कृषिः नेपाल बनाउने एउटै बाटो

दुर्योधन बस्नेत

हाम्रा पुर्खाहरुले लामो जीवन भोगाईको क्रममा प्राप्त अनुभव र ज्ञानहरुलाई समेटेर पछिल्ला पुस्ताका लागि जीवन उपयोगी खुराकका रुपमा थुप्रै उखान टुक्काहरु छाडेर गएका थिए । ति मध्ये कृषि पेशाको महत्वलाई प्रकाश पार्नका लागि बनाईएको एउटा उखान थियो– उत्तम खेती, मध्यम व्यापार, खत्तम जागिर ।

हाम्रा अग्रज मार्गदर्शक पुर्खाहरुले त्यतिकै हचुवाका भरमा यो उखान बनाएका थिएनन् । जीवनको लामो अनुभवलाई समेटेर उखानहरु बनाएका थिए, जुन उखानहरुले आजका दिनमा पनि सार्थकता पाएको छ । यतिबेला हामीले स्विकार्नैपर्छ कि उहाँहरुले देखाएको बाटो सतप्रतिशत सही थियो । यो बाटो परित्याग गरेकाले आज हामी आर्थिक रुपमा निक्कै पछाडि परेका छौं । उहाँहरुले देखाएको बाटोलाई आत्मसाथ गरेर कृषि पेशालाई पहिलो प्राथमिकता दिएको भए हामी आज विकासोन्मुख देशहरुमध्ये पनि सबैभन्दा गरिवको लिस्टमा पक्कै पर्ने थिएनौं । हाम्रा पुर्खाहरुले खेतीलाई उत्तम मान्नुका पछाडि धेरै बलिया आधारहरु थिए ।

हाम्रो देश कृषिप्रधान देश हो । भनिन्छ, देशको आयश्रोतको पहिलो आधार कृषि हो । यसलाई सवैले स्विकारेका छन् । सरकारलाई राजस्व बुझाउने ठुला उद्योगहरु चिनी कारखाना, जुट मिल, चुरोट कारखाना, खाद्यान्न उद्योग आदि सवै कृषि उत्पादनमा आधारित छन् ।

हाम्रो सौभाग्य नै भन्नुपर्छ, हामी प्राकृतिक स्रोत र साधनमा अत्यन्तै धनी छौं । हाम्रो भू–वनौट हिमाल, पहाड र तराईमा विभाजित छ । देशको कुल क्षेत्रफलमध्ये १५ प्रतिशत हिमाल, १७ प्रतिशत तराई र ६८ प्रतिशत भाग पहाडी क्षेत्रले ओगटेको छ । यही भौगोलिक विविधता अनुसारको बहु उपयोगी जल, जमिन, जङ्गल उपलब्ध छन हामीसँग । त्यसैले त हिमाली र पहाडी भेगमा आर्युवेदिक औषधिको रुपमा प्रयोग हुने जडिबुटीदेखि औषधिय गुण भएका जौ, फापर, कोदो, आलु, मकै, गहुं, सिमी जस्ता खाद्यान्न पाईन्छ भने स्याउ, सुन्तला, आरु, आलुपखडा, लप्सी जस्ता शक्तिबर्धक फलफूल पाईन्छ । यसैगरी अन्नभण्डार मानिने तराई भेगमा प्रसस्त मात्रमा धान, मकै, गहुं, दाल जस्ता खाद्यान्न र उखु, जुट, सूर्ती, कपास र चिया पनि ुत्यतीकै मात्रामा उत्पादन हुन्छ । साथै आलु, गोलभेंडा, बन्दा, काउली जस्ता तरकारी र आंप, लिच्ची, भुईंकटहर, रुख कटहर, मेवा जस्ता फलफुल पनि उल्लेख्य मात्रामा उत्पादन हुन्छ ।

हाम्रो देश यस्तो देश हो, जहाँ एउटै चिज अलग अलग हावापानीमा उत्पादन हुन्छ । जस्तैः हिमाल, पहाड र तराई तिनवटै हावापानी भएको माटोमा आलु फल्छ भने चिया गर्मी मौसम भएको झापा र ठण्डा मौसम भएको ईलाम दुवै ठाउँमा फल्छ । त्यति मात्र होइन, संसारकै अग्लो स्थानमा धान फल्ने देश पनि नेपाल नै पर्दछ । नेपालको हिमाली जिल्ला जुम्लामा रातो मार्सी धान फल्छ । यो नेपालको पहिचान हो, विशेषता हो ।

