
जीवन के हो ?
प्रकाशप्रसाद उपाध्याय
जीवनको बारेमा अनेक लेखक, कवि, विद्वान, दार्शनिक र सन्तहरुले आ–आफ्नै किसिमले व्याख्या गरेका पाइन्छ । यस सम्बन्धमा यस अकिंचनले भन्नुपर्ने खासै कुरा केही छैन तर आफ्नो अनुभवलाई आधार बनाउँदा केही लेख्न र भन्न मन लागेकोले केही हरफ कोर्दैछु ।
मानिसको जीवनमा उसको देशको भौगोलिक सिमानाले ठूलो प्रभाव पार्दो रहेछ । भौगोलिक रुपमा भारत र नेपाल एकार्काका छिमेकी हुन् । खुल्ला सिमाना, सीमावर्ती गाउँहरुको सन्निकटता, सांस्कृतिक र धार्मिक रीतिरिवाजको समानता र खानपानमा एकरुपताले हामीलाई नङमासुसरह घनिष्ठ राखेका छन् । कहिलेकहिँ सोच्दछु यदि म सप्तरी जिल्लाको आफ्नो गाउँदेखि केही फर्लांग मात्र टाढा दक्षिणको भारतीय गाउँ नेउरमा जन्मेको भए नेपाली हुने अवसरबाट वञ्चित हुने थिएँ । अर्को कुन कुराले पनि मलाई आफ्नो सोचलाई त्यति बेला बल प्रदान गरेको अनुभव भयो जब मलाई भारतको स्वाधीनता आन्दोलनका केही सेनानीहरु आफ्नो देशको प्रहरीको नजरबाट उम्कन भारतीय भूमिदेखि केही फर्लांग टाढा रहेको सप्तरी जिल्लाको हाम्रो गाउँ महुवास्थित हाम्रो घरमा रात बिताएर अर्को सुरक्षित गाउँतिर गएका कुराको जानकारी भयो ।
समान रुपमा सुख–दुःख, सफलता–असफलता, मान–अपमान, संघर्ष–चुनौति, उन्नति–अवनति, मिलन–वियोग, विरह–वेदना, गतिशीलता–गतिहीनता, धर्म–अधर्म र नैतिक एवम् अनैतिक कर्म आदि सबैको मिश्रण नै हो मानिसको जीवन । कसको जीवनमा कुन पक्षको बढी प्रबलता हुन्छ त्यसमा उसको भाग्यको पनि भूमिका हुन्छ । किनभने कर्म सबै गर्दछन्, परिश्रम पनि गरेकै हुन्छन् तर सबैले फल आशातीत पाउँदैनन् । यहाँ कसैले खोजेको जस्तो वा खोजे जति पाउँदैन । पाएमा पनि सुख र शान्ति पाउँदैन । अनि यसैको खोजीमा उ मन्दिर पुग्दछ, मस्जिद जान्छ, गिर्जाघरमा प्रार्थना गर्न पुग्दछ र गुम्बामा पनि पुग्दछ । तर अनुभवले मलाई गीताको सारको मात्र सम्झना गराउँछ– ‘कर्म गर, फलको आशा नराख । जे हुन्छ, राम्रै हुनेछ ।’ जीवनका मेरा तीता–मीठा अनुभव र असफलताले पनि मलाई जीवनका यी शेष दिनहरुमा गीताको यस सारप्रति विश्वास जगायो ।
विद्यार्थी जीवन होस् वा सेवाकाल वा सेवानिवृत्ति पछिका दिनहरु । मेरो जीवनको दर्शन यही नै रह्यो । कहिले स्थिति अनुकूल भए कहिले प्रतिकूल । विभिन्न ठाउँमा सफलता पाइयो त कति ठाउँमा असफलता । तर प्रतिकूलता र असफलताले मलाई तत्कालका लागि खिन्न बनाए पनि आगामी दिनहरुमा तिनै असफलताका लागि ईश्वरप्रति आभार व्यक्त गर्ने अवसर पनि प्रदान गरे । किनभने उक्त असफलता र प्रतिकूल स्थितिले नै मलाई पछि आफ्ना विभिन्न लक्ष्यहरु प्राप्त भएको अनुभव गर्नमा सघाउ पु¥याए । त्यस्तो नभई दिएको भए सायद ती लक्ष्यहरु प्राप्त