उमेरमाथि स्वर उनको श्रृंगार थियो

स्वर-१

अशोक सिलवाल

सुरुमै मैले उनलाई गीत गाएर गीती गाथा सुरु गर्न भनें । एक क्षणको शुन्यतापछि वातावरण बेग्लै भयो । उनले आँखा चिम्लेरै गाउन सुरु गरिन् । मैले पनि आँखा चिम्लेरै सुन्न सुरु गरें ।

‘च्याङ्वा होइ च्याङ्वा
सुन सुन होइ च्याङ्वा
डम्फुले आज क्या भन्छ ?’

गीत सुनिरहँदा म च्याङ्वा र मैच्याङको सेलो संसारमा पुगेको थिएँ । उनको त झन् के कुरा गर्नु ! हिमाली भेगका डम्फुहरू बज्दै थिए ।

‘स्वयम्भुथानको कुलदेवता
बालाजुथानको मुल देवता
आम्माको छोरी मो एउटा
बाबुको छोरा तोँ एउटा
ज्यान गए तोँलाई छोड्दैन
ज्यान गए तोँलाई
राखेको वचन तोड्दैन
तोलाई हाम्रो छोरोको
आप्पा नबनाई छोड्दैन’

स्वरको बगैचामा च्याङ्वा र मैच्याङको अग्र्यानिक पे्रम जंगली फूलजस्तै फुल्दै थियो ।

‘शब्द र संगीत गोपाल योञ्जन अनि स्वर ज्ञानु राणा’, मैले भनें ।

‘हो’, टाउको हल्लाउँदै उनले भनिन् ।

‘हो र ! होइन होला । स्वर त ज्ञानु राणाको हुँदै होइन होला’, मैले हाँस्दै भनें ।

‘स्वर त ज्ञानु लामाको जस्तो लाग्यो मलाई त’, हाँस्दै गरेको उनलाई हेरेर मैले थपें ।

‘हा हा हा हा’, उनी झन् जोडजोडले हाँसिन् ।

उनी यसरी हाँसिन, म पनि हाँस्न थालें । र, हाँसो रोक्नै सकिन ।

‘गोपाल योञ्जनसँग कसरी भेट भयो ? यो गीत कसरी गाइयो ?’, बल्लबल्ल रोकिएको हाँसोलाई पन्छाउँदै मैले सोधें ।

तर, उनी अरु नै गीतको सन्दर्भ पो भन्न थालिन्, ‘एक दिन रेडियो नेपालबाट मोटरसाइकलमा बाहिरिदै गर्नुभएको नारायणगोपाल दाईसँग सिंहदरबारमा मेरो भेट भयो ।’

‘तिम्रो आवाज मलाई धेरै मनपर्छ । ज्ञानु ! तिमीसँग म एउटा लोकगीत गाउँछु । तिमीले मलाई सिकाउनु पर्छ है’, मोटरसाइकल रोकेर उनले भने रे ।

‘दाई ! तपाईंले के कुरा गर्नु भएको ? यस्तो कुरा गरेर मलाई किन लज्जित बनाउनु भएको ? दाईसँग गीत गाउन पाउनु त मेरो भाग्य हो । म बुवालाई भनेर गीत माग्छु’, त्यति भनेर उनी आफ्नो बाटो लागिन् । नारायणगोपाल पनि आफ्नो बाटो लागे । त्यसरी उनी नारायणगोपालसँग मिसिइन् । र, जन्म्यो एउटा सर्वाधिक सदाबहार गीत,

‘सिरीमा सिरी नि कान्छी बतासै चल्यो ’

गीत खुबै राम्रो भयो । त्यो गीत यति चल्यो कि दिनकादिन रेडियो नेपालबाट बज्न थाल्यो । र, देशैभरि जनजनमा मुखमा झुन्डियो ।

