तेक्वान्दो : ‘पागल’ संगीना

आँखा चिम्ल्योकी ब्रुस्ली मात्र आउने । नाङो मसिनो जीउ, रगत झरिरहेको ओठ, नाइनस्टिक चलाएको, उफ्रेको, हानेको … ।

उनी साथीभाई र शिक्षकमाझ लोकप्रिय र प्यारी हुँदै गइन् । त्यसको जगमा खेलकुद थियो । उनी खेलकुदप्रति झन् मोहित हुँदै गइन् । खेलकुदका नाममा भलिबल, हाइजम्प, लङजम्प यस्तै हुन्थे । उनलाई मार्सल आर्ट् भन्ने थाहा थिएन । त्यहीताका एक दिन छिमेकमा उनले एउटा फिल्म हेरिन । संयोगले त्यो ब्रुस्लीको ‘इभिल डेड’ वा यस्तै कुनै फिल्म थियो । उनले पहिलोचोटि बु्रस्लीको फिल्म हेरेकी थिइन् । बु्रस्लीका किक, नाइनस्टिक चाल, आइकन्ट्याक्ट, साउन्ड आदि सबैले उनमा एउटा अलग संसार निर्माण गरिसकेको थियो ।
उनी मार्शल आर्टमा पागल भइन् ।
त्यसपछि उनी अर्कै भईन् । त्यो उनको पहिलो प्रेम थियो ।
समय अर्कै भयो । आँखा चिम्ल्योकी ब्रुस्ली मात्र आउने । नाङो मसिनो जीउ, रगत झरिरहेको ओठ, नाइनस्टिक चलाएको, उफ्रेको, हानेको … ।
बु्रस्ली, बु्रस्ली र बु्रस्ली मात्र । आँखा खोल्दा, बन्द गर्दा र सपनामा पनि ।
बु्रस्लीको फिल्म हेरेपछि कोठामा, स्कुलमा र जताततै उनले अनेक हाउभाउ गर्न थालिन् । घरछेउमा आर्मी ग्राउन्डमा त्यस्तै तालिम भइरहेको देख्थिन् । परैबाट उनी पनि अभ्यास गर्थिन् । त्यसरी उनले धेरै सिकिसकेकी थिईन् ।
‘गेम भनेको त यो पो रहेछ । यो पो खेल्नु पर्दोरहेछ’, उनलाई त्यस्तो लाग्यो ।
यति बेलासम्म उनले ब्रुस्लीले खेलेको मार्शल आर्ट भन्ने त थाहा पाइन् । तर, मार्शल आर्ट पनि धेरै प्रकारका हुन्छन् र तेक्वान्दो पनि हुन्छ भन्नेचाहिं थाहा थिएन । काठमान्डुमा जस्तो डोजाङ र क्लवहरु थिएनन् ।
तर, उनीसँग त्यति बेलैदेखि सपनाहरु थिए । सपनाहरु उनका साथी थिए । ती साथीहरुसँगै उनी त्रिशुली नदीमा बगिरहेको पानीलाई हेर्थिन् । र, पानीजस्तै सपनाको समुन्द्रमा पुग्न चाहन्थिन् । सपनाको शहर काठमान्डु ।
एसएलसीपछि काठमान्डु आइन् । कलेज पढ्न भनेर काठमान्डु आउने ढोका खुल्यो तर त्यो त बहाना मात्र थियो । पढ्ने बहानामा काठमान्डुमा आए पनि यहाँ आउनुको खास सपना र उद्धेश्य खेलकुद नै थियो । मार्शल आर्ट नै थियो ।

