धेरै पैसा असुल्ने डाक्टरको प्रशंसा

दर्दनाक उपचार प्रणाली

डा.अर्जुनदेव भट्ट

म विदेशबाट एघार वर्षपछि फर्केर आएँ । तर मैले आमासँग बसेर धित मर्ने गरी कुरा गर्ने मौका जुराउन सकेको थिइनँ । राम्रो कामको खोजीमा विभाग, मन्त्रालय र चिनजानका मान्छेको खोजतलासी, नर्सिङ होममा प्राइभेट प्राक्टिसको प्रशिक्षण, गोजी खर्चको दौडधुप, नातेदारसँग भेटघाट आदीमै समय धेरै जान्थ्यो ।

बिस्तारै काम पाएर जलेश्वर जाने दिन आयो । अब बल्ल आफू साँच्चै चिकित्सक भएको र आफ्नो ज्ञान र सिप बिरामीको निम्ति उपयोग गर्दै मावन जीवन बाँच्न पाइने भयो भन्ने सोचले मनमा हौसला, उमङ्ग र ऊर्जाको ज्वालामुखी नै विष्फोट भएको थियो । अर्कोतिर आमासँग बसेर अझै सुखदुःखको गन्थन गर्न भ्याएको छैन । यो कुराले मन खिन्न भइरह्यो । सधैँ दौडधुप छ, समयको अभाव छ । सोच्छु, के आमासँग बसेर आनन्दले कुरा गर्नेहरूको दिनरात २७ घण्टाको हुन्छ र ? मनमा यस्तै अनेक विचार र भावनाको हुरीबतास चलिरहन्छ ।

हामी जलेश्वर जानुभन्दा केही दिनअघि आमा आफ्नै कोठाको बाहिर एक्लै बसिरहनु भएको देखेँ । नगिचमा अरू कोही मान्छे थिएनन् । अलिक पर थुप्रै खेलौनाहरू लिएर हाम्रो छोरो मात्र बसेको छ । ऊ खेलौनाको संसारमा मस्त छ । म भ-याङ उक्लिएर अलि पर उभिएँ । देख्छु, भुकुल्ले नातिलाई हरेर आमा टोलाइरहनुभएको छ । उता नातिलाई केही मतलब छैन । आफूलाई कसैले नियालिरहेको छ भन्ने उसलाई पत्तै छैन ।

म आमाको अनुहार हेरिरहेको छु । आमा कसैसित केही मतलब नभएझैँ एक धुनमा नाति हेरेर मख्ख हुनुहुन्छ । यति रमाउनुभएको छ कि मानौँ, केही भन्न तम्तयार हुनुहुन्छ तर नातिसँग बोल्न आमालाई सकस छ । नाति नेपाली भाषा बुझदैन ।

केही दिनपछि हामीजलेश्वर गयौँ । समय नपत्याउँदो गरी छिटोछिटो बितिरहेको थियो । हामी जनकपुरमा खुशी जीवन बाँच्न सङ्घर्षरत थियौँ । शायद, परिवारमा सबैभन्दा खुशी पनि म नै थिएँ होला । बिरामीको चाप थियो । शल्यक्रियाका निम्ति बिरामीको ओइरो लाग्थ्यो । आफ्नो कामले औधी खुशी र सन्तुष्ट थिएँ ।

Ad

समस्या के थियो भने सरकारले दिएको तलबले गुजाराका लागि आधा खर्च पनि धान्दैनथ्यो । महिनाको छ सय रुपैयाँ भाडा तिर्ने गरी निर्माणाधीन एउटा घरको भुइँतला लिएको थिएँ । तलब भनेर मासिक ६५० रुपैयाँ हात पथ्र्यो ।

