
पहिलो पटक आफू बेचिएको थाहा पाएँ
प्रतिमा शर्मा
धेरै दिनपछि दुर्गासँग भेट भयो । मन, मुटुभरीको माया पोखिन् र उनी सुतिन् । म पढ्न थाले । सानी, चिटिक्क जीउज्यानकी उनी । मेरो छेउमा हराउँथिन् पनि । अर्को दिन बिहान, उनले खाना पकाइन, म पढ्न थालेँ । खाना सँगै खायौं । खाना पकाएर खानु, राम्रोसँग पढेर पास हुनु भन्दै उनी बिदा भइन् । भेट साँच्चिकै न्यानो र प्रिय भयो ।
दुर्गा गएको एक छिनपछि विष्णु सुवेदी आइन् । विष्णु र म क्लासमेट थियौं । उनलाई पनि एसएलसी तयारीको चटारो थियो । एसएलसी तयारीका लागि बुटवलमा छुट्टै बस्न लाग्ने खर्च नदिने रे, बाबाको गुनासो गरिन् । उनको घरायसी मामिलासँग म अलिकति परिचित थिएँ, त्यसैले हामी सँगै बस्यौं, उनको समस्या ट-यो, मैले साथी पाएँ ।
२०४१ सालतिरको कुरा हो, सबै स्कुलमा एसएलसी तयारी कक्षाको व्यवस्था थिएन । मैले पढेको विद्यालयमा पनि थिएन । धनी र शिक्षाको महत्व बुझेका अभिभावकले अलि धेरै लगानी गर्थे, सबै बिषयमा घरमै ट्युसन पढाउँथे । निम्नमध्यम र मध्यमवर्गियहरुले कोचिङको व्यवस्था भएको स्कुलमा पठाउँथे । कोचिङ क्लासमा धेरै विद्यार्थी (५०-६० जना) एउटै कोठामा बसेर पढ्नुपर्दथ्यो र कम शुल्क तिरे पुग्थ्यो । बुटवलस्थित ज्ञानोदय माविमा एसएलसी तयारीका लागि कोचिङ चल्थ्यो । रात्रीक्लास, साझ ५ बजे देखि ९ बजेसम्म । शुक्रबार ७ बजे क्लास सकिन्थ्यो । हामी कहिलेकाही क्लास सकेपछि घर जान्थ्यौं, रातिराति ।

एकदिनको कुरा हो, शुक्रबारको दिन । विष्णु र महाम्रो घर जाने निर्णय ग-यौं । बुटवलबाट मेरो गाउँ जानको लागि पश्चिम कृष्णनगर वा नेपालगन्जतिर जाने बसमा जानु पर्दथ्यो । २५ कि.मी. पर गएपछि फायरलाइनमा झरेर पाँच छ किलोमिटर दक्षिणतिर जङ्गलको बाटो हिडेरै जानुपर्ने थियो । त्यो बेला हाम्रो गाउँमा जाने बस र बाटो दुबै थिएनन् । घना जंगल थियो, जंगलकै बीचमा साँघुरो बाटो, बाटोभरी सुकेका पात झरेका हुन्थे । जंगली जनवारको पनि डर थियो । बाटोमा हिँड्दा पातको खस्राङखुस्रुङ आवाज आउँथ्यो । म बाटोमा झरेका पातको आवाजलाई अझै बढाउन खुट्टा बजार्दै हिँड्थे, विष्णु खुबै डराउँथिन र मलाई सम्झाउँथिन् ।
‘विस्तारै हिडन । भुँईका पात नबजाइकिन हिँड, मलाई डर लाग्यो ।’
मैले सोधेँ, ‘किन ? के भयो र ?’
