सेलिब्रेटीका सेलिब्रेटी
सिनेमाका पोस्टर देखेर हुर्केका उनमा आमिर खान अभिनीत ‘कयामत से कयामत तक’को पोस्टरले भने भविष्यमा डिजाइनरै हुने बीऊ रोपिदियो । उनी त्यो पोस्टरलार्ई हेरेको हेर्यै भए ।
पहिलो सिनेमा कसरी हेरें ? याद छैन ।
सुनेको कुरा, ‘बुवाले आमालाई काठमान्डु घुमाउन ल्याउँदा ‘सिन्दुर’ चलेको थियो । म त्यति बेला तोते बोली पनि नफुटेको दुधे बालक थिएँ । सिनेमा हलको अनौठो वातावरणमा म अचम्मले रोएकोले फिल्म नसिद्धिदै आमा बाहिरनु भएको थियो ।’
कुन हलमा मैले विश्व बस्नेत अभिनीत ‘सिन्दुर’ हेरको थिएँ ? मलाई कसैले भनेको याद छैन ।
तर, सिद्धार्थ बनस्थलीमा कक्षा आठ पढ्दाताका स्कुलबाट भागेर शाहरुख खान अभिनीत बाजिगर हेरेको अहिले पनि राम्ररी याद छ । शाहरुखको म त्यति बेलैदेखि त हो नि फ्यान भएको । तर, अचेल म पर्दाका नायकहरुको फ्यान हुँ भन्न त्यति गर्व गर्दिन ।
त्यसताका काठमान्डुमा विश्वज्योती, कुमारी, जय नेपाल र रञ्जना हलको एकछत्र राज थियो । मेरो आफ्नै नामसँग मिल्दो पाटनको अशोक हल पनि चर्चितै थियो । त्यसताका ब्ल्याकमा टिकट काटेर सिनेमा हेर्नु सामान्य थियो । स्कुल युनिफर्ममा मैले पनि ब्ल्याकमै ‘बाजिगर’ हेरेको थिएँ ? त्यति राम्ररी याद छैन ।
न्युरोडको रञ्जना हलमा ‘बाजिगर’ हेर्दा सिनेमाको पोस्टर हल परिसरका भित्ताहरुमा टन्नै टाँसिएका थिए । रञ्जना हलमा अरु सिनेमा पनि हेरिए होलान् । चलिरहेका र त्यसपछि चाँडै नै चल्नेवाला सिनेमाका पोस्टरले भित्ता कतै बाँकी नै हुँदैन थिए । तिनले मलाई पनि नतानेका होइनन् । तर, अहिले त्यो मेरो स्मृतिमा अलिअलि मात्र सुरक्षित छ ।
साँझ पर्नै लागेको छ । म धेरै बर्षपछि सिधै त्यही ठाउँलाई ताकेर तन्किदै छु । सिनेमा हलको ठाउँमा रञ्जना कम्पलेक्स उभिएको छ । कम्पेल्क्स गेटको ठिक अगाडिको घरको माथिल्लो तलामा एउटा सिनेमा जारी छ । सिनेमाको नाम हो अनिल स्थापित । अगस्ट १, १९६९ बाट सुरु यो सिनेमाको पात्र ३ हजारभन्दा बढी क्यासेट (म्युजिक अडियो÷भिडियो) कभरको चाङमाझ अग्लिएको हो कि होचिएको ? मैले सोच्न सकिनँ ।
सिनेमा र सिनेमाको नायकको नाम पनि मिल्छ । नायक अनिल काम पनि गर्दै कुरा पनि गर्दै छन् । केवल एउटा फोटो खिच्न पोखरा समेत पुग्ने उनी भन्छन्, ‘९९ मान्छेलाई टाइममै दिन्छु । झुलाउने काम मन पर्दैन । अरुलाई पनि झुलाउँदिन । अरुले झुलाएको पनि मन पर्दैन ।’ त्यसैले उनीसँग जोडिएकाहरु निरन्तर रहने गरेको उनको अनुभव छ ।
अनिल उनका आमाबुवाले राखिदिएको नाम हो । पछि थाहा पाए, यसको अर्थ हावा रहेछ । ‘हावाले जस्तो सकेसम्म धेरैलाई शीतलता दिन सकौं’, उनी सोच्छन् ।
रञ्जना गल्लीमा जन्मेका उनी रञ्जना हल परिसरमा गुच्चा खेल्थें । पांग्रा खेल्थे ।
