सत्यमोहन जोशीः ज्याक अफ अल मास्टर अफ अल

श्रीओम श्रेष्ठ ‘रोदन’
निबन्धकृति ‘अभिवन्ध’बाट

सकिन्छ चिन्न सजिलै वास्तविक महापुरुषलाई । नम्रता नहुने मान्छे हुनै सक्दैनन् विशेष । हो, चिनाउने पहिला विनयशिलताले नै । हुनुहुन्छ त्यस्तै आख्यान शताब्दीपुरुष सत्यमोहन जोशी । हुनुहुन्छ ज्ञान र अनुभवले भरिपूर्ण । भएजस्तै विद्वता देखिनुहुन्छ सरल र विनम्र ।

हुनुहुन्छ व्यक्ति एक तर धनी अनेक व्यक्तित्वका । समुद्रजस्तै गहिरो छ ज्ञानको भण्डार । कुवेरको ढुकुटीजस्तै छ अनुभव । जे खोज्यो त्यही भेटिने । भण्डारहरुको पनि भण्डारजस्तै । पाउनसक्ने आवश्यक्ताअनुसार । भर्नसक्ने त्यसले त्यति नै जसले जत्रो भाँडो लिएर जानसक्छ ।

हुनुहुन्छ सिद्धहस्त कविता, कथा, नाटक, निबन्ध र लोकसाहित्यका । हुनुहुन्छ ज्ञाता संंस्कृति, दर्शन, कला, पुरातत्व विषयका । कायम गरेका छन् अभिलेखैअभिलेख किताबहरुले । नजान्नुभएको केही छैनजस्तो । नबुभ्mनुभएको पनि केही छैनजस्तो । सक्नुहुन्छ बोल्न र व्याख्या गर्न पनि । जुन क्षेत्रको जुनै सन्दर्भमा पनि घण्टौ । उल्टाइदिनुभएको उखान अङ्ग्रेजी । ज्याक अफ अल मास्टर अफ ननलाई । बनेर आपैm ज्याक अफ अल मास्टर अफ अल ।

थिचिएका छन् अहिले थाक्नै नपर्नेहरु । उमेरभन्दा बढीको बोझले थिचिएकाजस्ता । कुरिरहेकाजस्ता हातलाई भाग्य मानेर सुन्दर सम्भावना । लाग्नासाथ अलिकति उज्यालो घामको । बन्न खोजिरहन्छन् हुनुपर्नेभन्दा ठूलो । लागेजस्तै उन्माद । हुनुहुन्छ सत्यमोहन भने टुँडिखेलको घोडेजात्रामा दौडिने घोडाजस्तै वेगमा । थकाइ मार्न बिर्सिएजस्तै । दौडिरहनु भएको छ निरन्तर शताब्दीपार गरिसक्दा पनि ।

आयुले लागिसक्नुभएको छ एकसय दुई वर्ष । गरिसकेको छ सरकारले विभूषित विशेष । मानेर आख्यान शताब्दीपुरुष । दिएको थियो पाँच वर्ष ग्रेस त्रिमूर्ति निकेतनले । गरेको थियो सम्मान शताब्दीपुरुषको । पन्चानब्बे लाग्दा एकहत्तर मङ्सिरमा नै । गरेका थिए देशविदेशका एकसय एकवटा संस्थाले पनि अभिनन्दन । देखिँदैन बुढ्यौलीको सङ्केत । न देखिने ठाउँमा । न नदेखिने ठाउँमा नै । उर्जावान सधैँ । उत्साही सत्यमोहन सधैँ ।

होला सायद बाँच्नुको सार्थकता भनेको यस्तै । होला यस्तै बाँच्ने कला ऋषिमुनिले पनि । होइन अस्वाभाविक बिरामी हुनु । पर्नुभएको छ अस्पताल दुईपटक । छैन कसैलाई दुःख । न आपैmलाई भएको छ दुःख । न टेक्ने लौरो न कसैको साथ नै । छ बन्नसक्नुभएको सबैको । बन्नसक्नुभएको छ सधैँको पनि सत्यमोहन ।