अशोक सिलवाल

रंगशाला सपना
उता नुवाकोटमै रहँदा संगीना वैद्यले दशरथ रंगशाला देखेकी थिईन् टेलिभिजनमा । रंगशालामा नै सर्वस्व छ भनेजस्तो लाग्थ्यो उनलाई ।
रंगशाला भेट्टाउन पाए … । यस्तै कल्पनामा उनले कयौं रात ननिदाई बिताइन् । र, सपनाहरु क्रमशः आइरहे ।
काठमान्डु आएपछि उनले कलेजको फर्म भर्नुभन्दा पहिले रंगशाला ज्वाईन् गरिन् । नगलबाट असन र सुन्धारा हुँदै उनी हिंड्दै रंगशाला पुगिन् । सोध्दै गएकी थिइन्, ‘रंगशाला कहाँ छ ?’
त्यति बेला तेक्वान्दोकै इभेन्ट भइरहेको थियो । दीक्षान्त समारोहमा गुरुलाई मानेको, इजज्त गरेको अनेक दृश्य देखिन् । र, यसै यसै सपनाको संसारमा पुगेको अनुभव गरिन् ।
उनी नौलो थिइन् तर त्यो संसार उनको थियो । उनलाई धेरै बषैपछि आमा भेटे जस्तो पो लाग्यो ।
त्यही दिन उनले तेक्वान्दोको फर्म लिइन् ।
तर, उनले त्यो फर्म दिदीहरुलाई पनि देखाइनन् । किनकी, दिदीहरुको प्राथमिकता बहिनीको पढाई थियो । दिदीहरुकै करबलले केही दिनपछि पब्लिक युथमा ज्वाइन् भइन् । तर, उनको खास उद्धेश्य पढाई थिएन । काठमान्डु बस्नका लागि मात्र उनी कलेज ज्वाइन् भएकी थिइन् ।
दिउँसो कलेज । बिहान रंगशाला । खाजा खाने पैसा मात्र होइन, कलेज फी समेत उनी रंगशालाका लागि साँच्थिन् । तेक्वान्दोभन्दा परिवारको जोड पढाईमा थियो । ‘तेक्वान्दो साइड इन्टेस्ट हुनसक्छ, मुख्य होइन’, परिवारको भावना त्यस्तो थियो । तर, उनी सपनाको पहाड उक्लिरहेकी थिइन् ।
परिवारको त्यस्तो धारणा छ भन्ने ठानेर उनी आफै डराउँथिन् तर परिवार खेलकुदको विरोधीचाहिं थिएन । उनी आफैभित्र डरको पहाड बनाइरहेकी थिइन् । आमपरिवारले सन्तानलाई ‘आज जाँच कस्तो गरिस् ?’ भनेर सोध्छन् । तर, ‘आज तैंले कस्तो खेलिस् ?’ भनेर सोध्ने आम चलन अझै पनि छैन । खेलकुदमा पनि त परिक्षा हुन्छ । तर, यो सोसाइटीको साइकोलोजी हो, ‘पढेर पो हुन्छ । खेलेर के हुन्छ ?’
सुरुवाती समयकै कुरा हो । धनगढीमा नेशनल गेम भएको थियो । उनी प्रेसरमा थिइनन् । उनलाई मेडल पनि जित्नु पनि थिएन । र, उनलाई केही थाहा पनि थिएन । तर, उनले सजिलै खेलिन् । सबैको आँखामा परिन् । गुरुहरुको आँखामा झनै परिन् ।
उनको सुन्दरता क–कसको आँखामा पर्यो ? त्यो चाहिं उनले यादै गरिनन् । किनकी उनलाई खेल्नु थियो । सिक्नु थियो । उनलाई सपनाको संसारमा अझ् बढी गहिरो गरी डुब्नु थियो । आत्मविश्वास बढाउनु थियो ।
‘तेक्वान्दोलाई पेशा बनाउँछु’, यस्तो सोचेर उनी यो क्षेत्रमा आएकी थिइनन् ।
सिनियर गुरुहरुले आदेश दिए, ‘यहाँबाट फर्केपछि नेशनल टीममा तिमीलाई स्वागत छ ।’
त्यसपछि जादुगरी ढंगले उनी अझ सशक्त भइन् । भारतको आसाममा ओपन च्याम्पियनसीप हुँदै त्यही बर्ष उनले फिलिपिन्समा भएको एशियन च्याम्यिनसीपमा खेल्न पाइन् ।
उनी खुशीको सगरमाथा चढ्दै थिइन् । आसामबाट ५, ६ हजार रुपियाँ पुरस्कार ल्याइन् । र, भाञ्छाका लागि सामान ल्याइन् । फिलिपिन्सबाट उनले सिल्भर मेडल ल्याइन् । त्यसपछि उनलाई लाग्यो, ‘मैले चाहेपछि हुँदोरहेछ ।’
‘कम्पिटिसनमा जाँदैछु’, बल्ल त्यसपछि उनलाई त्यस्तो लाग्न थाल्यो । त्यसअघि त उनलाई यति मात्र लाग्थ्यो, ‘म सिक्न जाँदैछु । अनुभव लिन जाँदैछु । हेर्न जाँदैछु ।’
पुरस्कारस्वरुप उनलाई सरकारले जागिर दियो । खेलकुद जीवन त्यसपछि निकै सहज हुन थाल्यो ।
पहिले उनी खाएर खेल्थिन् । अब खेलेर खान सक्ने भइन् । वाह !
एक दिन रंगशाला नगए जहाजै खसेजस्तो । नशाजस्तो । के के न छुटेजस्तो । मान्छे एक्सरसाइज गरेर जीउ दुख्छ भन्थे । तर उनीहरुलाई एक्सरसाइज नगरे जीउ दुख्थ्यो । त्यस्तो बानी भइसकेको थियो ।
तेक्वान्दो मात्र सबै मार्शल आर्ट कन्ट्याक्ट गेम हो । खेलाडीहरु घाइते भइरहेका हुन्छन् । आफ्नै थुक लाएर मालिस गर्छन् । भन्दै थिइन्, ‘कति दुखाईबारे आमालाई पनि भन्दैनौं ।’ किनभने, आमालाई झन् बढी दुख्छ । त्यसैले पीडा लुकाउँछन् ।
‘तर, त्यो पीडा साथीभाईसँग भन्छौं । गीत गाउँछौं । रंगशालाको त्यस्तो वातावरणमा हामी हुक्यौं’, यसो भन्दै गर्दा उनी भावुक भएकी थिइन् । एउटा अर्को परिवार रंगशालामा । उनीहरुको आम भावना हो यो ।

