म दुई सन्तानकी आमा

कमला पन्थी

आमा शब्द नै एउटा विशाल संसार हो । आमाको बारेमा लेख्दा महाभारतजस्तै पुस्तक तयार हुन्छ । स्वस्थानीको हजार जिब्रो भएको शेषनागले त आमाको वर्णन गर्न त सक्दैन होला भने म कसरी एक छिनमा लेखेरै सकुँला । तर, कोसिस गर्ने छु । किनकि, म पनि दुई सन्तानकी एक आमा हुँ ।

मेरो सपना त लाखौं सन्तानको आमा बन्ने थियो । तर, यी दुई सन्तानको आमा बन्न त म सकिरहेको छैन भने लाखौं त कता हो कता ? बच्चाको चाहना जहिले पनि आमालाई आफ्ना आँखाँ वरिपरि भइदिए हुन्थ्यो भन्ने हुन्छ । तर, त्यो चाहना सधैं म कामकाजी महिला कसरी पुरा गर्न सक्थेँ र ?

म पनि एक आमाकी सन्तान । कुनै ताका मेरी आमा मेरा लागि संसार थिइन् । एक छिन आमालाई नभेट्दा र नदेख्दाको छटपटी र पिडा त मेरो अनुभवमा छ नि । स्कुलबाट घर फर्किंदा म सधै भगवानलाई सम्झिदै फर्किन्थेँ, आज घर पुग्दा मेरी आमा घरमै भइदिए हुन्थ्यो । आमा मेलापात दाउरा, घाँस काट्न कतै नगएको भए हुन्थ्यो । म सोच्थेँ, ‘आमालाई पुग्ने जति घाँस दाउरा म आफै बनाइदिउँ । ताकि मेरी आमा मसँगै रहिरहनु होस् ।’ मेरो चाहना त्यस्तो हुन्थ्यो भने मेरा सन्तानको पनि मप्रति त्यस्तै चाहना हुँदो हो । त्यो त म पुरा गर्न सक्दिन थिएँ । सायदै म जस्ता धेरै आमाले गर्न सक्द्रैनन् ।

हुन त मेरो चाहनाजस्तै मेरा बच्चाहरूको चाहना नहुन पनि सक्छ । तर, मेरो दिमागमा यो बिषय बनिरहन्छ । किनकी, त्यो मेरो मनोविज्ञानमा बालखैदेखि बसिरहेको छ । त्यसैले होला आमासित सधैं सँगै बस्ने र विवाह नगर्ने मेरो अठोट थियो ।

सोहि अनुसार मैले आफूलाई राजनीतिमा समर्पित गर्दै देशका लागि सक्रिय बनाउने पनि सोचेकी थिएँ । देश, जनता र मानवताका लागि लड्ने योद्धा महिला मेरा आइडल थिए । म पनि त्यो बाटो रोज्न खोज्थेँ । त्यसमै जीवनको सपना बुन्न थालेकी थिएँ । त्यसैले आवाजविहिनहरुको आवाज बन्नुपर्छ भन्दै त्यस्ता आवाजहरू बटुलेर हिँड्थें र समाजको अगाडि यथार्थ छर्लङ्ग पार्ने प्रयास गर्थे । र, निरन्तर दिनरात नभनी त्यसमा नै समर्पित थिएँ ।

हिजोसम्म आमालाई आफ्नो आखाअगाडि खोज्ने म । आज मेरी आमा मलाई आफ्नो आँखाअगाडि देख्न खोज्नुहुन्छ, जुन मैले पुरा गर्न सक्दिन । आमासँग बसेर गफ गर्ने फुर्सद कहाँ मलाई ?

