अघिल्लोमा मैच्याङ भएकी उनी यो गीतमा बाटुलेचौरकी निरमाया भइन्

स्वर २

अशोक सिलवाल

‘गीत पपुलर भएपछि फिडब्याक आउँछ नि, त्यति बेला मलाई लाग्छ, मैले साँच्चै नै डुबेर गाएछु क्यारे । साँच्चिकै सदाबहार गीतै गाएछु क्यारे । कालजयी गीतै गाएछु क्यारे’, ज्ञानु राणाले भनिन् ।

‘भन्न खोजेको के भने’, मैले प्रश्न दोहोराएँ, ‘कुनै गीत गाउँदा तपाईंले सबै चीज बिर्सनु हुन्छ । गीतमै डुब्नु हुन्छ । गीतमै लीन हुनुहुन्छ । त्यसरी लीन भएर गाउँदा प्राप्त हुने आनन्दको जुन गहिराई छ र गीत पपुलर भएपछि क्रियट हुने ग्ल्यामरको जो आनन्द छ, त्यसमध्ये कुनमा आनन्द बढी छ ?

‘मलाई त गीत गाइरहँदाको आनन्द बढी । जब गीत गाइरहेको हुन्छु, त्यो बेलाको फिलिङ्स्मा यति आनन्द आउँछ कि म भन्नै सक्दिनँ’, उनले स्पस्ट पारिन् ।

‘त्यो एक प्रकारको इन्लाइटमेन्ट हो’, मैले निष्कर्ष निकालें ।

‘हो, त्यो एक प्रकारको इन्लाटमेन्ट नै हो’, सहमत हुँदै थपिन्, ‘मलाई त्यस्तो दुईचारओटा गीतमा भएको छ ।’

‘तपाईलाई ती दुईचारओटा गीत गाउँदा जो अनुभुति भयो नि, त्यस्तै भइरहँदा झ्वाट्टै मर्न पाए त्यो कति बेस्ट हुन्थ्यो होला ?’, मैले सोधें, ‘तपाईलाई के लाग्छ ?’

‘ओहो ! त्यस्तो भयो भने त सिधै स्वर्ग पुगिन्छ । सिधै भगवानको पासमा पुगिन्छ’, दश औला जोडेर सिलिङतिर हेर्दै उच्च स्वरमा उनले भनिन् ।

‘दुइचारओटा गीतमा त्यस्तो भयो भन्नुभयो । ती कुन कुन गीत थिए’, मैले सोधें ।

Ad

‘नारायणगोपालसँग बुवाको गीत सिरीमा सिरीमा गाउँदा पनि मलाई त्यस्तै भएको थियो । नारायणगोपालसँगै राममान तृषितको मान्छेको माया खोलाको पानीजस्तो गाउँदा पनि मलाई त्यस्तै भएको थियो’, उनले भनिन् ।

‘सिरीमा सिरी गाउँदाको क्षण सम्झन सक्नु हुन्छ ?’, म जिज्ञाशु भएँ ।

‘किन नसक्नु ? मजाले सम्झन सक्छु’, उनले आत्मविश्वास पोखिन् ।

‘त्यो दिन तपाई कुन पहिरनमा हुनुहुन्थ्यो ?’, झट्ट सुन्दा बेप्रसंगको लाग्ने प्रश्नमा उनले भनिन्, ‘रेडियो नेपालको स्टुडियोमा त्यो गीत रेकर्ड गरेका थियौं । त्यो दिन म कुर्तासुरुवालमा गएको थिइनँ । त्यसताका म साडी लाउँथे । कुर्ता सुरुवाल त पछि लगाउन थालेको हो । त्यो दिन पनि साडी नै लगाएर गएकी थिएँ ।’

‘अनि ?’, म सुन्न आतुर थिएँ ।

‘नारायणगोपाल दाईसँग गाउने भनेपछि अति उत्साहले सात दिनदेखि मैले घरव्यवहार र अरु सब काम नै बिर्सेको थिएँ’, उनले सम्झिन्, ‘ओहो ! म त नारायणगोपालसँग पो गाउँदैछु । मलाई त नारायणगोपालसँग पो गाउनु छ । त्यस्तो भावनाले भरिएकी थिएँ ।’

