कसरी मेरो मानसिक स्थिति खस्किन थाल्यो ?

भगवानले कसैलाई नराम्रो गर्दैनन्, नबुझेर हामी उनलाई दोष दिन्छौँ

पुष्पा पौडेल

सानो छँदा अरुले पूजा–पाठ, प्रार्थना र भक्ति गरेको हेर्ने क्रममा मेरो कलिलो मस्तिष्कमा भगवानप्रति प्रेम र समर्पणको भाव जन्मेको थियो । भगवानले सबथोक दिनुहुन्छ, दुख परेकालाई मद्दत गर्नुहुन्छ, भोकोलाई खाना दिनुहुन्छ र बेसहाराको सहारा बन्नुहुन्छ भन्ने सोच्थेँ । दिनहरु हाँसोखुसीमा बित्दैथिए । कहिले म ठुली भएँ पत्तै भएन । मेरो विहे पनि भयो । अत्यधिक खुसी थिएँ । तर खुसी दुखमा परिवर्तन हुन बेर नलाग्ने रहेछ ।

साधारण परिवारमा घरको आर्थिक स्थितिलाई सन्तुलनमा ल्याउन धेरै गारो हुँदोरहेछ। त्यसैले श्रीमान विहेको एक महिना पनि नबित्दै रोजगारको सिलसिलामा विदेसिनु भयो । यता म परिवारका साथमा थिएँ । जसोतसो जिविका धान्दै थिएँ । जवानीमा भर्खरै पाइला टेकेकी मैले धेरै सपना संगालेकी थिएँ । श्रीमानसँग सँगै बसेर आनन्द गर्ने, रमाउने, घुम्न जाने, मिठा परिकार बनाएर श्रीमानलाई खुवाउने के के मात्र थिए इच्छाहरु । तर बाध्यताबस् यो सब पुरा हुन नपाउँदै उहाँ विदेशिनु पर्यो । त्यसपछि पनि बर्षहरु बित्दै गए । मन त बुझाउनु कर लग्यो । बर्षको एक पटक उहाँ आउनुहुन्थ्यो । त्यसैमा खुसी थिएँ । कहिले घर त कहिले माइती बस्थेँ ।

उहाँ विदेशिनु भएको केहि बर्ष भएको थियो । कोरोनाको कहर विश्वभर फैलियो, जसले गर्दा उहाँ नेपाल आउन पाउनु भएन । उता पनि काम राम्रो नहुँदा आर्थिक स्थिति खस्किन थाल्यो । विहेपछि उहाँको कमाइको भरमा ऋण लिएर सानो जग्गा र त्यसमा घर बनाउदै थिएँ । कोरोनाले बित्यास पार्यो । ऋण तिर्न धौधौ भयो । तैपनि सबैको साथ र सहयोगले त्यो क्षण पनि आफुलाई सम्हाल्नसकेँ ।

एक दिन यस्तो कालो दिन आयो, जसले मेरो जीवनमा आघात दियो । अचानक मेरी आमा, मेरो दादा र मेरो दिदीको छोराको एउटा ठुलो दुर्घटना भयो । आमा आइसीयुमा भर्ना हुनुभो । उहाँको जिन्दगीको केहि ठेगान रहेन । दादाको दुवै हात भाँचियो । सानो बाबु पनि घाइते भयो । मेरो दरिलो सहारा मेरी आमाको त्यो अवस्थाले मलाई धेरै खस्कायो । मन धेरै आत्तियो । सहारा कोही थिएन । हिम्मतले काम गर्न छोड्यो । तर, त्यतिले मेरो दुख कहाँ सकियो र ? फेरि अर्को बज्रपात पर्यो मलाई । मेरो ससुरा बुवा, जो मेरो अभिभावक हुनुहुन्थ्यो, उहाँ पनि अचानक बित्नुभो । त्यसपछि भने मेरो मस्तिष्क चर्किन थाल्यो । मेरो मानसिक स्थिति खस्किन थाल्यो । रातरातभर निद्रा न आउने, तनाव हुने, सधै रुन मात्र मन लाग्ने, चिडचिडापन बढ्ने आदि समस्या देखिन थाल्यो ।

सानैमा म कति भगवानलाई पुज्थेँ, कति भक्ति गर्थेँ तर त्यसपछि मलाई भगवानप्रति पनि मेरो बितृष्णा हुनथाल्यो । भगवान सुखीहरुको लागि मात्र रहेछन्, दुखीहरुको लागि रहेनछन् भन्ने लाग्न थाल्यो । भगवानप्रति नै रिस आउन थाल्यो । सब दुख मेरै पोल्टोमा खनाउने किन हो भनेर बारबार रिस उठ्थ्यो । रुन्थेँ । कराउथेँ । तर मेरो सुनिदिने को नै थियो र ?

बिस्तारै कोरोनको मार पनि छुट्न थाल्यो । र, उहाँले फेरि कमाउन सुरु गर्न थाल्नु भयो । अलि राहत मिल्यो । बिस्तारै ऋण पनि तिर्न थालेँ । दाई र बाबु पनि ठिक भए । आमा पनि बिस्तारै ठिक हुन थाल्नुभएको छ । तैपनि मेरो खस्केको मनस्थिति भने राम्रो हुन सकेन । मलाई तनावले छोडेन । त्यस्तैमा जीवन विज्ञानबाट बिहान–बिहान योगध्यान गराउने कक्षामा ज्वाइन भएँ । त्यहाँ विभिन्न योग, प्राणायाम, ध्यान सिकाउने रहेछ । साथमा त्यहाँका कल्याण मित्रहरुको हौसला पाएर मेरो धेरै मानसिक र शारीरिक समस्या समाधान हुन थालेको छ । बिस्तारै मेरो गुमेको आत्माविश्वास फर्कन थालेको छ ।

धेरै खुसी छु अहिले । समस्या त आइरहन्छन् नै । तर हामीले आफुलाई बलियो बनाउनु पर्छ । दुखलाई समस्या होइन, अवसर ठान्नु पर्छ । जिन्दगी बोझ होइन, बरदान रहेछ । भगवानले कहिले कसैलाई नराम्रो गर्दैनन्, नबुझेर हामी उनलाई दोष दिन्छौँ । हामीभित्र धेरै खुबी हुँदा रहेछन्, जसलाई हामीले चिन्नु पर्दोरहेछ । त्यसलाई उजागर गरेर हामी आफ्नो कमजोरीबाट निस्कन सक्छौं । यी कुराहरु मैले सिक्ने मौका पाएँ । विस्तारै मैले पनि आफ्नो सानैदेखिको सोख गायनलाई निरन्तरता दिन थालेको छु ।

प्रयास र मेहनतले सब सम्भव हुन्छ, यो विश्वास छ । धन्य म र मेरो भाग्य ! समयमा मैले यी अमुल्य ज्ञान पाएँ । धन्यवाद जीवन विज्ञान ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button