
आँखा ‘बा’ अर्थात प्रेरणादायी प्रा.डा.रामप्रसाद पोख्रेल

चन्द्रलाल तामाङ
भेटेको र देखेको धेरै मान्छेहरुमध्ये थोरै मात्र आँखामा बस्छन् । आँखामा बसेको धेरै मान्छे मध्ये अति कम मान्छे मात्रै मन मस्तिष्कमा बस्छन् र ती मध्ये कोही त्यस्ता ब्यक्ति हुन्छन् जो कसैको हृदयमा बस्न सफल हुन्छन् । समाजमा त्यस्ता ब्यक्तित्वहरु पनि हुन्छन् जस्ले समाजलाई ठूलो गुण लगाएका छन् । जस मध्येका एक हुन्– प्रा.डा.रामप्रसाद पोख्रेल ।
जन्मले मान्छेलाई सिद्ध बनाउँदैन । तर उसको कर्म र ब्यवहारले मान्छेलाई सिद्घ बनाउने गर्छ । त्यस्तै कर्मयोगी सामाजिक ब्यक्तित्व प्रा.डा.रामप्रसाद पोख्रेलेको जीवनको आयामहरु नियाल्ने शुभअवसर प्राप्त भयो । जसको श्रेय उहाँकी सुपुत्री पूजा पोख्रेललाई दिन चाहन्छु, किनकि उहाँले प्रा.डा. पोख्रेलद्वारा लिपिवद्घ थुप्रै कृतिहरु उपलब्ध गराउनु भयो । त्यसै पुस्तक तथा लेखहरु र जीवनीबाट यो आलेख तयार गर्ने जमर्को गर्दैछु ।
प्रा.डा.रामप्रसाद पोख्रेलको बारेमा केही लेख्नुभन्दा पहिला पोख्रेल परिवारको केही कुरा उल्लेख गर्नु उचित ठान्दछु । प्रा.डा.रामप्रसाद पोख्रेलेको हजुरबा पं.वेदनिधि शर्मा दैवी प्रतिभायुक्त, धुरन्धर विद्वान, कर्तव्यनिष्ठ, सदाचारी, शिवभक्त, सन्त गृहस्थी हुनुहुन्थ्यो र ठूलठूला त्यस बेलाका ब्यक्तिहरु उहाँका चेला थिए । सबैले गुरुबाजे भनेर उहाँको ठूलो सम्मान र आदर गर्दथे । उहाँ स्वरसाधनाको माध्यमबाट भविष्यवाणी गर्नुहुन्थ्यो । उहाँको देहान्त १९९७ सालमा केदार मन्दिरभित्र भएको थियो । यसको भविष्यवाणी उहाँले ५ वर्षअघि नै गर्नुभएको थियो र भन्नुहुन्थ्यो रे, “यो थोत्रो डोको यति वर्षमा केदार पुगेर बिसाउँदैछु ।” आखिर जे बोल्नु भएको थियो त्यही हुन पुग्यो रे । पं.वेदनिधि शर्माका पहिलो पुत्र हुनुहुन्थ्यो आयुर्वेदशास्त्राचार्य पं.नरपति उपाध्याय पोख्रेल । उहाँ पूर्वाञ्चलको धनकुटाका प्रख्यात कविराज (आयुर्वेदीय चिकित्सक) हुनुहुन्थ्यो । उहाँ आफ्नो फुर्सतको समय स्वाध्ययन र सृजनशिलताको सार्थक उपयोग गर्ने कविराज (विशिष्ट कवि) हुनुहुन्थ्यो । उहाँको आयुर्वेदीय चिकित्सा–कौशल स्थानीय जनताका सेवामा विशेष केन्द्रित रहे पनि उहाँको सारस्वत सृजनशील सोखले उहाँलाई नेपाली भाषाका अथक निष्ठावान कवि, लेखक, साहित्यकारका रुपमा नेपाली माझ परिचित रहनुभयो । यसरी हेर्दा पोख्रेल परिवार अत्यन्त विद्वान, सुसंगठित र अनुशासित परिवार हो ।
