नगरमा मात्र होइन, चापागाउँ, सुनाकोठी, ठेचो र बज्रबाराहीमा पनि

बौद्घिक अपाङ्गता र विद्यालय पहुँच

सृजना केसी

अपाङ्गता क्षेत्रमा एउटा उमङ्गका साथ यूवा जोस जाँगर बोकेर पाइला टेकें ।

पाटनबाट भक्तपुरसम्मको दैनिकी । १ सय दिनको तालिम । बिहान आठ बजे नै घरबाट हिँड्नुपर्ने । फर्कंदा बेलुकी आठ बज्थ्यो । मेरी सानी छोरीलाई कति पटक मेरो सानो बेलादेखिको साथी यशु बस्नेतकोमा छोडेर तालिममा जान्थेँ । फर्कने बेलामा लिएर फर्कन्थें । मेरो साथीको आमाले पकाएको जीरा राईसको स्वाद मेरी छारीले अहिलेसम्म बिर्सेकी छैन ।

१ सय दिनको तालिमपश्चात तत्कालिन सरकारले वर्गिकरण गरेको ८ प्रकारको अपाङ्गता भएका बालबालिका पहिचान गर्ने, कसरी दैनिकी सहज गराउने, कस्तो प्रकारका अपाङ्गता भएका बालबालिका तथा ब्यक्तिहरुलाई कहाँ सम्प्रेशन गर्ने साथै समुदायमा नै कसरी पुर्नस्थापना गराउने भन्ने कुराको ज्ञान भइसकेको थियो । बे्रल लेख्ने, साँकेतिक भाषाको ज्ञान, फिजियोथेरापिष्टको मातहतमा रहेर व्ययाम गराउने, बहिरा बालबालिकालाई शिक्षाको लागि काहाँ पठाउने भन्ने कुरा थाहा पाइसकेको थिएँ ।

२३-२४ वर्षको तातो रगत । यति जानेपछि त स्थानिय सरकारकहाँ जाने, अपाङ्गता भएका बालबालिकाको समस्याहरु राख्ने अनि त काम खुरुखुरु भइहाल्छ भनेर जति सामान्य हिसाबले सोचेको थिएँ, कार्यस्थलमा आईपुग्दा कुरा एकदम जटिल रहेछ भन्ने थाहा पाएँ ।

तत्कालिन जि.बि.स अन्र्तगत सम्पूर्ण सामाजिक काम गर्नुपथ्र्यो । बौद्घिक अपाङ्गताका आमा समाज ललितपुर गठन भएर आफ्नो काम गर्दै थियो । संस्थागत कार्यको सिलसिलामा ललितपुर जि.बि.स मा पटक पटक जानु पर्नेहुन्थ्यो । हामी बौद्घिक अपाङ्गता भएका छोराछोरीका आमाहरुको संस्था हो भनेर बुझाउनुपर्ने । बौद्घिक अपाङ्गताको बारेमा बुझाउनुपर्ने अवस्था थियो । समय बित्तै गयो, बौद्घिक अपाङ्गताप्रति सकारात्मक भएको हामीले महसुस गर्यौ । पछि पछि बौद्घिक अपाङ्गताका आमा समाज ललितपुरको लागि निश्चित कार्यक्रम छुट्याउने अवस्था सुरु भयो ।

यसैक्रममा बौद्घिक अपाङ्गता भएका बालबालिकाहरु नगरमा मात्र थिएनन्, ललितपुरको चापागाउँ, सुनाकोठी, ठेचो, बज्रबाराही चारवटा तत्कालिन गा.बि.स.लाई लक्ष्य बनाई अभिभावकहरु भेला गरी छलफल गर्दा दिवासेवा केन्द्र स्थापना गर्ने निष्कर्षमा पुग्यौं । ३५ जना बौद्घिक अपाङ्गता भएका बालबालिकाहरुको लागि बि.सं २०६५ (ई.सं २००९) सालमा अपाङ्गताका आमा समाज ललितपुरको संलग्नतामा दिवासेवा केन्द्रको स्थापना भयो । दिवासेवा केन्द्रको लागि नर्वेबाट नेपालमा स्वयम सेवा गर्न आएका विद्यार्थीहरुले सहयोग गरेका थिए । त्यसको ब्यवस्था प्रमिला देवानले गर्नु भएको थियो । लार्स् उलभले सहयोग गरेका थिए । तत्कालिन ललितपुर जिल्ला शिक्षा कार्यालयबाट छात्राबृत्ति र एक आयाको तलब निकासी हुने ब्यवस्था मिलाईयो । पाटन सि.वि.आरको स्वयम सेवक मेनुका, सनिता, दिलकुमारी जस्ले १ सय दिनको सि.वि.आर तालिम लिएका थिए, उनीहरु नै विद्यालयको शिक्षक भए । उनीहरुको परिवारमा पनि बौद्घिक अपाङ्गता भएको सदस्य थिए । यस कार्यमा नमराज महत सरको ठूलो सहयोग रहेको थियो । बज्रबाराही दिवासेवामा अध्ययनरत वयश्क बौद्घिक अपाङ्गता भएका ब्यक्तिहरुको लागि नर्वेबाट लिभ मेसेन्जेट्सले डल्ला साबुन बनाउन सहयोग गर्नु भएको थियो । उहाँ नेपालमा लामो समय बसेर काम गर्नुभएको थियो ।