हुँदैनथे कि ? सुन्दा अलि अनौठो लाग्ने । तर यथार्थ हो यो । यसैले यसको उल्लेख मैले आफ्नो कृति ‘अल इण्डिया रेडियोमा चार दशक’मा पनि गरेको छु । यस किसिमको असफलतालाई अदृश्य महाशक्तिको चमत्कारिक भूमिका ठानेर उनी प्रति एउटा आस्था उत्पन्न हुन्छ । फलस्वरुप पूजापाठ र मन्दिरहरुको परिभ्रमणका लागि समय दिन नभ्याए पनि यस्तो अदृश्य महाशक्तिप्रति नित्यकर्मको रुपमा श्रद्धासुमन अर्पण गर्न र कृतज्ञता अभिव्यक्त गर्न प्रेरित गर्दछ जसको अनुकम्पाले नै मलाई असफलतामा पनि सफल भएको अनुभव गराउँछ ।
तर, धर्मप्रति मेरो दृष्टिकोण बेग्लै छ । यस सन्दर्भमा कहिलेकाहिँ म सोच्दछु– धर्म के हो ? के मन्दिर, विहार, गुम्बा आदि जानु, त्यहाँ धूप–बत्ती बाल्नु, पूजा अर्चना गर्नु र आफ्ना आराध्य देव अगाडि नतमस्तक हुनु नै धर्म हो ? यी पूजास्थलहरुमा सधैं पुग्न नसक्ने अधिकांशले आफ्ना घर र पसलहरुमा धूप–बत्ती बालेर वा सधैं घण्टौं पूजामा बसेर देवी–देवताको स्तुति गर्न बस्नु नै धर्मको अभिव्यक्ति हो ? वा आफूहरुबाट पछिल्लो दिनमा भएका वा वर्तमानकालमा हुने छल, कपट, बेइमानी, धोखा, भ्रष्टाचार र विभिन्न पाखण्डपूर्ण क्रियाकलापका लागि भगवानसित अग्रिम रुपमा क्षमायाचना गर्ने र यसरी शान्ति प्राप्त गर्ने एक माध्यम हो यो ? हुन त धर्मको व्याख्या विभिन्न पंडित, सन्त, योगी, धर्मगुरु आदिले नगरेका होईनन् । यस सम्बन्धमा अनेक ग्रन्थहरु पनि छन्, वेद छन्, पुराण छन् र वर्तमान युगमा त टेलिभिजनका विभिन्न च्यानेलहरुले प्रवचनका श्रृंखला नै दिनभरि प्रसारित गरिरहेछन् । तर ती व्याख्यान सुन्ने र धर्मग्रन्थहरु पढ्ने कति श्रोता र पाठकहरुले त्यहाँ प्रवाहित सन्देशको मनन र पालन गरेका छन् ? व्यवहारमा त्यसको कार्यान्वयन गरेका छन् ? भगवान कृष्णले गीतामा एक ठाउँमा भन्नुभएको छ –
योगयुक्तो विशुद्धात्मा विजितात्मा जितेन्द्रियः ।
सर्वभूत्मभूतात्मा कुर्वन्नपि न लिप्यते ।।
अर्थात जसले आफ्नो शरीरलाई वशमा गरेको छ र इन्द्रियहरुमाथि विजय प्राप्त गरेको छ, जसको अन्तःकरण विशुद्ध छ, जसले आफ्नो आत्मालाई सम्पूर्ण भूतप्राणीको आत्मामा देख्दछ, त्यस्तो निष्काम कर्मयोगी कर्म गर्दा गर्दै पनि लिप्त हुँदैन ।
अब यस श्लोकको विवेचना गर्ने हो भने धर्मात्मा भनाउँदा र धर्म कर्म गर्ने कति मानिसहरुले आफ्नो शरीरलाई वशमा गरेका छन्, इन्द्रियहरुमाथि विजय प्राप्त गरेका छन्, अन्तःकरणलाई विशुद्ध राखेका छन् र आफ्नो आत्मालाई सम्पूर्ण भूतप्राणीको आत्मामा देख्ने गरेका छन ? मेरो यस किसिमको टिप्पणीले पाठकहरुका नजरमा म एक नास्तिक देखा परुँला तर यस किसिमको विचार राख्ने गरे पनि म नास्तिक होईन र म धर्मात्मा रहेको दाबी पनि गर्दिनँ । मेरो धार्मिक आचरण र धार्मिक सिद्धान्त बेग्लै किसिमका छन् ।
