गर्वले भन्छु, ‘हो, म आइसक्रिमवालाकी छोरी’

कथाः बुबाको माया

कल्याणी तिमल्सिना

म आभा । सामान्य परिवारको छोरी । बुबा सन्तान प्राप्तिको चाहनाको कथा मलाई सुनाउनु हुन्थो ।

म मज्जासँग सुन्थे र जिस्क्याउँथे, ‘मन भएको भए हजुरलाई कस्ले बुबा भन्थ्यो ?’

‘हइ बुबा ! देख्नु भयो, मैले हजुरको सपना पुरा गरें, अब मलाई एक रुपिया दिनुस् मिठाई खान’ भन्दै जिद्दी गर्थें ।

बुबा खुसीसँग दिनुहुन्थो । तब म दौडिएर पल्लो गाउँको पसल पुग्थें र एक रुपियामा चार ओटा सुन्तला मिठाईकिन्थें । अनि सोच्थें, ‘यो गाउँको धनी मै हुँ ! मख्खसँग म आफैंसँग रमाउँथे ।

बुबाले गरेको दुःख मेरा आँखाले कहिले देखेन । के देख्यो त ?

घरको भर्‍याङमुनि एउटा निलो बक्सा हुन्थ्योे । त्यो बक्सामा के थियो ? मैले कहिले थाहा पाईन । बुबा के गर्नुहुन्छ थाहा भएन र मतलव पनि भएन । म केवल पेटभरी खाने अनि निस्फक्री खेल्न र करैले जस्तो गरी विद्यालय जाने-आउने ।

म आठ वर्षकी थिएँ त्यसवखत, बुबाले भन्नुभयो, ‘आभा ! आज शनिबार हिँड मसँग, तिमी जस्तै एउटी नानी छ तल्लो गाउॅंमा । म तिमीलाई उनीसॅंग मित लगाइदिन्छु ।’

मितको अर्थ के हो थाहा थिएन अनि मैले सोधेँ, ‘के हो बुबा मित भन्या ?’

बुबाले राम्रोसँग बुझाउनु भयो । म खुसी हुदै बुबासँग गएँ । बाटो निकै टाढा थियो । हिँड्दाहिँड्दै मलाई भोक लाग्यो । बुबाले भर्‍याङमुनिको निलो भाँडो बोक्नु भएको थियो । त्यो भाँडो भुईँमा राख्नुभयो र मलाई त्यहाँबाट खुवा भएको बरफ झिकेर दिनुभयो । म अचम्ममा परें । त्यो निलो भाँडामा खानेकुरा रहेछ । खुसी भएँ । खाएँ र सँगै हिँड्न थालेँ ।

केहि समयपछि त्यो गाउँ पुगियो तर मित लगाउने केटी घरमा थिइनन् । मामाघर गएकी रहिछिन् । उनी त भेटिइनन् । तर मेरा विद्यालयका साथीहरू भने चारपाँच जना भेटिए । खुसी भएँ । साथीहरूलाई भेटेर यतिखेरसम्म बुबाले बरफ बेचिसक्नु भयो । तब हामी घर फर्कियौं ।

बुबाआमा पढेलेखेको नभए पनि मलाई पढाएर ठूलो मान्छे बनाउन चाहने । सकेको कोसिस गर्नुभयो । म भने पढ्ने भनेपछि तीनकोष पर भाग्न चाहने । हाम्रो गाउँ विकट ठाउँमा त हैन तर अहिलेका बोर्डिङ स्कुल थिएन । सरकारी विद्यालय थियो । तर जिल्लाकै उत्कृष्ट विद्यालय ।

त्यसपछि जब म आइतबार विद्यालय गएँ, मसँग मेरा साथीहरू बोलेनन् । कक्षामा मसँग बस्न पनि मानेनन् । आश्चर्य लाग्यो, ‘के भयो ? मैले त केहि गल्ती गरेको छैन । किन बोलेनन् ?’

