मनको धुन सुनेर ‘ब्याक टु सिर्जना’ भए

अशोक सिलवाल

२०४४ सालको कुनै एक दिन ।

उनी (यादव खरेल) पाकिस्तानस्थित लाहोरको पाँचतारे होटल हिल्टनमा थिए । बाहिर ४६ डिग्री तापक्रमको चर्को गर्मी थियो । झ्यालबाट हेरे, बाहिर त कौवासमेत प्याकप्याक गरिरहेको थियो । यद्यपि उनी त एसीजडित भव्य कोठामा थिए । तर, त्यो दिन ! तर, त्यो छिन ! सुविधासम्पन्न र शीतल त्यो कोठामा उनको मन भने अशान्तिको केन्द्र बनिरहेको थियो ।

बिहानैदेखि किन हो ? उनलाई त्यो दिन आफु हराएजस्तो लागिरहेको थियो । उपन्यासको एउटा अनौठो दृश्यका पात्र जस्ता भइरहेका थिए । भित्रैदेखि रन्थिनिदै थिए । त्यसपछि उनले आफुलाई आफैभित्र खोजे । स्रस्टा यादव खरेललाई खोजे । आफैले आफैलाई प्रश्न गरे, ‘म कुुन बाटो हिँड्दैछु ? के यो मेरो लागि सही बाटो हो ?’

‘मेरो सिर्जना यात्राले यसरी विराम लिएर हुँदैन । म सिर्जनाकै संसारमा फर्किनु पर्छ’, त्यहीँनेर १२ बर्षपछि फेरि उनीभित्रको स्रस्टा जागेको हो ।

त्यसरी उनी मनको धुन सुनेर ‘ब्याक टु सिर्जना’ भए ।

फ्ल्यासव्याक

२०१२ सालतिरको कुरा हो । उनी काठमाडौंको पद्मोदय हाइस्कुलमा पढ्थे ।

उनका भतिज थिए, केशरी खरेल । नाताले भतिज भए पनि उनी यादवभन्दा सिनियर थिए । त्यस्तै पाँच-सात बर्ष जेठा । आक्कलझुक्कल उनी कविता लेख्थे ।

सिकाएर सिक्ने भन्दा पनि देखेर सिक्ने त्यो उमेरका यादवले पनि उनैको सिको गरेर अनुप्रास मिलाइमिलाई कविता लेख्ने अभ्यास गर्न थाले ।

‘गाई खान्छिन् घाँस, पानी र नुन
उनी एउटा असल जनावर हुन् ।’

यसरी उनको कविता जन्म्यो । यसरी उनमा कविता जन्म्यो । यी कविताका सर्जक यादव भने काभ्रेको खरेलथोकमा जन्मेका थिए । त्यसताका जाडो महिनामा मीन पचासको बिदा हुन्थ्यो, झन्डै दुई महिना । सप्तरीको नर्घोमा पनि उनीहरूको प्रशस्त जमिन थियो । उनी मीन पचासको बिदामा त्यहाँ जान्थे । बिदाभरि त्यहीँको स्कुलमा भर्ना भएरै पढ्थे । यता मीनपचासको बिदा हुँदा उता भने धमाधम पढाइ भइरहेको हुन्थ्यो ।

बाल्यकालमै काभ्रेपलान्चोकको खरेलथोक (पहाडी क्षेत्र), काठमाडौं उपत्यका र तराई गरी तीनओटा रितिरिवाज, बोलीचाली, संस्कृति, समुदाय र भुगोलसँग नजिक भए उनी । त्यो एक खालको प्रभावले थाहा नपाइकन समाज बुझ्ने फराकिलो व्यवहारिक ज्ञान उनमा रोपिएको थियो । ज्ञानका बीउहरू स्कुल वा किताबबाट मात्र होइन, यस्ता अनगिन्ती स्थिति र परिस्थितिबाट झन् बढी प्राप्त हुने गर्छन् ।

