झमककुमारी घिमिरेसँग ३ घण्टा

मीरा पुडासैनी

यही (२०७८) सालको महिलाहरूको महान चाड हरितालिका तिजको व्रतको दिन माइतीमा तिज मनाउन गएकी थिएँ । माइती गाउँमा, मजस्तै एक चेली, हाम्री देशकि गौरव, धनकुटे चेलीलाई भेट्ने सौभाग्य मिल्यो । मेरी जेठी दिदीको कारणले गर्दा नै मैले झमकलाई भेट्ने यो सौभाग्य पाएकी थिएँ । झमकलाई बुनु भनेर सम्बोधन गर्दै आएकी दिदीले फोन गरेर हामी भेट्न आउने कुरा जानकारी गराइदिएकी थिइन् ।

जो कोहिलाई नभेट्न र जो कोहिले सजिलै भेट्न नसक्ने झमकले परिचित र पहिले नै समय लिएर जानेहरूलाई मात्र भेट्ने गरेकी रहिछिन् । हामी त्यहाँ पुगेपछि झमककी ६७-६८ बर्षकी कमजोर देखिने आमाले बाहिरको ठुलो गेट खोलिदिइन् ।

कसरी संवाद गर्लिन् है झमकले भन्ने जिज्ञासा मनमा लागिरहेको थियो । हामी जानेबित्तिकै आमाले कापी र कलम ल्याएर अगाडि राखिदिइन् । न त म त्यहाँ पत्रकारको हैसियतमा थिएँ न कुनै समाचार बनाउने अभिलाषाले । तर एकदमै विलक्षण प्रतिभाकी धनी झमककुमारी अपाङ्ग भई जन्मकी तर एक साहसिक र सचेत सिर्जनपुन्ज रहिछिन् । उनी बोल्न नसक्ने तर हामी बोल्न सक्नेहरूको कुराहरूभन्दा पनि सुन्दर र शक्तिशाली हुने रहेछन् उनका विचारका अभिव्यक्तिहरू जसलाई उनी कवितामा उतार्दिरहिछिन, लेख–निबन्धमा पोख्दिरहिछिन, उपन्यासमा कोर्दिरहिछिन । दृष्टि कमजोर छ, तर बाक्लो चश्माभित्रका आँखाबाट झमककुमारी सुन्दर कुराहरू, अरूले कुरूप देख्ने शरीर अनि कुरूपताकै विरूद्ध विचार अभिव्यक्ति दिन सिपालु रहिछिन् । जन्मजात सेरेब्रल पाल्सी भन्ने रोगले सताईएकी, दुवै हात नचल्ने, ढाड सीधा नभएको शरीर, खुट्टा डोब्रिएकी, शरीर खुम्चिएकी, बेला बेलामा मुखबाट र्याल झार्दै हाम्रा कुराहरू बुझेर सुन्छिन् र खुट्टाकै औंलाले कलम च्यापेर उत्तर सिर्जनाका हरफहरू कोरिरहन्छिन् । त्यही भएर झमकको बारेमा केही लेख्ने कोशिस गर्दैछु ।

२०३७ असार २१ गते धनकुटा नगरपालिका–३ कचिडे भन्ने ठाउँमा पिता कृष्णबहादुर घिमिरे र माता आशादेवी घिमिरेको कोखबाट जन्मेकी उनले २०५२ सालदेखि मात्र साहित्यिक लेखनको सुरूवात गरेकी रहिछिन् । झमकले कविता, कथा, निबन्ध, जीवनी सबै लेखनमा राम्रो दख्खल देखिन्छ र उनका हालसम्म प्रकाशित कृतिहरू आफ्नै चित्ता ः अग्निशिखातिर (२०५७), मान्छेभित्रका योद्धाहरू (२०५७), अवसानपछिको आगमन (२०५७), सम्झनाका बाछिटाहरू (२०५७), नौलो प्रतिबिम्ब (२०६०), पर्दा, समय र मान्छे (२०६२), बेमौसमका आस्था (२०६३), झमक घिमिरेका कविताहरू (२०६५), जीवन काँडा कि फूल (आत्मजीवनी–२०६५), आगो र झिल्काहरू, डायरीका पानाहरू आदि छन् । उनको जीवन काँडा कि फूलले त २०६७ मा मदन पुरस्कार प्राप्त गरेको थियो ।

तत्कालिन सरकारले पशुपति विकास कोषको जग्गामा बनाइदिएको साढे दुई तल्ले सुविधासम्पन्न राम्रो घरमा करिव एक वर्ष अघिदेखि बस्न थालेको कुरा आमासँगको कुराकानीबाट थाहा पाइयो । तर, घरबाहेक सुरक्षा, बिजुली, खानेपानी, झमकको ओैषधी उपचारको निम्ति भने केही नगर्ने थाहा पाएर खिन्न लाग्यो । यसको निम्ति झमक घिमिरे प्रतिष्ठान, निवर्तमान प्रधानमन्त्री केपी ओली साथै पत्नी राधिका शाक्यबाट बेला बेलामा तथा झमककी आमाले पटक पटक लिइरहेको नाम अनिता लामाको पहलबाट मिलेको सहयोगले अन्य खर्च धानेको कुरा थाहा पाइयो ।

