खै, जिन्दगीको कहानी कहाँबाट सुरु गरौं !
तोकनारायण भुसाल
अर्घाखाँची, भुमिकास्थान, ओखटे
खै जिन्दगीको कहानी कहाँबाट सुरु गरौं । छुटेका गन्तव्य अनि टुटेका सपनाहरु, भबिष्य सुधार्ने चक्करमा गुमेका मीठा वर्तमानहरु, उदास आँखा मलिन अनुहार ओठमा फिक्का हाँसो। न भोक, न निन्द्रा, भबिष्यको चिन्ता, मनमा अनेक डर र त्रास, काधमा जिम्मेवारी। बन्द कोठाभित्र बसेर यो मन आफै सवाल जवाफ गरिरहन्छ। कहिले यसो गर्न पर्छ भन्छ, अनि आफै होईन यसो गर्न हुन्न भन्छ। कहिले आफै कमजोर सोच्छु, कहिले आफै बलियो सोच्छु। कहिले मन अतालिन्छ अनि कहिले आफै समालिन्छ। हजारौं सपनाहरूको भीडमा अलपत्र छ जिन्दगी।
जिन्दगी भनेको नै सफलता र असफलताको बीचको दौड धुप त रहेछ। कहिले के पुगेन भन्यो, कहिले के पुगेन भन्यो। कहिले यसो गर्दा होलाकि भन्यो,अनि कहिले उसो गर्दा होलाकि भन्यो, जिन्दगी अझै होलाकी मै दौडिरहेको छ। न त आफुले अठोट निर्णय लिन सकिने न त अरुकै अनुसार आफु चल्न सक्ने। दोधारमा छ जिन्दगी, हाँस्ने बाहाना छैन् अनि रुने चाहना छैन्। मेरो असफलता भन्दा पनि यो खेरा गएको समयले पिरोल्छ मलाई। उमेर बढेसँगै आफूसँगका सबै साथीको प्रगाति भएको देख्छु र आफू उहीँ पुरानै अवस्थामा हुर्किरहेको देख्छु। उमेर बढेसँगै पैसा कमाउने बाध्यता सँगसँगै आफू रमाउने अनि बिहे गरेर परिवार गराउने यी तीन कुराले निकै पिरोल्छ। आफूसँगै पढेका कतिपय साथीहरू वैदेशिक यात्रामा छन्, कतिपय सरकारी जागिरे छन्, तर आफ्नो प्रगति शुन्य छ। एकान्तमा यसो बसेर सोच्दा विरक्त लाग्छ।
बढ्दो उमेर थपिँदै गएका जिम्मेवारी । खै कसरी खुशी हुने हो। जति उमेर बढ्दै गयो त्यति धेरै टेन्सन हुँदोरहेछ। यति ठुलो भइसके बाबा,आमाको सपना पूरा गर्न सकेको छैन अहिलेसम्म! उमेर बढेसँगै डर लाग्छ हौं जिम्मेवारीहरू पूरा गर्न सक्दिन की भनेर? यस्तो होईन कि मलाई आफूमा विश्वास छैन्, मलाई थाहा छ म गर्न सक्छु तरपनि कता कता चिसो पस्छ आमा र बाबाले देखेका सपना पूरा गर्न सकिन भने के होला? जिम्मेवारीले थिचिएको छ यो काध। यहाँ सम्म त आमा र बाबाले अनेक वचन सहँदै चोट खप्दै ल्याउनु भयो। अब के गरौंला कहिलेकाहीं सोचमग्न हुने गर्छु। यदि भोली गएर पनि केही गर्न सकिन भने? मलाई मेरो खुसी भन्दापनि परिवारको खुशी ठुलो लाग्छ। जब आफू असफल भइन्छ, दुःख पर्छ तब साथ दिने कमै हुन्छन्। साथमा भएका पनि बिस्तारै बिस्तारै छाडेर गैराछन्। मान्छेले साथ दिने भनेकै प्रगति र सुख हुँदासम्म रहेछ। आफुँ राम्रो अरु सबै खराब देख्छन् मान्छेहरू। मलाई थाहा छ, जिन्दगी हामीले सोचेजस्तो छोटो र सफल छैन्। चोटहरू खेप्नु पर्छ। चोटले मुटु दरिलो हुन्छ। दरिलो मुटुलाई छुराजस्ता मान्छेका वचनले पनि छेड्न सक्दैन।
जब साँझ ढल्किदै जान्छ रात पर्न थाल्छ। अनि मनमा के के कुरा आउँछन्। आँखामा अनेक दृश्य आउँछन। बेचैनी हुन्छ। छटपटी हुन्छ। खाली खाली महसुस हुन्छ। विरक्त लाग्छ। पारिवारिक स्थिति, सफल हुन नसकेको रहर र योजनाहरू, अन्योल भबिष्य, टुटेको दिल। आफ्नालाई दुःख सुनाएर दुःखी बनाउन सक्दिन। आफु खुसी नभए पनि अरूले खुसी देखि दिए हुन्थ्यो भन्ने चाहनाले मुस्कुराउने गर्छु। पराईलाई देखावटी खुशी देखाउने बानी परिसक्यो। कहिले भाइहरूलाई हेरेर बुढो भयजस्तो महसुस गर्छु। कहिले दाईहरुलाई हेरेर हैट उमेर छ जस्तो महसुस गर्छु। कहिले कमाउने चिन्ता, कहिले रमाउने चिन्ता। कहिले अरूलाई हेरेर आफु पछि परेजस्तो महसुस गर्छु। कहिले काँही होईन सबैको बाटो फरक, गन्तव्य फरक, यात्रा सुरु गरेको ठाउँ अलग किन एकअर्कालाई दाज्नु जस्तो महसुस गर्छु।
जिन्दगीमा आफुले केहि गर्न नसकेको अनुभब हुन्छ, सजिलो त छ नी जिन्दगी बिताउन खुशी हुन अनि दिन काट्न तर किन आजकाल मलाई यो सब निकै गाह्रो जस्तो लाग्छ। आफ्ना सपनाहरु,चाहनाहरू,रहरहरु कुनै पनि पुरा हुँदैनन्। म सफल हुने प्रयास सधैं असफल हुन्छ। मेरो असफलता माथि साथ दिनुको साटो आफ्ना लगायत अन्य मान्छेहरू शत्रु बनेर आइदिन्छन। तरपनि अझै हार मानेको छैन। जिन्दगी यस्तै हो पिर नगर भने जस्तो सजिलो कहाँ रहेछ र वास्तविक जिन्दगी जिउन। अरूलाई सान्तवना दिन जति सजिलो आफ्नै जिन्दगीमा परेको पीडा सहन निकै गर्हो हुने रहेछ। एकदिन अवश्य पुरा हुन्छ भन्ने आशामा सजाएको छु हजारौं सपनाहरु। यात्राहरुसँङगै ठोक्किँदै गरेका यी पाइलाहरू, पाइलाहरू सङ्गै भोग्दै गरेका कठिनाइहरू, कठिनाइहरू सङ्गै देखिएका यी मीठा सपनाहरु, सपनाहरु सोच्दासोच्दै निदाइएका यी नयनहरु, अनि यी नयनहरुले देखेका त्यो मिठा भबिष्य, भविष्य सोच्दासोच्दै बितिरहेको यो वर्तमान अनि यहीँ वर्तमानले सिकाइरहेको यो जिन्दगी। समयको गतिसँगै चलिरहेछ, दौडिरहेछ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)