हामीसँग ६००० भन्दा बढि नदीनाला रहेका छन्, जसबाट ८३००० मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । त्यसैले त नेपाल विश्वमा जलश्रोतमा दोश्रो धनी देशको रुपमा चिनिएको छ । हामीसँग भएको यति धेरै पानीको स्रोतलाई विद्युत उत्पादन र सिंचाईमा उपयोग गर्न सक्यौं भने हामी कृषिमा आत्मनिर्भर हुन सक्छौं र अहिलेको खाद्यान्न आयातलाई अन्त्य गरी बरु उल्टै खाद्यान्न निर्यात गर्न सक्षम हुने छौं । परनिर्भरताबाट मुक्ति पाउने छौं ।

देशको ७० प्रतिशत भन्दा वढी जनसंख्या कृषि पेशामा संलग्न छन् । कुल क्षेत्रफलमध्ये २८.७५ प्रतिशत जमिन कृषियोग्य रहेको छ भने कृषियोग्य जमिनको २९.७४ प्रतिशत सिंचाईयोग्य रहेको छ । बांकी जमिनमा खेती गर्नका लागि आकासे पानीमा भर पर्नुपर्ने अवस्था रहेको छ । तर हामीले थप विद्युत उत्पादन गरेको खण्डमा आकासे पानीमा भर पर्नुपर्ने जमिनलाई पनि हराभरा बनाउन सकिन्छ । नजिकै रहेको नदीको पानीलाई विद्युतिय माध्यम (जेनेरेटर) बाट तानेर पोखरी निर्माण गरी उक्त तानेको पानीलाई संचित गरी सिंचाई गर्न सकिन्छ ।

हामीले देखेका छौं, विकसित तर जलस्रोतको अभाव खेपिरहेका देशहरुले पनि अन्यत्रवाट पानी ल्याएर मरुभुमिजस्तो वन्जर जमिनलाई समेत हराभरा बनाएर कृषियोग्य बनाई यथेस्ट कृषि उत्पादन गरी आत्मनिर्भर बन्न सफल भएका मात्र होइन, निर्यात गर्न समेत सक्षम भएका छन् भने हामीसँग त प्रशस्त पानीका स्रोतहरु उपलव्ध छन, नसक्नै कुरै हुंदैन । केवल ईच्छाशक्ति हुनुपर्छ । अर्को तरिकाबाट पनि आकासे पानीमा भर पर्नुपर्ने कृषियोग्य जमिनलाई सिंचाई गर्न सकिन्छ । आवश्यकता अनुसारको पोखरी निर्माण गरिन्छ र पोखरीको माथिल्लो सतहमा पानी जमिनले नसोसोस् भनेर प्लास्टिक बिछ्याईन्छ । यसलाई प्लास्टिक पोखरी भनिन्छ । हिउँदे बालीको लागि यो प्रविधी उपर्युक्त हुन्छ । हाल यो सिंचाई प्रविधी प्रयोगमा आईसकेको छ । खास गरेर ग्रामिण भेगमा तरकारी खेतीका लागि यो प्रविधि अपनाइने गरिएको छ । यसरी यि सिंचाई प्रविधिलाई देशभरी नै उपयोग गरेर कृषि उत्पादनमा सहयोग पु¥याउन सकिन्छ । यस कार्यमा राज्यको तहवाट समेत पहल गर्ने र आवश्यकता अनुसार सहयोग पु¥याउनु जरुरी छ ।

हामीसँग अप्रत्यक्ष किसिमबाट कृषिको परिपुरकको रुपमा रहेको पशुपालनका लागि आवश्यक चरण क्षेत्रको अभाव छै्रन । भनाई नै रहेको छ, हरियो वन नेपालको धन । देशको कुल क्षेत्रफलको ४४.७४ प्रतिशत भाग जङ्गलले ढाकिएको छ । यसरी हामीसँग प्रसस्त वनजङ्गल रहेको छ, जहाँबाट पशुपालनका लागि आवश्यक सोतर, घांँस सहजै उपलब्ध गर्न सकिन्छ, जसबाट कृषि ब्यवसायका लागि आवश्यक कम्पोस्ट मल उत्पादन हुने गर्दछ । यसैगरी हामीसँग थुप्रै प्राकृतिक ताल तलैयाहरु रहेकाले कृषिकै एउटा अङ्ग माछापालन पनि आयश्रोत बृद्धी गर्ने अवसरको रुपमा रहेको छ । माछापालन सँगसँगै कुखुरापालन र बुङ्गुरपालन पनि गर्न सकिने हुँदा यसबाट राम्रो आम्दानी गर्न सकिन्छ ।