बदलिएको परिचय
फिलिपिन्सबाट फर्केपछि उनी आम चिनजानकी संगीना भईन् । पहिले उनी बुवाआमा वा दिदीहरुको नामबाट चिनिन्थिन् भने अब उनीहरु संगीनाको नामबाट चिनिन थाले । संगीनाको आमाबुवा, संगीनाको दिदी आदि ।
सन्् १९९६ अष्टे«लियाको मेलवर्नमा अर्को एसियन च्याम्पियनसीप थियो । त्यसअघि अरु थुप्रै च्याम्पियनसीप खेलिसकेकी थिइन् उनले । त्यति बेला उनको जिन्दगीमा खेलकुद मात्र थियो । पढाई टुटिसकेको थियो । मेलबर्न फाइनलमा तेक्वान्दो किङ कोरियासँग उनको भिडन्त थियो । उनले गोल्डमेडल पाइन् । नेपाली खेलकुद इतिहासमा एउटा नयाँ किर्तीमान । उनको नाम नेपाल मात्र होइन, एशियामा पनि छायो ।
जीतपछि नेपाली राष्ट्र गान बज्नु पर्ने तर बजेन । ‘नेपालले पनि जित्छ, जित्न सक्छ’ भन्ने कुनै अपेक्षा थिएन त्यहाँ । त्यो आयोजकको ठुलो गल्ती थियो । तर, उनीहरुले विदेशी मैदानबाट राष्ट्र गान गाए ।
खेलकुदको लागि जिन्दगी कि ? जिन्दगीको लागि खेलकुद ? उनी त्यस्तो अवस्थामा पुगिन् । व्यक्तिगत जिन्दगी केही पनि थिएन ।
काठमान्डुमा उनी आउँदा उनको जवानी भर्खर फक्रिदै थियो तर उनले यादै गरिनन् । काठमान्डुको रंग र उज्यालो थाहै पाइनन् । उनले काठमान्डुका्े रंगिन दुनियाँ देख्दै देखिनन् । त्यसकारण ती केही पनि मिस गरिनन् रे । काठमान्डु आएर उनले काठमान्डु बझिनन्, खेलकुद मात्र बुझिन् ।
प्रेम प्रस्ताव नआउने होइन रे । तर त्यसमा उनी वास्ता गर्दिन थिइन् रे । उनलाई मेकअप वा फेसनमा रुचि थिएन । पैसा पायो कि उनी ट्रयाकसुट किन्थिन् । ट्याकसुट उनको फेभरेट थियो । स्र्पोट्स सुज पनि फेबरेट । पैसा भए एडिडास किन्थिन् ।
परिवारले उनलाई विश्वास गर्यो । उनले आफुलाई कहिल्यै असुरक्षित महसुस गरिनन् । कसैले जिस्कायो वा अभद्र व्यवहार गर्न खोज्यो भने आवश्यक कदम उठाउन सक्छु भन्ने आत्मविश्वास उनीसँग थियो । एक दुई जनालाई त म पिटेर हिंड्न सक्छु भन्ने लाग्थ्यो उनलाई । त्यो स्पिरिटमा अहिले पनि कमी आएको छैन रे ।
उनलाई लाग्छ, ‘हरेक महिलाले मार्शल आर्ट सिक्नु पर्छ ।’ भन्छिन्, ‘मार्शल आर्टले फिजिकल्ली मात्र होइन, मेन्टल्ली पनि बलियो बनाउँछ । हामी खेलाडीलाई एक घन्टा दौडिनु भनेको केही होइन । हामी दौडेर पनि सुरक्षित ठाउँमा पुग्ग्न सक्छौं । दुई तलाबट हामफाल्न परे पनि हामीमा कुनै ड्यामेज हुँदैन । न खुट्टा भाँच्चिन्छ । न केही हुन्छ ? ट्याप्प बस्न सक्छौं ।’
मार्शल हरेक ठाउँबाट ‘स्विट’ छ ।
मार्शल आर्ट खेल्नको लागि मात्र खेल्ने गेम होइन रे । उनलाई लाग्छ, ‘यो सबैले सिक्नु पर्छ । स्पेस्ल्ली महिलाले ।’
प्रशिक्षक न परिन् । उनी मार्शल आर्टबारे थप बताउँदै छिन्, ‘जीत–हारकै कुरा गरौं न । राजनीतिमा कसैले कसैलाई स्वीकार्दैन । तर, खेलकुदमा नियमले लड्छन् । र जीत–हार जेसुकै भए पनि तत्कालै सहजतापूर्वक स्वीकारी हाल्छन् । हात मिलाई हाल्छन् । त्यस्तो वातावरण खेलकुदमा मात्र पाइन्छ ।’