नरपति उपाध्याय पोख्रेल र योगमाया पोख्रेलका ज्येष्ठ सुपुत्रको रुपमा वि.सं. १९९० बैशाख २२ गते कोसी अञ्चल, धनकुटा जिल्लाको कचिडेमा जन्मनु भएको रामप्रसाद पोख्रेलले माध्यमिक शिक्षा धनकुटा स्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयबाट, आई.एस्सी इलाहाबाद, भारतको के.पी. कलेजबाट, एम.बी.बी.एस. लखनउबाट, डी.ओ. र डी.एल.ओ. लन्डनबाट, एफ.आर.सी.एस.इडिन्बराबाट र संयुक्त राज्य अमेरिकाबाट एफ.आई.सी.एस.को उपाधि प्राप्त गर्नुभएको छ । लन्डनमा दश वर्ष मेडिकल साइन्समा विशेष आँखा स्वास्थ्यमा दक्षता हासिल गरी नेपाल फर्केका नेत्रविशेषज्ञ डा.रामप्रसाद पोख्रेलको अर्जुन दृष्टि नेपालीलाई सर्वशुलभ र सस्तोमा आँखा उपचारसेवा उपलब्ध गराउनेमा रह्यो । त्यसैको फलस्वरुप नेपाल आँखा अस्पतालको स्थापना, नेपाल नेत्रज्योति संघको स्थापना गर्न सफल हुनुभयो । यी नै सामाजिक संस्था मार्फत नेपाली जनताको आँखा सेवामा आफ्नो जीवन अर्पन गर्नुहुने प्रा.डा.रामप्रसाद पोख्रेल गरिब नेपाली जनताको आँखाको मणिः अर्थात आँखा “बा” बन्न सफल हुनुभयो ।
आफ्नो प्रेरणाको स्रोत आफ्नो पितालाई मान्नुहुने प्रा.डा. रामप्रसाद पोख्रेलको बाल्यकाल तथा माध्यमिक तहसम्मको अध्यायन धनकुटाको कचिडेमा पूरा भए पनि बाँकी पढाई विभिन्न देशहरुबाट पूरा गर्नुभई आफ्नो कर्म थलो काठमाडौंलाई बनाई नेपाल र नेपालीको अहोरात्र सेवारत पोख्रेलले लखनउबाट एम.बी.बी.एस. सन् १९५९ मा पास गरिसकेपछि लखनउमा नै एक वर्ष जनरल सर्जरी र इमर्जेन्सी अनि आँखामा मेडिकल अफिसरको रुपमा काम गरी नेपाल फर्केपछि जागिर खोज्ने क्रमको केही घटना समाबेश गर्नु उचित लाग्यो ।
“वि.सं. २०१७ साल असोजको कुरा हो । त्यस बेला नेपालमा प्रधानमन्त्री बी.पी. कोईराला हुनुहुन्थ्यो र स्वास्थ्यको डाईरेकटर डा.रघुवर वैद्य । काठमाडौंको वसन्तपुरमा डेरा गरी मैले तीन महिना सिंहदरवारको स्वास्थ्य मन्त्रालयमा धाएँ, प्रधानमन्त्री कहाँ बराबर गएँ तर नियुक्ती हुन सकेको थिएन । अन्त्यमा प्रधानमन्त्रीको अफिसियल भिजिटमा इजरायल जाने कुरा आयो र त्यसको तीनदिन अघि उहाँको निबासस्थान (हालको कान्ति ईश्वरी विद्यालय) पुगेँ । त्यस बेला गृहमन्त्री सूर्यप्रसाद उपाध्याय पनि त्यही पुग्नु भएको थियो । त्यसैबेला बीपीले मलाई देखाई गृहमन्त्रीलाई भन्नुभयो, “उहाँ हाम्रो मान्छे, म त इजरायल जाँदैछु, तपाई जसरी हुन्छ उहाँको नियुक्ती धनकुटाको लागि गरिदिनु प¥यो ।” त्यसपछि गृहमन्त्रीले भन्नुभयो, “तपाई भोली विहान ठिक १० बजे सिंहदरवार आई लिफ्टको सामुन्ने प्रतीक्षा गर्नुहोस् ।” यसपछि म दुबैसँग बिदा भई डेरातिर लागेँ । भोलीपल्ट विहान ठीक १० बजे म सूर्यप्रसादजीको प्रतीक्षामा सिंहदरवार पुगेँ । उहाँ ठीक समयमा आउनुभयो र मलाई सँगै उहाँको कार्यालयमा लानुभयो । मलाई बाहिर बस्दै गर्नुहोस् भन्नुभयो । त्यसपछि उहाँले डा.