काठमाडौं विश्वविद्यालयको मिडिया सेन्टरले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा भाग लिईरहेको बेलामा मलाई एकजना छात्राले ‘तपाईंले सेवानिवृत्तिबाट के पाउनुभयो र के गुमाउनुभयो ?’ भनी सोधिन । मेरो उत्तर थियो– ‘मैले सेवाकालमा धेरै थोक पाई सन्तुष्टि प्राप्त गरेको र उमेरको हदबन्दी पूरा गरेर थप एक वर्ष काम गर्नेे अवसरसमेत पाएकोले गुमाउनुपरेको केही अनुभव भएको छैन । तर जहाँसम्म सेवानिवृत्तिबाट के पाएँ भन्ने प्रश्न छ यस सम्बन्धमा यति मात्र भन्न सक्छु अहिले पनि धेरै थोक पाइरहेछु । सबैभन्दा महत्वपूर्ण कुरो हो आत्मसन्तोष, तनाउमुक्त जीवन र राम्ररी सुत्न पाउने अवसर, जुन सेवाकालमा पाउनसकेको थिईंन ड्यूटीको टेन्सनले । शिफ्ट ड्यूटीका कारण बेलाकुबेला आफिस पुग्नुपर्ने वाध्यता, दिउँसोको खाना खाने समय निश्चित नहुनु , सहकर्मीैहरुले विदाका लागि अकस्मात निवेदन दिंदा उनीहरुको पनि ड्यूटी गर्नुपर्ने अवस्था, करारको म्याद थपिने हो वा होईन आदिको पीर जसले बेलाबेलामा पिरोल्ने गर्दथे । जसबाट अहिले म मुक्त भएर निष्फिक्रिका साथ सुत्दछु । साथीभाईहरुसित घुम्छु र सुतेर उठे पछि ताजा अनुभव गर्न पाएको छु ।’
मेरा यी कुराहरुबाट छात्रछात्राहरु हाँस्न थाले । तर यो एउटा यस्तो यथार्थ हो जुन इलेक्ट्रोनिक र प्रिन्ट मिडियामा राति अबेरसम्म काम गर्ने वा झिसमिसे उज्यालोमै उठेर काममा निस्कनुपर्ने अधिकांश कर्मचारीहरुले अनुभव गरेको हुनु पर्दछ । काठमाडौं विश्वविद्यालयको मिडिया सेन्टरले आयोजना गरेको यस अन्तरक्रिया कार्यक्रम सरह नै २०६८ साल पौष ६ गते बुद्धवारी, टेकुस्थित नेवाः मिडिया क्लबले आयोजना गरेको एउटा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा मलाई बोलाइनु मेरो सेवानिवृत्त जीवनको एक अर्को चाखलाग्दो घटना थियो मेरा लागि । यसमा विभिन्न समाचारमाध्यमहरुका प्रतिनिधिहरुसितको कुराकानी बडो रोचक थियो ।
यसै सन्दर्भमा मण्डिखाटार निवासी मेरा एकजना शुभचिन्तक सीताराम अधिकारीले एक दिन भन्नुभयो– ‘तपाईं त अब राजा हुनुभयो ।’ सेवानिवृत्त भई सबै सरकारी सुविधाहरु गुमाउँदै राजाविहिन देशमा फर्केको एक साधारण नागरिकलाई यस सम्मानजनक उपाधिबाट विभूषित गर्नुहुने मित्रका कुरा सुनेर मैले उत्सुकताका साथ सोधें– ‘कसरी ?’ उहाँको उत्तर थियो– ‘अब तपाईं सरकारको नोकर रहनु भएन । अस्तिसम्म तपाईं आफ्ना अधिकारीहरुका खटनमा बस्नुहुन्थ्यो । हिज मास्टर्स् भ्वाइस सरह प्रसारण गर्नुहुन्थ्यो । रातबिरात, हूरी–वर्षा घाम र शीतको प्रचण्डताको वास्ता नगरी ड्यूटीमा पुग्नुहुन्थ्यो । तर अब ? जति बेला जे मन लाग्यो गर्नु हुन्छ । गर्न पाउनु हुन्छ । होइन ?’