हामीजस्तै भाडामा बस्ने अरू पाँच परिवार थिए । त्यहीँमाथि फेरि घरधनी पनि । अनौठो कुरा के थियो भने भाडामा बस्नेलाई केके सुविधा दिनै पर्छ भन्ने केही रहेनछ । पानीका लागि छ वटा परिवारको एउटै ट्युबवेल थियो । राम्रो चाँही जाडोमा पनि बिहान मनतातो पानी आउने नलबाट । तर दिसापिसाबका निम्ति एउटा चर्पी छ, बिहानभरि भिड लाग्छ । जो छिटो उठ्यो, चर्पीमा उही पहिलो । शरीर हलुङ्गो हुने गरी ढुक्कले दिसा गर्न पनि नपाइने । सधैँ त्रास, बाहिर कोही कुरिरहेको छ कि भन्ने, कसैलाई निकै अप्ठ्यारो नै परिसक्यो कि भनेर हतार गर्नु पर्ने ! चर्पीको सफाइबारे भने वर्णन नगर्नु नै उत्तम हुन्छ । सबैका लागि एउटा कलधारो र एउटा चर्पी । सरसफाइको प्रश्न कसरी उठाउने ! अझ अनौठो अर्को सम्झना छ । हामीले कोठा बहालमा लिँदा घर निर्माणाधीन नै थियो । झयालमा सिसा थिएन । घरधनीले सिसा छिट्टै राखौँला भनेकोले त्यही घरमा स¥यौँ । अस्पताल जलेश्वरबाट सरिसकेको र अस्पतालमा डाक्टरहरूको क्वाटर सबै भरिभराउ भएकाले हामीसँग अर्को विकल्प थिएन । क्वाटर नपाउन्जेल म जनकपुर जान्नँ वा काम गर्दिनँ भनेर झगडा गरेर बसूँ त ! त्यो मेरो स्वभावमा नअट्ने कुरो प¥यो । म डेरामै बसेँ । झयालमा सोभियत संघबाटै ल्याएको तन्नाले ढाकेर काम चलायौँ । भुइँतला थियो । मान्छेहरू बीचबीचमा झयालको ग्रीलबाट हात पसाउँथे र तन्नाको छेउ उठाएर भित्र चियाउँथे । यस्तो थियो अवस्था ।

सात महिना भइसक्यो । गर्मीमा खुला झयालबाट भएभरका लामखुट्टे कोठामा पस्थे । तराई नै भए पनि जाडो मौसममा बिहान र राति निकै चिसो हुन्थ्यो । झयाल खुला भएका कारणले खास चाहिनेभन्दा बढी बाक्लो लुगा ओढेर रात बिताउनु पथ्र्यो । घरधनीले यस्तो समस्या बुझने चलन नै रहेनछ । झयालमा सिसा र जाली भनेको त स्वाङ जस्तो पो रहेछ !

राति जाडोले सुत्न नसके पनि वा लामखुट्टेले टोकेर सुत्न नपाए पनि बिहान सबेरै उठ्नै पथ्र्यो । पितृसत्ता समाजको घरमूली वा अन्नदाता म नै थिएँ । बिहान केही खाएर मात्रै अस्पताल जाने गरेको थिएँ । कोही राति राम्ररी नसुतेका हुन् वा जति नै थाकेका किन नहुन्, मेरो निम्ति सबैले मिलेर भोजन तयार पार्नै पथ्र्यो ।

करिब सात महिनापछि झयालमा जाली ठोकिए । सिसा अझै थिएन । सिसा ठोक्नुको महत्व घरधनीले बुझन खोजेनन्, किन चाहियो सिसा ! धरधनीको कुरा त यस्तो छ । भाडामा बस्नेले चाहेरमात्र नहुने ।

हामी डेरामा बसेको एक वर्षपछि अस्पतालमा एउटा क्वाटर खाली भयो । नाइट कलमा सुविधा, पानीको राम्रो सुविधा, आफ्नै एकलौटी चर्पी, आफ्नै सानो आँगन । क्वाटर पाएपछि मेरो तलबको छसय रुपैयाँ पूरै जोगिने मात्र हैन सुविधा नै राम्रो पाएर खुसी भएँ । आहा, कस्तो उपकार !

