नबोली खाने बुबाआमाको नियम थियो

चाँदीको गिलास

डा. अर्जुनदेव भट्ट

२०१६–१७ सालतिर काठमाडौँ कालिकास्थानमा हामी ५ भाइ एउटै कोठामा सुत्थ्यौँ । त्यो कोठा सुत्नका लागि मात्र थिएन । त्यो थियो राति सुत्ने कोठा, बिहान–बेलुका पढ्ने कोठा, दिउँसो बैठक र पुस्तकालय । यसरी चौबीसै घण्टा व्यस्त । नुवाकोटमा बुबाआमाकहाँ जाँदा पनि प्रायःत्यस्तै अवस्था थियो । एउटा मुख्य कोठा थियो, जहाँ हामी दिउँसो बुबाज्यू अफिस जानुभएको बेला खेल्ने र गफ गर्ने गथ्र्यौं । कोही मान्छे आउँदा त्यही कोठामा सत्कार गथ्र्यौं ।

राति भएपछि बुबाज्यू त्यही कोठामा घुँडा धसेर लालटिनको उज्यालोमा आफ्नो अड्डाको काम गर्नुहुन्थ्यो । बुबाज्यूको काम सधैँ यस्तै हुन्थ्यो । यसबापत बुबाज्यूलाई अतिरिक्त पारिश्रमिक केही आउँदैन थियो । हामी झुम्मिएर बुबाज्यूको नगिचै बस्थ्यौँ, प्रायः खानापिना भइसकेपछि । आमानगिचै, यस्तै ३० सेन्टिमिटर जति पर, एउटा तकिया सिरानी राखेर कोल्टे फर्केर सुत्नुहुन्थ्यो । माइलो दाजु भीमदेव एकछिनमै अलिक पर सुत्ने । म निकै बुज्रुक बनेर निकै ढिलोसम्म बुबाज्यूले लेखेको र केही सोचेको हेरिराख्ने गर्थे ।

धौली नामकी एकजना दिदी धेरै पहिलेदेखि हाम्रो साथमा हुनुहुन्थ्यो । धौली दिदी जीवनभर हाम्रा बुबाआमासँगै परिवारको सदस्य जस्तै गरेर बसिन् र हामीलाई सहयोग गरिन् । ती दिदीलाई बैतडीका कामदारले जस्तोे यातना सहनुपरेको थिएन । कहिलेकाहीँ दिदीको मन कुनै कुरामा चित्त नबुझदा आन्दोलित हुँदो हो, दिनभरि वा दुई दिनसम्म पनि खाना नखाने । आमासँग नबोल्ने गर्थिन् । फेरि दोश्रो तेश्रो दिनमा मिलापत्र भैहाल्थ्यो । धौली दिदी एक सुरले काम गर्ने स्वभावकी थिइन् । उनको हिँडाइ र काम गराइ शान्त थियो । कुनै हडबड थिएन । अनुहार सधैँ हसिँलो हुन्थ्यो तर भित्र जलेको र कुँडिएको मनको कथा बुझने कसले र ? खिन्नता र निराशाले उनको जीवनको कति अंश ओगट्यो र चुँडियो होला, त्यो कुनै तथ्यांकविद् र मनोरोग चिकित्सकले पनि पूर्णरूपमा पत्ता लगाउन सक्ने छैनन् । जे होस् आमासँग उनको दोस्ती राम्रो थियो ।

Ad

धौली दिदी ज्यादै तीक्ष्ण बुद्धिकी थिइन् । उनको स्मरणशक्ति बेजोड थियो । हामीहरु कहिले, कहाँ जन्मियौँ, कुन उमेरमा कता गयौँ, कसको विवाह कहिले भयो, कति सन्तान छन् र ती अहिले कहाँकहाँ छरिएर रहेका छन् भन्ने सबैको छुट्टाछुट्टै जानकारी थियो । बुबाज्यू डोटी, भोजपुर, नुवाकोट, नेपालगञ्ज, झापाइत्यादि ठाउँ कहिलेकहिले जानुभयो भन्ने कुरा अहिलेको कम्प्युटरजस्तै सबै उनको मस्तिष्कको कुनै कुनामा संग्रहालय भएर बसेको थियो । नजिकै कतैतिरबाट आँकडाहरूले निष्कर्ष निकाल्ने प्रक्रिया पनि सम्पादन हुन्थ्यो ।

