मेवाको बोट र मेरी पत्नी, जसले क्यान्सरलाई जितिन्

प्ररेणा
प्रकाशप्रसाद उपाध्याय

पछिल्लो महिना नेपालनाम्चामा ‘पुस्तक चर्चा’ गर्ने क्रममा कोरोनाकालमा पढेका केही किताबहरूको उल्लेख गरेको थिएँ । तीमध्ये एउटा थियो, प्रा.डा.मुरली रञ्जितरचित ‘क्यान्सरसँगको लडाईंँ’ । चौथो स्टेजको क्यान्सरमाथि विजय प्राप्त गरी सक्रिय जीवन बिताइरहेका प्रा.डा. रञ्जित त्यस पुस्तकमार्फत पाठकहरूलाई बताइरहेका थिए, रोगको विभिन्न पक्षका कुरा, रोगसितको संघर्ष कालमा बेहोर्नु परेको व्यथा, पीडा, कटु अनुभव र अन्ततः त्यसमाथि पाइएको विजयगाथा ।

तर, त्यो किताब पढ्दै गर्दा मेरा आँखाअगाडि प्रकट भइरहेको थियो एक महिलाको मायालाग्दो अनुहार, जो यसै रोगबाट ग्रस्त हुँदा किमोथेरापीका दुष्प्रभावबाट आक्रान्त भई अस्पतालको शैयामा मृत्युसित संघर्ष गर्दै पल्टिरहेकी थिइन् । उनले बेहोर्नुपरेको व्यथाको म साक्षी हुँदा मुरली रञ्जितको व्यथा, वेदना र रोगसितको संघर्षको पीडालाई महसुस गर्दैथिएँ । किनभने ती महिला अरू कोही नभई, थिइन् मेरी जीवनसँगिनी, जसको छेउमा बसेर म टुलुटुलु उनलाई हेरिरहन्थेँ, अनेक सकारात्मक र नकारात्मक सोचको भुमरीमा अल्झिँदै । अनि चरितार्थ भइरहेको थियो– १२ छोरा १३ नाति, बुढाको धोक्रो काँधै माथि भन्ने उक्ति । झन् अचेल सानो परिवार हुने युगमा भएका सन्तान पनि सुखद भविष्यको खोजीमा विदेशिन्छन् । आमाको अस्वस्थताको समाचार पाएर आए पनि पाहुनासरह केही साताको बसाईपछि उनीहरुसामु हुन्छ आफ्नो काममा फर्किनुपर्ने वाध्यता । किनभने हायर र फायरको व्यवस्था भएको मुलुकमा यहाँसरह चाहेअनुसार बिदा थप्दै बस्न पाइन्न । तर, धन्य, छेउमा जेठी छोरी र ज्वाइँ, जो ठूलो सहारा । तर, उहाँहरूको पनि परिसीमा हुन्छ ।

बिहानदेखि बेलुकीसम्म पत्नीलाई हेरिबस्नु, डाक्टर र नर्सका निर्देशानुसार औषधि ल्याउनु, सलाइनमार्फत दिइने औषधि सकिए–नसकिएको हेरिराख्नुपर्ने र सकिएमा फेर्नका लागि सिस्टरलाई खबर गर्न सतर्क भइ बस्नुपर्ने र भेट्न आउने कुटुम्बजन एवम् पत्रकार मित्रहरूलाई भेट्नु अस्पतालमा मेरो दिनचर्या भइरहेको थियो । भाईहरुले बिहान–बेलुकाको भोजन ल्याउने गर्दा मैले बिहान–बेलुकीको खानाको लागि भने चमेनागृहको सहारा लिनुपर्दैनथ्यो ।