म एक्लै बसें कक्षामा । विद्यालय छुट्यो । साथीहरू हिँड्ने बाटो र म हिँड्ने बाटो खोलावारि र खोला पारी थियो । हिँड्दै गर्दा खोलापारीबाट एउटा आवाज आयो । त्यो आवाज मेरो एकजना मिल्ने साथीको थियो ।

‘ए, बरफेको छोरी, पान मसला हड्डीकड्डी !’

सबै हाँसे । तर म रुँदै आएँ घर अनि हातमा भएको किताब भुइँतिर फालेँ ।

‘मेरो बुबाले किन बरफ बेचेको ? मेरो बेइज्जत भयो भन्दै’ खुट्टा ठटाउॅंदै रोएँ । आमाले ‘नरोउ, रुनु हुन्न, ज्ञानी हुनुपर्छ’ भन्दै सम्झाउनु भयो । तर साथीका अगाडि बेइज्जत भएकोले म बुबा नआउन्जेल रोएँ ।

केहिबेरमा बुबा आउनु भयो । सोध्नु भयो, ‘के भयो ? किन रोएको ? भोक लाग्यो ?’

मैले चिच्याउॅंदै भनेँ, ‘तपाईले किन बरफ बेचेको ? मलाई बाटोमा सबले सुन्ने गरेर बरफेको छोरी भने । अब म विद्यालय जान्न कहिले पनि ।’

‘चोरको छोरी या ज्यानमाराको छोरी भनेको भए पो रिसाउनु, रुनु त । बरफेको छोरी भन्दा त खुसी हुनु पर्छ नि छोरी’, बुबाले मीठो गरी सम्झाउनु भयो ।

तर म मान्नेवाला थिइनँ त्यो कुरा ।

‘छोरी हामीलाई खेतीपातीको काम मात्र आउॅंछ अनि खेतीपातीको काम नहुँदाको समयमा यो काम गरेको हुँ । दुःखी नहुनु । काम सबै राम्रो हो’, बुबाले फेरि थप्नुभयो ।

वल्ल मैले उहाँको कुरा मानेँ ।

‘सायद बुबा मेरै लागि यती धेरै दुख गर्नुहुन्छ’, मैले मनन् गरेँ ।

अर्को दिन विद्यालय गएँ । साथीहरू त्यो दिन पनि बोलेनन् । म फेरि रोएँ । बुबालाई सुनाएँ ।

‘ढुङ्गाले हान्नेलाई फूलले हान्ने हो छोरी । रुनु हुन्न’, बुबाले भन्नुभयो ।

तब म सोचमग्न भएँ, ‘छोरीहरू बुबाका सान हुन्छन्, आफ्नो मान हुन्छन् । आमाले गरेको मायाको चौतर्फी कुरा हुन्छ, सम्मान हुन्छ । तर बुबाले गरेको माया घरको चार सुरमा नै सिमित हुन्छ । आमा बिनाको घर हुन्न भने बुबा बिना खुसी, खेलौना र घरको धुरी पनि हुन्न । आमा धर्ती हुन् भने बुबा आकाश हो । आज वल्ल म भलिभाँती यो मनन् गर्नसक्ने भएकी छु । हजुरले यसलायक बनाउनु भएकोमा म आइसक्रिमवालाकी छोरी भन्न कुनै दलकिर छैन ।

म गर्वले भन्छु, ‘हो, म आइसक्रिमवालाकी छोरी ।’

तसर्थ, ‘धेरैधेरै माया बुबा हजुरलाई ।’

गर्व लाग्छ, बुबाले मेहनतले, पसिनाले सिन्चेर यहाँसम्म ल्याउनु भयो ।

धन्यवाद बुबा, मेरा लागि हजारौं दुख गर्नु भयो । अब मेरो पालो । म सबै खेप्न झेल्न सक्ने सक्षम भएकी छु । यो सबैसबै हजुरको श्रमपसिनाको देन हो । म धन्य छु हजुरबाट ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button