जीवन र जगत औपचारिक शैक्षिक संस्थाहरू भन्दा ठूला विद्यालय र विश्वविद्यालय हुन् । सिकाइका अनेक आयाम त्यसरी फैलिरहेका हुन्छन् । उनी त्यसरी समाजशास्त्रका विद्यार्थी भइसकेका थिए । जहाँ उनले जीवन, जगत र संस्कृतिका अनेक पाठ पढे ।

दशैं, तिहार आदिजस्ता पर्वविदाका अवसरहरूमा उनी पहाडी गाउँ खरेलथोकतिर हुन्थे । स्कुल सुरु भएपछि काठमाडौं अनि मीन पचासको बिदा हुँदा तराइतिर । उनको पुरै बाल्यकाल त्यसरी बित्यो ।

स्कुल पढ्दाताका काठमाडौंमा सिनेमा हल खासै थिएनन् । अहिले विशालबजार भएको ठाउँमा जनसेवा सिनेमा हल थियो । नजिकै अलि पछि रञ्जना हल पनि खुल्यो । स्कुल पढ्दा जनसेवामा सिनेमा हेरेको उनलाई याद छ । त्यो धार्मिक सिनेमा थियो । सत्य हरिशचन्द्र हो या कुनै अर्को धार्मिक सिनेमा उनी ठ्याक्कै सम्झन भने सक्दैनन् । तर, उनलाई राम्ररी थाहा छ, त्यसअघि उनले सिनेमा देखेकै थिएनन् ।

सम्झन्छन्, ‘त्यो यस्तो समय थियो, धार्मिक सिनेमा चल्यो भने हलवालाले हलबाहिरपट्टि मन्दिरमा मुर्ति राखिदिन्थ्यो र दर्शकहरू मुर्तिमा पैसा चढाउँथे । देउता आएपछि दर्शकहरू पर्दामा पनि पैसा चढाउँथे ।’

पहिलो चोटि सिनेमा हेर्न जाँदाको उनको दृश्य–अनुभुति रोचक छ ।

उनी हलभित्र छिरे । मान्छे टनाटन थिए । अरु सबैले जस्तै उनले पनि नेपाली टोपी लाएका थिए । कसैले ‘टोपीले छेक्यो’ भन्यो । उनले टाउकोबाट टोपी झिके । सिनेमा त हेर्ने तर कतापट्टि हेर्ने ? उनी अलमलिए । कतैबाट लाइट फालिरहेको देखे । उनी पर्दापट्टि नहेरी प्रोजेक्टरले लाइट फालिरहेकोपट्टि हेरिरहेका थिए । अनि अरु दर्शक ठिक उल्टो पर्दापट्टि हेरिहरहेका थिए । आवाज आएपछि बल्ल थाहा पाए, हेर्ने त अगाडिपट्टि पो रहेछ । पर्दापट्टि पो रहेछ ।

उनलाई सिनेमा हलको त्यो वातावरण एकदमै नौलो लाग्यो । आम दर्शकले झै पर्दातिर नहेरी लाइटतिर हेर्नुको के अर्थ थियो ? त्यो उनलाई त्यति बेला के थाहा ? उनलाई के थाहा धेरै बर्षपछि उनी पनि त्यस्तै सिनेमा बनाउने मान्छे हुन्छन् ? उनलाई के थाहा उनी एक दिन सिनेमा निर्देशक हुन्छन् ? उनलाई के थाहा उनी नेपाली सिनेमा क्षेत्रको एउटा उदाहरणीय व्यक्तित्व हुन्छन् ? उनलाई के थाहा उनले नेपाली सिनेमा क्षेत्रमा योगदान पु-याउनेछन् ? तर, त्यो यस्तो क्षण थियो, जहाँ सिनेमाले उनैलाई थाहा नहुने गरी उनीभित्र सिनेमाको बीउ रोपिदिएको थियो ।

