बा-आमापछि डाहा नगर्ने मान्छे शिक्षक नै हो

नेपालनाम्चाको विशेष स्तम्भ शिक्षकलाई सलाममा पछिल्लो दुई दशकदेखि नेपाली शिक्षकका रुपमा कार्यरत हरिप्रसाद गौतम । उनी हाल स्वर्णिम स्कुल, काठमाडौंमा आवद्ध छन् ।

कालोपाटीअगाडि उभिएर तपाईंलाई पढाउने शिक्षकहरुबारे विद्यार्थी छँदा बेन्चमा बसेर के सोच्नु हुन्थ्यो ?
विद्यार्थी भएर कक्षामा रहँदा विद्यार्थी र शिक्षकका बिचमा अनावश्यक दूरी हुनु गलत हो भन्ने लाग्थ्यो । पढाउने बेलामा देखिएका समस्यामा नजिकै भएर समाधान गर्न त मन लाग्थ्यो तर त्यस्तो मौका र न्यायोचित व्यवहार नपाउँदा शिक्षकहरूसँग प्रायः डर लागिरहन्थ्यो । अहिले जस्तो सम्झाएर होइन कि डर र धम्कीबाट अनुशासनमा कैद हुनुपर्ने जमानाले गर्दा शिक्षकको उपस्थिति कसैका लागि पनि सुखद थिएन तर कुनै कुरा राम्ररी बुझाएका र माया गरेका बेलामा शिक्षकप्रति विशेष श्रद्धा जागे पनि त्यो भावना प्रकट गर्ने हिम्मत भने आउँदैनथ्यो ।

भविष्यमा शिक्षक हुन्छु भन्ने त्यति बेलै तपाईंको सपना थियो ?
अहिले जस्तो त्यति बेला तिमी के बन्छौ भनेर कसैले सोध्ने र उत्तर दिनैपर्ने बाध्यता नै नभएर होला जमानाकै कारण हामी अलि बढी स्वतन्त्र थियौँ । घरायसी काम नगरी स्कुल जाने भन्ने त कल्पनाभन्दा परको विषय थियो । जति धेरै सम्पत्ति उति धेरै काम हुने त्यो बेलामा समय मिलाएर किताब समातिन्थ्यो । विज्ञान विषयमा अलि बढी रूचि भए पनि गणितका लागि धेरै समय दिने तर सबैमा लगभग एकसमानको अङ्क आउँथ्यो । बुबा सरकारी अधिकृत बन्नुपर्छ भन्नुहुन्थ्यो, हाम्रा मनमा भने पहिले उत्तीर्ण हुनुपर्छ भन्ने लाग्थ्यो तैपनि अरूलाई सिकाइरहने स्वभाव चाहिँ ममा पहिलेदेखि थियो तर शिक्षक नै बन्ने योजना भने थिएन । कारणवश विज्ञान पढ्ने धोको पूरा नभए पनि गणित र साहित्य विषयतर्फ आकर्षित हुँदै गएँ ।

शिक्षक भएर पहिलो पटक कक्षा छिर्दाको क्षण सम्झनु हुन्छ ?
शिक्षक बनेर पहिलोपटक कक्षामा छिर्ने अनुभव मैले विभिन्न ठाउँमा भिन्दाभिन्दै तरिकाले गरेको छु । सुरूका दिनमा गाउँका विद्यालयहरूमा शिक्षक बनेर पढाउँदा आफ्नै भाइबहिनीले सर भनेर बोलाउँदा कस्तो कस्तो लागे पनि खासै अप्ठेरो लागेन । गाउँमै र्दुइटा स्कुल पढाइसकेको भए पनि पछि, जब उपत्यकाका स्कुलमा शिक्षक बनेर प्रिन्सिपल र विद्यार्थीका बिचमा कक्षाअगाडि उभिएर शिक्षकका रूपमा परिचय गराउँदा अलिकति सङ्कोच त लाग्यो तर विषयवस्तुलाई समातेर अगाडि बढेपछि भने हिम्मत बढिहाल्यो । सुरुमा विद्यार्थीलाई कहिले तिमी र कहिले तपाईँ भनी सम्बोधन गरिँदो रहेछ, सम्झँदा आफैलाई कस्तो कस्तो लागेको थियो ।

