
बालविवाहः सिन्दुर हालेपछि पानीले धोइदिएँ
२०३९ सालतिरको कुरा हो । माटो र काठबाट बनाइएको आँटीसहितको घर थियो । खपटाले (माटोबाट बनेको टायल) छाइएको थियो । खुला र चाक्लो पिडी थियो । तिन चारवटा चारपाई (बाबियोको रसीले बुनेर बनाएको झोलुङ्गे खाट) थिए । एउटा चारपाईमा म थिएँ ।
धेरै दिनदेखि ज्वरोले थला परेको थिएँ । बेहददुखाई थियो टाउको र शरीरमा । म छटपटाईरहेको थिएँ । गाँउमा मेडिकल थिएनन् । घरमा आमालाई सघाउने अरु कोही थिएनन् । भाइबैनीहरु सानासाना थिए । अस्पताल धेरै टाढा थियो । अस्पताल जानको लागि यातायातका साधन थिएनन् । यातायातका साधनका नाममा रागा र गोरुले तान्ने गाडा र केही घरमा साइकल मात्र थिए । एक हप्तादेखि बा घरमा हुनुहुन्थेन । सुकुम्बासी जग्गालाई दर्ता गराई लालपुर्जाको व्यवस्था गर्ने अभियानमा केही मानिस लागेका थिए । तिनैमध्ये बा पनि एक हुनुहुन्थ्यो । यसै सिलसिलामा बा काठमाडौ जानुभएको थियो । घरको काम र बिरामी भएका कारण स्कुल नगएको पनि धेरै दिन भइसकेको थियो ।
म कक्षा ९ मा पढ्दै थिएँ । मेरो पसल ठूलो भइसकेको थियो तर त्यसताका म बिरामी भएकोले गर्दा सामान घटेको थियो । टाउको रुमालले बाँधेर खाटमा छटपटाउदै सुतेको थिएँ । यस्तैमा बा टुप्लुक्क आउनु भयो । बासँग मैले नचिनेका तिन चार जना नयाँ मानिस पनि थिएँ । म सुतेको खाटको अगाडि एउटा बेन्च थियो । त्यही बेन्चमा बसे उनीहरु । मलाई घरमै देखेकोले होला, स्कुल किन नगएकी भनेर सोध्नु भयो बाले । म बोलिनँ । छोरी धेरै दिनदेखि बिरामी छ, आमाले जानकारी दिनु भयो ।
बेन्चबाट एउटा मान्छे जुरुक्क उठेर म सुतिरहेको खाटमा आयो । उसले मेरो निधार र नाडी छाम्यो । ओहो ! एकदमै ठूलो ज्यरो आएको रहेछ, उसले भन्यो । अनि उसको व्यागबाट औषधि झिकेर २ वटा ट्याब्लेट खान दियो । म बिरामी भएको थाहा पाएर बाले डाक्टर लिएर आउनुभएछ भन्ने सोचें र दंग परें । धन्नै ११ बजेको थियो, ति मानिसहरु भोकै आएका रहेछन् । आमा खाना पकाउन जानुभयो । औषधी खाएको एकछिनमा म निदाए छु ।
मलाई गते र बार थाहा छैन । दिउँसोको लगभग दुइ तिन बजेको थियो होला, म निद्राबाट ब्युझिएँ । निद्राबाट व्युझिँदा पसिनाले भिजेको थिएँ । टाउको नदुखेको, शरीर हल्का भएको र ज्वरो सन्चो भएको थियो, सायद बिहान खाएको औषधिको प्रभाव थियो । मेरा आँखा खुले । आँखा खुल्दा घरभरी मानिसको घुँइचो थियो । कोही पीठो मुछ्दै थिए, कोही तरकारी केलाउँदै, कोही चामल केलाउँदै, कोही रोटी बनाउदै थिए त कोही घर अगाडि जग्गे बनाउनमा व्यस्त थिए । कोही मेरो वरीपरी झुम्मिएर बसेका थिए । त्यो दृष्यले मेरो मनमा धेरै तरंग ल्यायो । कसैलाई सोधिनँ । म आफै एउटा निष्कर्षमा पुगेँ, ‘दिदीको विवाह भइसकेको थियो, दिउँसोको बेला, अग्रिम जानकारी बिना पूजा हुनै सक्दैन । पक्कै पनि बिहान आएका मान्छेसँग मेरो विवाह गराइदिन लागे ।’
मलाई शंका लाग्यो । मनमा शंका लाग्दा बित्तिकै म रुन थालेँ । चिच्चाएर रोएँ । डाको छोडेर रोएँ । म रोएको सुनेर सबैजना म भएको ठाउँमा आए । आमा पनि आउनु भयो । आमाको अनुहार मलिन थियो, आँखा भिजिरहेका थिए । मलाई सम्झाउन मेरा काका आउनुभयो तर अवाक हुनुभयो रे । आमा आउनुभयो, उहाँको पनि बोली फुटेन रे । पछि बा आफै आउनु भयो र मलाई सम्झाउन थाल्नुभयो ।
