त्रियोगमा वनदेवीको कथा सुनाउँदा रोएकी स्टेला मैनाली तिमी कहाँ छौ ?

दुर्गा कार्की

धेरै वर्ष भयो मैले स्टेलालाई भेटेकी छैन, एस. एल. सी. दिएपछि नै ।

कक्षा ७–८ तिर जस्तो लाग्छ, पढाउदै गर्दाको त्यो दिन । म नेपाली विषय शिक्षिका । कहिलेकाँही विषयवस्तु फरक गरिदिए विद्यार्थी खुसी हुन्छन् । विद्यार्थीकै अनुरोधमा मेरो अनुभव सेयर गर्नुपर्ने भयो । मैले सोचेँ, यो क वर्गको विद्यालयमा सबै सम्पन्न विद्यार्थी छन् । गरिवको पीडा थाहा छैन । त्यसैले त्रियोग विद्यालयका विद्यार्थीहरुलाई वनदेवी आधारभूत विद्यालयका निम्नवर्गका विद्यार्थीहरुको जीवनशैली र मैले पढाउँदाको अनुभव सेयर गर्ने निधो गरेँ । यसले गर्दा मानिस सबै सम्पन्न मात्र हुँदैनन् र त्रियोग हाइस्कूलमा पढ्न पाउनू भाग्यको कुरा हो, त्यसैले राम्रो पढनुपर्छ भन्ने शिक्षा पनि मिल्ने भयो ।

कुरा सुरु गरेँ ।

‘साँखुदेखि पैदल २ घण्टा उकालो हिँडेर पुगिने त्यस वनदेवी प्राथमिक विद्यालयको कथा–व्यथा । स्कूल खोलियो, पढाइ एक कक्षादेखि सुरु गरियो । विद्यार्थीहरु टुकुरटुकुर हिँड्नेदेखि विवाह गर्ने उमेरका अनि कोही–कोही विवाह गरिसकेका विद्यार्थी जम्मा भए र भर्ना भए एक कक्षामा । ढुङ्गा, माटो र टिनले छाएको भवनमा विद्यार्थीलाई बस्ने सुकुल थिए । त्रियोगको जस्तो व्यक्तिगत बस्ने छुट्टाछुट्टै लकवाला टेबल कुर्सी थिएनन् । घरबारीमा कुटोकोदालो गर्दा गर्दै माटैमाटो भएको शरीर हुन्थ्यो । यो २०३७ सालदेखिको कुरा थियो । तामाङ भाषामात्र बुझ्ने बालबालिकालाई नेपाली बुझ्न नै गाह्रो थियो भने अङ्ग्रेजी विषयको त के कुरा, विद्यार्थीसँगै अभिभावकहरु पनि आफ्ना बालबालिकाले पढ्ने विद्यालय र शिक्षक पाए भनेर अत्यन्त खुसी भए । पहिला त सरसफाइकै शिक्षा दिनु पर्ने भयो । कपाल कोरिदिने, नङ काटिदिने काम पनि मबाट हुन थाल्यो, पढाइ साथसाथै । यसै क्रममा हामीले एन्जियोहरु र दाताहरुको खोजी गर्यौं। मणिचुर दह नजिक रहेको यस विद्यालयभन्दा करिब २ घण्टा पर रहेको भोटेचौरमा एक्सन एड नामक दाता संस्था फेला पारियो । त्यस संस्थाले अर्को भवन बनाइदियो । पौष्टिक आहार कार्यक्रमको लागि बालमन्दिरलाई आग्रह गरेपछि खाजा स्वरुप सर्बोत्तम पिठो, दुधको पाउडर, चिनी, घिउ आदि प्राप्त भयो । ती खानेकुरा जब बाँड्न थालियो, तब विद्यार्थीहरुको सङ्ख्या अझ बढ्यो ।’

त्रियोगमा तत्समय दरवार र काठमाडौंका सम्भ्रान्त परिवारका बालबालिकामात्र पढ्थे । ती पिछडा वर्गका कुरा उनीहरुले न सुनेका थिए न देखेका नै । उनीहरुका लागि मानिसको जीवनस्तर यति निम्न पनि हुन्छ र भन्ने कुरा अचम्मलाग्दो र अपत्यारिलो थियो । त्यसैले बडो रुचिपूर्वक सुन्दै गए एकादेशको कथा सुने झैँ ।

वनदेवी प्राथमिक स्कुल (२०३७)

म भन्दै गएँ । बेलाबेला उनीहरु प्रश्न राख्थे अनि म उत्तर दिएर उनीहरुको जिज्ञाशा मेट्थेँ । टिफिनबट्टामा घरैबाट स्वादिला खाजा ल्याएर चम्चाले खाने हाम्रो त्रियोगका बच्चा मेरो प्रत्यक्ष कथा सुनेर छक्क परे । एउटी नानीले सोधिन्, ‘म्याम ! हजुरलाई त्यहाँका बच्चा पढाउँदा खुसी लाग्यो कि हामीलाई पढाउँदा ?’

मैले भनेँ, ‘ती निम्न वर्गका थिए, पढ्ने विद्यालय पाएका थिएनन् । मैले उनीहरुलाई अक्षर चिनाउने काम गरेँ । त्यसैले मलाई त्यहाँका बालबालिकालाई पढाउँदा धेरै सन्तुष्ट मिलेको थियो । मैले गरेको त्यो सेवाले भगवान खुसी हुनुभएछ र त आज दरवारको सेयर रहेको (तत्कालीन माइली अधिराजकुमारी शारदा शाह र अन्य ५ जना उहाकै आफन्तको) विद्यालयमा पढाउन आइपुगेँ । अनि तिमीहरुजस्ता प्यारा ज्ञानी बालबालिकालाई यसरी शिक्षा दिन पाएँ नि ।’

यति भन्दा नभन्दै मेरो ममताको छहारीमा ओतप्रोत रहेका विद्यार्थीहरुमध्ये अत्यन्त प्यारी चेली स्टेला मैनाली मप्रति ममता जताउदै बर्बर्ति आँशु झार्दै रुन थालिन् । मेरो कथाले उनको मन छोयो । मप्रति गर्वित भइन् । मैले अंगालोमा बेरेॅ । आसु पुछिदिएँ । आफ्नी गुरुमाको कार्यप्रति उनी धन्य भइन् र भनिन्, ‘म्याम ! हजुर महान हुनुहुन्छ ।’

मेरो छाती ती कलिली बालिकाले बुझेको मर्म देखेर ढक्क फुल्यो र आफू पनि धन्य भएको महसुस गरेँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button