विद्यार्थी हुन सजिलो कि शिक्षक ? र, उस्तै प्रश्न, विद्यार्थी हुन गाह्रो कि शिक्षक ?
तुलनात्मक रूपले हेर्दा विद्यार्थी हुन अलि सजिलो छ । यदि हामीसँग केही ज्ञान नभए पनि पढ्न लायक सुरूका विद्यार्थी हुन त सक्छौँ तर शिक्षक हुनका लागि सम्बन्धित विषय र क्षेत्रको ज्ञान हुनु आवश्यक छ । यति भएर पनि यी दुवैले निश्चित कुराहरूको पालना र मेहनत गर्नै पर्छ । शिक्षक नयाँ हुँदा सिकाउने तरिका र तयारी गर्न मेहनत गर्नुपर्छ र पुरानो भएपछि चाहिँ कतिपय विद्यार्थीका लागि आफू उनीहरूअनुकूल बनिदिनुपर्छ । विद्यार्थीको पढाइ र अनुशासनलाई एकैसाथ लैजानुपर्ने अनि समाज र परिवारको जिम्मेवार सदस्य पनि बन्नुपर्ने हुँदा शिक्षकलाई पनि त्यति सजिलो त छैन तर कक्षाको स्तर र जमानाको प्रतिस्पर्धाले गर्दा विद्यार्थीहरूलाई पनि निकै गाह्रो छ । साथीको चित्त बुझाउन, शिक्षकको नजरमा असल बन्न, घरपरिवारको गालीबाट बच्न गरिने तरिकालाई एकातिर पन्छ्याएर हेर्दा पढाइ, गृहकार्य, सहपाठी, अनुशासन, घरपरिवारको आशा र आफ्नै भविष्यलाई बोकेर अगाडि बढ्न त्यति सजिलो छैन र पनि समाज र व्यवहारको पक्षले नथिच्ने हुँदा उनीहरू शिक्षकको तुलनामा अलि खुलेरै हाँस्न सक्छन् ।

शिक्षकभित्र विद्यार्थी कत्तिको हुन्छ ? के विद्यार्थीभित्र पनि शिक्षक हुन्छ ?
शिक्षकभित्र शिक्षक बढी र विद्यार्थी कम हुन्छ तर सिक्नै पर्ने आवश्यकताभन्दा पनि उसले पार गरेको त्यो अवस्थाको छापले उसलाई फेरि पटक पटक कुतकुत्याउँछ । खेल्न, रम्न, चल्न मन लागिहाल्छ तर धेरै कुराले रोक्छ । त्यसै गरी विद्यार्थीमा चाहिँ विद्यार्थी बढी र शिक्षक कम हुन्छ साथै सिकाउने गुणको विकास नभएकाले क्षमता पुग्दैन । यति भएर पनि कतिपय विद्यार्थी भावनात्मक रूपले सिकाउने र अरूलाई सम्हाल्ने प्रक्रियामा संलग्न भई शिक्षकको भूमिकामा रमाइरहेका हुन्छन् । कतिपय त साँच्चिकै अग्रसर भएर पनि लाग्ने गर्नाले पनि उनीहरूमा पनि शिक्षक लुकेको हुन्छ भन्ने कुरा बुझ्न सकिन्छ ।