अब भने एकैचोटी परिवारको आर्थिक अवस्था उँभो लाग्ने भयो । हामीले काठमाडौँबाट जलेश्वर आउँदा ऋण काढेको पन्ध्र सय रुपैयाँ अब तीन महिना नपुग्दै तिर्न सकिने भयो । त्यो ऋण अक्सानाले आल्योना भाउजुसँग लिएकी थिइन् । आल्योना भाउजु बालकालदेखि मेरा चिनजानका दाजु विजयनाथ उप्रेतीकी श्रीमती । आल्योना भाउजु पनि सोभियत संघबाटै बिहे गरेर आएकी हुन् ।

आल्योना भाउजुको स्वभाव कस्तो भने बोलीमा निकै खरो, कडा र उनलाई लागेको कुरा सामुन्नेमै भनिदिने । उनी बस्ने कालिकास्थानमा । अक्सानालाई सजिलो हुन्छ भनेर मैले सुरुमै भेटाइदिएको थिएँ । उनले नै बच्चाहरू देखेर तिमीहरू नयाँ ठाउँ तराईमा जाँदैछौ, यो पैसा लग भनेर आफ्नो अगाडि गन्न लगाएर दिएकी थिइन् ।

अक्साना कोसँग अलिकति ऋण माग्ने होला भनेर सोचिरहेकी थिइन् । यही बेला आल्योना भाउजुले पन्ध्र सय रुपैयाँ आफ्नै खुशीले दिँदा त उनी हर्षविभोर हुनुको सीमा नै रहेन । कहिलेसम्ममा फर्काउनु पर्ला भनेर सोध्नु त कर्तव्य नै हो । भाउजुले त फर्काउन सक्ने भएपछि फर्काउनू, हामीलाई हतारो छैन भनिछन् । अहो, कति ठूलो राहत ! हामीलाई त टुँडीखेलमा भाग्योदय चिट्ठा परेको जस्तो भयो । अहिले त पन्ध्र सय रुपैयाँकुनै पैसा नै होइन । त्यो समयमा पन्ध्र सय रुपैयाँ निकै ठूलो धनराशी थियो हामी जस्तालाई । मैले पाउने मासिक तलबको झण्डै तीन गुणा बढी । हामीलाई लुगाफाटो केही किन्नु थिएन, खालि खाने कुरो, मट्टीतेल, साबुन, मञ्जन इत्यादि चाहिएको थियो ।

एक रातको कुरा हो, म अस्पतालको कलबाट आएको करिब एक घण्टा भएको थियो । म गाढा निद्रामा थिएँ । बाहिर आँगनमा धेरै मान्छेले ठूलो होहल्ला गरेछन् । अक्सानाले मलाई उठाइन् र सुन त बाहिर केको हल्ला हो भनिन् । मेरो कानमा राति सुतेको बेला डाक्टर साब, डाक्टर बाबु. यस्तै आवाजमात्र छिर्ने गथ्र्यो । मैले यसो सुन्ने प्रयत्न गरेँ, खासै हल्ला भएजस्तो केही लागेन । अक्सानालाई सुत केही होइन, कोही छिटै उठेर गयो होला, बाहिरबाट ठूलो आवाज आयो होला भनेँ ।