‘नरो कान्छी, केटो राम्रो छ, धेरै पढेको छ, १० कक्षासम्म पढ्ने तेरो रहर बिहेपछि पनि पुरा गरिदिन्छु । बिहे गरेर पढाइ छोड्नु पर्दैन । यहि बसेर पढ्ने हो । नरो ….।’
बाले यस्तै यस्तै भन्दै सम्झाइरहनु भएको थियो ।
‘के गर्नु कान्छी, गाउँमा सबै दाजुभाईले छोरीलाई विवाह गरिदिइसके । कामको लोभले छोरीको विवाह गरिदिएन भनेर मेरो कुरा काटेका छन् । कति सुन्नु अरुका कुरा । सुन्दा सुन्दा वाक्क भइसकेँ म । जसलाई ल्याए पनि तैले नाईं भनिस्, त्यही भएर यसपटक तलाई केही नभनिकिन केटो ल्याएको छु । ऊ धेरै राम्रो छ, यहि बसेर पढ्न दिन्छु भनेको छ, अब जिद्धी नगर् । नरोईकिन बस् । नुहाइधुवाई गर्, सफा भएर बस् ….। मैले यो सबै तेरै लागि गरेको हुँ । मेरो इज्जत राखि दे । तँ त पढेकी मान्छे, रुनु हुँदैन ।’
बाले यस्तै यस्तै केके भनेर सम्झाउनु भयो । मलाई धेरै नै रिस उठेको र मन दुखेको थियो । बाको मुखमा नहेरिकन रोइरहेको थिएँ ।
मलाई अनियन्त्रित रिस उठीरहेको थियो । ‘धेरै दुख गरेर, आफैले बिभिन्न जुक्ती लगाएर पैसा कमाएको थिएँ । त्यही पैसाले पढेको थिएँ, तपाइँलाई कुनै आर्थिक बोझ परेको थिएन । मैले सक्नेजति सबै काम सबै काम सम्हालेकै थिएँ । तपाईंहरुले मलाई माया गर्नुहुन्न रैछ, बरु मलाई मारिदिएको भए हुन्थ्यो । मेरो मुटु दुख्यो । म बाँच्दिन अब’, आदि भन्दै म यसरी झगडा गर्दै थिएँ । आँखामा आँशु रोकिएकै थिएनन् । अचानक चक्कर आएर लड्न पुगेछु । मलाई थाहा छैन कतिबेर पछि होसमा आएँ ।

नाताले बहिनी पर्ने, एक जना साथी थिइन्, दुर्गा । म होसमा आउदा दुर्गा थिइन् मेरो छेउमा, मेरो हातमाथि आफ्नो हात राखेर सुम्सुमाउदै थिइन तर उनी रोइरहेकी थिइन् । उनका आँशु तप्प तप्प मेरै हातमाथि परेका थिए । साथीहरु त धेरै थिए । सबै नाता पर्ने साथीहरु । प्राय सबै साथीहरुले चुरोटबीडी खान्थे, मैले खान्नथेँ । मेरो सँगतमा आएपछि दुर्गाले चुरोट खान छोडिन् भने अरुले लुकेर खान थाले । धेरै साथीहरुको विवाह भइसकेको थियो । दुर्गाको विवाह भएको थिएन । उनी र म भावनात्मक रुपमा अलि नजिक थियौं । उनले बेहद माया गर्थिन् मलाई, मेरै सल्लाहामा चुरोट खान छोडेकी थिइन् । उनको घरमा पाकेको मीठो खानेकुरा मेरो लागि नछुट्टाएसम्म उनले खान्नथिन् । कि त आफ्नै घरमा बोलाउँथिन् कि मेरै घरमा खानेकुरा लिएर आउँथिन् । उनले मलाई माया गरेको देखेर अरु साथीहरुले डाहा गर्थे । प्राय सबै साथीहरुले मसँग बस्न, काम गर्न र मलाई मेरो काममा सघाउन मन गर्थे । कहिले घाँस काट्न, कहिले दाउरा बोक्न, कहिले खेत रोप्न त कहिले धान काट्न सघाउँथे । म खासमा साथीहरुको बिचमा प्यारो थिएँ । गाउँका मेरा साथीहरु सबैले पढ्न छोडिसकेका थिए । मेरो केटी साथीको सर्कलमध्ये म मात्र स्कुल जान्थेँ । स्कुल छोडिसकेका साथीहरुको सँगत गर्दा बाआमाले गाली गर्नुहुन्थ्यो ।