धौली दिदी यस्ता घटनाक्रम तुरुन्तै सम्झिहाल्ने । यो देखेर म आश्चर्यमा डुब्थेँ । क ख समेतनचिन्ने, आफ्नो नाउँ लेख्न नसकेर ल्याप्चेले काम चलाउनुपर्ने मान्छे, धौलीदिदीको हिसाबकिताब र स्मरणशक्ति यति बलियो थियो ।

धौली दिदी हाम्रो परिवारको अति असल महान् सहयोगी थिइन् । उनीहाम्रो परिवारको एउटा अभिन्न अङ्ग र अति महत्वपूर्ण व्यक्ति थिइन् । जीवनको अन्तिम समयतिर उनीविना खास गरेर आमाको जीवन नचल्ने भइसकेको थियो । दुब्ली, पातली धौली दिदी बलिई कस्ती ! आमाको त्यति ठूलो शरीर नर्सहरुले जस्तो तरिका मिलाएर सजिलै उठाउने र एक ठाउँबाट अर्को ठाउँमा राख्ने ! आमाको यादसंगै सबैले उनलाई असल व्यक्तिको रुपमा अनिवार्य सम्झन्छन् ।

बुबाज्यू माछा खान र अरूलाई खुवाउन औधी सौखिन । नुवाकोटमा त्रिशूलीका ताजा माछा आला वा बाँसको सुइरोमा उनेर सुकाइएका हुन्थे । थोरै दिनका लागि आएका हामी छोराहरुलाई माछा ख्वाएर सत्कार नगर्ने कुरै भएन । आमा माछा पकाउनु हुन्नथ्यो । माछाको परिकार बुबाज्यू आफैँ पूर्णरूपमा तयार गर्नुहुन्थ्यो । म माछा पाक्न थालेपछि कुकुरझैँ बास्ना सुँघ्दै नजिकै झुम्मिन्थेँ । त्यो मिठो परिकार कसरी पाक्छ, बुबाज्यू त्यसमा केके हाल्नुहुन्छ, नुनकुन बेला हाल्ने, सुरुमा घ्यू कति हाल्ने र कसरी तताउने इत्यादिमा मेरो ध्यान हुन्थ्यो । गाईको ताजा घ्यूको कति मिठो बासना ! त्यही वास्नादार घिउमा पाक्थ्यो सायद माछा । अहिले सम्झँदामात्र पनि आनन्द आउँछ ।

बेसार, तेल, अदुवाइत्यादि गरम मरमसला मोलेर राखेको माछा तातेर धुवाँ आउन थालेको घ्यूमा हाल्दा आउने ‘झवाइँ’ कर्णप्रिय र परिचित ध्वनि हुन्थ्यो । यसको सुगन्धको लहरले पेटमा खानानपुग्दै पचाउने रसहरू पेस्कीमा निस्कन थाल्थे ।

