
अठार बर्ष पुग्दाका ‘अठार’ तर्कना
नोवल ढुँगेल
म १८ वर्षको पुग्ने भन्ने मनमा परेपछि …
१०-१२ वर्षको उमेरमा हिँडिरहदा हजुरबा र बाबाहरुले हामीले यो उमेरमा ‘यसो गरेउँ उसो गरेउँ’ भनेर सुनाउनु हुन्थ्यो ।
हजुरबाले त १० बर्षमै बिहे गर्नु भएको अरे । उहाँ १७ वर्ष हुँदा जेठाबाको जन्म भएको रे । त्यतिको उमेरमा पनि गहन जिम्मेवारी वहन गर्ने भैसक्नु भएको थियो । मलाई यो देख्दा १७ वर्षको उमेरलाई सानो उच्चारण गर्नै मन लागेन ।
बाबाहरु बिहान उठ्दा पहिला कुटो कोदालो हँसिया पनि सम्झिनुहुन्थ्यो अनि घाँस दाउरा गरेर आएर स्कुल सम्झनुहुन्थ्यो । हामी त स्कुल गएर आएर आफ्नो गृहकार्य पनि सम्झदैनौ । १५,१६,१७,१८ वर्षदेखि बाबाहरु घर व्यवहार हेर्न र थेग्न सक्नु हुन्थ्यो अरे । हामी त १० रुपियाँ पर्ने सिसाकलम पनि आफै किन्न सक्दैनौं, घर धान्ने त परको कुरा भयो । हामीलाई पसिना बग्दा पँखा किन्दिने बाउआमा आफू त्यहि उमेरमा हुँदा मेहेनतको पसिना बगाउन थालिसक्नु भएको थियो ।
आफ्ना इच्छा र आकाँक्षालाई मारेर सामुहिक इच्छामा होम्मिइसक्नु भएको थियो । हामी अझै आफ्ना इच्छा र चाहनाका लागि कलह गरिरहेका छौं ।
१८ औं वसन्त पुगिसकेपछि …
हो, मानिस समयसापेक्ष बन्न पर्छ । तर, आफ्ना इच्छा आकाँक्षालाई मात्र नभएर अब ममता, गाँस, वास, कपास र सस्कार दिने परिवारले हामीमार्फत देखेका इच्छा अनि सपनालाई पूरा गर्न लाग्नु छ । बाध्यता वा त्यतिबेलाको आवश्यकता अनुसार घरव्यवहारमा बाँधिएका आमाबाबुले मनको बाकसमा थन्काइएका सपनाहरु अब हामीमार्फत पूरा गर्न लाग्नु छ ।
पिँढीमा बसी सधैं मलाई सम्झिने आमालाई उनका सपनालाई कोसेली बनाएर लानु छ । बाबाले लगाएको त्यो पुरानो उही जमानामा सहर जाँदा किनेको टोपी सहरबाटै लगेर फेरिदिनु छ ।
त्यहि लगाएको सिरको टोपीमा चुहिएको पानी पर्न नदिन चुहिने त्यो टोपी नि फेर्नु छ । देशान्तर डुल्ने र छोरा यस्तो भएपछि भगवानलाई यो चडाउँछु, त्यो चडाउँछु भनेका होलान्, तीर्थयात्रा नि गराउनु छ ।
जसरी छडी देखाएर असल बाटो हिडाउँनु भयो, त्यहि छडी बनी बुढेसकालमा डोर्याउनु छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



