जन्म नदिएरै जब आमा बनेँ, अहा !

प्रीति अर्याल

आमा शब्दको उच्चारण गर्दा पनि आनन्द र न्यानोको अनुभुती हुन्छ साथै शरीरमा स्नेहको सञ्चार हुन्छ । संसारको सबैभन्दा प्रिय, पवित्र शब्द नै आमा हो ।आमा हुनको लागि गहन भुमिका निर्वाह गर्न सक्नुपर्छ । जीवनमा आईपर्ने सुखदुख सबैमा आमालाई नै सम्झिरहेका हुन्छौँ । तपाई, म पनि सम्झन्छु । नौ महिनासम्म गर्भ धारण गरेर आन्तरिक र बाहिरी संघर्षका साथै आफ्ना सम्पूर्ण सुख, आनन्द सन्तानको लागि अर्थात सन्तानको ओठमा मुस्कान ल्याउन लागि लागिपर्ने आमा मात्रै हुन् । आफ्ना सबै खुसी, रहर, सपना त्यागेर सन्तानको लागि हरक्षण समस्यासँग भिड्न, लड्न तयार रहने आमा मात्रै हुन् । मलाई यस्तो लाग्छ कि यो दुनियाँमा यदि कसैले नि स्वार्थ माया, प्रेम गर्छ भने त्यो आमाबुवा नै हो । आमा मानवदेखि जिवित प्राणी (जनावर) सम्मलाइ अति प्रिय हुन्छ ।जीवन जगतमा आमा अपार, अपरम्पार छिन् । त्यसको तुलना केहीसँग गर्न सकिदैन । यो अतुलनीय छ।

जन्म दिँदैमा आमा भइँदैन
आजभोलि हाम्रो समाजमा जन्म त दिने तर पालनपोषण नगर्ने परिपाटी यदाकदा नदेखिएको भने होइन । जन्म दिदैमा आमा भइँदैन र हुन पनि सकिँदैन । जन्म दिनु मात्रै कर्तव्य र दायित्व हो जस्तो लाग्दैन् । त्यसपछिको भुमिका अहम छ । बच्चालाई असल बानी व्यबहार सिकाउँदै समाजमा बाँच्न सिकाउनुका साथै समाजका लागि योगदान दिन सक्ने नागरिक बनाउन सक्ने व्यक्ति पनि असल आमा हो ।

‘जन्म दिने आमा भन्दा कर्म दिने आमाको सद्भाव, कर्तव्य, दायित्व र माया गहन देखिन थालेको छ ।’

भावनात्मक अनुभुती प्रेम, स्नेह, त्याग, समर्पण आदिले निर्थुक्क भिजेर मात्रै आमा हुन सकिन्छ । त्यसका लागि आफ्नै कोखबाट जन्म लिएको सन्तान नै हुनपर्छ भन्ने होइन । सन्तान सुख पाउनका लागि अरुको कोखबाट जन्मिएको बच्चालाई पनि उति नै प्रेमले हुर्काउन सकिन्छ । माया, स्याहारसुसार गरेर आफ्नो बनाउन सकिन्छ ।

बिहानै मिर्मिरेमा आँखा खुल्छ बच्चाहरुको खजमजले । राति अबेरसम्म बच्चाको रेखदेख– उनीहरूलाई दूध बनाएर खुवाउने, डाइपर फेर्नू, काखमा लिएर निकैबेर हल्लाउनु बच्चाहरुलाई सुताउनु, नजानेर नि केही गुन्गुनाउनु आदि विगत २०–२२ बर्ष देखि निरन्तर चलिरहेको छ । म म हुन बिर्सेर उनीहरूको आमा भएकी छु । जिन्दगीको उतारचढाव, सपना, रहर, खुसी तीनै स–साना बच्चाहरुको रेखदेख र सुन्दर भबिस्य निर्माणको लागि अर्पण गरेकी छु । कतिबेला निदाउँछु म आफैलाई थाहै हुदैन । एकपटक मघ्यरातमा आँखा खुल्छ । मन झसङ्ग हुन्छ । यताउता हेर्छु । सानासाना नानीहरू ओछ्यानमा घुमिरहेका हुन्छन् । सिरक फालेर सुतिरहेका हुन्छन् । मलाई उनीहरूको असाध्यै माया लागेर आउँछ । मसँगै सुतेको बच्चा पनि सिरानीमा तेर्सो परेर सुतिरहेको हुन्छ ।उसको खुट्टा कहिले घाँटीमा कहिले छातीमा कहिले पेटमा हुन्छ । उसलाई मिलाउन पनि उठ्लान कि भनेर बिस्तारै सर्दै मिलाउँछु र उसलाई च्यापेर सुत्छु ।

