
कसरी जन्मियो त्यो तीज गीत ? (भिडियोसहित)
प्रीति आत्रेय ज्ञवाली
फलित ज्योतिषाचार्य
हामी हिन्दु नेपाली नारीहरूको, त्यसमा पनि विशेषगरी विवाहित चेलीहरूको लागि तीज र ऋषिपञ्चमी विशेष चाडको रूपमा मानिँदै आएका कुरा हामी सबैलाई सर्वविदितै छ । अरू चाडपर्वमा माइत गए-नगए पनि तीजको बेला माइती जाने, भेटघाट गर्ने चलन पुर्खौँदेखि चलिआएको छ ।
मैले पनि नेपाली नारी भएका नाताले यो परम्पराको सकेसम्म निर्वाह गर्दै आइरहेकी थिएँ । कम्बोडिया आएपछि चाडपर्वमा घर र माइतीको असाध्यै सम्झना आउँथ्यो । तीजमा नाचगानभन्दा पनि आमाबुवासँग बस्ने कुराकानी गर्ने रमाइलो गर्ने गर्दथ्यौँ । हामी तीन दिदीबहिनीमा म र मेरी ठुली दिदी दुवै प्रवासमा बस्ने हुनाले हामी दुवैलाई तीजमा माइती जान नपाएको पीडा हुन्थ्यो । दिदीले एकपटक फेसबुकमा तीजसम्बन्धी मार्मिक गीत लेखेर राख्नुभयो । मैले पनि दिदीको प्रत्युत्तरमा केही शब्द लेखेँ र फेसबुकमा राखेँ । यसरी अप्रत्याशित रूपमा यो तीज गीतको जन्म भयो ।
मलाई त्यतिबेला यसरी लेखिएका भावनात्मक कुराहरू तीज गीतको रूपमा आउला भन्ने लागेको थिएन । मेरा श्रीमानका एक जना साथीले मलाई, ‘भाउजु ! हजुरका शब्दहरू राम्रा छन्, तीज गीत निकाल्नुस्’ भनेर सुझाव पनि दिनुभएको थियो । र, धेरैजनाले राम्रो छ भनेर टिप्पणी पनि गर्नुभएको थियो । केही समयपछि बुवासित भेटघाटका क्रममा बुवाले पनि मलाई गीत निकाल्न सुझाउनुभयो । मैले पनि ‘हुन्छ म फुर्सदमा राम्ररी विचार गर्छु र मन लागेमा नेपालमा गएका बखत गीत निकाल्नेछु’ भनें ।
२०७५ को जेठतिर तीज गीत निकाल्ने तयारमा रहनुभएकी मेरी एकजना अमेरिकामा बस्ने भान्जीसित कुरा गरेपछि उहाँले पनि सकारात्मक हुँदै ‘गीत राम्रो छ माइजु, निकाल्नुस्’ भन्ने आश्वासनका साथ निर्देशकसित सम्पर्क गराइदिनु भयो । त्यसपछि गीतको डमी बनेपछि बुवालाई र श्रीमान्लाई सुनाएँ । उहाँहरूले पनि राम्रो छ भनेपछि प्रक्रिया अगाडि बढ्यो । हामी असारमा नेपाल पुगेपछि स्वराङ्कन र छायाङ्कन सबै कार्य सकी २०७५ असार ३१ गते बेलुका भानुजयन्तीको दिन युट्युबमार्फत प्रदर्शन गरियो ।
म कम्बोडियामा भएको र गीत पनि कम्बोडियामा जन्मिएकोले गीतको छायाङ्कनका क्रममा दुई प्रमुख दृश्यहरू कम्बोडियाका प्रसिद्ध स्थान एङ्करवाट मन्दिर र शिहानुक भिल समुद्री तटनिर अवस्थित प्रसिद्ध सिंह जोडीको मूर्ति राखिएको छ । यस गीतमा पुरुष कलाकार राख्ने कुरा नभए पनि गीतमा नायिकाको आँसु पुछ्नको लागि राख्दा राम्रो हुने भनेर आकस्मिक रूपले निर्देशकले गीतकी नायिका अनु शाहको जोडीको रूपमा नवीन श्रीषलाई राख्नुभएको थियो ।