त्यतिबेला मनोरञ्जनको आम साधन भनेकै रेडियो थियो । रेडियो नेपालबाहेक अरु कुनै रेडियो स्टेसन थिएन । त्यही रेडियो नेपाल पनि चौबिसै घन्टा बज्दैन थियो । जति घन्टा बज्थ्यो, सेटमा त्यो बजिरहन्थ्यो । बिहान झिसमिसेदेखि बेलुका अबरेसम्म बजुन्जेल रेडियो सुन्नु मनोरञ्जन र सुचना प्राप्तिको एकमात्र माध्यम थियो ।

त्यसताका नाच र नाटकहरू पनि अत्यन्त कम हुन्थे । त्यसपछि बल्ल सिनेमाको संसार थियो तर त्यो संसार निकै दुर्लभ थियो । तर, उनी दुर्लभ संसारका अनेक अन्तरकुन्तरमा छिरिसकेका थिए । पर्दाभित्र र बाहिरको त्यो जीवनसंसारमा जानीनजानी उनका मनका खुट्टाहरू अगाडि बढिसकेका थिए ।

एसएसलसी पास गरेपछि उनले एकै दिन तीन सो सिनेमा हेरे । टिकटको बीस हो कि पच्चीस पैसा तिरेका थिए एक सोको । एक रुपियाँ थियो, बाल्कोनीको ।

अब फेरि एसएलसीअघिका दिनहरू ।

‘मीन पचासको बिदामा तराईमा जाँदा त्यहाँ नेपालीमा नभएर हिन्दीमा पढाई हुन्थ्यो या त मिक्स भोजपुरीमा । अनि जानेबित्तिकै सबैलाई उठाएर राष्ट्रिय गान गाइन्थ्यो । त्यो राष्टिय गान भन्या’, जन गण मन अधिनायक … जय हे भारत, भाग्य विधाता … पञ्जाव, सिन्ध, गुजरात … । तराईका स्कुलहरूमा त्यो बेला राष्ट्रिय गान भनेकै त्यो हिन्दी गान थियो । मैले पनि पटक–पटक त्यही गाएँ’, उनले सम्झिए ।

तराईमा तराईकै संस्कृति थियो । नौटंकी देखाइन्थ्यो । नौटंकी देखाउने भनेपछि सारा गाउँ उत्सवमय हुन्थ्यो । बाजा बज्थ्यो । कमेडियन आउँथे । त्यस्तो परम्परा थियो । जमिन्दारी भएकोले त्यहाँ कुनै ठुलो नौटंकी टोली आयो भने टोल उनीहरूकहीँ बस्थ्यो । खानेपिने पनि त्यहीँ । नौटंकी टोलीलाई खरेल परिवारले त्यस्तो विशेष बन्दोबस्त गरिदिन्थ्यो ।

टोलीले रामायण, महाभारत या यस्तै कथाहरूमा संगीत, अभिनय र सम्वाद पस्किन्थ्यो । त्यसरी कयौं दिन गाउँको दैनिकी नवरसमय हुन्थ्यो । साँझ सुरु हुनासाथ खाना खाइवरी गाउँ जम्मै नौटंकीस्थलमा जम्मा हुन्थ्यो । नाच सुरु हुन्थ्यो ।

हरेक साँझ कला साँझ । हरेक साँझ उत्सव साँझ । संगीत र सुरको साँझ । अभिनयको साँझ । वाह !

भर्खरभर्खरका हिन्दी सिनेमाका ती बेलाका चलेका गीतहरू बज्थे । अनेक हाउभाउ र साजसज्जामा ती गीतहरू जीवन्त हुन्थे । संगीतको ध्वनिले वातावरण बेग्लै हुन्थ्यो । गीतमा नाच्नेहरू केटी बनेका केटाहरू हुन्थे । मारुनी भन्छन् नि !

