
‘हिन्दीसँग पोइल गएको भाषा !’
सुन्दा कताकता अश्लील लाग्ने र उमाथि बज्रिएकाे लागेकाे भए पनि उसका लागि भाषा- सुधारमा एवम् साहित्य- साधनामा अतुल्यरूपले उपयाेगी सिद्ध भएकाे त्याे शब्दवाणकाे कथा यसरी
अघि बढ्दैछ ।
सेप्टेम्बर २२, १९५९ ! कामकाे दोस्रो दिन पनि ऊ अफिस बिहान ७: ५५ बजे नै पुग्याे ।
विण्डसर प्लेसबाट बायाँ लागि पहिला जनपथ हाेटेल, अनि इस्टर्न काेर्ट भवन, त्यसपछि हाेट्ल ईम्पिरियल, अनि कनाट सर्कस चाेकबाट दाहिने माेडिई सिन्धी हाउस हुँदै स्टेट्स्म्यान, अङ्ग्रेजी दैनिककाे पर्खाल माेडिनासाथ २५ बारखम्बा राेडस्थित उसकाे अफिस आईपुग्न २५ मिनेट लागेछ ।
पहिलाे दिन उसलाई रोक्ने पालेले हाँसेर ‘रिमाल सा´ब, आदाब अर्ज है’ भनेर उसलाई सलाम गर्याे । उसले पनि आदरपूर्वक ‘आदाब’ भनेर सलाम फर्कायाे ।
केही समयपछि कोठामा सबै साथीहरूसँग शुभ प्रभातको अभिवादन भयाे । अनि कामको श्रीगणेश गर्नमा ऊ लाग्याे ।
उसले अघिल्लाे दिन उपाध्यायले दिएका लेखहरूमध्येको अन्तर्राष्ट्रिय लेख झिकेर त्यसलाई फेरि पढ्न थाल्याे । अनि उसका कानमा सहसा यी शब्दहरू गुञ्जे: ‘हिन्दीसँग पोइल गएको भाषामा लेख्ने ।’
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय मुखपत्र ‘नवयुग’मा उनीहरुले लेख्नेगरेका भाषाको शैली र वाक्यसंरचनालाई लिएर भाषाविद् केही समयपछिको झर्रोवादी नेपालीका प्रणेतामध्येका एकजना, तारानाथ शर्माले त्यतिबेला गरेका कठोर प्रहारका शब्दहरू थिए, ती । हुन पनि, बालकृष्ण पाेखरेलकाे नेतृत्वमा चलेकाे नेपाली भाषा शुद्धिकरण अभियानमा काेशराज रेग्मी, चूडानाथ बन्धु रेग्मी पनि सामेल भएकाे याे मुलुुककाे पूर्वीभागबाट चलेकाे हुरीबतासले मुलुककाे साहित्यक केन्द्र पनि रहेकाे राजधानी काठमाडौँलाई कदाचित हल्लाउने अभियान पनि रहेछ, जाे पछि उसले थाहा पायाे । त्यस कालखण्डकाे असहिष्णु राजनीतिजस्तै साहित्य जगतलाई झन चर्काउने ‘वाद’ लागेकाे थियाे झर्राेवाद, उसलाई त्यतिबेला त । हाे पनि, त्याे अभियान अलि बढी आक्रामक भएकाे तिनकै मूल प्रणेताले स्वीकारेकाे उसले पछिपछि थाहा पाएकै हाे । तथापि ती शब्दहरूले उसलाई त्यतिबेलै बिझेका थिए भने अहिले त अनुवादकको हैसियतले नयाँ राजनीतिक जीवन शुरु गरिरहेको उसलाई ती शब्दहरूले अत्यन्तै सावधान गराए । शब्दशः त्यसै दिनदेखि आफ्नो शैली, वाक्यहरूको संरचना, ह्रस्वदीर्घ आदि सपार्ने अभियानमा ऊ
जुटी हाल्याे ।
याे परिश्रमसाध्य शब्दयज्ञ थियाे, वा शब्दयुद्ध नै, ऊ भन्न सक्दैन, तर जीवनसङ्ग्रामचाहिँ निश्चय नै थियाे । विचित्र पनि कस्ताे, यस सङ्ग्राम महारथि वा सेनापतिकाे नेतृत्वमा लडिने नभई, एउटा पैदल सिपाहीले नै लडेर जित्नुपर्ने सङ्ग्राम– उसलाई त्यही लागिरहेकाे थियाे । तर उसलाई उसकाे हाेस्टेमा पछाडिबाट हैँसे गर्नेमा नेपाली साहित्य जगतका पूरै यशश्वी सर्जक — कालजयी त्रिमूर्ति लेखनाथ पाैडेल- लक्ष्मीप्रसाद देवकाेटा-बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, गाेपालप्रसाद रिमाल, गुरुप्रसाद मैनाली, हृदयचन्द्र सिँह, भीमनिधि तिवारी, गाेपाल पाण्डे, विश्वेश्वरप्रसाद काेइराला, गाेविन्द गाेठाले, विजयबहादुर मल्ल, श्यामदास वैष्णव, केशवराज पिण्डाली, कमलमणि दीक्षितआदि अनि अतुल्य शब्दकाेषकार- व्याकरणविद् पुष्करशम्शेर जङ्गबहादुर राणा पनि हुनेछन् भन्ने लागिरहेकाे थियाे भने उ विशेषत: आफ्ना शुभचिन्तक मदनमणि माडेसाब, श्यामप्रसाद शर्मा, बालमुकुन्द देव पाण्डे र साहित्य जगतमा निर्धक्कसँग लागिपरेका जवाँमर्द मित्र भूपी शेरचन अनुवादक्रममा सघाउन आउनेमा ऊ विश्वस्त थियाे ।