शरीरक्रिया विज्ञानका पिता पाभलभले कुकुरमा पत्ता लगाएको तथ्य पनि त्यही नै त हो । झवाइँध्वनि सुन्दा र त्यसको बास्ना मगमगाउँदा म अधैर्यले छटपटाउँथेँ र त्यो बेला त खुशीको मूर्छामा पर्थें । अहिले सम्झँदा पनि त्यो समय र झवाइँयाँको दृष्टिभ्रम र महक भ्रमले व्याकुलतापूर्वक लट्ठिन्छु । आहा ! कति धनी, कति मोहक र कति प्रिय समय थियो मेरो लागि ! जब माछाको परिकार पूर्णरूपले तयार हुन्थ्यो, त्यसले मेरो छट्पटी अझै बढाउँथ्यो । पहिला म काँसको भाँडोमा एकटकले हेरिरहन्थे, एक प्रकारको थाइरोइडका बिरामीले आँखा कम झिम्क्याएजस्तै, मानौँ आँखा झिम्क्याउँदा पनि माछा भाग्लान् झैँ गरेर । बुबाज्यूले त्यो काँसको भाँडो सनेसोले न्याकेर चुलोबाट बाहिर उतारेपछि अझै बढी मख्ख पर्दै मुखभरि ¥याल भर्दै छटपटाउँथेँ । त्यसपछि खास गरेर बुबाज्यूको गोरो अनुहार हेरेर अब कुन बेला सफा, सेतो धोती फेरेर भान्समा प्रवेश गर्नुहोला भन्ने सोच्दै अधैर्यको आँधी ल्याउँथे ।

आफ्नो सबै काम गरेर आमाको स्वीकृतिपछि काँसको अम्खोराले हातमा अलिकता पानी हाल्दै र त्यसलाई यताउता छर्दै बुबाज्यू पिर्कामा बस्नुहुन्थ्यो, जनै कानमा बेरेर । कत्रो उत्सव ! कत्रो भोज ! पिर्कामा बसेपछि फेरि हातमा अलिकति पानी लिनुहुन्थ्यो र खाना राखिएको खण्डेथाल वा काँसको थालको वरिपरि लगेर विसर्जन गर्नुहुन्थ्यो । थालको नगिचै राखिएको एउटा सालको वा केराको पातको टुक्रामा अलिकति भात चाँदीका गेडाजस्तै गरेर राख्नुहुन्थ्यो । तुरुन्तै अलिकता तरकारीको अंश पनि थप्नुहुन्थ्यो र मुछेर हातमा लिएको पहिलो भातको सानो गाँस आँखा चिम्म गर्दै ढोगेर खान सुरु गर्नुहुन्थ्यो । बुबाआमाको नियम थियो नबोली खाने ।

अर्को एउटा गज्जबको नियम थियो बुबाज्यूको । खाइसकेपछि एक गाँस भात र अलिकता तरकारी थालको एकछेउमा छोड्नुहुन्थ्यो । त्यही थालमा आमा आफूलाई भात पस्केर खानुहुन्थ्यो । माछामासु खाएको दिनमा भने आमा अर्कै थालमा खानुहुन्थ्यो । त्यो एक गाँस भात छोड्ने चलन कहाँबाट आयो ! के त्यो प्रेम र ममताको प्रतीक थियो ! अथवा त्यसले परिवारमा स्त्रीको स्थान दोस्रोमात्र हो भन्ने वास्तविकता दर्शाउँथ्यो ! मैले अहिलेसम्म पनि यसै हो भनेर ठम्याउन सकेको छैन । तैपनि, शायद त्यो चलन एकातर्फ दरिद्रताको प्रदर्शन थियो भने अर्कोतर्फ पुरुषप्रधानताको प्रमाण ।

सधैँ समयमै अड्डा जाने बुबाज्यूको बानी थियो । उहाँलाई कुनै अलमल वा विलम्ब मान्य थिएन ।

जब म डाक्टरी पढन सोभियत संघ गएँ, रुसी भाषा सिक्ने सिलसिलामै हामीले पढ्यौँ– जब म खान्छु, बोल्दिनँ, सुन्दिनँ । यो पाठ पढ्दा पनि बुबाआमाले खाना खाइरहँदाको दृश्य मेरो सम्झनामा ताजा बनेर आउँथ्यो । अनि मलाई कक्षामै पनि दृष्टिभ्रम हुन बेर लाग्दैनथ्यो ।