शिक्षकका सपना र विद्यार्थीका सपनाहरु कति फरक र समान हुन्छन् ?
शिक्षकका अधिकांश सपना बन्धन र बाध्यतामा लहरिएका हुन्छन् भने विद्यार्थीका सपनाले असीमित क्षेत्रको यात्रा तय गर्दछन् । शिक्षक बाँच र बचाऊको अभिनयानमा लागिरहँदा पनि विद्यार्थी भने उमेरका कारण रम्न सक्ने मनस्थितिमा हुन्छन् । शिक्षकले कोरेको गोरेटो सीमिततामा पुगेर रुमलिन सक्छ तर विद्यार्थीको सपना पन्छीजस्तै विचरण गर्न सक्छ । योजना नै सपना मानेर शिक्षक दगुर्छ भने आनन्द र भविष्यको मिठो कल्पनामा विद्यार्थी रमाउन सक्छ । अरूको सहयोग पाएर पूरा हुने विद्यार्थीका सपनासँग अरूको विरलै मिल्ने सहयोगले पूरा हुने शिक्षकका सपनाबिच समानता कम र भिन्नता बढी छन् ।

शिक्षक जहाँको तहीँ रहन्छ तर विद्यार्थी पर शिक्षकभन्दा पर निकै उपल्लो दर्जामा पुगेको देख्दा कस्तो लाग्छ ?
यो विषय नै शिक्षकको जीवनको सबैभन्दा सुन्दर पाटो हो । संसारमा डाहा नगर्ने कुनै मान्छे खोज्न निस्कने हो भने बाआमापछि तेस्रो व्यक्ति शिक्षक नै भेटिन्छ । गुरु सक्खर मात्रै हो भने विद्यार्थी खारिएको चिनी हो । एक जना विद्यार्थी माथि पुग्दा उसका आफन्तभन्दा बढी शिक्षकले गर्व गरिरहेको हुन्छ । त्यति मात्र होइन, शिष्य सीमित लक्ष्य बोकेर माथि पुग्छ तर एक जना शिक्षकले विभिन्न क्षेत्रका विद्यार्थी उत्पादन गर्छ । विद्यार्थी माथि पुगेपछि उसले शिक्षकलाई नसम्झे पनि उसको प्रगतिमा शिक्षकभित्र गर्वको सगरमाथा ठडिन्छ र त्यही गर्वको उचाइले उसलाई शिक्षक बनिरहन प्रेरित गर्छ ।

कति विद्यार्थी कहीँ पुग्दैनन् । न त पढाइ न त पद । त्यस्तो अवस्थामा रहेका भूतपूर्व विद्यार्थी देख्दा, भेट्दा कस्तो लाग्छ ?
शिक्षक समाजको जिम्मेवार नागरिक हो । शिक्षकसँग आफ्नो परिवारको जत्तिकै समाज र विश्वको चिन्ता हुन्छ । भोलिको सभ्य र विकसित समाजको कल्पनामा हराउने एउटा शिक्षक लक्ष्यमा पुग्न नसकेका आफ्ना विद्यार्थीप्रति सहानुभूति राख्छ । सक्दो सहयोग गर्छ । वैकल्पिक जीविकाको उपाय सुझाउँछ । यति मात्रै होइन, निराश भएकालाई सान्त्वना दिँदै उनीहरूलाई पुत्रवत् व्यवहार गरी उनीहरूको आत्मबल बढाउन उसलाई मन लाग्छ । विभिन्न दृष्टान्तले सम्झाएर उसमा पनि केही प्रतिभा छ भनेर हौसला दिने प्रयास गरिरहन्छ ।

शिक्षक कस्तो हुन्छ ? र, असल शिक्षक भनेको के हो ?
शिक्षक अरूलाई सिकाउन सक्ने खुबी भएको मान्छे हो । यदि उसको रूचि त्यसैमा छ र स्वार्थभन्दा पेसागत रुपमा उसले यसलाई सेवाभावले हेरेको छ भने ऊ समाजको आदर्श हो । सिप सिकाउने, अनुशासनमा राख्नेजस्ता उसैका योगदानले समाज अडिएको हुन्छ । फरक संस्कारका बच्चासँग घुलमिल गरेको उसलाई हरेकका कमजोरी र विशेषता थाहा हुन्छ अनि सोहीअनुरूप अगाडि बढ्ने हो भने शिक्षकको निर्देशनबाट नै एउटा सुन्दर समाजको निर्माण हुन सक्छ । त्यसैले असल शिक्षक भनेको चरित्रवान्, सहयोगी, दक्ष, अनि लगनशील नागरिक हो जसले व्यक्ति र समाजको विकासमा महत्त्वपूर्ण भूमिका खलेको हुन्छ ।