मेरा लागि त दिन रात सधैं एउटै थियो । एउटा आमाको छोरी मात्र होइन, कि लाखौं आमाको छोरी बन्ने सपना । तर, सपना विपनामा परिवर्तन हुन कति गाह्रो रहेछ भनेर वल्ल अहिले बुझ्दैछु ।

मेरी आमा किन काममा जान्छे भनेर मेरो छोरी मलाई बारम्बार भन्ने गर्थी, ‘मामु ! तिमी काममा नगए के हुन्छ ? मसँग बस्ने गरन ।’

‘त्यो सम्भव हुँदैन छोरी’, म उसलाई सम्झाउने कोसिस गर्थें । तर छोरीको चाहना पुरा गर्न त सक्दिन थिएँ । अनि छोरी यतिसम्म भन्ने अवस्थामा पुगी, ‘म स्कुल गएपछि तिमी काममा जाउ । म आउँदा तिमी आइसक ।’

छोरीलाई ‘ल‌ ल’ त भनेँ तर त्यो पनि कहाँ सम्भव थियो र ? उसको बालमनोविज्ञानले म यो सब किन गरिरहेकी छु भनेर कहाँ बुझ्नसक्थ्यो र ।

छोरीको प्रश्न हुन्थ्यो, ‘तिमी काममा नगए के हुन्छ ? काम नगरे के हुन्छ ?’

एक दिन मैले उसलाई भनेँ, ‘तिमीले भनेका यो सबै सामान किन्न पैसा चाहिन्छ । पैसाको लागि काम गर्नु पर्छ । त्यसैले म अफिस जानुपर्छ ।’

अनि ऊ भन्थी, ‘त्यसो भए म बाबालाई ल्याउन भन्छु । बाबा काममा गइसिन्छ ।’

एक दिन छोरीले मलाई निकै महङ्गो सामान अडर गरी .
‘छोरी यो त महङ्गो छ । मसँग पैसा छैन ।’

उसले भनी, ‘त्यसो भए किन काममा जान्छौ त ?’

मलाइ उसको यो प्रतिप्रश्नले नाजवाफ बनायो । ‘काम गर्दैमा चाहे जति पैसा हुदैँन, कति दिनमा महिना मर्छ र तलब आउँछ’, उसको बालमनोविज्ञानले यी यावत् बिषय बुझ्न सक्दैन थियो ।

छोरीका यस्तै कति चाहना र आवश्यकता पुरा गर्न सक्थेँ त कति सक्दिनथेँ । यसमा उसको गुनासो भइ नै हाल्थ्यो । तर, उसको जहिले पनि चाहना हुन्थ्यो, ‘म स्कुलबाट घर फर्किंदा तिमी घरमा हुनुपर्छ ।’ यो बिषय उसको बालमनोविज्ञानमा निकै गहिरोसँग बसेको थियो ।

किन म हुनुपर्छ भन्ने प्रश्नमा पछि ऊ उत्तर दिन सक्ने भएकी थिई, ‘म एक्लै हुन्छु । कोसँग ‌खेल्ने ?’

पछिपछि झन्झन् ठुलीठुली हुदै जादा झन् दिनहुँजसो ऊ मसँग झगडा गर्ने भइसकेकी थिई ।

दिनहुँजसो यो बिषयमा आमा छोरीको झगडा हुने गर्थ्यो । हुँदाहुँदा उसको बाबासँग पनि ऊ यो प्रश्नोत्तर गरेर झगडा नै गर्न थाली ।

लाखौं बच्चाको आमा बन्ने सपना त अर्कैतिर थियो । सायद लाखौंको आमा हुन नसके पनि २ वटा बच्चाको आमा बन्ने र छोरीको चाहना पुरा गर्ने सोच बिस्तारै म‌मा पनि जाग्न थाल्यो । अन्ततः छोरीको चाहना त पुरा भयो तर लाखौंको आमा बन्ने मेरो सपना थाँती नै रह्यो । तर, हजारौं आमाको छोरी हुने सपना पुरा गर्ने चाहना मरेको छैन ।

आमा बन्न सजिलो छैन । आफ्ना सपना तिलान्जली दिन तयार हुनुपर्छ । अहिले लाग्छ, योद्धा नै भएरै हिँड्नु भन्दा सन्तानको आमा भएर उनीहरुको चाहना अनुसारको आमा हुनु झनै ठूलो योद्धा हुनु रहेछ ।

One Comment

  1. दिज्जू,
    हजुरले जति मनैदेखि अामाको सेवा कसैले गरेको छ‌ैन । हजुर त हाम्री अादर्श र उदाहरणीय हुनुहुन्छ, जुन हामी दृखिरहेका छौँ । अामासहित हजुरलाई पनि नमन दिज्जू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button