बुबाज्यूको चाँदीको एउटा गिलास थियो । खानापछि गिलासभरि पानी पिउने उहाँको बानी थियो । त्यो गिलासमा आधा लिटर पानी अट्थ्यो । त्यो गिलास मैले पाएको छु, बुबाज्यूको चिनोका रूपमा । बुबाज्यू बित्नुभएको धेरै वर्षपछि आमा बिरामी भएर थलिएकै अवस्थामा एक दिन आमाले केही महत्वपूर्ण पुराना सामान तिमीहरू कोको लिने हो भनेर बाँड्नुभयो । मलाई त्यो चाँदीको गिलासमा ज्यादै ठूलो रहर थियो । सबैको सहमतिमा मैले नै पाएँ ।

म अहिले त्यो गिलासमा उमालेको पानी चिसो बनाएर सञ्चय गर्छु । पानी पिउनु पर्दा अर्काे गिलासमा खन्याएर पिउने गर्छु । बुबाज्यूको समयमा गिलास टलक्क टल्किने गरी उज्यालो थियो । अहिले मेरो समयमा त्यस्तो छैन, त्यस्तो उज्यालो हुने सम्भावना पनि कम देख्छु । त्यो बेला घरमा खरानी हुन्थ्यो । कागती र खरानीले भित्रबाहिर राम्ररी माझने चलन थियो । अहिले त्यसो गर्न मेरो निम्ति असम्भव नभए पनि कम व्यावहारिक छ । त्यो गिलास मेरा लागि चाँदीको एउटा गिलासमात्रै होइन, सुन वा हिरामोतीभन्दा पनि बढी महत्वको छ । अतीत झल्काउने र बुबाआमा सम्झाउने सर्वस्व हो मेरा लागि यो गिलास ।

आमा टिनको एउटा सन्दुकमा गङ्गाजल जतनसाथ राख्नुहुन्थ्यो । प्राण जाँदा मुखमा हाल्नभनेर त्यसरी राख्नुभएको थियो । मेरो निम्ति बुवाको चिनो चाँदीको गिलासको पानी आमाले राखेको गङ्गाजलभन्दा पनि धेरै गुणा पवित्र छ । फरक यत्ति भएको छ कि प्राण जाँदाका लागि होइन, मेरो मस्तिष्कको सक्रियता रहुन्जेल र मेरो शरीरले आफ्नो कामचालु राखुन्जेलका लागि ।
म प्रायःखाना खाएपछि टम्म पानी पिउन उत्तम सम्झन्नँ । घरमा हुँदा प्रायः दुई—दुई घण्टामा करिब दुई सय मिलिलिटर उमालेको पानी पिउँछु भने अस्पताल जाँदा चाँदीको गिलासको पानी थर्मसमा हालेर लैजान्छु र पिउँछु ।

मीनपचासको बिदा सकेर हामी काठमाडौँ फर्किंदा आमाले विवाहित छोरीहरूलाई माइतबाट घर पठाउँदा कोशेली पठाए जस्तै थुप्रै खानेकुरा दिएर पठाउनुहुन्थ्यो । बुबाज्यूले त्रिशूलीको माछाको सुकुटी दिनुहुन्थ्यो । बुबाको मन आफूलाई सहयोग गर्ने र नातेदारप्रति ज्यादै आभारी हुन्थ्यो । अझबढी डा. यज्ञराज जोशी वरिष्ठ टिबी विशेषज्ञ तथा तत्कालिन स्वास्थ्य विभागका महानिर्देशक हाम्रो बुबाको मामाका छोरा हुनुहुन्थ्यो । उहाँप्रति बुबाको प्रेम विशेष थियो । हामी नुवाकोटबाट काठमाडौँ फर्कदा हाम्रा साथमा उहाँलाई आलो माछा पठाउनुहुन्थ्यो । हामी काठमाडौँ पुग्नासाथ उहाँलाई त्रिशूलीका ताजा माछा पु¥याउँथ्यौँ । तर सिङ्गै दिन लगाएर ल्याइएका ती माछा कति ताजा रहन्थे थाहा छैन । तर यज्ञराज डाक्टर बुवा भने प्रसन्न हुनुहुन्थ्यो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button