अक्साना त कान थापेर केको हल्ला हो भनेर बुझने प्रयत्नमा लागिछन् । उनी नेपालका भाषा नजान्ने, मानिस के भनेर कराउँछन् भन्ने उनलाई थाहा हुने कुरै भएन । एक छिनपछि फेरि हल्ला बढेछ । अक्साना डराइन् र मलाई मधुरो स्वरले फेरि उठाइन् । मानिस के के भनेर कराउँदैछन् । मधेशतिर सामान्य कुराकानीमा पनि निकै ठूलो आवाजमा बोल्ने चलन रहेछ । मैले अर्धनिद्रामा बाहिरको आवाज सुन्ने प्रयत्न गरेँ । अहँ, मेरो कानबाट त कुरा बुझिने गरी केही पनि छिरेन । अक्सानालाई भनेँ, ‘कहाँ छ आवाज ! सुत । चुरोटखैनी खान उठेका मान्छे गफिए होलान् ।’ अक्साना सुतिन् । हामी सधैँ झैँ आफ्नो समयमा उठ्यौँ । केही बेरमा बच्चाहरू उठे । अक्सानाले राति केको हल्ला भएको थियो भनेर बुझ्न छोरालाई बाहिर पठाइन् । एकछिनमा हाम्रो भुकुल्ले छोरो सकीनसकी दौडिँदै आयो र भन्यो, ‘बवोइ ! बवोइ ! भूकम्प आयो ।’ ऊ आफ्ना दुबै हात फैलाउँदै, टाउको माथि उठाउँदै र खुट्टा उचाल्दै प्रष्ट पार्ने प्रयत्न गर्दै थियो । अक्साना अनभिज्ञ नै थिइन् । छोरो फेरि बाहिर गयो । यति बेलासम्ममा हाम्रा सहयोगी रामबहादुर पसलबाट फर्केर बाहिर गेटतिर आइपुगेछन् । हाम्रो छोरोले रामबहादुरलाई सोध्यो । उनले पनि राति भूकम्प गएको थाहा पाएका रहेछन् । छोरो भित्र आएर फेरि हात फैलाउँदै भन्न लाग्यो, ‘बवोइ ! बवोइ ! भूकम्प ।’ मैले भूकम्प भनेको के रहेछ त भनेर उसलाई सोधेँ । उसले त ठूलो मान्छे भन्ने ठानेको रहेछ । रामबहादुरले भूकम्पको वर्णन सुनाएर कुरा बुझाइदिए । भाषा नजान्दाका रोचक घटनाहरू बच्चाहरूबाट सुन्दा एक छिन रमाइलो हुन्थ्यो र दिल खोलेर हाँस्न पाइन्थ्यो ।

एक दिनको कुरो हो । एकजना औषधि पसले मसँगै बसेर केही मन्द स्वरमा बोल्न थाले, ‘डाक्टरसाब ! हजुरको क्लिनिक कहीँ छैन, मेरो औषधि पसलमा आएर दिनको दुई घण्टा बसिदिनुस् । मलाई ठूलो गुन लाग्नेछ । हजुरलाई पनि केही फाइदा होला ।’ मैले उनलाई केही दिनमा जवाफ दिउँला भने । प्राइभेट प्राक्टिस कसरी गर्ने ! अस्पतालको कुन समय घटाउने ! प्राइभेटमा बस्दा अस्पताल आउने बिरामीहरूमा नराम्रो सन्देश पो जाने हो कि ! क्लिनिकमा बसेको बेला कुनै बिरामी इमर्जेन्सीमा आए त्यसको समाधान कसरी गर्ने ! इत्यादि कुराको भेल उठ्यो मनमा । मस्तिष्कमा यस्तै कुराहरूको भूमरी बेतोडले घुम्यो ।

म सोच्न थालेँ । सरकारले दिएको तलबबाहेक थप केही पनि अम्दानी छैन । केही न केही त नकमाई धरै छैन । बच्चाहरूलाई यसरी अक्सानाकै भरमा हस्पिटल कम्पाउन्डभित्र बरालिन दिएर पनि हुँदैन । तिनीहरूले पढ्नु पर्छ, स्कूल जानुपर्छ । यस्तो न्यूनतम तलबले आफ्ना सबै आवश्यकता र चाहना पूरा गर्न कहाँ सकिन्छ र !

त्यसो भए किन सोचेर बस्ने ! औषधि पसलेबाट आएको प्रस्ताव छिटो स्वीकार गर्ने । मलाई एउटा उपाय फु-यो । औषधि पसलमा बस्ने होइन, पसलकै नगिच एउटा कोठा लिने । मैले पसलेलाई आफ्नो कुरा भनेँ । त्यसको एक हप्ताभित्रै एउटा सानो कोठा मिल्यो । मेरो आर्थिक स्थिति सुधार्ने क्लिनिक खुल्यो ! पहिलो दिन तीनजना बिरामी आए । मेरो क्लिनिक उद्घाटन गरे । बिरामीलाई यति फिस दिनुस् भन्न सक्ने हिम्मत मसँग थिएन । विशेषज्ञका हैसियतले त्यसबेला मेरो फिस दश रुपैयाँ हो भन्ने अधिकार राख्थेँ । सरकारले मेडिकल अफिसरको सात रुपैयाँ र विशेषज्ञको दश रुपैयाँ फिस तोकेको थियो । कुनै बिरामीले यतिमात्रै छ भनेर थोरै पनि दिन्थे । म केही नभनी पैसा राख्थेँ । थोरै नै भए पनि फिस पाएकोमा खुशी हुन्थेँ ।