रघुवर वैद्यलाई कोठामा बोलाउनु भयो । उहाँले निजलाई मकहाँ पठाई दिनोस् म मिलाईदिन्छु भन्नुभयो । तर नियुक्ती धनकुटाको लागि चाहान्छु । नभन्दै म त्यहाँ बस्दाबस्दै मेरो पहिलो नियुक्ती पत्र आयो सूर्यप्रसादजीको हातबाट । उहाँलाई धन्यवाद दिँदै पत्र बुझेँ । त्यसपछि केही दिनपछि काठमाडौंबाट विराटनगर उड्न भनी टिकट काटेँ २०१७ साल पुस १ गतेको लागि । बिहान नौ बजे उड्ने प्लेन बिहान आठ बजे नै उड्ने रहेछ । यसबारे शाही नेपाल वायु सेवा निगमले टेलिफोन र माइकबाट सूचना पनि गरिसकेको रहेछ । मैले बतिसपुतलीको ठेगाना दिएको थिएँ तर बस्न भने शानेवानिनजिकै गाडीमा एयरपोर्टमा जान सजिलो हुन्छ भनेर टेबहालस्थित भाई गोकुल पोख्रेलको डेरामा राती बस्न गएको थिएँ र सूचना थाहा पाइनँ । पुस १ गते म निश्चित समयमा नौ बजे हवाई मैदान पुग्दा विराटनगर जाने प्लेन विस्तारै उड्ने क्रममा रहेछ । म जानसाथ तुरुन्त आउनु भनी ढोका बन्द गरिसकेको प्लेनमा ढोका खोली एकजनाको काँधमा चढाई ठेलेर भित्र पसाए । भित्र एक सिट खाली रहेछ र म त्यहीँ बसेँ । म भित्र पस्न वित्तिकै प्लेन उड्न तयार भयो पनि । त्यसै दिन बिहान सूर्यबहादुर थापा मलाई भेट्न भनी ६ बजे टेबहाल आउनुभयो र एक पत्र दिई यो विराटनगरमा दाजूलाई थापा निवासमा दिनु भनी जानुभयो । म विराटनगर पुगेर होटेलमा खाना खान लाग्दा ११ बजेको रेडियो सुनियो –श्री ५ महेन्द्रबाट सत्ता हातमा लिइबक्सेको प्रधानमन्त्री र अन्य मन्त्रीहरुलाई तरुनदलको सभाबाट गिरफ्तार गरिएको । मैले त्यस प्लेनमा केही मिलिटरी व्यक्ति सादा पोसाकमा आएको देखेथेँ तर मलाई कुनै शंकासम्म थिएन । मैले सुने अनुसार ११ बजेको रेडियो सुन्नु र चिठी खोल्नु र निर्देशनबमोजिम गर्नु भन्ने निर्देशन थियो अरे ।
विराटनगरमा मसँगै खाना खान बस्नुहुने श्री लीलानाथ दाहाल र श्री पदमप्रसाद रेग्मी सांसद भएको हुँदा रेडियो सुन्ने वित्तिकै जुठै हात टोपी समाई जुरुक्क उठी जोगबनीतिर लाग्नुभयो । त्यहाँ खैलाबैला भयो । हामी पनि अकमक्क प¥यौं । त्यसपछि म धरान पुगेँ । धरानमा त के देख्छु भने जो ब्यक्ति कोईराला परिवारको धेरै नजिकको थियो र असली कांग्रेस थियो र जो क्रान्तिको बेला मोर्चामा मेशिनगन भिरेर हिँड्दथ्यो, त्यहीँ ब्यक्ती दुई हातमाथि बुरुक्क उफ्री “त्यो विश्वेश्वर चोर हो” भनी फलाकिरहेको छ । यस बेला मैले देखेँ– नेपालीहरु शक्तिको पछि लाग्दा रहेछन् । कसलाई विश्वास गर्ने कसलाई नगर्ने ? धरान पुगेपछि मेरो घर कचिडेबाट दिनका दिन धाउन र इमर्जेन्सी पनि हेर्नुपर्ने हुँदा म अस्पताल भित्रकै क्वाटरमा बस्ने विचारले त्यहीँ सरेँ । बंगाली डाक्टरपछि धनकुटा अस्पतालमा सेवा गर्ने म नै पहिलो नेपाली डाक्टर हुँ ।