हुनुहुन्छ इमान्दार आपूmप्रति । बन्नसक्नुभएको छैन बेइमान अरुप्रति । भन्छ हिजोले यही । भनिरहेको छ आजले पनि यही । विश्वास हो भोलि भनेको । ठूलाठूला आदर्श फलाक्नेहरु । देखिँंदैनन् बोलेजस्तै । देखेजस्तो सक्दैनन् बन्न । चकित पर्छन् होला छेपारा पनि रङ फेरको देख्दा ।

बाँड्छन् भ्रम अरुलाई । बाँच्छन् भ्रममा नै आपूm पनि । ढाक्छन् आफूभित्रको सत्यलाई राम्रो पहिरन र मिठो बोलीले । झुक्याउँछन् ओढेर यस्ता आवरण । झुक्किरहन्छन् आपैm पनि अरुलाई झुक्याइरहँदा । समस्या नै यही हो हाम्रो समाजको । सत्यलाई लुकाएर असत्यको पर्दामा उत्रिरहने । सत्यमोहन भने हेरिरहनुहुन्छ माथिबाट सगरमाथाले झैँ ।

बढिरहेको छ अविश्वास र कलह । बढिरहेका छन् भीड मान्छेका । बन्नुुभएको छ एक्लोजस्तो सत्यमोहन । बन्नुभएको छ अपवादजस्तै । भएजस्तै देखिने र गर्ने त्यस्तै व्यवहार । नामजस्तै सत्य र कामजस्तै मोहन ।

स्वरुप छ त्यस्तै अग्लो । व्यवहार छ हार्दिक । छ लवाइमा आप्mनोपन । लगाउनुहुन्छ दौरासुरुवाल, कोट र टोपी । कपडा नेपालीको । देखिनुहुन्न अर्को कुनै स्वरुपमा कहिल्यै । देखिएरै चिन्ने अर्को परिचय हो उहाँको ।

छ घर पनि त्यस्तै । प्राचीन ऋषिमुनिहरुको कुटीजस्तै । आँगनमा तुलसीको मठ । रुख र फूलका लहराले छपक्कै छाना छाएका । गाइरहन्छन् बिहान र साँझ एकनासले चराहरु । नजिकै माता र पिताको अर्धकदको शालिक । संगँैको ठूलो घरमा नबसेर बस्नुहुन्छ ऋृषिहरुझँै कुटीमा बर्षौँदेखि । गर्नुभो दान त्यही घर पनि । बनेको छ अहिले ठूलो ‘सत्यमोहन लोकसाहित्य परिषद’ भवन । बस्नुहुन्छ छेउको सानो आश्रममा ।

होड छ अहिले ठूलो र आकर्षक घर बनाउने । लगाउन आँखा अरुको । बस्नुहुन्छ पाटन सहरको बखुंबहालमा । बनेको छ जीवनशैली नै सरल र सजिलो । नभएपछि लोभ होला गरिने त्याग यस्तै । हो आदर्श सत्यमोहन हुनुको पनि ।

बनेको छ जिउँदो सङ्ग्रहालय सत्यमोहन आश्रम । हुँदैन खाली कहिल्यै । आउजाउ गर्नेहरु भइरहन्छन् बिहानदेखि साँझसम्मै । आउँछन् कोही संस्कृतिका कुरा गर्न । कोही आउँछन् लोकसाहित्य बुभ्mन । आउँछन् कोही साहित्य र कलाका कुरा गर्न । कोही पुरातत्वका ,कोही आउँछन् इतिहासका कुरा गर्न ।