उनले त्यही बीचमा मामाको छोरा हेमराज र अमृत तुलाधरबाट हल्काफुल्का चित्र कोर्न सिकें ।
सिनेमाका पोस्टर देखेर हुर्केका उनमा आमिर खान अभिनीत ‘कयामत से कयामत तक’को पोस्टरले भने भविष्यमा डिजाइनरै हुने बीऊ रोपिदियो । उनी त्यो पोस्टरलार्ई हेरेको हेर्यै भए ।
अशोक सिलवाल
ashoksilwal@gmail.com
उनका ठूलो बुवाको छोरा तीर्थमान स्थापितको ऐना पसल थियो । उनले नयाँ क्यासेट पसल पनि खोले । उनी त्यही पसलमा बस्न थाले । त्यसपछि संगीतप्रति उनको लगाव अझ बढ्न थाल्यो । स्कुल पढ्दैको त्यो समयमा गोरखापत्रको खाली ठाउँमा चित्र बनाउँथे । मीनपचासमा मामाघर जाँदा हिमदाइले ओमविक्रम बिष्टको गीत टेबुल बजाएर सुनाउँदा उनी पागलै हुन्थे । दीप श्रेष्ठ र अरुले गाएका धेरै गीत उनी सुन्थे र सुनेर कापीमा उतार्थे पनि ।
संगीत र चित्रको संयुक्त यात्रामा जानी–नजानी उनी अगाडि बढिसकेका थिए ।
बुवा–पुस्ताको अंशवण्डा भयो । पारिवारिक जिम्मेवारी केही गह्रुंगो भयो । उनलाई ‘च्वाइस’ दिइयो पढाई कि पेशा ? दाइले पढाई रोजे भने उनले व्यापार । हार्दिक क्यासेट पसल खोले । त्यहीँबाट चर्चित गायक निमा रुम्बा, बबिन प्रधान आदिको स्वरमा ‘ट्यालेन्ट्स’ एल्वम बाहिर ल्याए । हिमराज, अन्नपूर्ण, पुरुषोत्तम र उनी गरी चार जनाको समूह मिलेर बाहिर ल्याएको त्यो अडियो कलेक्सन सुपर डुपर भयो । इन्डियाबाट चिठी मात्र होइन, उपहार पनि आउन थाल्यो । पहिलो चोटी ४ फोल्डमा बनेको त्यसको क्यासेट कभर नै चर्चाको विषय भयो । कभरकै प्रशंसामा हङकङबाट ४ पेजको चिठ्ठी आयो ।
‘ट्यालेन्टस्–२’ को कभर उनी आफैले डिजाइन गरेका थिए ।
निमाको स्पेलिङ एन आइ एम ए लाई ठूलो अक्षरमा राखेर बनाएको ‘सुन सुन’ शीर्ष गीतको एल्बमा उनले अंग्रेजी अक्षर आइको ठाउँमा निमालाई उभ्याए । त्यसपछि निमासँगै अनिलको डिजाइनको प्रशंसा र चर्चा चुलियो । त्यसपछि उनले पछाडि फर्कन परेन । त्यसैले त निमा रुम्बाका धेरै इन्टरभ्युमा उनको प्रसंग आइहाल्छ ।
सुरुमा (एल्बम) म्युजिक डिस्टिब्युटर मात्र थिए उनी । कभर डिजाइनरको खास परिचय बनाएका उनी फोटोग्राफीमा पनि रुचि राख्छन् । चर्चित गायकहरुले उनका थुप्रै रचनाहरु गाएका छन् । बेलाबेला चित्र पनि कोर्ने उनले आधा दर्जन् बढी म्युजिक भिडियाको निर्देशन पनि गरेका छन् ।
अडियो क्यासेटको जमाना थियो । बिस्तारै कन्सर्ट कल्चर हुर्कन थाल्यो । संगीत बजार कमर्सियल हुन थाल्दै थियो । उनी डिजाइनरको रुपमा स्थापित हुँदै गएका थिए । उनी डिजाइनमै डुब्न थाले । तैरिन थाले ।
२३ वटा अडियो क्यासेट उत्पादन गरिसकेपछि ०५२ सालदेखि उनी डिजाइनिङमा केन्द्रीत हुन थाले । ०६२ साल आइपुग्दा संगत गुनाको फल भयो । गायक, गीतकार र संगीतकारको सांगीतिक संगतले उनले गीत पनि लेख्न थाले, ‘हर दिन हर रात … ।’