मैले त्यसबेला धनकुटा अस्पतालमा प्रबेश गर्दा एक बंगाली कम्पाउण्डर, एक नेपाली ड्रेसर, दुई पिउन र एकजना भान्से थिए । बिरामी दिनको १५।१६ जना मात्र आउने गर्दथे । तर त्यस नजिकै हुलाक टोलमा सिरुबारी नजिकै भारतीय दूतावासबाट खोलेको पेन्सन क्याम्प र अस्पताल थियो । त्यहाँ दैनिक ३०० सम्म विरामी आउने गर्दथे । हाम्रो अस्पताल विहान बेलुका खोल्ने दिउँसो बन्द हुने गर्दो रहेछ । अन्तरंग कक्ष छ तर बिरामी छैन । कफ सिरप, कार्मेनेटिभ मिक्स्चर ठूला सिसीमा छन्, औजार उपकरण प्रयोग हुन नसकि खिया लागी पुरानो भएका छन् तर प्रयोगमा कहिले पनि आउन नसकेका । मलाई यो देखेर दुःख पनि लायो र एक च्यालेन्ज पनि लाग्यो अनि गरेर देखाउने मौका पनि लाग्यो । त्यसपछि मैले अस्पतालको रङ्गरोगन गर्न लगाएँ । नयाँ फर्निचर किन्न लगाएँ र दिनहुँ बिहान नौ बजेदेखि बिरामी नसकिएसम्म नियमित बस्न थालेँ । बिस्तारै बिरामी बढ्न थाले र केही महिनापछि दैनिक ३०० भन्दा नाघे । मैले यहाँ कुनै क्लिनिक खोलिनँ ।”
यसरी जागिरे यात्रा सुरु गर्नुभएको डा.पोख्रेलले धनकुटा जिल्ला अस्पतालमा रहँदा नै दुबै आँखा अन्धा भई वर्षौं थला परेका दुईजना ब्यक्तीहरुको मोतियाविन्दुको अपरेशन गरिसक्नुभएका थिए । धनकुटामा जागिर भएको १३ महिनापछि २०१८ सालमा उहाँ जलेश्वर सरुवा हुनुभयो । जलेश्वरमा केही समय सेवा गरेपछि उहाँ विराटनगर सरुवा हुनुभयो भने विराटनगरमै कार्यरत रहेको समय २०१९ साल तिरै ब्रिटिस काउण्सिलको छात्रवृत्तीमा डी.एल.ओ. पढ्नको लागि बेलायत जानुभयो । दुई वर्षको लागि अध्ययान विदामा जानुभएको पोख्रेल डी.एल.ओ.को अध्ययन पश्चात केही नोकरीको साथ साथै थप अध्ययनमा लाग्नु भयो । स्वास्थ्य मन्त्रालयको स्वीकृति बेगर लामो समय बेलायत बसेकोमा स्वास्थ्य मन्त्रालयको धम्कीपूर्ण पत्रहरु जानुका साथै ब्रिटिस काउण्सिलको छात्रवृति रकमहरु पनि रोकेपछि पोख्रेल आफ्नो पढाईको महंगो फी र लण्डनको महंगो बसाईको तालमेल मिलाउन उहाँले विभिन्न अस्पतालहरुमा ठूलै तहहरुमा नोकरी पनि गरे । त्यसपछि उहाँले सन् १९७० मा एडिनबराबाट आँखामा एफ.आर.सी.एस. पूरा गर्नु भई करिब १० वर्ष पश्चात बेलायतको सुख सुविधा त्यागेर आफ्नै मात्रृभूमिमा केही गर्ने अठोट, उमंग र जोश लिएर फर्कनु भयो ।
बेलायतबाट आँखामा एफ.आर.सी.एस. गरी नेपाल फर्केपछि डा.पोख्रेले बेलायतमा छँदा मन पराएको र माया गरेको आफ्नो प्रियसी शोभाना पोख्रेलसँग सन् १९७२ मा बिवाह गरेपछि काठमाडौंलाई नै कर्मथलो बनाउने निधो गरी वीर अस्पतालको आँखा रोग विशेषज्ञको रुपमा सेवा सुचारु गर्नुभयो । तर यहाँलाई वीर अस्पतालको आँखा सेवाले आमजनतामा नपुगिरहेको अवस्थामा सन्तुष्टि मिलिरहेको थिएन । त्यहाँ आँखा विभागमा न अपरेटिङ माइक्रोस्कोप थियो न त स्लिट ल्याम्प नै । टाढाटाढाबाट बोकिएर आएका दुबै आँखा नदेख्ने मोतियाविन्दूका बिरामीलाई पनि अपरेशन नगरी फर्काउनु पर्ने बाध्यता थियो । तीन सय शैयाको वीर अस्पतालमा आँखाको लागि केवल १६ शैयामात्र उपलब्ध थियो । त्यो सबै आँखामा पिप जमेर आउने बिरामीले ओगट्ने गर्दथे । दुबै आँखामा मोतिविन्दू हुनेका लागि उपचार पाउन झन्डै एक वर्षसम्म कुर्नुपर्ने बाध्यता थियो । खर्च हुनेहरु भारतको सीतापुरमा उपचार गर्न जान्थे भने बहुसंख्यक निर्धन दृष्टि गुमाएर जीवन बाँच्दथे । यसतो अवस्थामा डा.