विद्यार्थी कस्तो हुन्छ ? र, असल विद्यार्थी भनेको के हो ?
सामान्य भाषामा विद्या आर्जन गर्ने व्यक्ति विद्यार्थी हो । जन्मेर हिँड्न थालेपछि विद्यालयमा पठाइने चलनले पढ्न भनी पठाइएका सबैलाई विद्यार्थी मान्नुपर्छ । जीवनका लागि आवश्यक सिप सिक्ने र अनुशासनमा रहेर अगाडि बढ्ने भविष्यको खाका कोरेको व्यक्ति नै विद्यार्थी हो । यस हिसाबले हेर्दा भविष्यमा केही गर्नुपर्छ है भन्ने बुझेर पढाइमा लागेको लगनशील र अनुशासित व्यक्ति नै असल विद्यार्थी हो भन्ने बुझ्न सकिन्छ ।

शिक्षकको दुख के हो ? सुख के हो ?
संसार भौतिक सुखको पछाडि छ । अहिलेसम्म कोही सुखी छैन । पुग्यो अब भन्ने अहिलेसम्म कोही भेटिएको छैन । शिक्षक आफू बलेर अरूलाई उज्यालो दिने सन्तोषी प्राणी हो । जीवनभर दुःख गर्ने अधिकांश शिक्षकको जीवनस्तर सामान्य छ किनकि यो धन थुपार्ने पेसा होइन । हुन त आर्थिक उपार्जनले मै हुँ भन्नेहरू पनि आध्यात्मिक चेतनाको अभावका कारण शिक्षकभन्दा पनि निराश छन् । यसरी चित्त बुझाउने शिक्षक महान् छन् र पनि उनीहरूका बाध्यता नबुझ्नेहरूबाट उनीहरू दुःखी छन् । यदि सबैले पठनपाठनमा शिक्षक, विद्यार्थी, विद्यालय र अभिभावकको पनि उत्तिकै भूमिका हुन्छ भन्ने कुरा बुझिदिए, शिक्षक पनि समाजको अङ्ग हो त्यसैले उसलाई पनि समाजको सेवामा रमाउने समय चाहिन्छ भन्ने बुझिदिए, यो पेसा गर्नेले पनि परिवार चलाउनुपर्छ भन्ने भावना सरकार, समाज र सम्बन्धित निकायमा आएमा शिक्षकजस्ता मैनबत्तीले पनि हाँसेर बाँच्न पाउने थिए १ सेवालाई नै कर्तव्य ठान्ने शिक्षक आफ्नो दुःख र सुखमा समभाव राख्छन् । सन्तोषलाई नै सुख मान्छन् अनि आधारभूत आवश्यता पूरा गर्न नसक्दा पनि सत्मार्गमा हिँडिरहेका भेटिन्छन् ।

अरु पनि धेरै प्रश्नहरु छन् । उत्तरहरु पनि । अहिलेलाई यत्ति सोध्छु, जाँदाजाँदै अरु केही भन्नु छ ? र, यहाँको समय र उत्तरका लागि धन्यवाद ।
अहिलेलाई यत्ति भनेँ । यहाँहरूको यश र जसले समाजमा स्थान पाइरहोस् । नेपालनाम्चाको विशेष स्तम्भ ‘शिक्षकलाई सलाम’मा समेट्नु भएकोमा हार्दिक आभार ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button