६ स्टेजको किमोथेरापीले मेरो सबै दिनचर्या अस्तव्यस्त गरिरहेको थियो । दिउँसो विश्राम गर्ने बानी विलुप्त भयो, लेखपढ बन्द भयो । तिनै दिनमा कान्छी छोरी अमेरिकाबाट आइन् । म पनि हार्ट पेसेण्ट, ममाथि परिरहेको दवावउ थाहा पाएर उनले भनिन्– ‘बाबा, तपाईं घर जानोस्, विश्राम गर्नोस्, बेलुकीतिर आउनुहोला । म सबै थोक सम्हाल्ने छु ।’ मैले पनि ननुहाएको धेरै भएको थियो । अस्पतालमा नुहाउन मन गर्दैन थियो । घर गएँ । भित्र पस्छु त बगैँचामा मेवाको बोट ढलेको । उनको स्याहारबाट लटरम्म फलेको बोटले मेवाहरुको भार थाम्न सकेको थिएन । विश्राम गर्न आएको, मेवा बटुल्न र बाँडचुँड गर्नपट्टि लागेँ । नुहाएँ, चिया–बिस्कुट खाएँ । विश्राम गर्ने मन गरेन ।

‘कतै, यो कुनै अशुभ कुरोको पूर्वसंकेत त होइन ?’ जस्ता अनेक कुराहरु मनमा खेल्न थाले । लगत्तै फर्कें । केही घण्टाभित्रै फर्केको देख्दा छोरीले भनिन्– ‘के भो ? किन यति हतारिएर आको ?’ ‘हैन, निद्रा परेन । फेरि तिमी याँ’ एक्लै ।’

१५ दिनको बसाईपछि उनी फर्किन् । बिदा लम्ब्याएर बस्नुु सम्भव थिएन । हायर–फायरको टेन्शन ।

एक–डेढ महिनापछि किमोथेरापीको अर्को कोर्स दिनुपर्ने । खानपानमा केही गडबड भयो कि के भयो, उनलाई पखालाले सतायो । अस्पतालमा भर्ना नै गर्नुपर्ने स्थिति आयो । दुबै प्राणी गयौँ । डाक्टरको निर्देशानुसार उपचार सुरु भयो । यसैबीच एक दिन राति उनको स्वास्थ्य एकाएक बिग्रेको अनुभव भयो । दगुर्दै डाक्टरलाई बोलाउन पुगेँ । रात्रिकालमा सिनियर डाक्टर हुँदा रहेनछन् । सिकिस्त बिरामीहरू पनि कनिष्ठ डाक्टरहरूको भरोसामा । उनका सहायक डाक्टर, जो सदैव आफ्ना सिनियरसित उपस्थित रहन्थे, आए । विभिन्न परीक्षा पछि मल्टिअगर्न फेल्योरको जानकारी दिँदै भने– ‘कन्डिशन सिरियस छ, यहाँलाई अर्कै अस्पतालमा सार्नुपर्ने भो । यहाँ आइसीयु खाली छैन र भेन्टिलेटर पनि छैन । बरु, आफ्ना कुटुम्बजनलाई डाक्नोस् ।’

कुरा सुनेर मेरो सातोपुत्लो उड्यो ।

निवासस्थलदेखि टाढा रहेको राम्रो र ठूलो भनाउँदो अस्पतालका डाक्टरको त्यस किसिमको कुरा सुन्दा झनक्क रिस उठ्यो । कराएँ– ‘म बसेको महाराजगञ्जको घरदेखि नजिकका ३–४ वटा अस्पतालहरु छाडेर याँ’ ग्वार्कोसम्म आएको । कन्डिशन बिग्रँदा यसो भन्ने हो । अब म रोगीलाई ट्याक्सीमा बसालेर कहाँ कहाँ आइसीयु र भेन्टिलेटर भएको अस्पताल खोज्दै हिडुँ ? अस्पताल खोजेर दिनुप-यो ।’

‘हुन्छ’, भन्दै उनी फोन गर्न थाले । कुनै अस्पतालमा आइसीयू खाली छैन, त कुनैमा भेन्टिलेटर उपलब्ध छैन । दिक्क लाग्यो देशको राजधानीका ठूला अस्पतालहरूको हालत देख्दा । बल्ल त्रिपुरेश्वरको अस्पतालमा दुवै थोक उपलब्ध रहेका थाहा पाइयो र हामी त्यहाँ रातिको ११ बजेतिर पुग्यौँ । पेसेन्टलाई आइसीयूमा भर्ना गरियो ।