गोधुली साँझ थियो । जन्ती आए, छिटो दुलही निकाल भनेको सुने । म दुलहीको भेषमा थिइनँ । आजकलको फेसेनेबल विवाह जस्तो थिएन, एक छिनको तयारीमा साधारण तरिकाको विवाह । जस्तो भए पनि मलाई अस्वीकार थियो किनकी मेरो माग भनेकै पढ्न पाउँ भन्ने थियो । पढेपछि मलाई एउटा टुहुरो, गरिब केटासँग विवाह गरिदिनुस्, मलाई स्वीकार्य हुन्छ भन्थेँ । मेरो कुरा सुनुवाइ भएन ।
परम्परागत विवाहमा नुहाउने, सिंगारिने, सारी, गरगहना आदि लगाउने, जग्गेमा बसेर पुजा गर्ने आदि चलन थियो । जन्ती पर्छिने ठाउँमा गएर दुलाहालाई माला लगाइदिने चलन त्यति बेला पनि थियो, अहिले पनि छ । खै को आयो, मलाई याद छैन, छिटोतयार भएर आउ भन्दै गए । म तयार भइनँ । मलाई कस्ले कुन लुगामा सजाइदिए, कुनै हेक्का छैन । कसले समातेर ४ जना जन्ती भएको ठाउँमा पु¥यादिए, त्यो पनि थाहा छैन । मेरो हातमा एउटा माला थमाइदिए । मैले केटोलाई हेरिनँ । उसको टाउकोतिर मेरो हात गएन । केटो आफैले उसको टाउको मेरो हातमा भएको मालामा छिरायो । अनि म त्यहाँबाट फर्कें । औंठी लगाइदिएको पनि याद छैन मलाई ।
त्यसपछि सबैले खाना खाए । म बिरामी भएको कारणले रातभरी जग्गेमा राखेर पुजा गराएनन् । मलाई सुत्न पठाए । म सुतें । निद्रा लागेन । कैयन कोसिस गरेँ, निदाउन सकिनँ । श्वासप्रश्वासमा अवरोध भएको थियो । अहिले बल्ल थाहा पाएँ, मलाई त्यति बेला एन्जाइटी भएको रहेछ । इच्छाविरुद्धका व्यवहार नै एन्जाइटीको कारक थियो सायद ।
रात छिप्पिदै थियो । सुनसान बढ्दै गएको थियो । भान्सामा केही महिला थिए, सायद केही पाकिरहेको थियो त्यहाँ । मेरो मनमा अशान्ति बढिरहेको थियो । रिसले चुरचुर भएको थिएँ । भाग्न मन लाग्यो रातारात । म आफ्नो बिस्ताबाट जुरुक्क उठेँ, मलाई थाहा छैन कति बजेको थियो । म खेततिर गएँ । जाँदै थिएँ अनिश्चित गन्तब्यतिर । थाहा छैन कहाँ पुग्दा रिस मर्छ र मनमा शान्ति आउँछ तर म गएँ । हिँड्दाहिँड्दै कुलोमा लडेछु । मलाई थाहा छैन आफु लडेको । पानीसहितको हिलो कुलोमा लडेछु ।
म सुतेको ठाउँमा कोही हेर्न आएका रहेछन् । मलाई देखेनन् । हल्लाखल्ला चलेछ एकैछिनमा । कान्छी त छैन, कता भागी ? खोज्न जानु पर्यो, आदि इत्यादि … । सबैजना खोज्न हिँडेछन्, टर्चलाइट बालेर । कुलोमा लडिरहेको बेलामा भेटेछन् । कसले भेटायो मलाई थाहा छैन । त्यहाँबाट मलाई उठाउँदा बल्ल थाहा पाएँ कि म लडेछु । धेरै दिनदेखि ज्वरोले थलिएको म । त्यसैमा विवाहको तनाव । सायद इनर्जीलेवल ह्वात्तै घट्यो होला । म बेहोस भएछु ।
त्यहाँबाट उठाएर लगेपछि मलाई एक्लै सुत्न दिएनन् । वरीपरी दिदीबहिनी र साथीहरुलाई राखेर मलाई बीचमा सुताए ता कि म फेरि भाँग्न नसँकु… ।
बिहान झिसमिसे उज्यालोसँगै घरको आगनमा पुजा शुरु भयो । मेरा आँखाबाट आँशु बगिरहेका थिए ।
एकै छिनमा मेरो सिउँदो रंगाइदिए जबरजस्ती । यसमा बाको ठूलो भुमिका छ । आमा पनि निरिह बनिन् । मेरो संघर्ष जारी रह्यो । त्यही दिन, एक छिनपछि सबैको माझमा पानीले सिन्दुर पखालिदिएँ ।
‘अशुभ भयो’, चर्को चर्को स्वरमा आवाज आयो । सबैको ध्यान मतिर गयो ।
(क्रमशः)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)