विमोचन गर्न आउँछन् पुस्तकको । कोही दिन मात्र आउँछन् पुस्तक । खाली हुँदैन पत्रकारहरु । अन्तर्वार्ताका लागि रेडियो, टेलिभिजनका । भइरहन्छन् पत्रिका र युट्युबवालाहरु । आइरहन्छन् खोज्दै घर उहाँलाई भेट्नका लागि । सँगै बसेर फोटो खिच्नका लागि पनि । भन्नुहुन्न कसैलाई पनि नाइँ । गर्नुहुन्छ सबैलाई आत्मीय व्यवहार । बुभ्mनुहुन्छ अरुले आपूmलाई महत्व दिएजस्तै । अरुको महत्व पनि । भ्याउँदैन सानो छातीले अरुको खुसीमा खुसी हुन । हो यो पनि एक प्रकारको जीवनकला नै ।

नलग्दोरहेछ बुढ्यौली पनि क्यारे । सादा जीवन, सक्रिय जीवन ,सकारात्मक सोचले । बढेकोबढ्यै छ हिजोको भन्दा सम्मान आज झन्झन् । भएर पो हो कि बोलाइ , लेखाइ र व्यवहारमा संयमता ? हो कि सोचाइमा दूरदर्शिता भएर ? सदाचार भएर पो हो कि ? सत्यमोहन सबैको बनिरहनसक्नुभएको ।

प्रकृतिजस्तो नियमितता छ उहाँको । न कसैले बिथोल्न खोज्छन् । न गर्न खोजेर नै सक्छन् । झुकाउने कल्पना पनि गर्नसक्दैनन् कसैले ज्ञानअनुभवमा । झुकिरहनुहुन्छ् आपैm लटरम्म हाँगाजस्तै । भेटिरहन्छु प्रायः केही न केही निहुँमा । जतिपटक भेटेको छु त्यति नै पटक भुतुक्क भएको छु शालिनताले । भने पनि मैले । भनिरहन्छन् यस्तै अरुले पनि । हुनुहुन्छ नै त्यस्तै । मिल्नसक्ने पानीजस्तोे जोसँग पनि ।

भइरहन्छ भेट कार्यक्रमहरुमा निरन्तर । निम्त्याएको छु धेरै नै पटक कार्यक्रममा प्रमुख आतिथ्यको । गरेको छु अन्तर्वार्ता पटकपटक । पत्रिकाका लागि र एफएम रेडियोका लागि । आउनुभएको छ स्टुडियोमा नै पनि । अरु त अरु नेवारहरुको म्हपूजाको दिन पनि राति ।

गरेको छु सोधीखोजी साँंंस्कृतिक डकुमेन्ट्री बनाउँदा । भन्नुभएको छैन कहिल्यै भ्याइनँ भनेर । मान्नुुभएको छैन कहिल्यै अप्ठेरो । जहिले पनि तयार । जेमा पनि तयार । जहाँ पनि तयार । सीमाहीन शालिनताको परिभाषा के हुनसक्ला योभन्दा बढी ?

भएको छु झङ्कृत जहिल्यै । उहाँको उमेर र सक्रियतामा । भएको ज्ञान र गर्नुभएको प्रयोगमा । उहाँको शालिनता र बिनम्रतामा । उत्साही बनेको छुँ कुनै कुराले दुःखी हुँदा । पाएको छु उर्जा भेटे जतिपटक । जितजस्तै भएका छन् मेरा लागि प्रत्येक भेट ।

जिउनुको सार्थकता होला यही मान्छेको । के कुरा भयो र बाँच्नु मात्रको ? सासैले मात्र बाँच्ने, आसैले मात्र बाँच्ने । आफ््mनै लागि मात्र बाँच्ने । मरेपछि मर्ने जीवनको अर्थ के ? जन्मिरहेका छन् करोडौँ मान्छे त । छन् मरिरहेका पनि करोडौंँ नै ।

