
धेरै मानिस कहिल्यै सुन्दैनन्
सुशीला शर्मा
-एक बुद्धिमान व्यक्तिले कहिलेकाँही मूर्खहरुसंग समय बिताउनको लागि नशामा हुनुपर्दछ ।
- युद्धको विषयमा यो नसोच्नु कि यो अपराध होईन भनेर चाहे त्यो जतिसुकै आवश्यक किन नहोस या जतिसुकै उचित किन नहोस् ।
-कदम चाल्नु कहिल्यै गलत हुँदैन् ।
-युद्धमा बिना कुनै असल कारण तपाई जनावर या किरा फट्यांग्रा जसरी मारिनुहुन्छ ।
-सबै मानिसका जीवन एउटै किसिमले समाप्त हुन्छ तर उनीहरु आफ्ना जीवन कसरी जिउँछन्, यसले उनीहरु आम भन्दा भिन्न हुन्छन् ।
-मलाई सुन्न मनपर्छ । मैले ध्यान दिएर सुन्नेगर्दा धेरै कुरा सिकेको छु । धेरै मानिस कहिल्यै सुन्दैनन् ।
-चलायमान छु भन्दैमा तपाई काम नै गरिहनुभएको छ भन्ने मानिदैन् ।
-तपाई एकस्थानबाट अर्को स्थानमा जाँदैमा आफैबाट टाढा हुन सक्नुहुन्न ।
-एउटा बफादार पुस्तक जति बफादार साथी कोही हुँदैनन् ।
यी भनाई प्रसिद्ध अमेरिकी लेखक, साहित्यकार, पत्रकार, नाटककार अर्नेष्ट हेमिङ्गवेका हुन् । यस लेखमा हेमिङ्गवेबारे केही जानकारी ।
अमेरिकी उपन्यासकार तथा कथाकार अनि पत्रकार जस्ता बहुआयामिक व्यक्तित्व अर्नेष्ट हेमिङ्गवे सन् १९५४ मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता थिए । आफ्नो संघर्षपूर्ण जीवनको अनुभवको यिनले सफलतापूर्वक सिर्जनात्मक उपयोग गरेका थिए । यिनले यस्ता कयौं सचनाहरु साहित्यमा दिए जुन उनको आत्म अनुभव भएको संकेत मिल्दछ । उनको साहित्यमा कलात्मकताले पनि उचाई छोएको थियो । यिनको जन्म २१ जुलाई १८९९ मा भएको थियो ।
अर्नेष्ट हेमिङ्गवेको साहित्यिक र लेखन विधा उपन्यास नाटक, कविता तथा पटकथा थियो भने यिनी युद्ध पत्रकार पनि थिए । हेमिङ्गवेको समयमा पहिलो विश्वयुद्ध चलिरहेको थियो, त्यसकारण पनि यिनी योद्धा लेखक थिए । अर्नेष्ट हेमिङ्गवेको पूरा नाम अर्नेष्ट मिलर हेमिङ्गवे थियो । यिनका पिता स्वास्थ्यकर्मी थिए ।
बाल्यावस्थामा हेमिङ्गवेलाई पढ्न लेख्न त्यति मन लाग्दैनथ्यो । उनी हाईस्कुलबाट कयौं पटक भागेका थिए । उनी १८ वर्षको हुँदा त्यसबेला विश्वयुद्ध चलिरहेको थियो । उनको सेनामा भर्ती हुने ईच्छा थियो तर डाक्टरले उनको आँखा कमजोर भएकोले असक्षम साबित गरिदिए । सन् १९१८ मा रेडक्रसमा एम्बुलेन्स चालकको रुपमा काम गर्न थाले र ईटलीको मोर्चामा पठाईए । उनको प्रथम विश्वयुद्धमा सैनिक भएर सहभागी हुने ईच्छा यो एम्बुलेन्स चालकको जागिरले पूरा गरिदियो । सन् १९२० मा उनी फेरि पत्रकारिताको क्षेत्रमा आए र लगातार सन् १९२६ सम्म काम गरिरहे । यसपछि पनि उनको पत्रकारितामा लगाव रही नै रह्यो ।

हेमिङ्गवेको जीवन संघषपूर्ण रहेको थियो । उनले गरिबीलाई नजिकबाट अनुभव गरे । तर सफल भएर सम्पन्नतालाई पनि अनुभव गरे । उनको सफलता धेरै संघर्ष र आफ्नै शैलीको साधनाको बाबजुद मात्र प्राप्त भएको थियो ।
जीवनको प्रारम्भिक चरणमा हेमिङ्गवेले पेरिसमा थुप्रै वर्ष गरिबीमा जीवन बिताउनु परेको थियो । उनी जहाँ रहेपनि त्यही परिस्थितिबाट प्रेरित भएर आफ्नो लेखन कार्य गर्दथे । टोरन्टोमा बस्दाताका गरटूड स्टीनसंग मित्रता भयो । स्टिनले हेमिङ्गवेलाई गोरु र मान्छेको लडाँई हेर्ने आदत बनाईदिईन् । यसको बारेमा उनले आफ्नो सुप्रसिद्ध कथा “डेथ ईन दि आफ्टरनुन” मा बयान गरेका छन् ।
सन् १९२८ मा उनी पुःन अमेरिका फर्किएर १० वर्षसम्म बसे । जुन समय उनका लेखन कार्यको लागि उपयुक्त बन्यो । सन् १९४१ म उनी युद्ध सम्वाददाता बनेर चाईना गए । चीनमाथि जापानको अतिक्रमणको घटनाको साक्षी पनि भए र त्यहाँबाट फर्केपछि जीवनको अन्तिम समय हवानामा बसे । सन् १९६१ मा हेमिङ्गवे आफ्नो घरमै बसेर बन्दुक साफ गर्दागर्दै अकस्मात आफ्नै हातबाट उनको मृत्यु भयो । हेमिङ्गवेले आफ्नो जीवनकालमा चारजना महिलासँग विवाह गरे । ती मध्ये उनको पहिलो श्रीमती स्वास्यकर्मी थिईन भने बाँकी तीनजना पत्रकार थिए । यिनको वैवाहिक जीवनमा आएका चारैजना महिलासँग यिनको सम्बन्ध विच्छेदमा टुङ्गिएको पाईन्छ । युद्ध र प्रेममा आधारित भएर जति पनि उपन्यासहरु लेखिएका थिए । ती मध्ये पनि अर्नेष्ट हेमिङ्गवेको फेयरवेल टु आम्र्स प्रसिद्ध छ । यसको प्रकाशनको समयमा हेमिङ्गवेको उमेर २७ वर्षको थियो । यिनले स्पेनको गृहयुद्ध, चीन जापानको युद्ध, दोश्रो विश्वयुद्धको विभिषिकालाई युद्ध समाचार दाताको रुपमा नजिकबाट नियाले ।
हेमिङ्गवे युद्धका अतिरिक्त शिकार यात्राको सौखिन थिए । अफ्रिकाको जंगलमा गरिएको शिकार यात्राको आधार बनाएर ग्रीन हिल अफ अफ्रिका नामक उपन्यास लेखे । यस उपन्यासका भूमिका तथा पात्र काल्पनिक थिएनन् । उनका कयौं कथाहरुमा जंगलका जीवनका चित्रण छन् । उनले त्यस्तो केही पनि लेखेनन्, जसलाई आफूले जीवनमा अनुभव गरेनन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)