जन्मदेखि नै दयालाग्दो शरीर बोकेर बाँचेकी उनले बालखकालमा आफ्नै आमा, बुवाबाट पाएको अपमान र अपहेलनाका फेहरिस्त उनकै आमाले सुनाउँदै गर्दा आमाको मन र आँखा रसाएको प्रष्ट देखिन्थ्यो । उनी जन्मेको घर र समाजमा उनको जन्मपश्चात त्यो परिवार सामाजिक रूपमा बहिष्कृत हुनु परेको र उनकी आमालाई त कसैका भर्खर जन्मिएका नवजात सन्तानलाई पनि छुन नदिइएको कुरा सुन्दा मन सार्है बिछिप्त बनेको थियो ।

कुनै औपचारिक शिक्षाबिना नै झमकको साहित्यिक यात्राले विश्व जगतसगँ परिचित हुन सकेकी झमकले कुराकानीकै क्रममा पनि उनीसगँ फेसबुक मेसेन्जरबाट सम्पर्कमा रहेकाहरूको सन्देशको जवाफ आफ्ना साना खिरिला खुट्टाको ओैलाको सहायताले गरिरहन्थिन् । दायाँबायाँ बसेर हामी दुई दिदीबहिनीले गरेको संवादलाई निकै सरल तरिकाले फर्काइरहेकी थिइन् ।

हामी बोलेर प्रश्न सोध्थ्यौं, उनी तत्कालै लेखेर गहिरो उत्तर दिन्थिन् । उनको परिधि फिँजारिएर आफु जन्मिएको गाउँ, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय क्षेत्रसम्म फैलिई सकेकी छिन् । त्यसैले उनको विचार सङ्कीर्ण छैन ।

हरितालिका तीजको ब्रतको दिन हामी दिदीबहिनीहरू निर्जल, निराहार ब्रतमा थियौं । उनकी आमाले पानी पिउने भनेर सोध्दा पानी पनि नपिउने भन्ने जानेर, कस्तो पानी पनि पिउन नहुने व्रत होला है भन्दै कापीमा लेखिन् । उनको फराकिलो सोचाई, उदार हृदय भएको कुरा उनले लेखेर दिएको उत्तरमा झलकिन्थ्यो ।

फोटो खिच्ने अनुरोध गर्दा उनले लेखेको हरफले आशुँ आयो आँखामा । सौन्दर्यचेत हो वा अरू केहि तर उनले लेखेको तपाईहरूले तिज भएर लगाएको रातो सारीलाई राम्रो राम्रो लुगा लगाउनु भएको छ, मेरो त यस्तो छ लुगा भन्ने भाव झल्काउने गरी उत्तर दिइन् ।

तिजको उपहार भनेर मेरी दिदीले उनलाई र उनकी आमालाई चुरा अनि टीका उपहार लगिदिएकी थिइन् । उनले चुरा लगाउन मानिनन् ।

यस्तो सादगी जीवन बाँचिरहेकी झमकभन्दा ठुलो प्रेरणा अरू के हुन सक्ला र ? हामीले तिजमा लगाएका केही सुनका गहनातर्फ पनि उनी सचेत देखिइन् र सुनले असुरक्षा दिने कुरा लेख्न भ्याईन् । कस्तो गहन सोचाई, मैले उनका केही रचनाहरूमा चिनेकी झमकभन्दा त्यसदिन प्रत्यक्ष भेटेकी झमक स्निग्ध, स्थिर र विशिष्ट लागिरहेको थियो ।

साहित्य लेखनमा रुचि अनि केही सुरूवाती अवस्थामा रहेका मजस्ताको निम्ति के सल्लाह दिनु हुन्छ ? एउटा कथा प्रतियोगिताको निम्ति कथा लेख्दै गरेकी मैले उनीबाट केही खुराकको आशा राखेर प्रश्न सोधेकी थिएँ । ‘लेख्ने कोशिस गर्दै जानू पर्छ, सुरूवात गर्नु भएको रहेछ, लेख्नुस् । पुरस्कृत हुनै पर्छ भन्ने छैन, लेख्नको निम्ति धेरै पढ्नु पर्छ, विस्तृत अध्यन हुनुपर्छ’ भनिन् ।

