
खोटाङको त्यो बालापन, काठमाडौंको यो बुढ्यौली
गौरीशंकर भण्डारी
मध्य बर्षाको समय अनुसार श्रावण महिनाको जन्मलाई सम्झेर पहाडी भिरपाखालाई तुलना गर्छु । समयको गति पछ्याउँदै जाँदा पनि काठमाडौमा बसेर म जन्मेको विकट गाउँ खोटाङ सावामझुवाको सम्झना आउँछ ।
बालापन र हरिया डाँडापाखा । सलल बगेको कुलो पानी खेतमा लगाउने होडबाजी ।कोदो रोपिदै छ भने धान हरियो भइसकेको छ । साथीसंगीहरु बिहानीको रिमरिमे हुँदै गर्दा आफ्ना चौपायाहरुलाई हरियो घाँस व्यवस्थापनको लागि तम्तयार भएर भुईंघास र जंगलको डालेघाँसको व्यवस्था गर्नैपर्ने हुन्छ । साना खोल्साखोल्सी र बर्षातको अविरल आकाशको पानीले खुला चौर र पाखाहरुलाई अमृत नै सावित भएर खरबारी हरियै भएको देख्दा गाइगोरु र बाख्राहरु त्यति नै खुसी । रातभर बर्षात भए पनि बिहान सुर्य किरणसँगै खुला आकाश । हरियाली डाँडापाखा । मन मोहित ।
खेतीको समय कुलाको पानी खेतमा र कोदो रोप्न बारी जोतेर खनखानको व्यवस्था उत्तिकै रमाइलो । माथिबाट खेतालाहरु आफ्नो काँधमा बर्षादको समयमा घुम बोकेर आआफ्नो तालमा गाना गाउँदै कोदो रोप्ने रोप्ता छन् । खुला आकाश चहकिला घाम उसै रमाइलो ।
हाटे बजारे आफ्नै तालमा एक आपसमा हसिमजाक गर्दै उमेरसँग साइनु र सापटीको भलाकुसारीका गाना र ठट्टा गर्दै आफ्ना सुरमा हिँडिरहेका छन् । समयको चालसँगै बर्षातको आकाशको मलिलो पानी र राम्रो मल बीउले धान लहलह । साथै बारीमा कोदो रोपेर बजारेहरु घर फिर्न लागे ।
चाड्पर्वले च्यालेन्ज गर्न थाल्यो । मान्छेहरु खेतबारीको काम सकेर घर व्यवहारमा सिमित हुनथालेको महसुस भएको कुरा प्रकृतिलाई पनि थाहा भयो । बर्षात कम हुँदै गयो । जात्रा र चाडपर्वहरु आउन लागेको संकेत । तीज आयो । महिला र केटाकेटी अति रमाउन थाले । हुनेखानेले दरको व्यवस्थापन गरे । गरीब र बिपन्नहरु आर्थिक जोहो गर्न थाल्छन् । चाडपर्व मनाउन सरसापटीको खोजीमा लाग्छन् । गोठाला खेताला आआफ्नो कर्ममा ।
हरियोबाट पहेँलो हुनथालेका धानको पत्तै भएन छ । हरियो रोपेको पहेँलो भयो । अब उठाउने बेला भयो । म भने ४ महिना ८ दिनको भए छु । धान काटेर बिटा लगाउने बारीबाट कोदो टिपेर घरमा भेला गर्ने चटारो चल्दै गयो । सिजनल फलफूलजस्तै निबुवा, कागती टिप्ने, पेल्ने अमिलो तयार गर्ने, धान थन्क्याएर कोदो पनि घरमा राख्ने गर्दागर्दै जाडो मौसम आइसकेको छ । बाक्लो लुगाको जोहो ।
ती बितेका दिनतिर हेर्दा लाग्छ, अब के होला ? समय कस्तो आउला ? जीवन कसरी चल्ला ? त्यसो भन्दाभन्दै घामपानी, हिलोमैलो संगीसाथी, आलोपालो, एचोपैचो गर्दै स्कुलले जीवन खोटाङ भगवती मावि खोटाङ बजारमा ५ बर्षको अध्ययनपछि आउने भविष्यको चिन्ता र चाँसो गर्दै आफ्नो प्यारो जन्मथलोसँग विदा लिनुपर्ने नै स्थिति आयो । किनकि, गाउँमा रोजगारको व्यवस्था थिएन । रोजगार खोजी सिलसिला र उच्च शिक्षाको दौरानमा धरान हुँदै इटहरी, विराटनगर, गोठगाउँ, बेलबारी हुँदै काठमाडौमा आधा जीवन व्यतित गरी हालैको यो जीवनमा आइपुगेको थाहा नै भएनछ । त्यो अवस्थाबाट वर्तमान अवस्थामा आउँदासम्म आफू बुढो भइयो, छोराछोरी र नातिनातिना भए ।
पुराना बिषयका कुराहरु इतिहास भइसके । नयाँ समय पनि बिस्तार बिस्तार इतिहास नै हुन्छन् । समयको गति यस्तै हुन्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