उसलाई जन्म दिने आमा कहाँ छिन्, थाहा छैन तर उक्त बच्चाको स्पर्शले म आमा भएकी छुू कर्मदिने ।

अविवाहित भए तापनि आमा हुनुको नवीन अनुभवले मन हर्षित भएको छ ।

ऊ आउँदाको पहिलो दिन
ऊ दिनभरि रोयो । मैले फकाउन नसक्ने गरी नै रोयो । रुदाँरुदा सायदै थाकेर बेलुका निदायो । ऊ त निदायो तर म उसको अवोधपन देखेर, आँसु देखेर निदाउन सकिनँ । मन भारी भयो । कता कता चसक्क दुख्यो । ऊ सँगसँगै मेरो मन रोयो । आँखा रसायो । उसको निधार सुम्सुम्याउँदै कति बेला निदाएछु म । भोलिको बिहानले उसको ओठमा नयाँ मुस्कान ल्यायो । त्यसपछिका उसका दिन सामान्य हुँदै गए । ऊ पनि अरु बालबालिकासँगसँगै स्कुल जान थाल्छ । उसको दुनियाँ फेरिन्छ । नाता– सम्बन्ध फेरिन्छ ।

कहिलेकाहीँ म सोच्ने गर्छुः सायदै रगतको नाताभन्दा भावनाको नाता ठूलो त्यसै भनेको होइन रहेछ । यसमा धेरै मात्रामा सत्य सावित भएको यत्रतत्र भेटिन्छ ।

म कतिबेला एउटा परिपक्व आमा भएँ, मलाई नै थाहा छैन । उनीहरू बेलाबेलामा आउँछन्, मेरो नजिकै र आमालाई जस्तै कचकच गरिरहेका हुन्छन् । कहिले कपाल मिलाईदिन्छु भन्दै भताभुङ्ग बनाईदिन्छन् । कहिले कताबाट आउँछन्, बेस्सरी अंगालो हाल्दै गालामा माया गर्छन् । उनीहरू चाहिएको केही कुरा छ भने जिद्दी गरेर फकाएर लिएरै जान्छन् । सायद जन्म दिने आमासँग नि त्यसै गर्दा हुन् ।

यो एउटा अचम्मको सम्बन्ध र अनुभुती रहेछ । लाग्छ, जन्म दिने आमाभन्दा म बिल्कुलै फरक आमा होइन । मलाई पनि उनीहरूको बालापन र ओठको हाँसोले मन प्रफुल्लित बनाउँछ । म आफ्नो दुनियाँ भुलेर उनीहरूको दुनियाँ, भबिस्य बनाउन लागि परेकी छु ।

यो लेखिएको बेलामा पनि सम्झनामा आइरहेको छ । उनले मलाई पहिलो पटक मामु भनेको, शुरु शुरुमा कस्तो अप्ठ्यारो महसुस भएको थियो तर पछि उसलाई दोर्याईतेह्याई भन्न लगाएको । उसको तोते बोलि सन्दा आनन्द लाग्ने , खुसी लाग्ने फ रमाइलो लाग्ने । त्यो क्षण शब्दमा ब्यक्त गर्न सक्दिनँ म । सायद तपाईंलाई पनि आफ्नो केटाकेटीको तोते बोलिले बोलाएको क्षण सम्झनु भएको होला ।

भनिन्छ आमाका लागि सृष्टिमा सबैभन्दा प्रिय लाग्ने आफ्नै सन्तान भए तापनि आजभोलि आमाको माया, प्रेम , पालनपोषणबाट धेरै बालबालिका बन्चित भएको पाईन्छ । त्यस्ता जन्म दिने आमाको मायाबाट बन्चित भएका बालबालिकाको स्पर्शले म आमा हुने सौभाग्य पाएकी छु ।

समग्रमा अरुको सन्तानलाई आफ्नो बनाएर उनीहरूको खुसीमा रमाउन सक्ने, हाँस्न सक्ने, उनीहरूलाई संरक्षण, सुरक्षा गर्दै जीवन बिताउने संकल्प गर्ने ब्यक्ति पनि आमाभन्दा उच्च नहोला भन्न सकिन्न ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. I liked the contents/story of the article. This story speaks about the perceptions and feelings of different people. I highly respect the feelings and contributions of the writer. I wish I could be a person like her.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button