कालो समय
बैंकक संस्करणको एसियन च्याम्पियनसीको लागि तयारी हुँदै थियो । एक महिना बाँकी थियो । त्रिपुरेश्वरमा उनले चलाइरहेको बाइकलाई गाडीले हान्यो । उनको खुट्टा भाँचियो । ६, ७ महिना अस्पताल बसिन् ।
खुट्टाभन्दा बढी उनको मन भाँचियो । त्यति बेला उनी भर्खर एसियन च्याम्पियन भएकी थिइन् । उनीबाट देशले अपेक्षा गरिहेको थियो । अर्को एउटा इतिहास बनाउन सक्थिन् उनले । उनको खुट्टामा हालेको स्टिलले मुटुमा बढी घोच्थ्यो ।
‘अब म खेलकुदमा फर्कन सक्दिन होला,’ त्यो सबभन्दा ठूलो पीडा थियो । अस्पतालका दिनहरु आँशुमा बिते । अरु सबै साथीहरु खेल्न गए । उनी पत्रिकामा खेलकुद समाचार हेर्थिन् । पत्रिका आँशुले भिज्थ्यो ।
उनी पुरै जिरोमा आइन् ।
सन् १९९९ को साफ गेम नेपालमा हुन लागेको थियो । त्यति बेला उनलाई डाक्टरले तीन महिनाको टाइम दियो भने ‘तिमी सक्छौ’ भनेका थिए ।
उनी निकै डराएकी थिइन् । उनले हिंड्न समेत सिक्न परेको थियो । उनले हिंड्न सिकिन् । दौडिन सिकिन् । बच्चाले जस्तै ।
त्यसपछि किक हान्न सिकिन् । जम्प हान्न सिकिन् । स्टेप लिन सिकिन् ।
त्यो साफको लागि सेलेक्सन थियो । गुरुहरुले सर्पोट र इन्करेज गरे, ‘तिमी सछौं । तिमीले गर्छौ ।’
ती शब्द र ढाडस उनका लागि ठूलो कुरा थियो ।
त्यसपछि उनी क्याम्पमा बसिन् । दुई महिना बाँकी थियो ।
भाँचिएको दाहिने खुट्टा एकदम डराउँथ्यो । एक छिनसम्म टेकेको पनि थाहा नहुने । झुम्म भइरहने । त्यसपछि उनले देब्रे खुट्टालाई बढी मोबिलाइज गर्न थालिन् । हान्ने पनि देब्रेले । झम्टने पनि देब्रेले ।
हेर्दाहेर्दै दाहिनेभन्दा देब्रे एकदम राम्रो भयो ।
उनले साफमा खेलिन् । एक्सिडेन्टपछि उनको पुर्नजन्म भयो । नेपालको लागि गोल्ड मेडल लिइन् ।
उनले दुईटा साफमा दुईटा गोल्डेन मेडल दिइन् देशलाई । एशियनमा एउटा ब्राउन्ज दिइन् । ओलम्पिकको लागि पहिलो नेपाली क्वालिफाईड् खेलाडी भइन् । इतिहास बनाइन् ।
खुट्टा भाँचिएर नखेल्दासम्म आँशुको समय थियो । शरीरको दुखाईभन्दा मनको दुख अग्लो थियो ।
‘तर, म उठ्न सक्छु । म उठ्छु,’ उनीभित्र एउटा आगो थियो, आँकाक्षाको । उनले हार्न जानिनन् ।
जीवनको त्यो कालो क्षण थियो । तर, उनले त्यहीँ उज्यालो जन्माइन् ।