साँस्कृतिक प्रस्तुतिका ती अनेक रुपहरूले तराइका मैदानजस्तो गाउँ कलाका रसहरूले पहाडजस्तो उचालिन्थे । ती नौटंकी सबले हेर्थे । तर, नौटंकी टोली खरेल कम्पाउन्डभित्र बस्नाले यादवको मञ्चमात्र होइन, नेपथ्यसँग पनि एक खालको साइनो सुरु भयो । मेकअपदेखि डेसअपसम्म । रिहर्सलदेखि अभिनयसम्म । निर्देशन, सम्वाद, संगीत, भाव र यस्ता अनेक विषय उनको मनको कुन कुनामा गएर बसिसकेको थियो, उनैलाई थाहा थिएन ।

हरेक हप्ता हटिया लाग्थ्यो । किनबेचको त्यो अर्को संसारमा ढोलक बजाएर अल्लारुदलको गीत गाउने चलन थियो ।

विगत स्मृतिमा मात्र पनि खरेल त्यही समयमा फर्केका जस्ता भएका थिए । त्यसबाट थाहा हुन्छ, बाल्यकालका ती घटनाहरूले उनको जीवनलाई थाहै नपाई निर्देशन गर्न थालिसकेका रहेछन् ।

जाडोमा खलियानमा घुर ताप्ने तराईको जीवनपद्धति थियो । धानको पराल, काठका टुक्राटाक्री र यस्तै चीजबीज हालेर आगो बालेर तापिरहँदा छेउकोे लिच्चीको ठूलो रुखमुनि भने भजन हुन्थ्यो ।

तराईंको खरेल–घरमा भजनको संगीतसेट थियो । हार्मोनियम, खैंजेडी, तबला र ढोलक । कमिया र अरु एक दुईजना गायक थिए । साँझ परेपछि भजन सुरु हुन्थ्यो । तराईमा संगीतको वातावरणमा उनी त्यसरी भिजे । त्यो भिजाई अल्लारुदलमा थियो । नौटंकीमा थियो । भजनमा थियो । रामायण र महाभारतका कथाहरूमा थिए ।

त्यति बेला कविप्रसाद गौतमको हरिकिर्तन मुभमेन्ट देशभर चलिरहेको थियो रे । पहाडमा हरिकिर्तन समुहहरू बेला बेला आउँथे । ती सुन्दा र हेर्दाका अनुभति पनि मीठा लाग्थे उनलाई । तिनले पनि उनका मनका जराहरूमा कलाको जल छरिरहेका थिए ।

ती हरिकिर्तनको प्रभावस्वरुप होला–नहोला ? थाहा छैन । तर, धेरै–धेरै बर्षपछि ‘पूर्ण मदः’ शीर्षकको खरेलकृत भजनसंग्रह नै आयो ।

‘मन्दिर धाएँ, मस्जिद धाएँ, पादरी बनिकन ईशु गीत गाएँ
दुःखीसित एक दिन नाता लाएँ, त्यही दुःखभित्र ईश्वर पाएँ ।’

संग्रहमा यी र यस्तै सात भजन समेटिएका छन् । अलि गहिरिएर सुने उनका भजनहरूले ईश्वरभक्तिलाई मानव कल्याणसँग सुन्दर तरिकाले जोडेको अनभुति जोकोहीले पनि गर्न सक्छ ।
यता काठमाडौंमा गाइजात्राका झाँकीहरू देखिन्थे । लबरपाँडेहरू आउँथे । नाच्थे । तिहारमा देउसी भैलो हुन्थे । यता रेडियोमात्र होइन, सिनेमा पनि हेरिन्थ्यो यदाकदा ।

पहाड, उपत्यका र तराइका आफ्नै धुन र ध्वनिले यादवको स्रस्टा ‘क्यारेक्टर’ तयार गर्दै थियो । त्यो क्यारेक्टर भविष्यमा कविको रुपमा, गीतकारको रुपमा, कलाकारको रुपमा, निर्देशकको रुपमा, कला अभियन्ताको रुपमा वा यी सबैको एकमुष्ठ योगस्वरुपमा प्रकट हुनेछ ? कसैलाई थाहा थिएन । तर, उनी ती सबतिर पो उन्मुख भइसकेको भविष्यले पुष्टि गरेरै छाड्यो ।

(भोलि क्रमशः)

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. Yadav kharel is a legend lyricist in Nepali songs. His song sang by Tara devi ” nau gediko mero mala ….” is one of the masterpiece.

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button