‘त्यति बेलै नारायणगोपाल दाई उचाईको एक्सट्रिममा पुगेका गायक हुनुहुन्थ्यो’, भनिन्, ‘हामी चाहिँ भर्खरभर्खर आइरहेका थियौं । त्यस्तो बेला उहाँसँग गाउनु भन्या चानचुने कुरा थिएन, मैले धेरै ठुलो अवसर पाएको छु भनेर सात दिनदेखि त्यही फिलिङ मात्र आइरहेको थियो ।’

‘अवसर र प्रेसर दुवै थियो तपाईंलाई’, मैले भनें ।

‘हो । मलाई त्यही कुरा आइरहेको थियो । अरु कुनै कुरामा ध्यान गइरहेको थिएन । खाना पकाइरहँदा पनि गीतैमा ध्यान जाने । यताउति केही काम गर्न लागेको छ भने पनि गीतमै मात्र ध्यान जाने । नारायण दाईसँग गाउनु छ भन्ने कुरा मात्र मनमा आइरहने’, उनले सुनाइन् ।

त्यसो गर्दागर्दै त्यो दिन आयो, नारायणगोपालसँग गीत गाउने दिन । स्टुडियोमा म्युजिक बज्यो । नातिकाजी र तारादेवीहरू अगाडिको सीसाअगाडि बसिरहेका थिए । दुईटा माइकअगाडि राखेर उनीहरू दुवैले गाउन थाले ।

‘गाउँदागाउँदै म त कहाँ पुगेँ पुगेँ’, सम्झदै उनले भनिन्, ‘मलाई त बुवाको त्यो गीतले पोखरा पु-यायो । मेरो थाँत बाटुलेचौर पु¥यायो । त्यहाँको डाँडाकाँडा, खेत र गाउँघर पु¥यायो । गाउँभन्दा अलि माथि कोइली र अरु चराहरूको गीतले जीवन्त भएको जंगल र डाँडाकाँडालाई नै रन्काएर गीत गाउँदै गरेको फिलिङ्स्मा पो पुगेछु म ।’

अघिल्लो गीतमा मैच्याङ भएकी उनी यो गीतमा कान्छी भइन् । बाटुलेचौरकी निरमाया भइन् ।

‘बाटुलेचौरमाथिको जंगलमा घाँसदाउरा गर्न जाने खेताल्नीजस्तो एउटी निरमाया भएर पो गाएछु । म त त्यहाँ पो पुगेछु । मेरो आत्मा त त्यहाँ पो पुगेछ । मलाई अरु केही याद थिएन । मैले त जंगलमा कोइलीहरू कराएको मात्र सुनें । डाँडामा गएर गाएको मात्र सम्झें । त्यताको प्रकृतिमा गुञ्जेको आवाज आफ्नो स्वरमा आइरहेको मात्र अनुभव गरें । मेरो आत्मा हिमालमा पुग्यो । उत्तरतिरको हिमालमा पुग्यो । आँखाभरि हिमाल आयो’, उनले भनिन्, ‘बाटुलेचौरको हाम्रो घरको आँगनअगाडि जति बेला पनि हिमाल छर्लङ्ग देखिन्छ ।’

‘हेर्नोस् त, मलाई कस्तो भएको होला ?’, त्यति भनेर एक छिन मौन रहिन् र आफैले त्यो मौनता तोडिन्, ‘त्यो गीत गाएको पनि ३५ बर्ष भइसक्यो । आजसम्म पनि रेडियो नेपालमा त्यो गीतको फर्माइस आउँदैछ । र, त्यो गीतको रोयल्टी म्युजिक नेपालले मलाई पठाइदिइरहेको छ । त्यसको मात्र होइन अरु दुइटाको पनि ।’

‘मान्छेको माया खोलाको पानीजस्तो ।’

‘सिरीमा सिरी नि कान्छी बतासै चल्यो ।’

‘च्याङ्वा होइ च्याङ्वा ।’

‘यी गीतहरूको पैसा अहिलेसम्म पनि आइरहेको छ’, उनले भर्खरैको सन्दर्भ सुनाइन्, ‘अस्ति भर्खर पनि एउटा भाई मेरो घर आयो । दिदी भनेर बोलायो ।’

‘किन बाबु ?’