यस बीच आफन्त सबै आइसकेका थिए । छोरालाई अमेरिका खबर गरेँ, यथाशिघ्र आउनु भन्दै । मेरो आँखाअगाडि ढलेको मेवाको बोटको चित्र प्रकट भइरहेको थियो । मेरो खल्तीमा सोर्बिट्रेटको चक्की थियो । मुखमा राखेँ । मुटुको ढुकढुकीले मेरो छटपटाहट बढाइरहेको थियो । मलाई सान्त्वना दिने प्रयासमा मेरी पत्नीको भाउजूले भन्नुभो– ‘चिन्ता नगरिबक्स्योस्, ज्वाइसाहेब, ढुक्क होइबक्स्योस् । मैँयालाई केही हुँदैन । मैयाँको स्वास्थ्यमा सुधारको खबर नपाउन्जेल हामी जाँदैनौँ ।’ रातिको २ बजेतिर डाक्टर आइसीयुबाट निस्के र भन्न थाले– ‘भेन्टिलेटरको दर्कार नपर्ने भो । कन्डिशन स्टेबल छ । भोलि बिहान सिनियर डाक्टर आउनुभएपछि उपयुक्त उपचार सुरु हुनेछ । चिन्ताको कुनै कारण छैन ।’

छोरालाई फेरि फोन मिलाएँ । उनी भन्नथाले– ‘त्यहाँसम्मको कनेक्टिङ फ्लाइटको टिकट मिलिरहेको छैन बाबा । ४–५ दिन लाग्ला जस्तो छ ।’ भनेँ– ‘कन्डिशन स्टेबल छ । भेन्टिलेटर नचाहिने भो । हतारिनुपर्दैन । म भोलि फेरि फोन गर्नेछु ।’

किमोथेरापीका विभिन्न चरणमा देखापर्ने दुष्प्रभावका कारण मनलाई विभिन्न खालका डर, तनाव र आशंकाले विचलित गर्नेगरेका भए पनि आफन्तहरूको निकटता र साथीहरूका तनाव मेटाउने खालका कुराहरुले मेरो मनोबल झर्न दिइरहेका थिएनन् भने, सिनियर डाक्टर खगेन्द्रबहादुर श्रेष्ठको उपयुक्त उपचारबाट पेसेन्टले पनि स्वास्थ्य लाभ ग¥यो र हामी लगभग दुई साताको बसाई पछि घर फक्र्यौं ।

तर, किमोथेरापी सकिएको थिएन । यसको साइकल सक्नु आवश्यक थियो । केही साताको विरामपछि सबै साइकल कुनै विध्नबाधाबेगर पूरा भयो ।

पत्नीले क्यान्सरमाथि विजय प्राप्त गरेको अब ८ वर्ष हुँदैछ । ४ वर्षअघि नेपाल टेलिभिजनले क्यान्सर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उनी विभिन्न स्टेजका क्यान्सर विजेताहरूसित सरीक भइन् । रोग लागेको खबरबाट आतंकित नभई उच्च मनोबल राख्दै उपचार गराइबसेको र समयमै उपयुक्त उपचार पाएको कारणले उनी आजका दिनमा स्वस्थ छिन् । पोहोर घुँडाको शल्यचिकित्सा पनि गराईन । ६–६ महिनाको नियमित स्वास्थ्य परीक्षाको परिणाम सन्तोषजनक रहेको छ ।

प्रा.डा. रञ्जितको कितबबाट उनी चौथो स्टेजको क्यान्सर बिजेता भई स्वस्थ जीवन जिउँदै सक्रिय जीवन बिताइरहेका थाहा पाउँदा खुसी लाग्यो र के अनुभव भयो भने क्यान्सर रोग प्राणघातक रहे पनि, क्यान्सर शब्दको उच्चारण सुन्दा डर लागे पनि, यस रोगको उपचार सम्भव छ, र रोग लाग्दैमा ज्यान जाँदैन भन्ने भावनाका साथ मनोबल उच्च राख्दै कुनै ढिलाई नगरी उपचार गरेमा रोगमाथि विजय पाउनु गाह्रो छैन ।

विगत ८ वर्षको अवधिमा मैले यस रोगका विभिन्न स्टेजका अनेक विजेताहरूलाई भेट्न र उनीहरूका कुरा सुन्न पाएको छु । उनीहरूलाई पनि स्वस्थ र प्रसन्न पाउँदा खुसी लाग्छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button