त्यसैताकाका जल्दाबल्दा गीतकार राममान तृषितले ज्ञानुलाई एक भेटमा भनेछन्, ‘तिमीले गाएको सिरीमा सिरी एकदमै मनप¥यो । ज्ञानु ! तिमीले मेरो पनि एउटा गीत गाइदिनुप¥यो ।’

‘हुन्छ दाई’, उनले भनिन् ।

‘मान्छेको माया यहाँ खोलाको पानीजस्तो
किनारलाई छोई भाग्ने लहरको बानीजस्तो ।’

शिवशंकरले सात दिन लगाएर भरेको संगीतमा नारायणगोपाल र ज्ञानुले स्वर भरे । त्यो गीत फेरि उत्तिकै चल्यो ।

त्यसताका रेडियो नेपालमा प्रत्येक शुक्रबार नयाँ गीत रिलिज हुन्थ्यो । जब त्यो गीत रिलिज भयो, भनेर साध्यै नलाग्ने फर्माइस आउन थाल्यो । एकचोटि के भयो रे भने, रेडियो नेपालले गीत बजाउनुअघि फर्माइसवालाको नाम भनिरहेको थियो । त्यो यति लामो फर्माइस थियो कि कसको गीतमा यति लामो फर्माइस आइरहेको होला भनेर ज्ञानु सोच्दै थिइन् । आखिरमा त्यो त त्यही गीतको पो फर्माइस रहेछ ।

भन्दै थिइन्, ‘त्यो दिन म कम्ती खुशी भएकी थिइनँ ।’

तारादेवीलगायत सबैले बधाई दिए रे, ‘तिमीले त साह्रै मीठो गायौ ज्ञानु ।’

त्यो गीत चुलीमा चल्दै थियो । त्यसैताका रेडियो नेपालमै गोपाल योञ्जनसँग उनको भेट भयो ।

‘ज्ञानु ! तिमीले त नारायणगोपालसँग निकै राम्रो गाएछौं’, योञ्जनले भने रे ।

उनी पनि के कम ? ‘अब दाईसँग पनि मलाई इच्छा छ’, उनले भनिछिन् ।

‘तिम्रो लागि मैले एउटा तामाङ सेलो बनाएको छु’, त्यति भन्दै उनले सोधे रे, ‘तिमी गाउने होइन त मसँग ?’

‘गाउने हो दाई’, त्यति ठुला साधकले आफुसँग गाउँछु भन्दा निकै खुशीएर उनले सोधिन्, ‘कहिले रकर्ड गर्ने दाई ?’

‘म भोलि गीत लिएर आउँछु । तिमी पनि दुई बजे आइराख’, योञ्जनले भने । भोलिपल्ट उनी पुग्नुअघि नै योञ्जन रेडियो नेपाल पुगिसकेका रहेछन् । योञ्जनले उनलाई रेडियो नेपालको अर्केस्ट्रा रुममा लगे । र, हार्मोनियम बजाउँदै गीत सुनाए ।

‘मलाई यस्तो राम्रो लाग्यो, यस्तो राम्रो लाग्यो’, भन्दै थिइन्, ‘कस्तो–कस्तो ! त्यस्तो राम्रो लाग्यो ।’

‘दाई ! यो गीत त कस्तो राम्रो ?’, उनले भनिन् ।

‘हो ?’, योञ्जनले पनि खुशी हुँदै भने रे, ‘यो गीत मैले तिमीलाई नै सम्झेर बनाएको ।’
त्यतिखेर उनलाई च्याङ्वाको अर्थ कान्छा भनेर थाहा थिएन । न त मैच्याङ भनेको कान्छी भनेर नै थाहा थियो रे ।

Ad

‘दाई ! च्याङ्वा भनेको के हो ?’, उनले योञ्जनलाई सोधिन् ।

‘तामाङहरूले आफुलाई मन परेको केटालाई च्याङ्वा र केटीलाई मैच्याङ भन्ने गर्छन् । जसरी तिमी–हामी कान्छाकान्छी भन्छौ’, त्यति भन्दै फेरि योञ्जनले गीत सुनाए रे ।