होलान् कति सत्यमोहनजस्तै बाँच्नसक्ने ? बाँचेर अरुलाई ज्ञान र अनुभव बाँडिरहनसक्ने । आत्मबल र उत्साह बढाइरहनसक्ने । बनिरहनसक्ने अरुका लागि आदर्श । होइन त्यत्तिकै आइरहने भेट्न देशविदेशबाट मन्दिरमाजस्तै । बन्नुभएको छ सेलिबे्रटीजस्तै । जीवित इतिहासजस्तै । कमै होलान् एकपटक भेट्ने नचाहने नेपाली कोही पनि ।

जन्मनुभो बखँ्बहाल अर्थात् परेवा बस्ने ठाउँमा । वैशाख तीस गते उन्नाइस सय सतहत्तरको साइतमा । भए पनि नाम एउटै । हुनुहुन्छ धनी धेरै व्यक्तित्वको ।

भन्छन् कसैले लोकसाहित्यकार । कसैले संस्कृतिविद् । भन्छन् कसैले मदन पुरस्कारका ह्याट्रिककर्ता । भने कसैले महाविद्यावारिधि पाउने पहिलो । भने कसैले प्रज्ञाप्रतिष्ठानका सक्षम सदस्यसचिव । भने कसैले गाईजात्रामा हास्यव्यङ्ग्य चलाउने । भने कसैले नयाँ वर्षमा नाटक प्रतियोगिता गराउने । भने कसैले संस्कृति तथा पुरातत्व विभागको पहिलो महानिर्देशक । भने कसैले पाटन दरवारमा पुरातत्व बगँैचा बनाउने ।

भने कसैले तौलीहवामा पुरातत्व सङ्ग्रहाल बनाउने । भने कसैले भक्तपुरमा चित्र सङ्ग्रहालय बनाउने । भने कसैले राष्ट्रिय नाचघर बनाउने । भने कसैले न्युजिल्याण्ड पुग्ने पहिलो नेपाली । भनुन भन्नेहरुले जेजे नै । बाँचिरहनुभएको छ सत्यमोहन मात्रै सत्यमोहन भएर । न मात्तिनुभएको छ खुसीले कहिल्यै । न आत्तिनुभएको छ कहिल्यै दुःखले ।

परेको छैन जोखिन आजसम्म अर्काको तराजुमा । हाँस्नुपरेको छैन धरौटीमा आजसम्म । भरिन परेको छैन कसैको मानोपाथीमा । पुग्नुहुन्छ त्यसैले जहाँ पनि । भएजस्तै बनेर अग्लो । बोल्नुहुन्छ गर्वले । हिँड्नुहुन्छ फुकाएर छाती ।

सकिसकेपछि पनि पटकपटक बूढोपास्नी । पुग्नुभएको छ युरोप ,अमेरिका पनि । पुग्नुहुन्छ जति टाढाको कार्यक्रममा पनि । नपुगेको कुनै ठाउँ छैनजस्तो । छैन कुनै क्षेत्रस्तो । पर्थेन जति टाढाको कार्यक्रममा पनि लिन कसैले । नपर्ने पु¥याउन जान पनि । पुग्नुहुन्छ कार्यक्रममा समयभन्दा अगाडि नै । ढोँग ढालिदिनुभएको छ । ढिलो पुग्नुपर्छ भन्ने प्रमुख बनेपछि आमन्त्रितभन्दा । छाड्नुहुन्छ जहाँ पनि सत्यमोहन हुनुको अर्थ ।

Ad

लगाइदिएको छ मुखुण्डो विज्ञापनले वर्तमानलाई । बाइ वान गेट वान भनेजस्तै बनेको छ जिन्दगी । निदाउने आँखा उधारो ल्याएजस्तो । सुकोमल डसनामा निदाउन नसक्नेहरुलेजस्तै । खोक्रो बाँसजस्तो बन्नथालेको छ जीवन । होइन सानो कुरा यस्तो समयमा । आपूm र आफ्नै भएर बाँचिरहनु । भोग्ने उहाँ नै हो । राणाकाल, पञ्चायतकाल, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जेजे तन्त्र भने पनि । साक्षी हुनुहुन्छ सबै कालको । भए पनि हुनुभएको छैन तलमाथि अलिकति पनि ।

