आमा स्वर्गारोहण भएको दुई वर्ष पुग्यो, कौशिमा चरा आउँदैनन्, डल्ले कुकुर कोठाभित्र पसेकै छैन

आमाको सम्झना

जनार्दन अर्याल

पिलर, गारो र छत मात्रले घर बन्दैन । आमाको माया, श्रीमतीको प्रेम र छोराछोरीको वात्सल्य पनि उत्तिकै आवश्यक हुन्छ । यतिले मात्र पनि घर तयार हुँदैन । बैठककोठा विश्वास हो । ससाना कुरामा एकले अकालाई अविश्वास गर्ने हो भने कुनै पनि बेला घर भत्किन बेर लाग्दैन । घरमा थुप्रै कोठाहरु हुन्छन् । तिनको पनि समय समयमा हेर विचार नगर्दा भित्तो चर्किने भय रहन्छ । यी सबैलाई एकताको सुत्रमा बाँध्ने काम घरका वुज्रुगहरुले गर्छन् ।

तर आजकाल समाज विकसित भएको छ । यो विकसित समाजमा घर परिवारलाई दिने समय कसैसँग छैन । श्रीमती लिएर सिनेमा हेर्न जाने समय छ । छोराछोरी घुमाउनलाई समय छ तर बृद्ध बाबुआमासँग बसेर पाँच मिनट बिताउन समय छैन । समय नभएर बाबुआमालाई बृद्धाश्रममा पठाएर रमाउँछ आफुलाइ सभ्य भन्ने मान्छे ।

लोग्नेमान्छे स्वभावैले घमण्डी हुन्छ । शिवोहं भन्छ र जीत नै उसको लक्ष हो । आफु दिनभरि गल्लि गल्लि भौतारिए पनि घर पुगेर परिवारलाई वसमा राख्न खोेज्छ । ऊ कुनै पनि अवस्थामा हार्न चाहँदैन तर पनि जितिसुकै कोशीस गरेपनि त्याग, माया र ममताकी प्रतिमूर्ति श्रीमतीसँग हारेकै हुन्छ प्रकट गर्दैन । आमाको वात्सल्य र ममता पिताले दिनै सक्दैन । कथा समाजका अधिकांश पात्रको जस्तै हो मेरो पनि । बाल्यकालमा पिताको स्नेह कस्तो हुन्छ थाहै भएन ।

एकसय चार वर्ष र तीन महिनाको उमेरसम्म बार समातेर हिंड्ने विष्णुशहश्रनाम पाठ गर्ने र गोरखापत्र पढ्ने गर्नुहन्थ्यो आमा । म कतै टाढा जान लागे नजा मेरो ठेगान छैन भन्न थाल्नु भयो । दिसा पिसावको लागि डाइपर लगाइ दिन थाल्यौं । म जिस्क्याइ रहन्थें आमालाई । मर्छु भन्दा यो जाडोमा हुँदैन, मर्लाई गारो हुन्छ, चैततिर सँगै जाउँला भन्थें । बुहारी आमालाई कसले पकाएर खुवाउँछ म पनि जान्छु भन्थी , कान्छोनाती टिभी कसले खोलिदिन्छ, म पनि आमा सँगै जान्छु भन्थ्यो । आमा खुलेर हाँस्न थाल्नुहुन्थ्यो । हामी आमालाई चुपलागेर बस्न दिन्नथ्यौं । विस्तारै स्मरणशक्ति कम हुँदै गयो । ससाना कुरामा झगडा गर्ने झर्किने गर्न थाल्नुभयो । महाप्रस्थान गर्ने दिन आमा निकै शान्त हुनुभयो । दशबजे खाना खुवाउँदा तीन चम्चा जति खाएपछि फ्रिजमा राखिदे, दिउँसो खान्छु भन्नुभयो । मैले पर्दैन, डल्ले कुकुरले खान्छ भनें । त्यसदिन अमेरिकामा भएको जेठो नातीको याद आएछ । त्यो डोनाल्ड भन्नेले सुइ लाइदी सक्यो, सुलभलाई बोलाइदे भन्नुभयो । हस्, म बोलाउँछु भनेर बाहिर निस्किएँ । एक घण्टापछि आमा संसारबाट बिदा हुनुभयो ।

माया, प्रेम र स्नेह मानवजातिमा मात्र होइन ,चराचुरुँगी र पशुमा पनि उत्तिकै हुँदोरहेछ । आमाको स्वर्गारोहण भएको दुई वर्ष पुग्न लाग्यो । कौशिमा चराहरु आउँदैनन् । आमालाई एक मिनट पनि नछोड्ने डल्ले कुकुर आमाको कोठाभित्र पसेकै छैन, ढोकैबाट चिहाएर फर्किन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button