हाँस्दै उहाँले भन्नुभएका कुराले मलाई प्राप्त स्वतन्त्रताको बोध गरायो । निश्चय नै सेवानिवृत्तिले मलाई जीवनको यो अमूल्य अनुभव गर्ने अवसर दियो । यसैले होला मैले सेवानिवृत्त भएर आएपछि जागिरका लागि कतै कुनै इलेक्ट्रोनिक मीडियामा बायोडाटा फाल्ने काम गरिनँ । मित्रका शब्दमा हिज मास्टर्स् भ्वाइस भएर काम गर्न चाहिनँ । यद्यपि मेरा अनेक मित्र एवम् शुभचिन्तकहरुको चाहना छ कि म आफ्नो जीवनको सक्रियताको उपयोग गरुँ । तर मैले मित्र सीतारामजीले भन्नुभए सरह आफ्नो जीवनलाई चाहे अनुसार सक्रिय राखेको छु कहिले पत्रपत्रिकाहरुका लागि लेखेर, कहिले कुनै सामाजिक, सांस्कृतिक, साहित्यिक र राजनीतिक गोष्ठी र विचारविमर्शहरुमा भाग लिएर त कहिले पर्यटकसरह घुमेर ।
सेवाकालमा रेडियोको उद्घोषक भएर होला मेरो जीवनमा गीत र संगीतले पनि निकै प्रभाव पारेका मैले अनुभव गर्ने गरेको छु । सेवाकालमा विभिन्न कारणले जब म विचलित हुन्थें वा मन खिन्न हुन्थ्यो म त्यसतर्फ नघोरिएर कुनै न कुनै गीतको धुन गुनगुनाउन थाल्थें । यस्तो अवस्थामा सबैभन्दा बढी प्रभावशाली मलाई लाग्दथ्यो अँगुलीमाल फिल्मको यो गीत ‘जब घबराए मन अनमोल और हृदय हो डाँवाडोल, तब मानव तुम मुख से बोल !’