विष्णु भन्थिन्, ‘जंगलमा कोही चोर वा जंगली जनावर रहेछ भने थाहा पाउँछन् । हामी दुईजना मात्र हिँडेको थाहा पाएर हामीलाई मार्न आए भने के गर्नी ? त्यही भएर हल्ला नगरीकिन, नबोलिकिन छुपुछुपु हिँड ।’
उनको र मेरो सोचाईमा धेरै फरक थियो । डराएजस्तो गरी, लुरुलुरु हिँड्न हुँदैन, एक्लै हिंड्दा पनि हल्लखल्ला गर्दै साहसिक तरिकाले हिँड्यो भने अरुहरु हामीसँग डराउँछन् र हामी सुरक्षित हुन्छौं भन्ने मेरो सोचाई थियो । यहि बिषयमा छलफल गर्दै हिड्थ्यौ । मेरो शैली देखेर उनी साँच्चिकै डराउँथिन् र मेरो हात च्याप्प समाउँथिन् । मनमा अलिअलि डर भए पनि बाहिर निडरता प्रकट गर्थेँ मैले ।
यस्तैयस्तैमा सरकारले एसएलसी दिने केन्द्र तोक्यो । विष्णुको र मेरो केन्द्र फरकफरक ठाउँमा पर्यो । उनको केन्द्र भैरहवामा पर्यो भने मेरो केन्द्र कपिल्वस्तुको जितपुरमा । एउटै स्कुलका विद्यार्थीलाई दुईवटा केन्द्रमा विभाजित गर्यो । हामी छुटियौं ।
बाले जितपुरमा मेरो लागि एउटा कोठाको व्यवस्था गरिदिनु भयो । त्यो बेला हामीले मट्टीतेलको टुकी बालेर पढ्नुपर्दथ्यो । बाले दाल, चामल, तरकारी, घिउ, तेल, र स्टोपको व्यवस्था गरिदिनु भयो । अलिकति पकेटमनि दिएर बाघर फर्किनु भयो । बा घर फर्केपछि म नजिकैको चियापसलमा गएँ । एक गिलास चिया मागेँ । चिया पाक्दै र पिउँदै गर्दा साउनीसँग अलिकति भलाकुसरी पनि गरेँ । कुरा गर्दागर्दै साहुजी पनि आए ।
‘तपाइहरुले खाना कहाँ खानुहुन्छ ?’
‘यहिँ बनाएर खान्छौँ’, साहुजीले भने ।
‘म एसएलसी दिन आएकी हुँ । यहाँ दशबाह्र दिन बस्नुपर्छ । म एक्लै छु । खाना पकाएर खान मन लागेन । मेरो लागि खाना पकाइदिनुहुन्छ ?’, मैले सोधे ।
‘हुन्छ, पकाइ दिन्छौ’, साहुजीको सकरात्मक जवाफ आयो ।
‘एक छाक खानाको कति पैसा लिनुहुन्छ नि ?’, मैले सोधेँ ।
‘६० रुपैयाँ दिनुस’,, उनले भने ।
‘म सँग ४ पाथी चामल, २ किलो दाल, घिउ, तेल सबै छ । त्यो सबै म तपाईलाई दिन्छु । त्यही पकाइदिनुहोस् । पकाएवापत कति पैसा लिनुहुन्छ नि ?’, मैले फेरि सोधेँ ।
‘उसोभए छाकको २ रुपैया दिनुस्’, साहुजीले भने ।
म फुरुङ्ग भएँ र हस् भनेँ । मनमा आनन्द आयो । परिक्षा दिँदासम्म खाना पकाउने झन्झट भएन ।
एसएलसी दिएँ । एसएलसी दिन पाएकोमा अदभुत खुसी भएँ म । परिक्षाको अन्तिम दिन, होटेलको पैसा तिरेँ र आफ्नो विस्तारा पोको पारेर घर फर्केँ ।
‘कस्तो भयो परिक्षा ?’, बाले सोध्नुभयो ।
‘ठीकै भयो’, मैले जवाफ दिएँ ।