‘तिमी एकदमै तामाङनी भएर गाऊ है । तामाङनीकै स्वर ल्याएर गाऊ है । राम्री तामाङनी भएर गाऊ है ज्ञानु’, हार्मोनियम समाएरै योञ्जनले उत्साह भरे रे ।

‘हुन्छ दाई । म कोशिस गर्छु’, उनले भनिन् ।

‘दाईले खुब मीठो गरी गाएर सुनाएपछि त्यो गीत एकै छिनमा टपक्क टिपिहालें’, उनले त्यो संगीत समय सम्झिइन् ।

सात दिनपछि रेडियो नेपालको पुरानो स्टुडियोमा त्यो गीत रेकर्ड भयो । बेलुकाको ८ बजे त्यो गीतको लाइभ रकर्डिङ सुरु भएको थियो रे ।

‘हाँस है । एकदम हाँस है । दिल खोलेर हाँस है । तिमीले यहाँ केही सोच्ने होइन । घरबार, तिम्रो परिवार कोहीकसैलाई पनि सोच्ने होइन । तिमी मैच्याङ भएर, एकदम तामाङनी भएर आफुलाई आनन्द दिएर हाँसेर गीत गाऊ है’, गाउनुअघि योञ्जनले भनेका थिए रे ।

‘दाइले पनि यस्तो राम्ररी हाँसीहाँसी गोपाल योञ्जन नभई साँच्चैको च्याङ्वा नै भएर गाउनुभयो । उहाँको कस्तो फिलिङ छ त्यो गीतमा । म वर्णनै गर्न सक्दिनँ’, उनले थपिन्, ‘मलाई पनि एकदमै उर्जा आयो । म पनि फिलिङ्समा गएँ ।’

त्यसो त हरेक गीत गाउँदा गीतबाहेक अरु केही नसोच्ने उनको आदतै छ रे । ‘केवल गीतलाई मात्र ध्यान दिन्छु । किनभने, संगीत भनेको चीजै यस्तो हो, गाउन लाग्यो अनि उसको ध्यान, अरुको ध्यान गर्न लाग्यो भने त्यो गीतै बिग्रेर जान्छ । कर्णप्रिय हुँदैन । त्यसकारणले संगीतमा आफ्नो माइन्डलाई सक्दो कन्सन्ट्रेड गरेर गीतमा शब्दले के के भनिरहेको छ, त्यसैमा आफुलाई ढालेर गाउन सक्नुपर्छ’, उनले भनिन्, ‘हो, त्यही गरेर मैले त्यो गीत गाएँ ।’

४–५ टेक लगाएर गाएको त्यो गीत असाध्यै राम्रो बन्यो । लगत्तैको शुक्रबार त्यो गीत रेडियो नेपालबाट रिलिज भयो ।

‘च्याङ्वा होइ च्याङ्वा
सुन सुन होइ च्याङ्वा
डम्फुले आज क्या भन्छ ?’

एकपछि एक र फेरि एकपछि एक गर्दै उनका गीतहरू हिट भइरहेका थिए । ‘त्यो गीत पनि यस्तो चल्यो, भन्दै थिइन्’, ‘यस्तो चल्यो, के भन्नु ?’

त्यसपछि त ज्ञानु राणाको स्वरभन्दा पनि उनी कस्ती छिन् भनेर कति त उनलाई हेर्न भनेर रेडियो नेपाल पनि आए रे ।

‘दिदी तपाईंलाई हेर्न आएका छन् । एकचोटि आउनु प-यो भनेर मलाई रेडियो नेपालबाट फोन पनि आउँथ्यो । कयौं पटक म त्यसरी पनि रेडियो नेपाल गएकी थिएँ’, खुशीले आँखा चम्काउँदै उनले सम्झिइन्, ‘टाढा–टाढाबाट नेपाली दाजुभाई दिदीबहिनी त्यसरी मलाई हेर्न आउनुभएको थियो ।’