Ad

म उनको उत्तरले कृतज्ञ भएँ । कस्तो सरल अभिव्यक्ति । शरीर सानो र अप्ठ्यारो भए पनि हृदय ठुलो भएकी उनीसँगको कुराकानीकै क्रममा छोरी र छोरी मान्छेको शरिरको अस्तित्व र अधिकारका कुरा हुँदा, अविवाहित आमा, आफ्नै शरीरमाथिको नारीको अधिकार पुरूषमा निहित हुन नहुनेजस्ता गह्रौं कुरामा उनको विचार सङ्कीर्ण नभएको र स्वार्थरहित भावना उनमा पनि रहेछ भन्ने कुरा थाहा भयो र अन्धविश्वास उनलाई मन पर्दो रहेनछ भन्ने लाग्यो । जीवनलाई गति दिने खालको साहित्य मन पराउने उनका लागि कलम र पुस्तक नै जीवनका सबभन्दा प्यारा चिजहरू रहेछन् । उनमा देखिएको आत्मविश्वास र आलोचनासँग डर नमान्ने उनको बानीले आलोचनासँग डराउने हामीजस्ता मानिसलाई प्रेरणा दिँदोरहेछ।

अधिकाँश मानिसहरू थोरै काम गरेर धेरै जस बटुल्न खोज्छन् । तर, साहित्यको क्षेत्रमा थोरै लेखेर तुरून्तै ठूलो सम्मान खोज्नु हुँदैन तर लेखनमा निरन्तर लाग्नु भनेर हौसला दिँदा आल्हादित भएँ । शारिरक रूपमा सक्षम र आफूसँग केही भएपछि संसार नै जितिसकेको झैं घमण्ड गर्नेहरू झमकका सामु निकै होचा लाग्यो मलाई । जीवन के हो ? उनको जीवन काँडा कि फुलले बुझाइदिइसकेको छ । मैले दोहोर्‍याएर पढेको यो किताबको अगाडिको गातामा स्वच्छन्द हाँसेकी झमक धेरैकी प्रेरणा र राष्ट्रिय गौरवलाई भेट भएको यो संयोग जीवनकै मिठो संयोग भएको छ ।

सरकारले बनाइदिएको त्यो सुविधासम्पन्न घरमा, झारा तिरेको झै देखिने र सामान्य लाग्ने कुराहरू जस्तै घरभित्र जाने बाटो गतिलो नहुदाँ आकस्मिक उपचारको निम्ति कसैलाई लानु परे एम्बुलेन्स पनि जान नमिल्ने बाटो भएकै कारण, ५ वर्षदेखि स्ट्रोक भएर पक्षघात भएका झमककै बुवा, छोरी र श्रीमानको स्याहार सुसारमा तल्लिन बुढीआमा र उनको भाई मात्रले कसरी त्यो कुराको व्यवस्थापन गर्न सक्लान् ? झमकलाई नियमित खानु पर्ने दवाई महिनाकै १६, १८ हजार र बुवाको निम्ति पनि त्यति नै खर्च लाग्ने कुरा पनि बुवाकै पेन्सनको भरमा गर्दै आएको कुरा, बिजुली र पानी, खाद्यान्न तथा रासन केहिको निम्ति पनि सरकारबाट सहयोग नदिइएको कुराले पनि नराम्रो लाग्यो ।

पशुपति विकाश कोषको जग्गामा बनाईएको घर वरीपरीको वातावरणमा हुने भिडभाड तथा होहल्लाबाट उनीहरूलाई अशुविधा भएको रहेछ भन्ने थाहा हुदाँ यस बारे सरकारले अझ्झ गहिरिएर सोचिदिएको भए हुने थियो कि जस्तो अनुभव भयो। रातीको समयमा नारी शरिरको व्यापार हुने सम्मका घटनाहरू घट्ने गरेको कुरा सुनाउदै झमककी आमा आफुलाई त धनकुटाको घरमा नै बरू सुरक्षित हुने कुरा बताईरहनु भएको थियो।

आमाको र झमकसँगको कुराकानीपछि मलाई पनि उचित सुरक्षाको प्रबन्धविना सरकारले राम्रोसँग बस्ती नबसिसकेको र आप्रवासीहरूको बाहुल्यमा विस्तार भइरहेको जग्गामा यस्तो परिवार, यी विश्वले चिनेकी, शारिरिक रूपले असक्त स्रष्टालाई बनाइदिएको घर के के नमिले जस्तो लागेको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान्छ कि भन्ने अपेक्षाले पनि म यो लेख्न प्रेरित भएकी हुँ ।

देशमा तीन तहको सरकार रहेको स्थितिमा, केन्द्र, प्रदेश र स्थानिय सरकारले के के गर्न सक्छ, त्यही अनुसार यी नेपाली चेली, देशकी गौरव, साहित्यिक स्रष्टा झमककुमारी घिमिरेलाई वागमती प्रदेशभित्रको विकास निर्माणमा फट्को मार्दै अगाडि बढिरहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ स्थित झमककुमारी घिमिरेको घरलाई साहित्यिक घरका रूपमा स्थापित गरी अझ व्यवस्थित तरिकाले झमककुमारी तथा उनको परिवारको उत्थानका निम्ति स्थायी रूपमा केही गर्नेछ भन्ने विश्वास लिएकी छु ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button