
विवाहमा राखेको एउटा मात्र शर्तले बदलिदियो जीवनको बाटो
प्रतिभा सुवेदी
त्यति बेला धेरैजसो पारिवारिक अनुशासनमा रहने गर्दथे । कुनै केटाकेटीले भागेर विवाह गरे भने अपराध गरेसरह परिवारको इज्जतमा धक्का लाग्ने किसिमको हुन्थ्यो । म तेइस वर्षकी थिएँ । मेरा बुबाआमाको विचारमा मेरो विवाह गर्ने समय बितिसकेको थियो । विवाहको कुरा चलिरहन्थ्यो तर विवाहमा मेरो चाख त्यति थिएन । बुबाआमालाई बाहेक कोसँग कुरा चले भन्ने पनि म थाहा पाउँदिनथेँ । अहिलेको जस्तो आत्मनिर्भर हुनुपर्नेमा जोड दिने जमाना पनि थिएन । छोरीलाई पढाएमा दुःख पर्दा काम लाग्छ भन्ने धारणा थियो ।
विभिन्न घरबाट विवाहका उम्मेदवारको कुरा आउने गर्दथे । कोही उम्मेदवार आउँदा ससम्मान चिया लैजाऊ भन्ने आशय हुन्थ्यो । मेरो मन यसो गर्न मान्दैनथ्यो र म लान्नथेँ । यो चलन मलाई मन पर्दैनथ्यो । अरूका अगाडि देखिनकै लागि चिया लगेको बहाना बनाएर कसरी उपस्थित हुनु जस्तो लाग्दथ्यो । चिया लगेर नगएका कारणले नै पनि विवाहको कुरा आएको ठाउँमा मेरो विवाह नभएको पनि थाहा भयो । विवाहको उमेर आएपछि प्रस्ताव केटापट्टिबाट नै आएको अवस्था हुन्थ्यो । त्यति बेलाको चलनअनुसार परम्परागत किसिमको विवाह नगरुन्जेल घरका अभिभावकहरू पनि ढुक्क हुँदैनथे ।
अझ पनि हाम्रो समाजमा प्रायः कसैकी पत्नी नभई महिलाको स्थान सुरक्षित हुँदैन भन्ने धारण व्याप्त छ । विवाहको निर्णय बुबा र दाजुको सिफारिसमा भएको थियो । छोरीलाई विवाह गरेर बिदाइ नगरुन्जेल आमाबाबुलाई हल्का हुँदैनथ्यो भन्ने हाम्रो समयसम्म थियो । मेरा दाजु र बुबाको भनाइ थियो, पढेलेखेको केटा कुलत नभएको र शाखा अधिकृत भएको सूर्य सुवेदीसँग विवाह तय गर्नुपर्छ । मलाई पछि सोधियो पनि, अनि मैलै एउटा सर्त राखेकी थिएँ । त्यो थियो एमएको अध्ययन पूरा गर्न मन लागेको कुरा, जुन कुरा मैले बुबालाई भनेकी थिएँ । त्यस विषयमा सूर्य सुवेदीले त्यो त समस्या हुँदैन भन्नुभयो ।
त्यसरी हाम्रो विवाह भएको थियो ।
राम्ररी नै समझदारीमा गृहस्थ जीवन सुरु भयो । विवाहपश्चात् मेरा अभिभावक त ढुक्क भए किनकि उनीहरूले समाजमा एउटा योग्य पुरुषलाई छोरी जिम्मा लगाए ।
विवाहपश्चात् मेरो भूमिका परिवर्तन भयो । त्यसैअनुरूप जिम्मेवारी पनि थपिए । तापनि घरको काम मिलाउँदै एमएको अध्ययन पनि जारी राखेँ । पूर्वबाट काठमाडौं आएको परिवारमा आपूmभन्दा ठूला भनेको श्रीमान् मात्र थिए । देवर, भतिजाहरू सबै विद्यार्थी थिए । भान्साको पकाउने कामचाहिँ संयुक्त परिवारको सरह नै हुने गर्दथ्यो । देवर, भतिजाहरू र श्रीमान्लगायतले भान्साको काम गर्न जान्दैनथे । चियासम्म पकाउन पनि कोसिस गरेको पाइनँ । पकाउने कामचाहिँ मेरै थियो । स्कुल पढ्ने केटा सहयोगी राख्ने चलन थियो । तर त्यो विद्यार्थीले केके गरोस्, सामान्य सहयोग पाउन पनि कठिन नै थियो ।