Ad

यो संस्थामा आवद्ध अभिभावकहरुलाई संस्थाको आवश्यकता छ र आफनो लागि आफै आवाज उठाउनुपर्छ भन्ने महसुस गरायौं र अपनत्व ग्रहण गर्नुभयो ।

त्यसैगरी ललितपुरको लुभुबाट एक जना आमा पाटन सि.वि.आरमा आफ्नो छोरालाई भर्ना गर्न आउनु भएको थियो । यति टाढाबाट संधै आउन संभव हुँदैन, बौद्घिक अपाङ्गताका आमा समाजले सहयोग गर्छौ भनेर १० जना अभिभावकहरु भेला गर्न लगायौं । सबैले दिनभरीको लागि राख्ने ठाउँको ब्यवस्था भए राम्रो हुने छलफल भएपश्चात २०६६ सालमा ३३ जना बौद्घिक अपाङ्गता भएका बालबालिकाहरुको लागि ज्ञान ज्योति बौद्घिक अपाङ्गता दिवासेवा केन्द्र शुरु ग-यौं । यहाँको लागि पनि छात्राबृत्रिको ब्यवस्था ललितपुर जिल्ला शिक्षा कार्यालयबाट गरायौं । अभिभावकहरुलाई अपनत्व लिन लगायौं ।

बौद्घिक अपाङ्गताका आमा समाज ललितपुरको दिर्घकालिन योजना भनेको आमा बुबा नभएको बौद्घिक अपाङ्गता भएका बालबालिकाहरुको लागि सरक्षित घर बनाउने हो भन्दै परियोजना बनाएर महिला तथा बालबालिका मन्त्रालयमा सम्झायौं । त्यस समयमा ऋदिबाबा प्रधान मन्त्री हुनुहुन्थ्यो । हाम्रो परियोजना रु ६०००,००० लाखको थियो । मन्त्रालयले जम्मा रु ८००,००० लाख मात्र निकासा भयो । हामी तत्कालिन ईमाडोल गा.बि.सको अभिभावकहरुसंग छलफलमा थियौं । मन्त्रालयबाट आएको रु ८००,००० लाखले नयाँ काम शूरु गर्नुपर्ने भयो । मेरो एकजना भदा बुहारी थिईन उर्मिला । उनको छोरा अट्टिजम समस्या भएको र पाटन सि.वि.आरमा अध्ययन गर्दथ्यो । छोराको अवस्थासंग अञ्जान पाटन सि.वि.आरमा भर्ना गर्न आएको दिन करिब दिनभरी रोएकी आमाको लागि मैले केहि गर्नुपर्छ भन्ने लागिरहेको थियो । थोरै पैसा नयाँ काम गर्नुपर्ने । हामीले ईमाडोलमा बिद्यालय शुरु ग-यौं । ईमाडोल गा.बि.स मा रहेका २९ जना बौद्घिक अपाङ्गता भएका बालबालिकाहरुको लागि शिक्षक भएकी छन् उर्मिला के.सी । अपाङ्गता सम्बन्धि विभिन्न तालिम पनि लिदैं आफ्नो छोराको जीवन सजिलो गराउँदा अरु अभिभावक र बालबालिकाहरको मार्गनिर्देशक भएकी छन् ।

समुदायमा रहेका हरेक बालबालिकाहरुलेस्वतन्त्र रुपमा विद्यालय जाने मौका पाएका भए बौद्घिक अपाङ्गताका आमा समाज ललितपुरले ललितपुर जिल्लामा बौद्घिक अपाङ्गता भएका बालबालिकाहरुको लागि छुट्टै बिद्यालय संचालन गर्नुपर्ने स्थिति आउने थिएन ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

3 Comments

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button