अरु गीतहरु पनि लेखे, ‘गितारको धूनसँगै … ।’ उनका २५ वटा गीत रेकर्ड भइसकेका छन् । गीतकार, संगीतकार र गायकको समान आगोले सल्काएपछि गीत राम्रो हुने उनको तर्क छ ।
पैसाको मतलब नगरी उनले काममा ‘इन्जोइ’ मात्र गरे । पैसा पनि कमाए । त्यो छुट्टै कुरा हो । गीतको भाव बुझेर उनी रङ र रेखाहरुसँग खेल्छन् । त्यसरी तयार हुन्छ उनको डिजाइन ।
सिर्जना जीवनको लागि हो । यसमा उनी स्पस्ट छन् । भन्छन्, ‘कम्प्रोमाइज गरेर म काम गर्दिन ।’
संगीत र सोचाई एकसाथ दर्गुछ उनीभित्र । त्यसरी उनी डिजाइन गर्छन् । तर, कुनै तालिम लिएर उनी यहाँसम्म आइपुगेका होइनन् । उनलाई सामान्य तरिकाले कम्प्युटर चलाउन भने दाईले सिकाए ।
म्यानुअल हुँदै डिजिटल डिजाइनिङमा आइपुगेका उनलाई कतिले संगीत समीक्षक पनि भन्छन् । तर, पाँच बर्षपछि पनि मैले सायद उनलाई यस्तै पाउँछु । २५ बर्षदेखि उनी यसैमा छन् । उनका कानहरु संगीतमै अड्किरहेका छन् । र, त्यो उनका लागि जीवनकै धून हो, कहिल्यै नछुट्टिने गरी बसेको ।
लाखौं मुटका धड्कन बनेका गायक–गायिकाको संगीत अनुहार बनाउने कभर डिजाइनर अनिल ती गायक–गायिकाका लागि भने खास केन्द्र हुन् । सेलिब्रेटीहरुका सेलिब्रेटी अनिलको अर्को सुन्दर पक्ष भनेको व्यवस्थापन क्षमता हो । एक छिनको भेटमै पनि सुरुदेखि अहिलेसम्मका सबै सिर्जनालाई उनले तत्काल मलाई सिडीमा हालेर दिएका थिए । कोठामा मायाका चिना र सम्मानहरु मिलाएर राखेको देख्दा सानोतिनो म्युजियममै गएजस्तो भएको थियो ।
उनलाइ सानैदेखि फोटोग्राफीको सोख थियो । त्यो बेला यासिका भन्ने राम्रो खालको क्यामरा आउँथ्यो रे । जसको मूल्य पच्चीय सय रुपियाँ थियो । त्यो उनले किन्न नसक्ने मूल्य थियो । साथीहरु मिलेर दिनको पचास रुपियाँमा यासिका भाडामा लिएर पनि फोटो खिचे । २०४४ सालमा आइपुग्दा त्यो पनि किने ।
त्यसपछि सेकेन्ड ह्यान्ड डिएसएलआर क्यामरा पहिलो चोटि किन्दा आफूजस्तो भाग्यमानी कोही छैन जस्तो लाग्यो । त्यही क्यामराले उनले निमा रुम्बाको तस्बिर खिचेका थिए ।
त्यति बेला उनको गर्लफ्रेन्ड भनेकै क्यामरा थियो ।
पछि थपिएका पत्नी युना, छोेरा आयुन र छोरी आर्या उनका निजी जीवनका रंग हुन् । मागी बिहे नै भए पनि बिहे हुनअघिको कुरा हो । आमाले युनालाई आफन्तकहाँ देखेकी रहिछन् ।
घरमा थाहा नदिइकन बिहे अगाडि नै उनीहरु डेटिङ जान्थे । डेटिङमा उनले भने, ‘छोरा भए अनिल र युना मिलाएर आयुन राख्ने छोरी भए आर्या ।’ संयोगले उनीहरुका सानो संसारमा आयुन र आर्याले न्यानो पाइला टेके ।
आयुन, आर्या र युना कस्ता होलान् ? कुनै दिन कतै भेटिए मैले चिनुँला र ?