अस्पतालको मूलढोका अगाडि बिहारबाट आएका डाक्टरहरूले खोलेका क्लिनिक देख्दा म आत्मग्लानी अनुभव गर्थें । त्यहाँ बिरामी र उनीहरूका मान्छेको भिड होइन कि जुलुसजस्तो देखापथ्र्याे । कसै कसैलाई बरन्डा वा आँगनमै आईभी ड्रिप दिइएको हुन्थ्यो । कम्पाउन्डरहरू बीचबीचमा बिरामीहरूलाई आईएम राता भिटामिनका सुई घोचिराख्थे । अनि औषधिको र सुई दिएको भनेर जति सक्दो बढी पैसा असुल्थे । डाक्टरले फिस पनि लिन्थे ।

त्यहाँ सुदूर पश्चिमको एउटा उखान कोडी धोडी जोडी चरितार्थ भएको हुन्थ्यो । बिरामी सुई नदिउन्जेल आफूलाई राम्रो उपचार नगरेको ठान्थ्यो । डाक्टर र कम्पाउन्डरहरू कुन बहानाले बढी पैसा उठाउने भन्ने धुनमा हुन्थे । त्यसकै निम्ति दिमाग लगाउँथे र बिरामीको उपचारका लागि खुब मिहिनेत गरेको भन्ने भान पार्थे । वातावरण नै यस्तो बनाइएको रहेछ । सुई नदिने डाक्टरको त कोही पनि प्रशंसा गर्दैनथ्यो । थोरै औषधि दिने, सुई नदिने र लामो समय जाँच्ने डाक्टर नजान्ने र नबुझ्ने कहलाउँथ्यो । थोरै समय हेर्ने र खासै प्रश्न नसोध्ने, धेरै सुई दिने चलन रहेछ । बिरामीले घुँडा वा पैताला दुख्यो, टाउको दुख्यो भनेको छ भने त्यही ठाउँमा आला (स्टेथोस्कोप) राखेर नाटक गर्न सक्ने र धेरै पैसा असुल्ने डाक्टरको प्रशंसा हुन्थ्यो ।

बढी औषधि लेख्ने डाक्टरकहाँ बिरामी पठाउन औषधिबिक्रेताहरू तँ छाड म छाड गर्दै सिफारिस गर्थे । बिरामीको लाइनलामो गराउँदै, भनसुन गरिदिन्छु भन्दै एकथरी मानिस बिरामीलाई धूर्त तरिकाले लोभ्याउँथे र बीचमा पैसा कमाउँथे, बिरामीबाट सोझै र डाक्टरबाट समेत । अहेबहरू पनि निकै चनाखा, चाप्लुस र चतुर देखिन्थे । चिकित्सकलाई निकै ठूलो टेवा दिन्थे ।

त्यो समयमा चिकित्सकहरू धेरै थिएनन् । मानिस चिकित्सकविना भगवानको भरमा थिए । काल नआउन्जेल बाँच्ने हो भन्थे । जति ठूलो रोगव्याधि भए पनि सहेर बस्न बाध्य थिए । केही पैसा हुनेहरू दरभङ्गा र पटनातिर गएर भारतमा उपचार गराउँथे । त्यता जाँदा पनि दलालको मार खेप्नु पथ्र्यो । बिरामी र उनका आफन्तले निकै कष्ट सहनु पथ्र्यो । कुनै ठाउँका डाक्टर र स्वास्थ्यकर्मीहरू पनि व्यापारी जस्तै थिए । उपचारका लागि गएका नेपालीसँग बढीभन्दा बढी पैसा असुल्थे ।

चिकित्सकहरू चिकित्सा सेवाको मर्म र पवित्रता नै नष्ट गर्न पनि पछि पर्दैनथे । केही स्वास्थकर्मीको यस्तो खराब व्यवहारले चिकित्सकप्रति मानिसमा नकारात्मक भावना उब्जाउँथ्यो । तर त्यसलाई अवलोकन गर्ने र सुधारका विधि अपनाउने कुनै व्यवस्था थिएन ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button