धनगढीका साइकले भरत भन्छन्, ‘सुरुमा पागल भन्थे’
‘मलाई पागल भन्थे’, नेपाल साइकल उत्सवको क्रममा दोधारा चाँदनीबाटै जोडिएका धनगढीका साइकले शाहले सम्झे,‘सबै मोटरसाइकल किन्न हत्ते गर्दा म भने भिन्न–भिन्न साइकल किन्न र त्यसैमा यात्रा गर्न रुचाउँथे ।’
‘मलाई पागल भन्थे’, नेपाल साइकल उत्सवको क्रममा दोधारा चाँदनीबाटै जोडिएका धनगढीका साइकले शाहले सम्झे, ‘सबै मोटरसाइकल किन्न हत्ते गर्दा म भने भिन्न–भिन्न साइकल किन्न र त्यसैमा यात्रा गर्न रुचाउँथे ।’ भरतविक्रम शाहको सबैभन्दा नजिकको साथी साइकल हो । उनी सबैभन्दा बढी समय आफ्नै साइकलसँग समय बिताउँछन् । उनको सामाजिक सञ्जाल पनि साइकलमय छ । तस्बिर साइकलको, स्टाटस साइकलकै र सेयर पनि तिनैसँग सम्बन्धित मात्रै । उनका समकक्षीहरू अहिले पनि बुलेट बाइकमा हुँइकिदा कैलालीको गोदावरी नगरपालिका–८ मजगाउँका दुई बीस उमेरका भरत भने आफ्नो सहयात्री साइकल नै हो भन्छन् । केही बर्षअघि नेपालगन्जमा भएको प्रथम मेयर कपमा एक सय ९० जनालाई उछिने । ‘मलाई अतिथिको रूपमा बोलाइएको थियो तर साइकल देखेपछि नचलाइरहन सकिन’, उनले भने, ‘म प्रतिस्पर्धीका रूपमा सहभागी भइन तर त्यो प्रतियोगितामा प्रथम भएका व्यक्तिलाई मैले ५ किलोमिटर पछाडि छोडेको थिएँ ।’
सानैदेखि साइकलप्रति लगाव भए पनि उनी त्यति मरिहत्ते भने गर्थेनन् । १२ वर्षपहिले उनलाई प्यारालाइसिस भयो । वयस्क उमेरमा उठबस गर्नै नसक्ने भएपछि परिवार र आफन्त सबै चिन्तित भए । गरिखाने उमेरमा न गर्न न खान सक्ने भए । चिकित्सकले पुरानो अवस्थामा फर्कन निकै कठिन रहेको बताए ।
साइकलले उनको ज्यान मात्रै बचाएन, उनको प्रसिद्धीको कारण पनि बन्यो । भरत स्वास्थ्यका लागि साइकल सबैभन्दा उत्तम भएको बताउँछन् । भन्छन्, ‘हामी रोगी भयौँ भने उपचार सुरु गर्छौं तर रोग नै लाग्न नदिन केही गर्दैनौँ । हाम्रै दैनिकीमा केही सुधार ल्याउन सके रोगबाट टाढा रहन सकिँदो रहेछ ।’
सन् २०१७ मा ‘काठमाडौँ कोरा साइकल च्यालेन्ज’ मा भरत सहभागी भए । संसारका उत्कृष्ट साइकलिस्टहरूसँग एक सय किलोमिटर साइकल नचलाएका भरतले यसैलाई आफ्नो गन्तव्य बनाउने सोचे । भने, ‘त्यो नै मेरो पहिलो ठुलो कदम थियो ।’ स्थानीय क्षेत्रमा सामान्य रूपमा साइकल चलाइरहने भरत त्यही बेलादेखि यसैमा समर्पित भएका हुन् ।
भरतले पर्यटकीय क्षेत्र खप्तडमा साइकल पुर्याएका थिए । स्थानीय विवेश शर्मा र खगेन्द्रसिंह धामीसँग उनले खप्तडमा पहिलो पटक साइकल पुर्याए । धनगढीबाट खप्तडको दूरी तीन सय किलोमिटर छ । उनीहरू चार दिनमा खप्तड पुगेका थिए ।
उनी आफ्नै घरबाट साइकलमा डोटीको बडिकेदार गाउँपालिकास्थित बडिकेदारधाम दर्शन गर्न पुगे । भन्छन्, ‘म पहिलोपटक २ हजार ९ सय फिटको उचाइमा साइकलबाट पुगेँ । त्यहाँ पुग्न मलाई ४ दिन लाग्यो ।’ कैलालीको अत्तरियादेखि बडिकेदारको दूरी १३० किलोमिटर छ । दुरी धेरै नभए पनि भौगोलिक विकटताले त्यहाँसम्म पुग्न सहज छैन । चार दिनमा खप्तड पुगेका उनी संसारको सबैभन्दा सुन्दर ठाउँमा पुगेको जस्तो लागेको बताउँछन् ।
त्यसपछि उनी डोटीको विपिनगरबाट गड्सेरा हुँदै जोरायल बुडर पुगेका थिए । त्यसलगत्तै उनी डडेलधुरा पुगे । भने, ‘रावलतोली गुफा, घटाल बाबा, अमरगढी किल्ला, सबै ठाउँमा साइकल पुर्याएको छु । साइकलमा धार्मिक क्षेत्रमा पुग्नुको मज्जा नै बेग्लै हुँदो रहेछ ।’
उनी तीर्थराज अवस्थी र युधीर गुरुङसँग डडेलधुराको आलितालसम्म साइकलमा पुगे । साइकल यात्रा सम्झँदै भन्छन्, ‘खप्तडमा कहिल्यै साइकल पुगेको थिएन । हामीले पहिलो पटक पु¥यायौँ ।
‘अहिले देशका विभिन्न क्षेत्रबाट साइकल टुरको माग बढिरहेको छ । तर, यहाँ त्यसको पूर्ण व्यवस्थापन हुन सकिरहेको छैन’, भन्छन्, ‘सबै निकायका सहयोग भए सुदूरपश्चिम प्रदेश साइक्लिङको लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ । भगवानको दर्शन पनि गर्न मिल्ने । एडभेन्चर पनि हुने सुदूरका सबै मन्दिरमा पुग्ने हो भने दुवै फाइदा लिन सकिन्छ ।’
देशभित्र प्रदेश र परदेशमा देश चिनाउने भरतको लक्ष्य छ ।