हाे, पहिलापहिला त चाहे पनि राजनीतिको व्यस्तताले गर्दा उसँग समय थिएन, अब त समय नै समय थियो, किनभने अहिले त पत्रिकामार्फत भाषाकै माध्यमबाट देश सेवा गर्ने, जनस्तरमा नेपाल- साेभियत मैत्री सम्वर्द्धन गर्ने एवम् शान्तिकाे पक्षमा, साम्राज्यवादी उत्पीडन- शाेषण- आक्रमणविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धता अभियानमा लाग्ने जिम्मेवारी आइपरेको थियो, उसलाई ।
उसले पनि कम्मरै कस्याे ।
डिक्शनरी पल्टाउँदै समुचित एवं उपयुक्त भाषाहरू खोज्दै ऊ आफ्नो दैनिक कार्य गर्दै जान थाल्याे । सुरेन्द्रले ‘कोई समस्या है तो बताना, रिमाल भाइ’ भने । उसले आफ्नो समस्या त त्यही ‘पोइल गएको भाषा’ भन्ने बतायाे । याे सुनाउनु के थियाे, सुरेन्द्र मरिमरि हाँस्न थाले र अरु साथीहरूलाई पनि सुनाएर हँसाए ।
आजकाे कालखण्डबाट सिँहावलाेकन गर्दा त्याे समय त्यति सहज थिएन, जत्तिकी ऊ आफैँ साेचिरहेकाे थियाे।
उसकाे घरजमकाे त के कुरा, डेराडण्डाकाे पनि थीतिठेगान क्यै भएकाे थिएन । अफिसकाे राेमाञ्चकता दिनकाे दुई बजे सकिए पछि ऊ एक्लै पर्थ्याे । अनि अल इण्डिया रेडियाेकाे गाेर्खाली यूनिटका अनुवादक-समाचारवाचक हरिप्रसाद शर्माकहाँ पनि जान ५ बजेसम्म पर्खनुपर्थ्याे । तर पुराना परिचित उनीसँगकाे उठबसबाट नै दिल्ली महानगरीमा उसकाे घरै बसेकाे थियाे; उनकै भतिजा प्रकाशप्रसाद उपाध्याय त्यहीँ भेटिए, चिनिए, उसका साथी भए, मधुका भाइ र उसका छाेराछाेरीहरुका स्थानीय गार्जियन भए । आजसम्म पनि प्रकाशका लागि ऊ तथा मधु अङ्कल र भाउजू छन् ।
यी घटना- परिघटना हुनुअघि ऊ अनिश्चित जीवनकाे सामना गरिरहेकाे एउटा नितान्त लाहुरे नै भएकाे ऊ आज नसम्झिरहन सक्दैन ।
मदनमणि माड्साब, कमरशाह, मकबूल, गाेविन्द नापितसँगकाे घनिष्ट उठबस । कति रात त टुण्डिखेल खरीकाे बाेटनिरै पल्टेर कि त रातका तारा हेर्दै सुनााैला समाजकाे सपना बुन्ने वा पछिका अक्षर शिराेमणि अहिलेका ‘हालखबर’ दैनिकका सम्पादक भईसक्दा पनि कलम चलाउन आत्तिन नछाडेकाे गुनासाे गर्ने माड्साबलाई हाैसला दिँदै भाेलिका लागि सम्पादकीय विषय सुझाउने गरेकाे मित्रमण्डलीकाे सङ्गत अब यहाँ दिल्लीमा कसरी पाउने, उसले ?
ओहाे ! पहिलेका अभावग्रस्त एवम् अधिकारविहीन युवराजधिराज अब राज्यकाे धनमाथि निजी हालीमुहाली गर्न पाएका अहिलेका राजा ! उनी अब आफ्ना अनेक विश्वासीमध्येका एकजना प्रजातान्त्रिक महासभा नामक दलका सभापतिमार्फत ‘हालखबर’ दैनिकद्वारा आफ्नाे राजनीतिक महत्त्वाकाँक्षा सिद्ध गर्न चाहने । अनि आफू कम्युनिष्टहरु त्यही दैनिकमार्फत स्वतन्त्र पत्रकारिताकाे विकाससहित जनहितका विषय अघि बढाउन, असमान नै भए पनि, उत्साही संघर्ष चलाउन प्रयत्नरत् ! अब उसले यहाँ कहाँ पाउने, यस्ताे राेमाञ्चकता ?
यस्तै अतीत, वर्तमान अनि कदाचित भविष्यकाे विचार तरङ्गमै डुब्दाकाे कथा हाे, उसकाे, जुन कथा यसरी अक्षरमा ‘क्लिक’ हुन कत्ति कुरा मिल्नुपर्ने ! टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानका कार्यकारी निर्देशक तथा राजनीतिक सक्रियतावादी गाेविन्द दुलालले उसलाई आवश्यक प्राविधिक सहयाेग नजुटाउँहुन् वा ऊ आफै पनि यस वृद्धावस्थामा कनिकुथि माेबाइल चलाई विषयलाई यसरी परिमार्जन गर्नसक्ने नहुँदाे त कथाकाे पुनर्जन्म नै कसरी हुँदाे हाे !
जेहाेस्, ऊ आफ्नाे कथाकाे सवारी यसरी चलिरहेकाेमा आह्लादित थियाे !
(क्रमश: )
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)