आमाले पकाएको खाना खाएर आफ्नो कोठामा सुत्न गएँ । राति अबेरसम्म निद्रा लागेन । भोलिपल्ट बिहान, म सुतिरहेँ । घरमा सबै जना उठिसकेका थिए । आमाको बोलावट, ‘चिया खान उठ् कान्छी ।’ बा कराउन थाल्नु भयो, ‘घाममाथि आइसके, कतिबेरसम्म सुतेको ?’ यस्तैयस्तै सबैको गनगन सुनेपछि म उठेँ ।
चाक्लो पीँडी (ब्रान्डा)थियो घरमा । त्यही पीँडीमा काठको मिस्त्रीसँग मिलेर मैले आफैले बनाएको, मेरै नाम लेखेको काठको कुर्ची थियो । त्यही कुर्चिमा बसेर चिया पिउँदै थिएँ । ‘तेरो एसएलसी सकियो, अब विवाह गरेर दिएको घर जानुपर्छ, कहिले जाने हो, केके लाने हो ?’, बाले त्यसो भन्दै तयारी गर भनेर आमालाई आदेश दिनुभयो ।
बाको यस्तो कुरा सुनेपछि मेरो शरीर थरथर काँप्न थाल्यो । मैले जान्न भनेँ । बाले जानै पर्छ भन्नुभयो । एसएलसी दिएको एक महिनापछि जबरजस्ती पु-याइदिनुभयो ।
केटा घरमा थिएन । ‘ज्वाईँ आएपछि यो पैसा दिएस्’, बाले पैसाको एक बिटो दिँदै भन्नुभयो ।
म छक्क परेँ । ‘किन यति धेरै पैसा दिने ?’, मैले सोधेँ ।
‘मैले दिनुपर्ने छ’, बाले छोटो उत्तर दिनुभयो ।
बाले मलाई र पैसाको बिटोलाई त्यहीँ छोडेर जानुभयो ।
एक हप्तापछि, बाको ज्वाईँ घर आयो । बाले दिन भनेको त्यो पैसाको बिटो उसलाई दिएँ । उसले मेरो अगाडि त्यो पैसा गन्यो र रिसाउँदै भन्यो, ‘किन यतिमात्र ?’
‘कस्तो पैसा, केको लागि, कति हो दिनुपर्ने हो बाले ?’, मैले सोधेँ ।
‘एकलाख’, उसले भन्यो ।
‘तलाई बिहे गरेवापत तेरो बाउले दिनुपर्ने पैसा हो यो । मलाई पैसा चाहिएको हो, तँ होइन’, उसले सीधा उत्तर दियो । उसले थप्यो, ‘शहरमा मेरो गर्लफ्रेन्ड छ, मैले उसलाई विवाह गर्नुपर्छ ।’
‘विवाहको लागि सहमतिपत्र दे, तलाई पनि माया गरेर पाल्छु’, उसले भन्यो ।
म सोचाइमा डुबेँ । मेरो कानमा यो आवाज गुन्जिरह्यो ‘… तलाई विहे गरेवापत तेरो बाउले दिनुपर्ने पैसा हो, मलाई पैसा चाहिएको हो, तँ होइन …शहरमा मेरो अर्को गर्लफ्रेण्ड छ …।’
म यहाँ फरक तरिकाले बेचिएको रहेछु, बल्ल बुझेँ । पैसाको आवश्यकता पुरा गर्नका लागि केटाबाट विवाहको नाटक भएको रहेछ । मेरो आवश्यकताले होइन, दामको आवश्यकताले मलाई विवाह गरेको रे …, विवाह गरेवापत दाम, दाइजो, अर्को विवाहको लागि सहमतिपत्र, यी सबै कुरा सुन्दा आफु बेचिएको महसुस भयो । सिनेमा सुटिङ गरेजस्तो मेरो जिन्दगी । म रातभरी बेचैन भएँ … ।
क्रमशः
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
Wow!!
Very interesting story. Waiting for next one soon.