पोख्रेलका नेतृत्वमा सन् १९७१ देखि १९७८ को बिचमा ७० वटा भन्दा बढी आँखा शिविरहरु भए । यसले उहाँलाई मुलुकको आर्थिक, सामाजिक अवस्थाका अतिरिक्त यहाँका आयआर्जन तथा अन्धोपनको समस्या बारे यथार्थ चित्र प्राप्त भयो ।
आँखाको रोगीहरुको विजोग देखेर डा.पोख्रेललाई सरकारको मात्र मुख ताकेर सेवा पु¥याउन सकिदैन जस्तो लाग्यो र जनसहभागिता जुटाएर भए पनि आँखाको छुट्टै अस्पताल हुनुपर्छ भन्ने लागेर जनसहभागितामा नेपालमा पहिलो आँखा अस्पताल नेपाल आँखा अस्पतालको स्थापना गरे । नेपाल आँखा अस्पतालले केही हतसम्म आँखा सेवा विस्तारित भएता पनि दूरदराजका नेपाली माझ सेवालाई सरल रुपमा पु¥याउन नसकिरहेको अवस्थामा तत्कालीन बडामहारानीले उपत्यकामा नेपाल आँखा अस्पताल खोले जसरी उपत्यका बाहिर पनि आँखा सेवा विस्तार गर्न कसरी सकिन्छ त्यता पनि सोच्न हुकुम बक्स भएपछि डा.पोख्रेलले २०३५ सालमा नेपाल नेत्रज्योति संघ नामक सामाजिक संस्थाको स्थापना गरे । उक्त संस्थामार्फत स्वदेशी तथा विदेशीको सहयोग जुटाएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आँखा अस्पतालहरु स्थापना गर्दै गए । हाल नेपाल नेत्रज्योति संघ अन्तर्गत देशको सबै भूभागहरुलाई समेट्ने गरी सुविधा सम्पन्न २७ वटा आँखा अस्पतालहरु, ४४ वटा जिल्ला शाखाहरु तथा १४५ भन्दा बढी आँखा उपचार केन्द्रहरुको संजाल मार्फत स्वदेशीको अलवा विदेशी समेतले वार्षिक ३ लाख भन्दा बढी जनताले छिटो, छरितो, सरल तथा गुणस्तरीय आँखासेवा कम मूल्यमा पाइरहेका छन् । हाल नेपाल नेत्रज्योति संघ अन्तर्गत १० हजार भन्दा बढी समाजसेवीहरु र ३५ सय भन्दा बढी कर्मचारीहरु संलग्न रहेका छन् । हाल उहाँ नेपाल नेत्रज्योति संघको संरक्षक हुनुहुन्छ ।
यसरी नेपालमा आँखा स्वास्थ्यको क्षेत्रमा अतुलनीय योगदान गरे वापत डा. पोख्रेलले स्वदेश तथा विदेशबाट समेत थुप्रै सम्मान, कदरपत्र, अवार्ड पाउनुका साथै नेपालीको ज्योतिको रुपमा सम्मान गर्दै उहाँलाई आँखा “बा” अर्थात आँखाको मणि भनेर चिनिन्छ । उहाँ एक कुशल नेत्रविशेषज्ञ त हुँदै हुनुहुन्छ साथ साथै कुशल प्रशासक, समाजसेवी, कवि, लेखक, समाज सुधारक आदि बहुआयमिक ब्यक्तित्वको धनी आँखा “बा” को दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दछु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)