिक मुट भएका असल मान्छे हुन् । तर, उनलाई ड्रग्सले बिगार्यो । अझै पनि हामी उनलाई माया गर्छौं’, सुरुमै भनेका कुरालाई दोहोर्याउँदै पाब्लाले भन्यो ।
झन्डै शतप्रतिशत जनसंख्या क्याथोलिक भएको अर्जेन्टिना दक्षिण अमेरिकी महादेशमा पर्छ । क्याथोलिक पोप पनि अेर्जेन्टिनाका हुन् रे ।
विश्वको आठौं ठूलो देश अर्जेन्टिना फुटबल, वाइन, मासु, भट्मासका लागि प्रसिद्ध छ । ‘अरु पनि थुप्रै कुरा छन् यहाँ । त्यसैले त दक्षिण अमेरिकामा सबैभन्दा बढी पर्यटक भित्रिने देश हो यो’, पाब्लो भन्दै थियो ।
पाब्लो बैंकको एकाउन्टेन्ट हो । ‘एकाउन्टेन्टले थकाइ लागुन्जेल पैसासँग खेल्न पाउँछ । त्यसमाथि तिमी त बैंकको एकाउन्टेन्ट । त्यसैल तिमी झन् बढी पैसासँग खेल्न पाउँछौं’, हाँस्दै मैले भनें । उनीहरु पनि हाँसे ।
मरियाना इन्टिरियर डिजाइनर रहिछ । मैले भनें, ‘तिमी रंगहरुसित खेल्न पाउँछ्यौं । त्यसैले तिमीहरुको जीवन झनै रंगीन होला । हैन त ?’
तर, रंगको कुरा गर्दा उनीहरुले मलाई त्यति उत्साह दिएनन् । मेरो प्रश्नले उनीहरुको अनुहारमा एक्कासी उदासी छायो । उदासीबीच आर्यघाटमा जलिरहेको लाशलाई हेर्दै उसले सोध्यो, ‘जीवनका दैनिक दुखहरुलाई तिमीले कसरी हेर्छौ ?’ त्यसपछि उसको प्रश्नको सिलसिला नै सुरु भएको थियो ।
कति यस्ता सरल प्रश्न थिए, जसको उत्तर निकै कठिन थियो ।
त्यसरी हामी एकअर्कामा नजिकिदै थियौं । नेपाल र अर्जेन्टिना एक हुँदै थियो । म उनीहरुलाई पनि म्याराडोनालाई जस्तै प्रेम गर्दै थिएँ ।
तर, उनीहरुको प्रेमले विवाहरुप पाएको दुई बर्ष मात्र भएको रहेछ । दुवैले चिनेका साझा साथीहरुबीच आठ बर्षअघि एकअर्कालाई डान्स क्लवमा भेटेका थिए । तर, भविष्यमा यसरी एउटै स्वर र लयमा गीत जसरी जीवनलाई दुवैले एकसाथ गुनगुनाउने कुनै कल्पना गरेका थिएनन् ।
ठूलो महल होइन, यात्राको सोखिन पाब्लोको विचारमा मरियाना ऊभन्दा निकै फरक छे । ‘ऊ रंगहरुसँग खेल्छे र असाध्यै कोमल छे । त्यही विपरित आकर्षणले हामी नजिकिएका होइनौ त ?’, पाब्लो प्रश्नमा मरियाना हाँस्दै हो भन्ने अर्थमा टाउको हल्लाउँछे ।
उनीहरुको अंग्रेजी त्यति फरर छैन । कति अंग्रेजी शब्द बुझ्दैनन् । मिलाइमिलाई बुझाउनु पर्छ । अर्जेन्टिनामा चल्तीको भाषा स्पेनिस हो । त्यहाँ सरकारी कामकाजको मात्र होइन, जनजिब्रोको भाषा पनि स्पेनिस नै हो । तर, पेट्रोलको लागि कयौ दिनदेखि लाइनमा बसेका सयौं गाडीहरु देखेपछि पाब्लोले अंग्रेजीमा भन्यो, ‘टेरिबल !’ नाकाबन्दीको असर देखेपछि ऊ नेपालको अवस्थालाई क्युवाको सन्दर्भसँग जोड्दै थियो ।
यस्तो तालले नेपालको भविष्य कस्तो होला भनेर ऊ चिन्तित देखिदै थियो । मैले भने उसको भविष्यको कुरा गरें, ‘तिम्रो जीवनको उद्धेश्य के हो ?’
एक छिन अड्किएर भन्यो, ‘हामीसँग भविष्यको कुनै प्लान छैन । जीवनले हामीलाई जता लैजान्छ हामी पछिपछि लाग्छौं । तर, त्यो पनि हामीलाई थाहा छैन ।’
निकै बेरपछि मरियाना बोली, ‘ह्यापी एन्ड हेल्पिङ ।’ कति सुन्दर उसका कुरा !
हँसिलो मुडमा केही छिन हामी चुपचाप भयौं । पाब्लोको अनुहारमा उदासी बाक्लिन थालिसकेको रहेछ । मैले नियाल्नै भ्याएको थिइनँ ।
‘हामी वर्तमानमा छौं । तर, यो हाम्रा लागि असाध्यै कठिन समय हो । वी आर लुकिङ फर चाइल्ड । बट् वी ह्याभ सम प्रब्लम इन अग्र्यान (हामी बच्चा चाहन्छौं तर हामी त्यसका लागि जैविक रुपमा सक्षम छैनौं) ,’ म सुनेको सुन्यै भएँ ।
ऊ भन्दै थियो, ‘केही महिना पहिले मात्र हामीले यो समस्या थाहा पायौं । मैले त्यति बेला केही सोच्न पनि सकिन । त्यो असाध्यै कम्प्लिकेटेड समय थियो र अहिले पनि ।’
निकै बेर उनीहरुसँगै म पनि चुप रहें । उसले मसँग उत्तर खोजिरहेको थियो । तर, पनि म चुपचाप रहें । केही नलागेपछि उसले मुखै फोर्यो, ‘ल भन अब के गर्ने ? हामीलाई सम्झाऊ ।’
मैले मरियानाको आँखामा हेरें । त्यो भिजिसकेको थियो ।
मैले बोल्नु उसलाई अझ भिजाउनु हुन्थ्यो । सामुन्ने बसेकी मरियानाको आँखामा बगिरहेको आँशु देख्न म नसक्ने भइसकेको थिएँ ।
म म्याराडोनाको खुट्टाको पूजारी तर मलाई मरियानाको बढी माया लाग्यो ।
मरियानाको नजन्मेको बच्चा त यो धर्तीमा छैन नै । म्याराडोना पनि यो धर्तीमा रहेनन् अब । तर, म्याराडोना ! तिम्रो खुट्टाको पुरुषार्थ फुटबलजस्तै सधैं सधैं रहनेछ, सम्झना र श्रद्धाको ग्राउन्डमा ।