‘त्यसरी हेर्न आउँदैछन् भनेपछि तपाई त सिंगारिएर जानु भएको थियोे होला’, मैले मौका नछोडी सम्वादमा अलिकति रोमान्टिक मोड ल्याउने प्रयत्न गरें ।

‘हा हा हा’, एक छिन हाँसेर उनले पनि दह्रै दिइन्, ‘सिंगार्नै पर्थेन । यसै राम्री । केही मेकअपै गर्नु पर्दैन थियो । मेरो उमेरै त्यस्तै थियो ।’

उमेर आफैमा श्रृंगार थियो । त्यसमाथि उनको स्वर उनको सबैभन्दा ठूलो श्रृंगार थियो ।

‘मैले केही श्रृंगारै गर्न पर्दैन थियो । अलिअलि गरे पनि राम्री देखिहाल्थेँ । धेरैले मेरो साइन र ह्यान्डराइटिङ लिएर जानुहुन्थ्यो’, प्रसंगलाई अलि फरक ढंगले तन्काउँदै भनिन्, ‘दिदी ! तपाईंको स्वर कस्तो राम्रो । धेरैले त्यस्तो भन्नु हुन्थ्यो । त्यो गीत त्यसरी हिट भएपछि त्यही बेलामा के घर के डेरा भन्ने फिल्मको …’

‘के घर के डेरामा एक छिनमा आउँला । बरु मैले सम्झाउन बिर्से भने तपाईले नै सम्झाउनु होला । तर, अहिले च्याङ्वा होइ च्याङ्वा भन्ने गीतमै म तपाईंलाई रोक्छु । त्यो गीतमा तपाई एउटा चरित्रमा जानुभयो । त्यो चरित्र थियो, च्याङ्वालाई छाड्दै नछाड्ने मैच्याङ’, मैले उनलाई मैच्याङ सन्दर्भमै कन्टिन्यु गर्न खोजें ।

‘हो, म मैच्याङ नै बनेर पुरै गीत गाएँ । एउटा शुद्ध तामाङनी मैच्याङ बनेको थिएँ त्यति बेला । गोपाल योञ्जन दाईलाई हेर्दै हाँस्दै त्यो गीत गाएकी थिएँ । बीचबीचमा उहाँले डाइलग बोल्दा त मलाई आफु कहाँ हो कहाँ पुगेजस्तो लागेको थियो । गाउने बेलामा गीतमै हराएको थिएँ । त्यो आनन्द कस्तो थियो म भन्नै सक्दिन’, उनी आनन्दको वर्णन गर्दै थिइन् ।

‘जुन गीतहरू अरु सबै चीज बिर्सेर जति गहिराइमा पुगेर आनन्दसाथ गाइएको हुन्छ, प्रकृतिमा न्याय हुन्छ भने झैं त्यस्ता गीतहरू बढी पपुलर हुन्छन् । होइन त ?’, मैले सोधें ।

‘हो । त्यस्ता गीत जनजनको मानसमा बस्न सफल हुन्छन्, जो साधनामा लीन भई संगीतमा चुर्लुम्म डुबेर मिहनेतसाथ गाइएको हुन्छ’, उनले आँखा चिम्लेर साधानारत झैं भई भनिन् ।

‘गहिराइमा डुबेर आनन्द लिएर, आफैलाई बिर्सिएर त्यो क्यारेक्टरमा बाँचेर गाउँदा त्यसको मजा अलौकिक छ’, प्रश्नको स्वरमा मैले भनें ।

‘हो । अलौकिक छ’, उनले आँखा नखोली स्वर थपिन् ।

‘गाउँदाको त्यो अलौकिक अनुभुति वा गाइसकेपछि गीत पपुलर भएर आएको फिड्ब्याक विशेष लाग्छ तपाईंलाई ? कुनमा बढी आनन्द छ ?’, मैले सोधें ।

(भोलि क्रमशः)

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button