… जो संकटलाई सदुपयोग गरेर सफल बन्न खप्पिस छन्

शब्दश्री शर्मा

हिँडेर नथाक्ने मान्छे भने हुन्छ उनलाई । वा भने हुन्छ, संकटलाई सम्भावनामा बदल्ने मान्छे । अथवा भने हुन्छ, सकारात्मक संवाहक । अर्थात राजन सिम्खडा ।

कुरा कोराना महामारीपछिकै गरौँ । महामारी सुरु भएलगत्तै केही समय त समय नै टक्कै रोकियो झैँ भयो । त्यसमाथि पर्यटनको त के कुरा गर्नु ! सखापै भयो भने झैँ भयो । सबै सुस्ताइरहेको बेला तर सिम्खडा सबैतिर चर्किरहेका थिए, ‘यो पूर्वाधार निर्माणको समय हो । बनाउने समय हो । भोलि धेरै माछा मार्ने हो भने अहिले जाल बुन्नतिर लाग्नुपर्यो । भोलि धेरै रुखहरु काट्ने हो भने अहिले बन्चरो तिखार्नेतिर लाग्नुपर्यो । आज सबैकुरा सुस्ताइरहेको बेला पूर्वाधार निर्माणमा लागियो, सडक राम्रो बनाइयो, होटलहरु बेटर बनाइयो, सर्भिसहरु अपग्रेड गरियो भने भोलि साँच्चै ठूलो संख्यामा पर्यटक आउने थालेपछि उनीहरुलाई उचित सर्भिस दिन सकिन्छ । जाल बुनेपछि त ठुलो माछा पनि जालमा हाल्न सकिन्छ ।’

उनले बोलेनन् मात्र, त्यसै हिसाबले पूर्वाधार निर्माणतिर लागे आफै पनि ।

भन्छन्, ‘महामारीपछि मात्र हामीले बैंकबाट झन्डै ६ करोड रुपैयाँ थपेर रिभर फन रिसोर्टमा २० वटा कोठा थप्यौं । जीपलाईन बनायौं । क्याफे बनायौं । स्काई साकलिङ बनायौं र एड्भेन्चर पार्कहरु बनाउँदै छौं ।’ रिसोर्ट कुरिटनारनजिक त्रिशुली नदी पारी छ ।

उनी त्यतिमै रोकिएनन्, नुवाकोटको ककनीमा पहिल्यै लिइरहेको जग्गामा फार्महाउसहरु बनाए, मान्छेहरु आइसोलेट भएर बस्न चाहन्छ भनेर । र, आफै गएर खेती गरे । खेतीमा पनि सम्भावना छ भनेर मान्छेहरुलाई पढाउन खोजे ।

ठमेलमै पनि संचालनमा रहेको होटलछेउै फेरि अर्को होटल निर्माण गर्दैछन् । ‘एक-दुई बर्षमा कम्प्लिट भएपछि पर्यटकलाई राख्न सकिन्छ भन्ने ढंगले निर्माणको चरणमा छौं’, उत्साहको स्वरमा भने, ‘सुस्ताइरहेको अवस्थामा पनि म हिँडिररहेको छु । लगातार हिँडिरहेको छु । म त ‘हिँडे पुगिन्छ’ लेख्ने मान्छे । चरैवती चरैवती भन्ने मान्छे ।’

‘अहिले त बादल मात्र लागेको हो, सूर्य त त्यहीँ छ नि, हाम्रो (नेपालको) अरु स्ट्रेन्थ त केही पनि गएको छैन नि’, उनले भन्ने गरेका छन्, ‘हिमाल त्यहीँ छ । पहाड त्यहीँ छ । जंगल त्यहीँ छ । गैंडा त्यहीँ छ । हात्ती त्यहीँ छ । यती त्यहीँ छ । हाम्रो कल्चरहरु त्यहीँ छन् । हाम्रा नदीनाला त्यहीँ छन् । हाम्रो ट्रेकिङ रुट त्यहीँ छ । हामी सिद्धिएको होइन, सुस्ताएको मात्र हो ।’ यसरी उनी उनकै शब्दमा ‘गिभिङ अ होप टु द पिपल’मा व्यस्त छन् ।

