बसमा भेटिएको एक महान मानवकल्याणकारी भाई

प्रेरणा

निर्जल दवाडी

अफिसबाट निस्किँदा अलि ढिलै भइसकेको थियो । म बस कुरिरहेको थिएँ । १५ मिनेटपछि एउटा बस आयो । चढ्नेको लाइन थियो । म पनि चढेँ ।

बस प्याक थियो । एउटा पनि सिट खाली थिएन । मान्छेहरू कोही सिटमा त कोही बसको माथिपट्टि समातेर उभिरहेका थिए । छेउको भाइले आफू उठेर ‘दाई यहाँ बस्नुस्’ भन्यो । आफ्नो पनि खुट्टा दुखिरहेको थियो । गएर बसेँ । त्यो भाइको रंगले लत्पतिएको कपडा हेर्दा भर्खर कहिँ घर रङ्गाएर आएको जस्तो देखिन्थ्यो । अनुहार देखे-देखे जस्तो लाग्यो तर ठ्याक्कै ठम्याउन सकिनँ ।

याद आयो, त्यो भाइ पनि मसँगै बस कुरिरहेको थियो । एक छिनपछि छेउको सिट खाली भयो । भाइलाई बोलाएर सिट खाली भएको जानकारी दिएँ । तर, त्यो भाइ आएन । त्यो बसमा एउटा बच्चा बोकेको दिदी पनि हुनुहुँदो रहेछ । बच्चा रोइरहेको थियो । भाइले त्यो दिदीलाई सिटमा बस्न पठायो । एकछिन पछि दिदी उत्रिनु भयो । मैले फेरि भाइलाई बोलाएर सिट खाली भएको जानकारी दिँदै आएर बस्न भनेँ । यो पटक उसले एउटा वृद्ध बुवालाई बस्न पठायो । एकछिन पछि बुवा पनि ओर्लिनुभयो । लास्ट स्टेसन आउन लागिसकेकोले बस हलुका भइसकेको थियो । भाइलाई बस्न आग्रह गरें । आएर बस्यो । मैले सोधेँ, ‘आरामले आफ्नो सिटमा बसिरहेको मान्छे मलाई देखेर किन सिट छोड्नु भयो ?’

उसले भन्यो, ‘मैले तपाईंलाई बसस्टपमा खोच्याउँदै आको देखेको थिएँ, पीडामा भएको महसुस गरेर बस्न दिएँ ।’

फेरि प्रतिप्रश्न गरें, ‘२-३ चोटी सिट खाली हुँदा पनि किन बस्न नआउनु भा’को ?’

उसले भन्यो, ‘म बस्नै आँटेको थिएँ । तर, बच्चा रोइरहेको सुनेँ अनि उसको आमाले सकिनसकी बोकेको देखें । अनि बस्न भनेँ । अर्को चोटि त्यो वृद्ध बुवाले हात कमाउँदै सीट समातन खोजेको देखें, बुवालाई उभाएर आफू बस्नु ठीक लागेन । त्यसैले बुवालाई बस्न दिएँ ।’

‘तपाईं सधैं यस्तै गर्नुहुन्छ ?’, फेरि सोधेँ ।

मेरो प्रश्नले भाइ अलि भावुक भए जस्तो लाग्यो । उसले भन्यो, ‘यस्तै हो दाई, मसँग पैसा छैन दानधर्म गर्नलाई । मसँग केही पनि छैन पुण्य कमाउनलाई । कहिलेकाहीँ बाटोमा फालेको फोहोर, ढुंगा साइडमा लगेर राखिदिन्छु । कहिलेकाहीं आफूसँग भको खानेकुरा जनावरहरुलाई दिन्छु । अनि यता बसमा यस्तै हो । म त मेहेनत गर्ने मान्छे । अफ्ठ्यारोमा बाँच्न सिकिसकेँ । जब कोही आपतमा परेको देख्छु, सक्दो सहयोग गर्न खोज्छु ।’

मोटिभेसन लिन विश्वप्रसिद्ध अनुहारकै जीवनी पढ्नु पर्ने रहेनछ । बस यात्रामा मैले धेरै कुरा सिकें । अहिले हेर्दा संसारमा धेरै मान्छेहरूले समाजको लागि केही न केही गरिरहेका छन् तर सब अरूलाई देखाउनको लागि, फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नकै लागि रहेछ । ऊ चुपचाप आफ्नो काम गरिरहेको थियो । धेरै थोरै आफूले सक्ने गरिरहेकै थियो ।

उसले मलाई त्यो दिन जीवनकै ठूलो पाठ सिकायो, ‘जीवनमा आफ्नो हातमा जति छ, जति सकिन्छ, खुसी बाँड्ने अवसर मिल्यो भने त्यसको सदुपयोग गर्न जान्नुपर्छ । हामी सबैसँग केही न केही पक्कै छ जुन अरूलाई बाँड्न सकिन्छ । चाहे त्यो आफूसँग भएको पैसा होस्, सानोतिनो सहयोग होस् या आफूसँग भएको ज्ञान या अनुभव । मात्र इच्छा हुनुपर्छ ।’

कहिँकतै यस्ता पनि भेटिन्छन्, जो सहयोग गरेको जस्तो गरेर ठूलै हल्ला मचाउँछन् । कति शिक्षकहरु यस्ता पनि भेटिन्छन्, जो निशुल्क पढाइरहेका छन् । यस्ता धेरै मान्छे पनि छन्, जसले बिना कुनै देखावटी आफ्नो काम गरिरहेका छन् । इमान्दार भएर यदि तपाईँ कसैलाई सहयोग गर्नु हुन्छ भने भगवानले पनि तपाईं समस्यामा परेको बेला पक्कै सहयोग गर्नु हुनेछ । त्यतिखेर तपाईँले पनि थाहा नपाउनु होला, कतिखेर मानिस नै भगवान् बनेर कुन रूपमा आउनु हुनेछ तपाईँलाई मद्दत गर्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button