म अर्थशास्त्रमा एमए अध्ययनरत विद्यार्थी थिएँ । विवाह भएको छ महिना भएको थियो । म राष्ट्रिय विकास सेवा (राविसे) कार्यक्रमअन्तर्गत दस महिनालाई विश्वविद्यालयले खटाएको जिल्लाको विद्यालयमा पढाउन र विकासका काम गर्न जानुपर्ने थियो । श्रीमतीलाई कहाँ बाहिर जान दिने भन्ने पनि लाग्यो होला घरमा । बीएपछि बीए, बीएड पास गरेकै छ, किन एमए पढ्नुप¥यो भन्ने भनाइहरू घरमा सुझावका रूपमा उठे पनि मभित्र अध्ययन पूरा गर्ने इच्छा तीव्र थियो । पढाइ अधुरो छोड्ने मन थिएन । त्यति बेला एकोहोरो कसरी एमए पास गर्ने भन्ने ध्याउन्न प्रबल भयो । त्यो पनि घरमा चुपचाप श्रीमानसँग बहस नगर्ने अक्कल गरेँ र कसरी अध्ययन पूरा गरूँ भनेर विचार गर्न थालेँ । त्यस्तो परिवेशमा त्यति बेला घरबाट बाहिर हिँड्नु भनेको असजिलो जस्तो देखिएको थियो । श्रीमानलगायत देवरहरू पुरुषोत्तम, रमेश, भतिजा परशुराम सँगै थियौँ । उनीहरूले मेरो दस महिना बाहिर जाने विषयलाई त्यति सहज मानेनन् । अनि मैले मनमनै मेरी आमाकी दिदी ठूली आमा धन सापकोटाको घर भएको जिल्लामा जान विश्वविद्यालयले दिए त परिवारले पनि जान दिनेछन् भन्ने लागेर राविसेका निर्देशककहाँ अनुरोध गर्न गएँ, पटकपटक । उहाँलाई अनुरोध गरेँ, ‘मलाई चाहिँ काभ्रे जिल्लामा जान दिनुहोस्, नत्र टाढा परेँ भने त मलाई घरबाट पठाउँदैनन् ।’ कोसिस गर्दागर्दा मलगायत अरू तीन जना महिला विद्यार्थी श्रीराम मावि खोपासीमा खटियौँ । त्यसताका एमए पढ्दा राविसे कार्यक्रमअन्तर्गत दस महिना गाउँ सेवामा जान पर्दथ्यो र विद्यालयमा पढाउन पर्दथ्यो ।
गाउँ सेवामा जानुअघि स्काउटिङ तालिम हुन्थ्यो । करिब छ महिनाको स्काउट टे«निङलाई दस दिनभित्र दिनरात गरेर सम्पन्न गरिएको थियो तर त्यो जीवनोपयोगी साबित भयो । आपूmलाई चाहिने सामान, जस्तो– सियो, धागो, सलाई र टर्च लाइट आदि वस्तुहरू सानो झोलामा बोकेर झटपट हिँड्नुपर्ने बानी पनि बस्यो । उकालोओरालो र साँघु तर्नेजस्ता साहसिक काम गर्न पनि सिकाइएको थियो । आप्mनो काम सबै आफैले गर्नुपर्दथ्यो । जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तो मरिमेटी अध्ययन सुचारु राख्न सम्भव भयो । त्यसपछि काठमाडौँ सहरबाट गएका हामी तीन जना महिला काभ्रे जिल्लाको श्रीराम मावि खोपासीमा शिक्षिकाका रूपमा कार्यरत भयौँ ।
एक दिन श्रीराम मावि खोपासीनजिकका छिमेकमा जग्गा साँधसिमानाको कचिङ्गल प-यो । अनि विद्यालयका शिक्षकहरूले ‘ल राविसे दिदीहरू यता छन्’ भनेर देखाउने गर्दथे । विवाद सल्टाउन छलफल गर्दा हामीलाई पनि सामेल गरिने गरिन्थ्यो । ती छलफलहरू हामीले पक्क परेर सुन्यौँ । सबै कुरा बुझेनौँ, समस्या समाधानमा सहभागी हुने कुरा त परकै कुरा । व्यावहारिक समस्याका कुरा त्यस दिनबाट मेरो मनमा प्रश्न उब्जियो, एमए पूरा गर्ने समय भइसक्यो तर गाउँमा पुग्दा त व्यावहारिक समस्याका कुरासम्म बुझिँदो रहेनछ । अर्को कुरा पनि हेक्का के भयो भने आपूm छोरी हुँदा होस् वा बुहारी भैसकेपछि पनि कति न सङ्घर्ष गरेर अध्ययन पूरा गर्न आएको भनिठानेको त यतातिरका ग्रामीण महिलाहरूको घर र खेतको कामको बोझ, कपाल कोर्नेसमेत फुर्सद नभएको देख्दा म छक्क परेँ । मलाई यिनीहरूसँग तुलना गर्न थालेँ । मैले मनमनै प्रश्न गरेँ, यी महिलाहरू कसरी दस महिनालाई म अहिले यो गाउँमा आउन सकेको जस्तो घरबाट बाहिर जान पाउलान् त ? उनीहरूको संसार भनेको घर, खेत, जङ्गल र धारा–पँधेरो रहेछ । बिहानैदेखि गाईभैंसीको गोबर सोर्नु अनि घाँस काटेर डोकोमा भारी बोक्नु पो रहेछ । उनीहरूको काम कति हो कति, कामको लिस्ट बनाएर नभ्याइने देखेँ । त्यसपछि मेरो जीवनमा उनीहरुका लागि केही काम गर्ने आखाँ खुल्यो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)