सन्यासपछि सुरु
फेरि साफको पाकिस्तान संस्करणमा उनी गइन् । गोल्ड मेडल ल्याइन् । उनले शरीरले भन्दा दिमागले बढी खेलिन् । र, अपोनेन्टलाई आफ्नो कमजोरी थाहा हुन दिइनन् । उनको विगत छविले त्यहाँ निकै काम ग-यो । कतिपय अवस्थामा आफ्नो कमजोरीलाई लुकाउनु पर्दोरहेछ ।
उनलाई थाहा भइसकेको थियो, ‘अब मैले सक्दिन, मेरो खुट्टाले साथ छोडिसकेको छ ।’ तर, उनले ओलम्पिकमा क्वालिफाइड भएर स्थान बनाइन् । ‘सोह्र जनामा सोह्रै जना टाइगर हुन् । तर, म सातौं स्थानसम्म आएँ । त्यो पनि मेरो लागि खुशीको कुरा थियो । मेडल नपाए पनि’, उनले आफैलाई सम्झाइन् ।
‘धेरै झर्नुभन्दा त्यहीँनेर मैले छाड्ने निर्णय गरें । तर, त्यो पल पनि भयंकर पीडादायी हुँदोरहेछ । रिंग छाड्नु साँच्चै कष्टकर हुन्छ,’ उनको विदाई अनुभति हो यो ।
बीचमा उनलाई अमेरिका, बैंकक आदिबाट पनि प्रशिक्षक हुन भनिएको थियो रे । भन्छिन्, ‘तर, म गइन । किनभने, देशले मलाई धेरै लगानी गरेर यो स्तरमा ल्याएको छ भने मैले यहीँ दिनुपर्छ । यहीँ बसेर सिकाउनु पर्छ । र, खुशी छु ।’
सिक्दा आफुमा सिमित रहे पुग्थ्यो । उनको प्रशिक्षक अनुभव यस्तो छ, ‘सिकाउँदा टीमलाई हेर्नुपर्दारहेछ । साइकालोजीदेखि खानपानसम्म । कसको के क्षमता छ । यसमा मजा पनि छ तर टेन्सन र प्रेसरचाहिं बढी नै हुँदो रहेछ ।’
राम्रो खेलाडी राम्रो प्रशिक्षक हुन्छ भन्ने कुनै जरुरी छैन । त्यसैले उनलाई कतै डर लागिरहेको त छैन ?
‘मैले सिकाउन सुरु गरेको दुई बर्ष त भयो । जसरी मैले खेलाडीको रुपमा सिकें, त्यसरी नै धेरै सिक्नु छ, प्रशिक्षकको रुपमा । म चाहन्छु, मेरा विद्यार्थीले मेरा सब रेकर्डहरु तोडुन् । अब पर्दा पछाडिको भुमिकामा छु । र, यो पनि झन् मीठो कुरा हो ।’

ashoksilwal@gmail.com

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button