महामारीमा मात्र होइन, २०७२ सालको भुकम्पपछि पनि उनी भत्केनन् । बरु भुकम्पलगत्तै साउथ एसियका विभिन्न देशतिर हानिए । आउटबाउन्ड टुरिजम कसरी विस्तार गर्न सकिन्छ भनेर भियतनाम, कम्बोडिया, लाओस्, म्यानमार, थाइल्यान्डलगायतका देश गए । त्यहाँको हस्पिटालिटी बुझ्न र टुरहरु एक्स्प्लोर गर्न उनी त्यहाँ गएका थिए । र, तीमध्ये केही देशमा त उनले पर्यटकलाई घुमाइरहेका पनि छन् ।

र, अर्को छुटाउनै नहुने कुरा, भुकम्पले घाइते समयमा उनले एउटा सग्लो किताबै जन्माए, ‘हिँडे पुगिन्छ’ । उनको जीवनचित्र मात्र होइन, नेपाली पर्यटनको अन्तरकुन्तर समेटिएको सो पुस्तक भुकम्पछि प्रकाशित चर्चितमध्येको एक हो ।

पोर्टर प्लस होटल रिसेप्सनिस्ट भएर करिअर सुरु गरेका उनले दुई–अढाई दशकमै पर्यटनसँग सम्बन्धित आधा दर्जन बढी कम्पनी चलाइरहेका छन् ।

नयाँ सम्भावना देख्ने, नयाँ ढोका खोल्ने, नयाँ रूपमा व्यवसायलाई अगाडि बढाउने व्यक्तिको अग्रभागमा उनको नाम आउँछ । परम्परागत रूपले व्यवसाय चल्नसम्म त चल्ला तर फड्को मार्न सक्दैन भन्ने उनलाई थाहा छ । त्यसैले म नयाँ–नयाँ विकल्प खोजिरहन्छन् । व्यवसायमा नयाँ प्रयोग गरिरहन्छन् । परम्परागत रूपमा व्यवसाय गर्दै आएका प्रतिस्पर्धीहरू उनको तौरतरिकाबाट लोभिन्छन् र त्यसैको सिको गर्छन् ।

जोखिम मोलेर नयाँ काममा हात हाल्ने, त्यसमा सफल हुने र फेरि अर्को नयाँ काममा थाल्ने व्यक्तिका रूपमा पर्यटन क्षेत्रमा चिनिएका उनलाई विभिन्न संघ–संस्थालेसम्मान वा अभिनन्दन गर्दा पनि ‘ट्रेन्ड सेटर’ या ‘पर्यटनमा नयाँ आयाम थपेको’ आदि उपमा दिन्छन् ।

‘डु नट डु डिफरेन्ट थिङ्ग्स्, डु थिङ्ग्स डिफरेन्ट्ली’ भनेझैं भएकै कुरामा नौलोपन ल्याएर प्रस्तुत गर्ने उनको शैली रह्यो । उनको समुहले ठमेलमा बुटिक शैलीको ‘इको रिसोर्ट’ सुरु गरेपछि उनका साथीहरूले पनि त्यस्तैखालका दसभन्दा बढी होटल खोले । कतिले त होटलको रङसमेत उही लगाए रे ।

¥याफ्टिङ जानेहरू खोलाको किनारमा टेन्ट टाँगेर बस्थे । कुनै स्थायी विश्रामस्थल थिएन । उनको समुहले ‘रिभर फन बिच रिसोर्ट’ खोलेपछि त्यही लाइनमा अरू सात–आठवटा त्यस्त रिसोर्ट खुलेको उनी बताउँछन् ।

ट्रेकिङमा उनले योगा मिसाए, अन्य व्यवसायीले पनि त्यसकै सिको गरे । अचेल योगा ट्रेक बेच्ने ट्रेकिङ एजेन्सी बर्गेल्ती छन् ।

जानेर–नजानेर पर्यटनमा नयाँ आयामको नेता बन्दै गए । बजारले उनलाई ‘रिक्स टेकर’ का रूपमा लिन्छ । बैंकहरू पनि उनलाई धेरै ऋण लिएर व्यवसाय गर्न नडराउने व्यवसायीका रूपमा लिन्छन् ।