यसरी प्रवासमा-विदेशमा बसेका बेला विविध कारणले तीजमा माइत जान नपाएका चेलीबेटीको मनमा उठेका बहहरूलाई मैले पानामा उतारेकी थिएँ । पछि फेरि म जस्तै विदेशमा छरिएर बसेका अरूपनि दिदीबहिनीहरूलाई सम्झिँदै सबैको मनको भाव समेटिने गरी एकछिन भए पनि आफूलाई भुलाउने प्रयास हुन सकोस् भनेर फेरि कापीमा पोखिएका भावहरूलाई तीजगीतमार्फत सबै समक्ष प्रस्तुत भएँ ।
यो गीत निकाल्दा मैले आमाबुवा, दिदीबहिनीहरूलाई पनि सकेसम्म समेट्न पाए आउँदा वर्षहरूमा र आफ्नो जीवनको अन्तिम अवस्थासम्म पनि म जहाँ हुनेछु त्यहीबाटै गीतमा आमाबुवाहरूलाई देख्न पाउँछु र आफ्नो न्यास्रो मेट्न पाउँछु भनेर, मनमा सोची निर्देशकलाई सानो दृश्यमा भए पनि उहाँहरूलाई गीतमा सामेल गराउनका निम्ति अनुरोध गरेँ । निर्देशकज्यूले पनि मेरो कुरा बुझी मेरो साथ दिनुभयो, त्यसको लागि म अति नै आभारी छु ।
मलाई मेरो गीत चले पनि, नचले पनि, कसैले राम्रो माने पनि नमाने पनि केही थिएन । म त मैले आफ्नो जीवनको पहिलो गीत, त्यो पनि तीज गीत, अनि त्यसमा पनि आमाबाबु र दिदीबहिनीहरूसित प्रत्यक्ष बसेर उहाँहरूको सामीप्यमा रही सँगै अभिनय गरेको समय र सुटिङ्गका बेला बुवासित बिताएको समय नै मेरो लागि ठुलो थियो र म त्यसैमा सन्तुष्ट थिएँ । र, मेरो आफ्नो मन लागेर मनको भावनामा आफ्ना आमाबुवालाई संलग्न गराई गीत निकाल्दा मैले आफूलाई निकै भाग्यमानी ठान्दै, खुशी हुँदै, आफ्नो काम सार्थक भएको ठानेकी थिएँ । मेरो एउटा उद्देश्य उहाँहरूलाई गीतमा सामेल गर्नु पनि थियो र म त्यसमा सफल पनि भएँ । आमाबुवा पनि मेरो यो कामबाट अति नै खुशी हुनुभएको थियो । म पनि आफू जहाँ भए पनि यो गीतमार्फत आमाबुवालाई गीतमा हेरी आफ्नो माइतीको न्यास्रो मेटाउँछु भन्ने कुरामा विश्वस्त भएकी थिएँ ।
पोहोर साल मेरो बुवाको स्वर्गे भयो । मलाई साह्रै पीडा भयो । त्यो पीडामा मेरो यही गीत केही हदमा भए पनि मलमको रूपमा उभियो । अहिले तात्कालिक अवस्थामा पनि म कम्बोडियामै भएकोले अहिले पनि यही गीत हेर्दै आफ्नो न्यास्रो मेट्ने प्रयास गरेकी छु । यसरी मेरो अनपेक्षित रूपबाट अपेक्षित हुँदै निस्केको तीज गीत मेरो दुःख बिर्साउने साथी बनेको छ ।
मलाई मेरो आफ्नो व्यक्तिगत कुरा भएकोले यी कुराहरूको बारेमा भन्न खासै मन थिएन । तर नेपालनाम्चाका सम्पादकज्यूले कर गरेर यसबारे लेख्न आग्रह गर्नुभयो र मेरा यी कुराहरू कुनै न कुनै रूपमा कसै न कसैलाई प्रेरणादायी बन्न सक्छ भनेपछि मात्र मैले धेरै दिनपछि विचार गरेर उहाँको आग्रहलाई टार्न नसकी आफ्नो अतीतमा भए-गरेका कुराहरूलाई समेटेर अहिले वर्तमानमा लेख्ने प्रयास गरेँ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)