दुःख लाग्छ, कृषिमा यति धेरै सुनौला अवसरहरु हुँदाहुँदै पनि आज ति कृषियोग्य सयौं रोपनी, सयौं विगाहा उर्वरा भूमी कृषिमा काम गर्ने जनशक्तिको अभावमा निर्जर बाँझो बनेर खेर गैरहेका छन् । अनि हामी भने विदेशबाट महंगो मुल्यमा खाद्यान्न, तरकारी, फलफुल निर्यात गरेर उपयोग गर्न बाध्य छौं ।

उपाय के त ?

यतिबेला लगभग ग्रामिण भेगका सबै ठाउँमा मोटर बाटो पुगिसकेको अवस्था छ, जसले गर्दा कृषि उत्पादनका लागि आवश्यक मल, खाद, विउ, विजन, आधुनिक कृषि औजार वा प्रविधि गाउँसम्म पु¥याउन र उत्पादित सामान बजारसम्म पु¥याउनका लागि विगतमा जस्तो समस्या छैन । मात्र सरकारले समयमा कृषकहरुलाई मलखाद र स्तरिय विउ विजन खेती गर्ने समयमा उपलब्ध गराईदिनुपर्ने छ । यसको साथै कृषकहरुले उत्पादन गरेका वस्तुहरु चाहे त्यो खाद्यान्न होस, चाहे तरकारी वा चाहे फलफुल सरकार आफैंले उचित मुल्यमा खरिद गरिदिने वा वजार व्यवस्थापनको जिम्मेवारी लिनु पर्दछ र विद्यमान दलालीकरणको अन्त्य गरिनुपर्दछ । यसरी उत्पादित वस्तुले सहज रुपमा बजार पायो र उचित मुल्य प्राप्त हुन सकेमा कृषकहरुलाई पनि खेती गर्न जाँगर लाग्छ र उनीहरु उत्साहित हुंदै यो पेशाप्रति आर्कषित हुनेछन् ।

अर्को कुरा, अबका दिनमा परम्परागत ढङ्गले खेती गर्नु भन्दा पनि सम्वन्धित विज्ञद्वारा माटो परिक्षण गराएर कुन खेती वा वालीनाली लगाउंदा उपर्युक्त हुन्छ, सोही अनुसार खेती गर्ने पद्धतिको विकास गर्नुपर्दछ । उदाहरणका लागि विगतमा बाबु वाजेले खाद्यान्न लगाउने गरेका थिए, अहिले खाद्यान्न हुन छाड्यो भनेपछि फलफुल लगाउँदा पो राम्रो हुन्छ कि अर्थात औषधिजन्य जडिबुटिहरु लगाउँदा उपर्युक्त हुन्छ वा असल जातका फलफुल, मुल्यवान रुखहरु लगाउँदा पो हुन्छ कि विचार गरेर खेती गर्नु उपर्युक्त हुनेछ । त्यसका लागि कृषिविज्ञसँग सल्लाह गरेर माटो परिक्षण गरी काम गर्दा उचित हुनेछ । पहिला पो कुनै पनि प्रविधिको विकास नभएका कारण हाम्रा पुर्खाहरुले जे सम्भव थियो त्यही लगाउने काम गरे ।

यतिबेला हामीलाई एउटा अवसर पनि प्राप्त भएको छ । धेरै नेपाली युवायुवती विदेश गएर लामो समय कृषिमा काम गरेर स्वदेश फर्केका छन् । उनीहरुको अनुभव, सिप, क्षमता र प्रविधिलाई नेपालको कृषि प्रणालीमा सदुपयोग गर्न सकियो भने कृषि व्यवसायले नसोचेको फड्को मार्नेमा दुई मत रहँदैन । त्यस्ता व्यक्तिलाई राज्यले नै परिचालन गरेर फाईदा लिन सक्नुपर्दछ । यति गर्न सकेको खण्डमा न हामी कसैको निगाहामा बाँच्नुपर्दछ, न रोजगारीका लागि घर खेत बन्दकी राखेर विदेशिनु नै पर्दछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button