बडो भक्तिभाव र तल्लीनताका साथ मन्ना डेले स्वरवद्ध गरेका यस गीतलाई सुन्दा एउटा अनौठो शांति अनुभव हुन्थ्यो (अहिले पनि हुन्छ) र मनको विचलन सेलाएर जान्थ्यो (जान्छ) । मन्दिर तिर जानुपर्ने आवश्यकता अनुभव हुँदैन ।
बुद्धम् शरणम् गच्छामि
धम्मंम् शरणम् गच्छामि
संघम् शरणम् गच्छामि ।
बौद्ध धर्मावलम्बी नभए पनि यो गीत गुनगुनाउँदा एउटा शीतलता प्राप्त हुन्छ । समान रुपमा स्वर किन्नरी तारा देवीले गाएको मबीबीशाहको रचना …आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ , मनको कुरा मुखमा ल्याई म भन्न सक्दिनँ …लाई बेला–बेलामा म असमंजसमा पर्दा गुनगुनाउने गर्दछु र गीत–संगीतमा औषधीय क्षमता हुन्छ भन्ने कुरा सही लाग्ने गर्दछ । अहिले त गीताको यो सार नै मेरो जीवनको मूलमन्त्र बनेको छ– जे हुनेछ , राम्रै हुनेछ ।
अवकाशप्राप्त गरी बस्दा जीवनको क्षणभँगुरतालाई पनि एकपल्ट नजीकबाट नियाल्ने तनाउपूर्ण अनुभव भएर आयो । जीवन र मृत्युको जुहारीमा को कति बेला प्रबल हुने हो भन्न सकिंदो रहेनछ । पत्नीको उपचारको क्रममा मैले यो पनि अनुभव गर्न पाएँ । औषधि उपचारको क्रममा एक दिन रातिको खाना खाए पछि पत्नीको स्वास्थ्य अकस्मात बिग्रन थाल्यो । उनको जिउ काम्न थाल्यो । खलखली पसिनाले उनका लुगाहरु निथ्रुक्क भए । अनुहारको रंग पहेंलो भएर आयो । अस्पतालमा तैनाथ रहेका डाक्टरहरुलाई तत्कालै खबर गरियो । उनीहरु दगुर्दै आए तर संकटको यस क्षणमा वरिष्ठ डाक्टरको सेवा पाउन सकिएन । रात्रिको अवसरमा कनिष्ठ डाक्टरहरुको जिम्मा सुम्पेर वरिष्ठ डाक्टरहरु घरमा परिवारका सदस्यहरुसित समय बिताउन वा अन्य कुनै अस्पतालमा सम्भवतः परामर्शदातृ सेवा प्रदान गर्न लागेका हुन्छन् । अनि कनिष्ठ डाक्टरहरु आफ्नो विवेक अनुसार वा टेलिफोनमा वरिष्ठ डाक्टरको सल्लाह लिएर काम गर्दछन् । तर वरिष्ठ डाक्टर आउँदैनन् । वरिष्ठ डाक्टरको सल्लाह अनुसार हो वा आफ्नै निर्णयले हो ती कनिष्ठ डाक्टरहरुले इसीजी आदि गर्दै, उनका लक्षणहरु मल्टी ओरग्यान फेल्योरको प्रतीक रहेको बताउँदै तत्कालै भेन्टिलेटरमा राख्नुपर्ने आवश्यकता बताए । तर रोगीको सौभाग्य भनौं त्यतिबेला उपचाररत अस्पतालको आइसीयुमा न त शैय्या उपलब्ध थियो न भेन्टिलेटर नै । यसरी अस्पतालले हिन्दी उखान ‘उँची दुकान फिकी पकवान’लाई चरितार्थ गर्दै जीवन र मृत्युसित जुहारी खेलिरहेको रोगीलाई राति ११ बजे त्रिपुरेश्वरस्थित एउटा अस्पतालमा पठाउने व्यवस्था मिलायो । जहाँ अर्को एक घण्टाको निगरानी र तात्कालिक उपचारले भेन्टिलेटरको आवश्यकता नरहेको र रोगीको अवस्थामा सुधार हँुदै गएको सूचनाले कालको कालो छायाबाट पत्नी मुक्त भएको अनुभूतिले मनलाई शीतलता प्रदान ग¥यो । त्यहाँ दुई सातासम्मको उपचारपछि पत्नी स्वास्थ्यलाभ गरि घर फर्कन सफल भईन् ।
विभिन्न घटनाहरुले उत्पन्न गरेका सुख दुःखका बीच जीवन चक्र घुमिरहेको छ । सेवानिवृत्त भएर आफिस जाने क्रम बन्द भएको पनि १५ वर्ष हुन लागि सक्यो । बढ्दो उमेरका कारण शरीरका विभिन्न अवयवहरु प्रभावित हुँदै छन् । ‘शरीरे व्याधि मन्दिरम्’ भने सरह बुढेसकालका विभिन्न रोगहरुको संक्रमणबाट शरीर जर्जरावस्थामा पुग्दैछ । केशले फुल्ने र झर्ने गति प्राप्त गरेको त कति भो कति । यति भए पनि शरीरको सक्रियतामा खासै ह्रास हुनसकेको छैन ।