‘तपाईंको गीतको रोयल्टी ल्याएको छु ।’

‘केको रोयल्टी दिनुहन्छ भाई ?’

‘तपाईंका पुराना गीतहरूको सारै फर्माइस आउँछन् । हामीकहाँबाट क्यासेट लगेको लग्यै छन् ।’

‘त्यति भन्दै तीनओटा गीतको ७ हजार रुपैयाँ दिएर त्यो भाई गयो’, उनले भनिन्, ‘म फेसबुकमा हेर्छु । कति जना विदेशीहरूसहित सिरीमा सिरी नि कान्छी बतासै चल्यो र मान्छेको माया खोलाको पानीजस्तो गाउनेहरूको होड छ । त्यही गीत मैले ६–७ जनाको स्वरमा सुनिसकेँ ।’

‘ …भनेपछि कति पपुलर भएको रहेछ ? कति मीठो भएको रहेछ र कति कालजयी र कति सदाबहार गीत रहेछन् ती ?’, उनी मलाई सोधे झैं गरी भन्दै थिइन् ।

नारायणगोपालसँग उनले अर्को पनि गीत गाएकी थिइन्,

‘पिपलुले पालुवा फेरन, यो मायाले फरकी हेरेन ।’

मान्छेको मायामात्र होइन, राममान तृषितका शब्दमा पनि उनले अरु दुईटा गीत गाएकी छिन् ।

‘फूल बनमा फुलेर के भो,
मनमा फुले पो त के ।’

‘एक रातको लम्बाई न हो
एक दिनको चौडाई न हो
साँच्चै भनुँ जिन्दगानी मिलन र बिछोड हो ।’

यी सोलो गीत पनि त्यसताका चर्चित थिए ।

‘सिरीमा सिरी र च्याङ्वा होइ च्याङ्वा गाउँदाका जुन गहिरा अनुभतिका कुरा गर्नुभयो’, मैले जिज्ञाशा थपें, ‘मान्छेको माया खोलाको पानीजस्तो गाउँदाको पनि सुनौं न ।’

‘छोरा ४ महिनाको थियो । त्यस्तो बेलामा पनि राममान तृषित दाइले भनिहाल्नु भयो भनेर मैले गाएँ’, उनले सम्झिइन् ‘तर, गाउन थालेपछि मलाई लाग्यो, माया भनेको त पानीजस्तै हो । बगेर गएपछि त्यो फर्किदैन । गीतका शब्दहरूले नै मलाई एकदम गहिराइमा डुबाएको थियो । मैले त्यस्तो भावनामा गएर गाएको थिएँ । तर, त्यति बेला एघार पटकसम्म रेकर्डिङ बिग्रियो ।’,

‘त्यति बेला तपाईंलाई …’, मैले प्रश्न गुरा गर्न पाएकै थिइनँ, उनले भनिन्, ‘मलाई लाग्यो, यो माया भनेको चीज त पानीजस्तै पो रहेछ कि ? कस्तो राम्रो अर्थ । त्यही सम्झेर त्यो गीत गाएकी थिएँ ।’

‘पछि त गीत यति राम्रो भएछ’, हौसिँदै सुनाइन्, ‘ज्ञानु ! तिमीले कस्तो राम्रो गाएको भन्दै नारायणगोपाल दाईले समेत खुशी भएर मलाई धाप दिनुभयो । उहाँलाई आफुले गाएको थाहा छैन । मेरो चाहिँ खुब प्रशंसा गर्नुभयो ।’

‘होइन दाई, त्यो त तपाईंको आशिर्वाद हो’, उनले भनिन् रे ।

‘दाइको स्वरमा सरस्वतीको बरदान थियो’, स्वरनायक नारायणगोपाललाई सम्झदै उनले भनिन्, ‘उहाँको त स्वर यस्तो थियो कि ! के भनौ ? माइकले उहाँको स्वर टिप्नासाथ आनन्द आउने । उहाँको स्वर सुन्नेबित्तिकै सिधै आत्मामा पुग्ने ।’

‘दाइले मान्छेको माया सुरु गर्नुभयो’, उनले सम्झिइन्, ‘मैले पनि गीतका शब्दलाई भित्र एकदमै मनन गरेर मनमनै हे ! माता सरस्वती पुकार्दै दाईलाई पछ्याउँदै गाउन थालेँ ।’

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button