सन् २०१३ मा होटल ह्यातमा आयोजित टानको साधारणसभा उद्घाटन समारोहमा पुगेको थिए । धेरै ट्रेकिङ पर्यटक भित्र्याउने एजेन्सीका रूपमा पहिलो रोयल माउन्टेन ट्रेकिङ र दोस्रोमा अर्थबाउन्ड एक्सपिडिसनको नाम घोषणा भयो । उनलाई त्यो पत्याउनै मुस्किल प¥यो । पछि थाहा भयो, उनीहरूले टिम्स कार्डको आधारमा त्यो घोषणा गरेका रहेछन् । उनको हर्षको सीमा रहेन ।

उनले सुरुमा ट्रेकिङ व्यवसायमा मास टुरिज्मको अवधारणा ल्याउँदा प्रतिस्पर्धी साथीभाइहरूले ‘सस्तोमा बिजनेस बेचेको’ भन्दै आलोचना गरेका थिए रे । उनीसँग आफ्नै होटल थियो, गाडी थियो, रिसोर्ट र योग केन्द्र थियो । त्यसैले सीमित समयका लागि उनले सस्तो ‘प्याकेज’ बनाएका थिए । उनलाई त्यसो भन्ने साथीभाइहरूले नै पछि त मास टुरिज्मको सिको गर्न थाले रे । तर, साथीहरु मास मार्केटिङतिर गइरहेका बेला उनी भनेफरक खालका आयाम भित्र्याउन लागे फेरि ।

पछिल्लो समय पर्यटन क्षेत्रका उनका कम्पनीहरू अर्थबाउन्ड एक्सपिडिसनमा सिजनमा ७० जनासम्मले काम गर्छन् । हिमालयन योगा रिसोर्टमा ९ जना, ठमेल इको रिर्सोटमा ४२ जना, रिभर फनमा १० जना, योगा रिट्रिटमा ९ जना, पोखरा इको रिसोर्टमा २० जना र मःम हटमा १० जना काम गर्छन् । त्यसरी झन्डै पौने दुई सय जनाले प्रत्यक्ष रोजगारी पाएर उनीहरूको मुहारमा खुसी छाउँदा उनी आफ्नो सङ्घर्ष कथा पनि मुस्कुराइरहेको ठान्छन् ।

‘मानौं, मैले ट्रेकिङ व्यवसायमा वार्षिक २० करोड रूपैयाँको कारोबार गरें भने पचास लाख रूपैयाँ कमाउँछु’, भन्छन्, ‘बाँकी १९ करोड ५० लाख त गाइड, पोर्टर, ट्रेकिङ पर्मिट, सरकारी कर, एक्याप, हवाइजहाज, गाडीवाला, होटल, रेस्टुराँ, टेलिफोन कम्पनी आदिले लैजान्छन् ।’

‘यसरी नै हो, अर्थतन्त्र चलायमान हुने’, उनी प्रश्न गर्छन्, ‘हैन र ?’

उनलाई आफ्नो मुलुकमा विदेशी मुद्रा भियभयाउने व्यवसाय चलाउन पाएकोमा गर्व छ । ‘क्यानडाको कुनाकाप्चा, अस्ट्रेलियाको पुछार, जापानको पल्लोछेउ, नर्वेको टुप्पोसम्मका मान्छे नेपाल ल्याउन र घुमाउन पाएकोमा प्रसन्न पनि छु’, भन्छन्, आजसम्म मेरो कम्पनीले दसौं हजार पर्यटकलाई सेवा दिएको छ ।’

अधिकांश पर्यटक नेपालबाट फर्कने बेला उनलाई भन्ने गर्छन् रे, ‘तिमीजस्तो नागरिक पाउनु तिम्रो देशका लागि पनि गौरवको कुरा हो ।’

‘आजसम्म मैले मेरो व्यावसायिक जीवनमा जे–जति गर्न सकेको छु, त्यो मेरो क्षमताको ३० प्रतिशत मात्र हो जस्तो लाग्छ’, उनको महत्वाकांक्षा छ, ‘अझ धेरै गर्नु छ ।’


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button