गोरखापत्रमा कविता छापियो पहिलोपटक । त्यसपछि निबन्ध । छापिए भटाभट भाषा, नाटक, संस्कृति । गर्नुभो खोजी लोकगीत ,पुरातत्वको । लेख्नुभो महाकाव्य, मूर्तिका कुरा र मुद्र«ाका कुरा पनि । छन् झण्डै छ दर्जनजति पुस्तक । छैन कुनै विधा हात नहाल्नुभएको । हुनुभएको छैन असफल पनि कुनैमा । मान्छे जत्तिकै दहे छ उहाँको कलम । नेपाल भाषा ,नेपाली भाषा र अङ्ग्रेजी भाषामा पनि ।

जानुभो चीन नेपाली भाषा सिकाउन । चलाउनुभो नेपाली कार्यक्रम पेकिङ रेडियोमा चार वर्ष । खोजेर कलाकार अरनिको बनाउनुभो पुस्तक नै । ल्याउनुभो चर्चामा । बनाउनुभो विभूति । जानुभो राष्ट्रसघीय कार्यक्रमबाट न्युजिल्याण्ड । बन्नुभो पुग्ने पहिलो नेपाली । तेन्जिङ र हिलारीले सगरमाथा टेकेको भोलिपल्ट नै । पाउनुभो कल्पनै नगरेको खुसी र सम्मान ।

नाटक लख्नुभो ‘फर्केर हेर्दा’ । देखाउनुभो जुम्लासम्म । राजधानीबाहिर पहिलोपटक । त्यतिमात्र कहाँ हो र ? चल्यो नाटक निकै । कमायो पैसा पनि । फेरियो कुलपतिको थोत्रो गाडी पनि । हो कुरो तेतीस सालको । हुनुभो आफै पनि कलाकार डबली नाटकको ।

सकेका छैनन् मञ्चको पर्खाल नाघ्न । अभिनय गर्ने कलाकारहरुले । प्रशंसाका जति ताली बजे पनि जान दिँदैनन् प्रेक्षालयका भित्ताहरुले बाहिर । जीवनमै अभिनय गर्नेहरु । चुमिरहेका छन् सफलताको शिखर । कला हो यो पनि एउटा । पर्छ जस्तो जहाँ । गर्छ अभिनय त्यस्तै । बनाइदिन्छन् दर्शक अरुलाई ।

यथार्थ कुन र कुन अभिनय छुट्याउन नसक्ने छ हूल । सत्य अभिनय गरिरहनुभएको छ सत्यमोहन । छोड्नुभएको छैन उहाँले कुनै क्षेत्र । न छोड्न दिएको छ कुनै क्षेत्रले उहाँलाई । होइन त्यसैले नाम मात्र सत्यमोहन । बनेको छ कीर्तिमानै कीर्तिमानी नाम ।

बढिरहेको छ उमेरजस्तै उचाइ सत्यमोहन जोशीको । परिवर्तन गरिरहेको छ समयले सबैलाई । कुरै छाडौँ नेताहरुको । कलाकार र साहित्यकार पनि बज्छन् समयअनुरुपको ट्युनिङमा । हराउँछन् समय गएपछि । बजिरहनुभएको छ सत्यमोहन सधैँ आफ्नै ट्युनिङमा । बनाएको छ कालजयी यही सदाबहारले नै । नभने पनि सधैंँका लागि र सबैका लागि ।

बन्नुभएको छ सुपरस्टारजस्तै सिनेमाको ।
साधनाले भाषा, साहित्य, कला र संस्कृतिको ।
नबनेर बूढो कहिल्यै ।
विश्वविद्यालयहरुको भाषामा महाविद्यावारिधि ।
राज्यको भाषामा आख्यान शताब्दीपुरुष ।
जनताको भाषामा हाम्रो सत्यमोहन, सधैँको सत्यमोहन ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button